प्रधानमन्त्रीमा प्रचण्डको आँखा: आलोपालोको पहिलो देउवाको दावी, सबक सिकाउने दाउमा ओली

लोकसंवाद टिप्पणी

प्रधानमन्त्रीमा प्रचण्डको आँखा: आलोपालोको पहिलो देउवाको दावी, सबक सिकाउने दाउमा ओली

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १६, २०७९

मंसिर ४ गते भएको निर्वाचनको १६५ स्थानमध्ये १६२ स्थानका मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि कुनै दलले स्पष्ट बहुमत पाउन सकेको अवस्था छैन । 

प्रत्यक्षतर्फ तीन सिटको परिणाम आउन बाँकी रहेको अवस्थामा सत्ता गठबन्धनको बहुमत आउने सम्भावना भने कम देखिएको छ । बहुमत पुर्‍याउन कठिन भएपछि सत्ता गठबन्धनका नेताहरु यतिबेला सिके राउत र रेशम चौधरीलाई फकाउने कसरतमा लागेका छन् । 

सिके राउतले प्रत्यक्षमा चुनाव जितेका छन् भने थ्रेस होल्ड कटाएका कारण उसले थप चार सिट समानुपातिकमा पाउने देखिन्छ । यस्तै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग ४ सिट (स्वतन्त्र उठेर जितेका रेशम चौधरीका बुवासहित) छ । यी दुई पार्टीलाई मिलाउन सकेमा सत्ता गठबन्धनले सरकार बनाउन सक्ने देखिन्छ । 

हालसम्मको अवस्था हेर्दा काँग्रेसले प्रत्यक्षमा ५५ सिट जितेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । उसले समानुपातिकमा ३२ सिट पाउने देखिन्छ । यसैगरी एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट, माओवादीले प्रत्यक्षमा १७ सिट र समानुपातिकमा १४ सिट जित्ने देखिन्छ । यद्यपि माओवादी उम्मेदवार रहेको दोलखामा बिहीबारमात्रै पुनः मतदान भएको छ । 

यस्तै एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा थ्रेसहोल्ड नकट्ने सम्भावना बढ्दो छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १४ गरी २१, राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४, जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ सिट जित्ने देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ । 

रेशम चौधरीका बुवालाई नागरिक उन्मुक्ति पार्टीकै सांसदका रुपमा मान्ने हो भने अन्य ६ जना स्वतन्त्र सांसद छन् । 

गठबन्धनभित्र अब को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन । यस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश प्रमुख जस्ता पदमा समेत गठबन्धन दलहरुबीच भागबण्डा हुनेछ । काँग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन बढी आकांक्षी देखिएका छन् । काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित नभएको अवस्थामा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्छन् । प्रचण्ड पनि काँग्रेसको यही अन्तरविरोधमा खेल्न चाहन्छन् ।

सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनलाई अब सरकार गठनका लागि ३ सांसद अपुग देखिन्छ । यदि दोलखामा माओवादीले जित हात पारेमा २ सांसद नपुग्ने देखिन्छ । यो पटक सरकार गठनका लागि काँग्रेस र एमाले प्रमुख शक्ति बनेका छन् । तर तेस्रो बलियो शक्ति यसपटक माओवादी हुन सकेन । माओवादीले साथ नदिए पनि दुवैतिर सरकार बन्न सक्ने अवस्था देखिन्छ । काँग्रेसले सरकार गठन गर्न चाल्ने कदम हेरेर एमाले अघि बढ्ने रणनीतिमा छ । 

प्रधानमन्त्रीमा माओवादीको आँखा

यो निर्वाचनले माओवादीलाई कमजोर तेस्रो शक्तिका रुपमा उभ्याएको छ । समानुपातिक मतमा खासै ठूलो परिवर्तन नभए पनि प्रत्यक्षमा अघिल्लो चुनावमा भन्दा आधा सिट कम जितेको छ । २०६४ मा प्रत्यक्षमा उपचुनावमा जितेको एक सिट समेतलाई आधार मान्ने हो भने १२१ सिट जितेर पहिलो पार्टी बनेको माओवादी त्यसयताको सबै चुनावमा तेस्रो हैसियतमा छ । पछिल्ला दुई चुनावमा त माओवादीले देशभरी एकल उम्मेदवार उठाउने हिम्मत पनि गरेन । अघिल्लो पटक एमालेसँग र यसपटक काँग्रेससहित ५ दलसँगको सहकार्यमा जम्मा १७ सिट जितेको माओवादीको आँखा भने प्रधानमन्त्रीको कुर्सीमा छ । 

अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री आलोपालो हुनुपर्ने र पहिलो पटक आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । एक्लै तेस्रो बलियो शक्ति बन्न नसकेपछि उनले त्यसका लागि माधवकुमार नेपालको एकीकृत समाजवादीलाई समेत बार्गेनिङ मा प्रयोग गर्नसक्ने अवस्था छ । माओवादी र एकीकृत समाजवादी पार्टी एकतासम्म जानसक्ने गरी छलफलमा छन् । तर माधवकुमार नेपाल पनि अब सरकार गठन गर्दा प्रधानमन्त्रीका लागि मात्रै नभएर सबै पदहरुमा प्याकेजमा डिल गर्ने तयारीमा छन् । 

गठबन्धनभित्र अब को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन । यस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश प्रमुख जस्ता पदमा समेत गठबन्धन दलहरुबीच भागबण्डा हुनेछ । काँग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन बढी आकांक्षी देखिएका छन् । काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित नभएको अवस्थामा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्छन् । प्रचण्ड पनि काँग्रेसको यही अन्तरविरोधमा खेल्न चाहन्छन् । काँग्रेसमा देउवा बलियो नै रहेपनि पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्दा व्यापक रुपमा उठेको छ । सत्ता गठबन्धनभित्र देउवा र डा.बाबुराम भट्टराईमध्ये एक जनालाई राष्ट्रपति बनाउने विषयमा समेत छलफल चलेको बुझिन्छ । 

माओवादीको मुख्य दृष्टि भने प्रधानमन्त्रीमा छ । निर्वाचनमा निराशाजनक परिणाम आएपछि माओवादीमा सरकारमा जान नहुने बलियो मत रहेको भए पनि माथिल्लो तहका नेताहरु सरकारमा जानुपर्ने पक्षमा छन् । सत्ता गठबन्धन भित्रबाट पहिलो चरणमै सरकारको नेतृत्व लिने उपायको खोजीमा माओवादीका शीर्ष नेताहरु छन् । प्रचण्ड निकट नेताहरुले सार्वजनिक रुपमै सरकारको नेतृत्वमा दाबी रहेको बताइसकेका छन् । 

यदि प्रधानमन्त्रीकै कारण सत्ता गठबन्धनमा सहमति नभएमा माओवादी बाहेक पनि सरकार बन्न सक्छ । त्यस्तो अवस्थामा राप्रपा र स्वतन्त्र पार्टीलाई सामेल गर्नुपर्ने हुन्छ । कतिपय कोणमा काँग्रेस र एमालेको सरकार बनाउनुपर्ने धारणा पनि व्यक्त भएको पाइन्छ । काँग्रेस र एमाले दुई दल मिल्दा बहुमत पनि छ । त्यसो अवस्थामा बाँकी सबै दल प्रतिपक्षमा रहनुपर्नेछ । आफूबाट अलग भएको एकीकृत समाजवादी र माओवादीलाई सत्ता बाहिर राखेर सबक सिकाउन पनि एमालेले काँग्रेसको सरकारलाई साथ दिनसक्ने सम्भावनालाई नकार्न सकिन्न  । यो विकल्प निकै कमजोर भए पनि असम्भव भने छैन ।