जीवन  निर्वाहकाे साधन  बन्याे आरन

जीवन  निर्वाहकाे साधन  बन्याे आरन

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १६, २०७६

बर्दिया ।  बढैयाताल गाउँपालिका–८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै सहज निर्माण गर्दै आउनु भएको छ । 

आरन सञ्चालन गरेर दैनिक किसानको आवश्यक पर्ने फलामको यन्त्र (उपकरण) सामान बनाउने र मर्मत गर्ने उनको दैनिकी हो । यो काम राजेन्द्रको पुस्तौँदेखि गर्दै आएको पेशा पनि हो ।

 यही पुस्तौली पेशाबाट उहाँले दैनिक रु एक हजारसम्म कमाइ हुने गरेको जानकारी दिनुभयो । उहाँको मासिक कमाई औसत रु २० हजारभन्दा माथि हुने नै गरेको छ । कमाइबाट श्रीमती, छोरा, छोरी, नाति नातिनीसहित सात जनाको परिवार पाल्ने काम गरिरहनु भएका छ । 

दलित समुदायमा आरन चलाएर फलामको हतियार, सामान बनाउने र मर्मत गर्ने पुख्र्यौली पेशा छोडी अन्य वैकल्पिक पेशातर्फ लागिरहेको बेला राजेन्द्र सुनार भने त्यही पेशाबाट राम्रो कमाइ गरेर घरव्यवहार चलाउँदै आउनुभएको छ । उहाँले हँसिया, खुर्पा, बञ्चरो, गर्सा, फरुवालगायत घरेलु हतियार बनाउने र मर्मत गर्ने गरेको गर्नुभएको छ । 

फलामको हतियार, सामान बनाउन र मर्मत गर्ने काम बाली लिएर बालीघरे प्रथा पनि गाउँघरमा कायम रहेको छ तर राजेन्द्र फलाम काम बालीघरे प्रथाअनुसार गर्नुहुन्न । उहाँले फलामका घरेलु हतियारअनुसार नयाँ बनाउन र पुरानो मर्मत गर्न नगद नै लिनुहुन्छ । उहाँले मर्मतबापत रु ५० देखि रु ३०० सम्म र नयाँ बनाउन भने रु २०० देखि रु एक हजार ५०० सम्म लिने गरेको बताउनुभयो । बढैयाताल गाउँपालिका, गुलरिया नपा, मधुवन नपा, बाँसगढी नपाका किसान र अन्य मानिस फलामका घरेलु हातहतियार बनाउन र मर्मत गर्न आउने गरेको पनि उहाँले बताउनुभयो । उहाँकहाँ किसान ग्राहकनै सबैभन्दा बढी आउने गरेका छन् । 

यस पेशालाई राजेन्द्रले निरन्तरता दिएर कमाइको स्रोत बनाउन उहाँले आफ्नो बाबुबाट सानै उमेरमा सिकेको सीप र अभ्यास नै हो । उहाँले भन्नुभयो, ‘फलामको सामान बनाउनु मात्रै ठूलो कुरा होइन । ग्राहकले भनेजस्तो बलियो, हेर्दै राम्रो देखिने र प्रयोग गर्न सजिलो हुने बनाउन सक्नुपर्छ ।’ ती सबै कुरा उहाँले पूरा गर्दै आउनुभएको छ । त्यही भएर नै टाढा टाढाबाट पनि फलामका सामान बनाउन उहाँकहाँ नै आउँछन् ।
गुलरिया नपा–१२ का गोविन्द थारू राजेन्द्रका नियमित ग्राहक हुनुहुन्छ । गोविन्दले भन्नुभयो ‘राजेन्द्रले बनाएका नयाँ र मर्मत गरेका सामान टिकाउ र काम गर्न सजिलो हुने गरेको छ । उहाँमा कुन सामान बनाउँदा कुन गुणस्तरको फलाम प्रयोग गर्ने चिन्न सक्ने क्षमता छ ।’