नेपालका कम्युनिस्ट पार्टी : जनमतको सम्मान र संसदीय राजनीतिमा असफल !

लोकसंवाद टिप्पणी

नेपालका कम्युनिस्ट पार्टी : जनमतको सम्मान र  संसदीय राजनीतिमा असफल !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १३, २०७९

नेपालमा सबैभन्दा ठूलो जनमत छ, कम्युनिस्टहरुको । ४ मंसिरमा भएको निर्वाचनमा मात्रै १० वटा कम्युनिस्ट पार्टी चुनावी मैदानमा थिए । तिमध्ये ५ वटा कम्युनिस्ट पार्टीले कम्तीमा १ सिटमा जित हात पारेका छन् । प्रत्यक्ष निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्दा दोस्रो, तेस्रो र चौथो पार्टी कम्युनिस्ट पार्टीहरु नै बनेका छन् । 

पाँच वर्षअघिको निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मिल्दा झण्डै दुई तिहाई बहुमत आएको थियो । देशकै पुरानो पार्टी नेपाली काँग्रेस प्रत्यक्षमा जम्मा २३ सिटमा खुम्चिएको थियो । तर त्यसको ५ वर्षपछि भएको निर्वाचनमा यसको ठीक विपरीत कम्युनिस्ट शक्तिहरु कमजोर बन्दा काँग्रेस दक्षिणपन्थी शक्तिहरुको उदय भएको छ । जसले संसदीय अंक गणितको खेलमा पनि कम्युनिस्ट पार्टीहरुलाई क्षति पुगेको छ । 

यो निर्वाचनले काँग्रेसलाई पहिलो शक्तिका रुपमा उभ्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीजस्ता नयाँ पार्टीको उदय हुँदा राप्रपाको पुनरोदय भएको छ । नयाँ र पुराना दक्षिणपन्थी शक्तिहरु फैलिँदा ठूला र स्थापित राजनीतिक शक्तिहरु खुम्चिएका छन् । यो निर्वाचनबाट सबैभन्दा ठूलो क्षति आफूलाई परिवर्तनकारी र अहिलेको राजनीतिक उपलब्धीको जननी ठान्ने पार्टीहरु १५ वर्षपछि सबैभन्दा कमजोर अवस्थामा पुगेका छन् । 

२०६४ सालको निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी र चौथो शक्तिका रुपमा उदाएका मधेसवादी शक्ति यो निर्वाचनबाट सबैभन्दा बढी कमजोर बनेका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता परिवर्तन आफ्ना कारण आएको ठान्ने यी दलहरुले जनमत गुमाउँदा परिवर्तन नै धरापमा पर्ने खतरा रहेको पनि विश्लेषकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

राजनीतिक उपलब्धीलाई आम जनताको हित तथा बहिस्करणमा पारिएका समुदायको प्रतिनिधित्वका लागि भन्दा पनि नेताका गोजीका मान्छेहरु व्यवस्थापन गर्न र टाठा बाठालाई हालीमुहाली गर्नकै लागि प्रयोग गरिएपछि समानुपातिक, समावेशी जस्ता व्यवस्थामा आम जनताको तीव्र असन्तुष्टि बढेको थियो । त्यसैले पनि जनताले यी परिवर्तन आफ्ना लागि आएको महसुस गरेनन् र आफूलाई परिवर्तनकारी शक्ति भन्नेहरुलाई सजाय दिएका छन् । 

यो निर्वाचनमा अघिल्लो पटक सांसद रहेकाहरु ठूलो संख्यामा पराजित भएका छन् । अघिल्लो पटक सांसद रहेका २७५ जनामध्ये १४६ जना चुनावी मैदानमा थिए । उनीहरुमध्ये ५३ जना पुनः निर्वाचित हुँदा ७९ जना पराजित भएका छन् । 

अर्कोतिर नेपालमा ठूलो जनमत भए पनि कम्युनिस्ट पार्टीहरूमा आएको विभाजन र टुट फुटले फेरि एक पटक कमजोर अवस्थामा पुगेका छन् । अघिल्लो पटक दुई कम्युनिस्ट पार्टी मिलेर झण्डै दुई तिहाई क्षेत्रमा जित हात पारे पनि यसपटक त्यो अवस्था रहेन । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तर संघर्ष र विभाजन तथा सत्ता सञ्चालनमा एकलौटी, मनोमानी र असफलताका साथै पार्टी विभाजनका कारण फेरि जनमत गुमाउने अवस्थामा पुगेका हुन् । 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका परिणामसँगै संसद र सरकार गठनको समीकरणमा पनि फेरबदल आएको छ । 

प्रत्यक्ष तर्फको १६५ मध्ये १५८ सिटको परिणाम आइसकेको छ । जसमा अघिल्लो निर्वाचनमा २३ सिटमा खुम्चिएको काँग्रेसले दोब्बर बढी अर्थात ५३ सिट जितिसकेको छ भने ३ स्थानमा अग्रता बनाएको छ । अघिल्लो पटक ८० सिट जितेको एमालेले ४२ सिट जितेको छ भने १ सिटमा अगाडि छ । माओवादी केन्द्रले अघिल्लो पटक ३७ सिट जितेकोमा यसपटक जम्मा १७ सिटमा खुम्चिएको छ । 

एकीकृत समाजवादीले १०, राप्रपा, रास्वपा र जसपाले ७/७, लोसपाले ४ र नागरिक उन्मुक्तिले ३ सिट जितेको छ । 

यो निर्वाचनमा नेकपा विभाजनको सबैभन्दा ठूलो असर देखिएको छ । जसको परिणाम स्वरुप शीर्ष र हेभिवेट नेताहरु नै पराजित बन्न पुगेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित हुने सबैभन्दा शीर्ष नेता हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट पराजित भए भने माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव पम्फा भुसाल, गिरिराजमणि पोखरेल र मातृका यादव, सचिव चक्रपाणी खनाल, पूर्वसभामुख ओनसरी घर्तीले पनि चुनाव जित्न सकेनन् । यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष धर्मनाथ साह, सचिव जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भए । 

यो निर्वाचनमा अघिल्लो पटक सांसद रहेकाहरु ठूलो संख्यामा पराजित भएका छन् । अघिल्लो पटक सांसद रहेका २७५ जनामध्ये १४६ जना चुनावी मैदानमा थिए । उनीहरुमध्ये ५३ जना पुनः निर्वाचित हुँदा ७९ जना पराजित भएका छन् ।