जियाङ जमिन: जसले चीनलाई महाशक्तिको होडमा उभ्याएका थिए

जियाङ जमिन: जसले चीनलाई महाशक्तिको होडमा उभ्याएका थिए

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १५, २०७९

सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता आए पछिकै सबैभन्दा विशाल प्रदर्शन मानिने तियानमेन स्क्वायरको प्रदर्शनपछि नेतृत्वमा आएका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनमा तियानमेन स्क्वायरको प्रदर्शनकै झल्को दिनेगरी कोभिड नियन्त्रणका लागि लगाएको लकडाउन विरुद्ध प्रदर्शन चर्किरहेका बेला जेमिनको निधन भएको हो । उनी आधुनिक चीनको निर्माण र आर्थिक समृद्धिको नेतृत्व गर्नेमध्ये एक थिए । उनकै नेतृत्वमा चीनले व्यापक रूपमा खुलापन अँगालेर तीव्र आर्थिक वृद्धिको दिशामा देशलाई अघि बढाएका थिए । 

सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति भएका जियाङलाई उच्च सम्मान भएका एक उत्कृष्ट नेता र लामो समय परीक्षित कम्युनिस्ट लडाकुका रुपमा चिनियाँ कम्युनिस्ट पार्टीले स्मरण गरेको छ । उनकै समयमा चीनले बेलायतबाट हङकङ फिर्ता पाएको थियो भने २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य भयो । 

जियाङ नेतृत्वमा आउनुअघि सन् १९८९ को तिआनआनमेन  स्क्वायरमा  रक्तपातपूर्ण आन्दोलन भएको थियो । सोभियत संघको विघटन भएको र कम्युनिस्ट विश्व कमजोर भएको समयमा नेतृत्वमा आएका उनले पश्चिमसँग सम्बन्ध सुधार गरेर चीनलाई विश्व महाशक्तिका रुपमा उभ्याए भने एक दशक देशको तीव्र आर्थिक वृद्धि तथा समृद्धिको नेतृत्व गरे । 

जियाङको जन्म १७ अगस्ट, १९२६ मा जियाङ्सुको याङ्झाउमा भएको हो । उनी जन्मिएको क्षेत्र जापानी नियन्त्रणमा थियो । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका उनी कलेज पढ्दापढ्दै कम्युनिस्ट पार्टीमा लागे । रोमानियामा कुटनीतिज्ञका रुपमा काम गरेका उनी सन् १९८० सम्म इलेक्ट्रोनिक्स उद्योग मामिला हेर्ने मन्त्री थिए । त्यसपछि उनी शांघाईको पार्टी प्रमुख भए । 

फेब्रुअरी १९९७ मा देङ सियाओपिङको मृत्यु हुँदासम्म जियाङलाई चिनियाँ कम्युनिस्ट पार्टी र सत्तामा स्थापित हुन पर्याप्त समय दिइएको थियो । उनले आफूलाई पार्टीभित्र पनि बलियो बनाउँदै लगेका थिए भने ताइवानप्रति कडा नीति लिएका थिए । 

तिआनआनमेन  स्क्वायरको विरोध प्रदर्शनले उनको ख्याती बढ्यो । प्रदर्शनकारीले तिआनआनमेन स्क्वायर कब्जा गर्दा त्यसलाई सम्हाल्ने विषयमा प्रमुख नेताहरु अलमलमा पर्दा उनले त्यसअघि नै शांघाईमा त्यस्ता धेरै विरोधको सामना गरिसकेका थिए । उनले प्रदर्शनलाई बल प्रयोग नगरी शान्त पारेका थिए । तत्कालीन चिनियाँ नेता देङ सियाओपिङले यसबाट पाठ सिकेनन् । 

देङले कट्टर पन्थीहरूलाई साथ दिए र उदारवादहरूलाई हटाए । जियाङलाई कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त गरे । देङको उत्तराधिकारीका रुपमा जियाङको नेतृत्व क्षमतामाथि धेरैले प्रश्न उठाएका थिए । तर जियाङले त्यसलाई गलत साबित गरिदिए । 

अत्यावश्यक सुधारको गति सुस्त हुन सक्ने वा रोकिन सक्नेमा देङ आफैं चिन्तित थिए । तर जियाङले आर्थिक सुधारको नयाँ अवधारणलाई समर्थन गरे र चीन परम्परागत केन्द्र नियन्त्रित अर्थतन्त्रबाट बाहिर निस्कियो । पुँजीवादको लागि नयाँ प्रतिबद्धता आए । 

सन् १९९३ सम्ममा जियाङले औपचारिक रूपमा राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरिसकेका थिए । त्यसअघि नै उनी सैन्य आयोगको अध्यक्षमा नियुक्त भएका थिए । त्यसको अर्थ उनी राज्यका तीनवटै शक्तिशाली निकायको प्रमुख भइसकेका थिए । 

फेब्रुअरी १९९७ मा देङ सियाओपिङको मृत्यु हुँदासम्म जियाङलाई चिनियाँ कम्युनिस्ट पार्टी र सत्तामा स्थापित हुन पर्याप्त समय दिइएको थियो । उनले आफूलाई पार्टीभित्र पनि बलियो बनाउँदै लगेका थिए भने ताइवानप्रति कडा नीति लिएका थिए । 

देशभित्र आफ्नो प्रभुत्व स्थापित गरे र अन्तर्राष्ट्रिय मञ्चमा चीनको बलियो उपस्थिति दर्ज गरे । उनले सन् १९९९ मा गरेको ब्रिटेन भ्रमण अत्यन्त विवादास्पद बनेको थियो । 

उनले नोभेम्बर २००२ मा हु जिन्ताओलाई पार्टी महासचिवको पद हस्तान्तरण गरे । त्यसपछि नेतृत्वको संक्रमण सुरु भयो । हु जिन्ताओ मार्च २००३ मा जियाङको उत्तराधिकारी भए । सेप्टेम्बर २००४ मा जियाङले चीनको सशस्त्र सेनासम्बन्धी आयोगको अध्यक्षको रूपमा आफ्नो अन्तिम प्रमुख राजनीतिक पदबाट राजीनामा दिए । सत्ताबाट पूर्ण रूपमा बाहिरिएपछि उनी विरलै रुपमा मात्रै सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा भने उनी पछिल्लो समयसम्म नियमित रुपमा सहभागी हुँदै आएका थिए । तर गत अक्टोबरमा भएको २०औं महाधिवेशनमा भने उनी देखिएनन् । यही महाधिवेशनले सी जिनपिङलाई तेस्रो कार्यकाल पार्टीको महासचिव र राष्ट्रपतिमा अनुमोदन गरेको छ । 

उनी सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भएका थिए । चिनियाँ राजनीतिमा प्रभावशाली रहेका उनी सन् २०१२ मा नेतृत्वको उत्तराधिकारीसम्बन्धी प्रश्नमा भएको बहसका बेला पुनः प्रभावशाली देखिएका थिए ।

श्रीमती र दुई छोराहरूका साथ रहँदै आएका उनी अन्तिम पटक सन् २०१९ मा एउटा सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । त्यो जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिक उत्सव थियो । गत अक्टोबरमा कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनमा उनको अनुपस्थितिलाई उनी अस्वस्थ रहेको संकेतका रुपमा हेरिएको थियो ।