संसदीय राजनीतिका विकृत रूप देखाउन जनताले अनुमोदन गरेका हुन र रवि, राजेन्द्रलाई ?

संसदीय राजनीतिका विकृत रूप देखाउन जनताले अनुमोदन गरेका हुन र रवि, राजेन्द्रलाई ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०७९

मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनको निकै बलियो उपस्थिति देखिन्छ । तर यो निर्वाचनबाट केही नयाँ र केही पुराना शक्तिले अप्रत्यासित मत हासिल गरेका छन् । जसको परिणामस्वरुप सत्ता गठबन्धन अनपेक्षित रुपमा धेरै ठाउँमा पराजित भएको छ । 
नयाँ शक्तिका रुपमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र पुरानो शक्ति राप्रपाले ठूलो समर्थन पाएका छन् । ५ महिना अघि मात्रै पार्टी स्थापना गरेर पपुलर मत पाएको लामिछानेको पार्टीले प्रत्यक्ष मा ७ सिट जितेको छ भने समानुपातिकमा तेस्रो स्थानका लागि माओवादीसँग तीव्र प्रतिस्पर्धामा छ । 

स्वतन्त्र पार्टीले सबैभन्दा धेरै जनमत सहरी क्षेत्रबाट पाएको देखिन्छ । यो पार्टीले ७७ मध्ये तीन जिल्लामा मात्रै प्रत्यक्षतर्फ चुनाव जित्यो । काठमाडौं, ललितपुर र चितवनमा गरी स्वतन्त्र पार्टीले ७ सिट जितेको हो । अन्य जिल्लामा राम्रो मत काट्न सफल भएको देखिन्छ । 

यस्तै यो निर्वाचनमा जनमत फर्काउन सफल भएको पार्टी हो, राप्रपा । पूर्व पञ्च र राजावादी शक्तिका रुपमा चिनिने राप्रपाले पनि यसपटक प्रत्यक्ष मा ७ सिट जितेको छ भने समानुपातिकमा पनि पाँचौ दलका रुपमा उदाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षमा १ सिट जितेर समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको राप्रपा यसपटक राष्ट्रिय पार्टीका रुपमा उदाएको छ । 
राप्रपाको पुनरोदयका पछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वलाई जिम्मेवार ठानिएको छ । लामो समय पशुपति शमसेर, लोकेन्द्र बहादुर चन्द, कमल थापा, प्रकाशचन्द्र लोहनीजस्ता पुराना नेताले पालैपालो नेतृत्व गरेको र पटक पटक विभाजित भएको राप्रपाले एक वर्षअघि मात्रै लिङ्देनलाई अध्यक्ष चयन गरेको हो । 

उनको नेतृत्वप्रति राप्रपाभित्रै असन्तुष्टि रहेको र कमल थापाले लिङ्देनलाई स्वीकार गर्न नसकेर पार्टी नै छाडेको अवस्थामा उनले पार्टीलाई बलियो हैसियत प्रदान गर्न सफल भएका छन् । विगतका निर्वाचनहरूलाई आधार मान्ने हो भने नेपालमा करिब ७ प्रतिशत जनमत राजावादी शक्तिको देखिन्छ । कुनै निर्वाचनमा यो शक्ति विभाजित हुन्छ र घाटा व्यहोर्छ भने कहिले संगठित हुन्छ र सुखद परिणाम ल्याउँछ । 

यसपटक राप्रपाले झापा, चितवन, मकवानपुर, नवलपरासी पश्चिम, बाँके र रुपन्देही र जुम्ला जिल्लामा प्रतिनिधिसभामा जित निकाल्यो । प्रदेशसभामा पनि राप्रपाले ३३० मध्ये ११ सिट प्रत्यक्षतर्फ जितेको छ । रोचक कुरा त के छ भने सधैं नयाँ शक्तिलाई रुचाउने, शिक्षित र गतिशील मतदाता भएको भनिएको काठमाडौंमा २० मध्ये ५ वटा प्रदेशसभा सिटमा राप्रपाले जित निकालेको छ । यसबाट काठमाडौंमा राप्रपाको राम्रो प्रभाव बढेको देखिन्छ । जबकि २०६४ सालको संविधानसभा निर्वाचनमा बलियो उपस्थिति देखाएको माओवादी काठमाडौं उपत्यकामा निल गएको अवस्था छ ।

रविले निरन्तर सञ्चारमाध्यमबाट कमाएको चर्चा र राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु, आमाको रगत खाए बराबर हो’ भन्ने वाक्यांशले काम गरेको देखिन्छ । पुराना राजनीतिक दलप्रतिको आशंका र वितृष्णा, भ्रष्टाचार, महंगी नियन्त्रण गर्न ठूला दल असफल हुनु जस्ता कारणले नयाँ र भ्रष्टाचार विरोधी अभिव्यक्तिले मतदातालाई तान्न सहज भएको देखिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको दुवै पार्टीमा नयाँ नेतृत्व हुनुले पनि ठूलो अर्थ बोकेको देखिन्छ ।

विशेष गरी सहरिया मतदाताहरु केही पढे लेखेका, मध्यम वर्गका, रोजगारी, व्यापार आदिमा सामेल भएका हुन्छन् । यो वर्गले नै राज्यलाई बढी कर तिरेको हुन्छ । त्यसैले सत्तामा पुग्नेहरूबाट यो वर्गले बढी नै ‘डेलिभरी’ चाहन्छ । सो अनुसार काम नहुँदा यो वर्गको मत पनि छिट्टै ‘डाइभर्ट’ हुने सम्भावना हुने चुनावी विश्लेषकहरु बताउँछन् । त्यसैले यस पटक सहरी मतदाताले ठूलो मात्रामा रवि लामिछानेको स्वतन्त्र पार्टी र राप्रपालाई रोजेको देखिन्छ ।

रविले निरन्तर सञ्चारमाध्यमबाट कमाएको चर्चा र राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु, आमाको रगत खाए बराबर हो’ भन्ने वाक्यांशले काम गरेको देखिन्छ । पुराना राजनीतिक दलप्रतिको आशंका र वितृष्णा, भ्रष्टाचार, महंगी नियन्त्रण गर्न ठूला दल असफल हुनु जस्ता कारणले नयाँ र भ्रष्टाचार विरोधी अभिव्यक्तिले मतदातालाई तान्न सहज भएको देखिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको दुवै पार्टीमा नयाँ नेतृत्व हुनुले पनि ठूलो अर्थ बोकेको देखिन्छ । यदि राप्रपा कमल थापा वा पशुपति शमशेरजस्ता पुरानै नेताको नेतृत्वमा चुनावमा भएको भए यो स्तरको परिणाम नआउन पनि सक्ने विश्लेषकहरुले दाबी छ । त्यसैले राप्रपा लिङ्देनको नेतृत्वका कारण फेरि एक पटक राष्ट्रिय राजनीतिक शक्तिका रुपमा उदाएको छ । 

नेपाल लामो समयदेखि राजनीतिक परीक्षणको मैदान बन्दै आएको छ । २००७ साल र त्यो भन्दा अघिदेखि नै कुनै सरकारले ५ वर्ष निरन्तर काम गर्न सकेका छैनन् । प्रजातन्त्र प्राप्तिदेखि पञ्चायत, बहुदल र गणतन्त्रसम्म पनि स्थिर सरकार नहुनु, भ्रष्टाचारले प्रश्रय पाउनु, दलहरु जनमत र जनभावनाप्रति इमान्दार नहुनु, व्यक्तिगत र पार्टीगत हितमा केन्द्रित बन्नु, चुनावदेखि चुनावसम्मको राजनीति हुनु, देशले स्पष्ट दिशा र गति प्राप्त गर्न नसक्नु जस्ता विविध कारण पनि नयाँ शक्ति र नयाँ नारा दिने शक्तिको उदयमा महत्वपूर्ण पक्ष हुन् । अहिलेको निर्वाचन परिणामले संसद अंक गणितको खेलमा रुमलिने र कसैको बहुमत नहुँदा संसदीय राजनीतिका विकृत रुप देखिने सम्भावना छ । तर सबै दललाई युवा नेतृत्व, नेतृत्व परिवर्तन र जन चाहनाको सम्बोधन जस्ता कुरामा पुराना नीति परिवर्तन गरेर अघि बढ्न भने यो निर्वाचनले पाठ सिकाएको छ ।