गडबड हुन लागेकाे सत्ता गठबन्धनमा निरन्तरताको  लेपन !

लोकसंवाद टिप्पणी

गडबड हुन लागेकाे सत्ता गठबन्धनमा निरन्तरताको  लेपन !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १९, २०७९

मंसिर ४ गतेको निर्वाचन अघि सत्ता गठबन्धनसँग भिड्न प्रमुख प्रतिपक्षी एमालेले अर्को गठबन्धन बनायो । एमालेसँग राप्रपासँगै जसपा, नेपाल परिवार दलजस्ता दलहरु गठबन्धनमा सामेल भए । अब निर्वाचनको परिणाम आएसँगै फेरि गठबन्धन भत्किने र नयाँ बन्ने संकेतहरु देखिन थालेका छन् । निर्वाचनमा सिट बाँडफाँटको गृहकार्यसँगै सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी जसपा बाहिरियो र एमालेसँग गठबन्धन गर्‍यो । सत्ता गठबन्धनबाट करिब १७ सिट पाउने अवस्थामा जसपाले गठबन्धन छाडेको थियो । तर एमालेसँगको गठबन्धनले पनि जसपालाई बलियो बनाउन सकेन । अघिल्लो पटकको निर्वाचनमा चौथो ठूलो दल बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव नै यसपटक सीके राउतसँग फराकिलो मतान्तरले पराजित भए । 

यादवले आइतबार मात्रै निर्वाचनसँगै एमालेसँगको गठबन्धन पनि सकिएको घोषणा गरे । यादवको यो घोषणाले प्रदेश १ मा सरकार गठनका लागि बहुमत पुर्‍याउन एमालेलाई सकस पर्नेछ भने मधेश प्रदेशका सरकार गठनका लागि सबै विकल्प खुला हुने देखिएको छ । यतिमात्रै होइन केन्द्रमा समेत सरकार निर्माणमा जसपाको भूमिका निर्णायक बन्नसक्ने सम्भावना पनि देखिन्छ । 

जसपाले एमाले गठबन्धन छाडेको घोषणा गरेलगत्तै सत्तारुढ गठबन्धनको अर्को दल माओवादी केन्द्रले पनि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिन चाहेको बतायो । यसअघि शनिबार मात्रै माओवादी केन्द्रले सरकार गठनका लागि एमालेसँग पनि विकल्प खुला राख्ने निर्णय गरेको थियो । 

उपाध्यक्ष कृष्णबहादुर महराले शनिबारको पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकार निर्माणका लागि सबै विकल्प खुला भएको बताएका थिए । उनले सबै विकल्प खुल्ला राख्ने भन्नुको अर्थ एमालेसँग पनि मिल्न सकिन्छ हो भन्ने प्रश्नको ठोस जवाफ दिएनन् । तर एमालेसँग गठबन्धन हुनसक्ने कुरालाई माओवादीले अस्वीकार गरेको थिएन । 

महराको सरकार गठनका लागि सबै विकल्प खुला राख्ने अभिव्यक्तिको आइतबार अध्यक्ष प्रचण्डको सचिवालयले नै खण्डन गर्‍यो । स्वकीय सचिव रमेश मल्लले भनेका छन्, ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापूर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ ।’ 

शनिबारको बैठकमा सत्ता गठबन्धन कायम राख्ने वा खुला हुने भन्ने बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । तर उपाध्यक्ष महराले सरकार गठनको विकल्प खुला भएको बताएलगत्तै माओवादीमाथि प्रश्न उठ्यो । उसले काँग्रेससँग सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी गर्ने र त्यसका लागि एमालेसँग मिलेजस्तो देखाएर प्रधानमन्त्रीको कुर्सीमा बार्गेनिङ बढाउने उसको रणनीति देखिन्छ । महराले बैठकमा उठेको विषयलाई भने बंग्याएर प्रस्तुत गरेको केही पदाधिकारीको आरोप छ । 

आइतबारको बैठकमा भने महरा आएनन् । अन्य पदाधिकारीले भने महराले बैठकले निर्णय नै नगरेको विषयमा बोलेको विरोध गरेका छन् । 

बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिएका महासचिव देव गुरुङले महराको भनाइ सच्याउँदै गठबन्धनको  विकल्प खुला नभएको बताएका थिए । एक दिनअघि बैठकमा भएको छलफल भएर निर्णय नै बाहिर सार्वजनिक भयो । माओवादीले त्यसलाई २४ घन्टा नपुग्दै सच्याएको छ । निर्वाचनको समीक्षा गर्दै माओवादीले सानो मतबाट ठूला दलको मत तान्न असफल हुँदा पराजित हुनुपरेको निष्कर्ष निकालेको छ ।

त्यतिमात्रै होइन कतिपय नेताले नयाँ मतदातासँग छलफल गरेर उनीहरुको मुद्दा नउठाउँदा पनि पराजित भएको उल्लेख गरिएको छ । अब सरकार गठनका विषयमा माओवादीले निर्णय गर्नुपर्ने छ । बैठकमा अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

एमाले गठबन्धनबाट चुनाव लडेको जसपाले एमालेसँगको गठबन्धन सकिएको घोषणा गर्नु र माओवादी सत्ता गठबन्धनमै रहने निर्णय गर्नुले फेरि निर्वाचन अघि बनेको गठबन्धनलाई बलियो बनाउने सम्भावना देखिन्छ । माओवादी यतिबेला सरकारको नेतृत्वका लागि कोसिस गरिरहेको छ । जसपासहित सत्ता गठबन्धनमा सरकार गठनका लागि कसरत सुरु भएको हो ।

चुनावको प्रारम्भिक समीक्षा गरिएको र केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा गठबन्धन सफल भएको माओवादीले उल्लेख गरेको छ । गठबन्धन कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रुपमा सफल र परिणाममुखी भएको भएको भन्दै निर्वाचनमा हुने तलमाथिलाई स्वीकार गरेर जाने निर्णय गरेको छ । 

उता सत्ता गठबन्धन २०७९ मंसिर १९ गते सोमबार बसेको बैठकले ले निर्वाचनका नतिजाले वर्तमान गठबन्धनको  आवश्यकता र सान्दर्भिकता पुनः पुष्टि गरेको भन्दै गठबन्धनलाई निरन्तरता दिन जरुरी निश्कर्ष निकालेका छ । गडबड हुन लागेकाे सत्ता गठबन्धनमा निरन्तरताको  लेपन लगाइएको छ

 

एमाले गठबन्धनबाट चुनाव लडेको जसपाले एमालेसँगको गठबन्धन सकिएको घोषणा गर्नु र माओवादी सत्ता गठबन्धनमै रहने निर्णय गर्नुले फेरि निर्वाचन अघि बनेको गठबन्धनलाई बलियो बनाउने सम्भावना देखिन्छ । माओवादी यतिबेला सरकारको नेतृत्वका लागि कोसिस गरिरहेको छ । जसपासहित सत्ता गठबन्धनमा सरकार गठनका लागि कसरत सुरु भएको हो ।

करिब डेढ महिनाको बिचमा गठबन्धन बन्ने र भत्किने अवस्था आयो । जसपा र माओवादीले अहिलेको सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा निर्णय गर्नु र एमालेको गठबन्धनमा सकिएको घोषणा आउनुले फेरि सरकार गठनका लागि गुट र दल परिवर्तन सुरु भएको संकेत मिल्छ । माओवादी र जसपा अब सत्ता गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउँदा एमाले फेरि प्रतिपक्षीको भूमिकामा पुग्नेछ । निर्वाचन परिणामसँगै निर्वाचनअघि बनेका गठबन्धन भत्किने र नयाँ बन्ने खतराहरु पनि देखि थालेका छन् ।