चटारो प्रदेश सरकारको : कांग्रेस, एमाले, माओवादीदेखि जनमत पार्टी सम्मको तम्साइ !

चटारो प्रदेश सरकारको : कांग्रेस, एमाले, माओवादीदेखि जनमत पार्टी सम्मको तम्साइ !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १४, २०७९

निर्वाचन परिणाम आएसँगै अब सरकार गठनका गृहकार्यले प्राथमिकता पाउन थालेका छन् । संघीय सरकार गठन र प्रदेशमा सरकार गठनका लागि दलहरु आन्तरिक तयारीमा जुट्न थालेका हुन् । सबै प्रदेशमा प्रत्यक्ष तर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ भने समानुपातिकको गणना पनि अन्तिम चरणमा पुगिसकेको छ । सोही अनुसार कुन प्रदेशका कसको सरकार बन्छ भन्ने सामान्य चित्र देखिएको छ । 

७ वटा प्रदेशमध्ये ३ वटा प्रदेशमा एमाले प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ भने समानुपातिकतर्फ ६ वटा प्रदेशमा एमाले पहिलो दल देखिएको छ । तर सबैजसो प्रदेशमा सत्ता गठबन्धन सरकार बनाउन सुविधाजनक बहुमत पुर्‍याउने अवस्थामा छ । 

प्रदेश १ को संसद ९३ सदस्यीय छ । सरकार गठनका लागि कम्तिमा पनि ४७ सांसदको साथ चाहिन्छ । कुनै पनि दलको एकल रुपमा ४७ सांसद पुग्ने अवस्था देखिदैन । दुुई वा दुुई भन्दा बढी दलको समर्थनमा मात्र प्रदेशमा सरकार बन्नेछ । अघिल्लो पटक एक्लै बहुमतमा रहेको एमालेले यसपटक प्रत्यक्ष मा २५ सिट जितेको छ । प्रदेशमा काँग्रेस दोस्रो ठूलो शक्ति छ । उसले १५ सिट जितिसकेको छ भने ३ सिटमा अग्रता छ । प्रदेश १ मा माओवादीले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेको छ । प्रदेश १ मा एमाले–राप्रपा र जसपा मिलेर सरकार गठन गर्न सक्ने सम्भावना छ । 

मधेस प्रदेशमा दुई गठबन्धन चुनावमा गए । तर कसैको पनि बहुमत आएन । अघिल्लो पटक मधेसमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सरकार थियो । तर यसपटक यी दुवै पार्टी कमजोर देखिएका छन् । प्रत्यक्ष मा एमाले पहिलो दल बनेको छ । उसले १५ सिट जितेको छ भने काँग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमत पार्टीले ६ माओवादी केन्द्रले ४ र ६ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । 

एमाले र जसपा वा सत्ता गठबन्धनलाई सरकार गठनमा बहुमत नपुग्दा जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक हुनेछन् । आफूहरु निर्णायक अवस्थामा पुगेपछि जनमत पार्टी पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न तम्सिएको छ । 

१०७ सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनले २८ र एमाले–जसपा गठबन्धनले २४ सिट जितेको छ । त्यसैले पनि स्वतन्त्र र जनमत पार्टी निर्णायक हुने अवस्था छ । सरकार गठनमा कसैको बहुमत नपुग्दा अन्योलको अवस्था देखिन्छ । 

सुदूर पश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन कायम रहेमा सरकार गठन हुने सम्भावना छ । सुदूरपश्चिममा काँग्रेस ११ सिट जितेर पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रले ८ सिट जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३, एकीकृत समाजवादीले २ र एक जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । सुदुर पश्चिममा पनि सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्छ ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ काँग्रेस पहिलो पार्टी भन्दा एमालेले ठूलो धक्का खाएको छ । अघिल्लो पटक एमाले एक्लै बहुमतमा थियो । तर पार्टी विभाजन र सत्ता गठबन्धनका कारण एमालेको साइज घटेको छ । बागमतीमा काँग्रेसले २४ र माओवादी केन्द्रले १४ सिट जित्दा एमाले १२ सिटमा खुम्चिएको छ । राप्रपाले ७, एकीकृत समाजवादीले ५, नेमकिपाले १, हाम्रो नेपाली पार्टीले १ सिट जितेका छन् । बागमतीमा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना छ । 

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि कसैको प्रष्ट बहुमत पुगेन । लुम्बिनीमा एमालेले प्रत्यक्षका ५२ मध्ये १८ सिट जितेको छ भने काँग्रेसले १७, माओवादीले ५, जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपाले समान २–२ सिट जित्दा जनमत पार्टीले १, र ३ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ सिट चाहिन्छ । समानुपातिक मत अनुसार काँग्रेस र एमाले बराबरका शक्ति देखिन्छन् । दुवै दल सरकार गठन गर्ने कसरतमा छन् । 

गण्डकी प्रदेशसभामा पनि कुनै दलले स्पष्ट बहुमत ल्याउन सकेनन् । गण्डकी प्रदेशसभाका ३६ मध्ये ३४ सिटको परिणाम आएको छ र काँग्रेस १६ सिट जितेर पहिलो पार्टी बनेको छ । एमालेले १२, माओवादीले ४, नेपाल समाजवादी पार्टीले १ र १ जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सांसदको साथ चाहिन्छ । गण्डकीमा सरकार गठनमा माओवादी निर्णायक हुने देखिएको छ । अहिलेको सत्ता गठबन्धन कायम रहेको अवस्थामा सरकार गठन गर्न सहज हुने देखिन्छ । 

उता कर्णालीमा पनि सरकार गठन गर्न गठबन्धनलाई बहुमत प्राप्त भएको छ । प्रत्यक्ष मा २४ र समानुपातिक गरी १६ गरी ४० सिट रहेको कर्णालीमा सरकार बनाउन २१ सांसद चाहिन्छ । कर्णालीमा काँग्रेस र माओवादीले ९/९ सिट जितेका छन् भने एमालेले ५ र १ स्वतन्त्र सांसद निर्वाचित भएका छन् । समानुपातिक सांसदको पनि हिसाब गर्दा कर्णालीमा काँग्रेस र माओवादीले सरकार बनाउन सक्ने देखिएको छ । 

उता सुदूर पश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन कायम रहेमा सरकार गठन हुने सम्भावना छ । सुदूरपश्चिममा काँग्रेस ११ सिट जितेर पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रले ८ सिट जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३, एकीकृत समाजवादीले २ र एक जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । सुदुर पश्चिममा पनि सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्छ ।