३२ औँ नारायणगोपाल स्मृति दिवस : वृन्दवादनसहित स्वर सम्राट्का कालजयी १८ गीत गुन्जिए

३२ औँ नारायणगोपाल स्मृति दिवस : वृन्दवादनसहित स्वर सम्राट्का कालजयी १८ गीत गुन्जिए

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २०, २०७९

काठमाडौँ । ३२ औँ नारायणगोपाल स्मृति दिवस २०७९को उपलक्ष्यमा सम्मान एवं वृन्दवादनसहित एक साङ्गीतिक समारोहको आयोजना गरी स्वर सम्राटका कालजयी गीतहरु विभिन्न गायक/गायिकाहरूको प्रस्तुतिले दर्शकहरुलाई  मन्त्रमुग्ध बनाएको थियो ।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानको संयुक्त आयोजना, सह आयोजक अन्नपूर्ण चेम्बर अर्केष्ट्रा र तलेजु धनकुमारी कोष संयोजनमा सम्पन्न समारोह नारायणगोपाल सङ्गीत कोष रहेको काठमाडौँ क्षेत्र नं ५ का नव निर्वाचित सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नारायणगोपाल सङ्गीत कोषद्वारा  गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई नारायणगोपाल स्मृति सम्मान सम्मान एवं विशेष पुरस्कार प्रदान गरिएको थियो । 

 ३५ जना वृन्द वादनवादकले राष्ट्रिय धुनबाट कार्यक्रमको शुरुवात गरिएको सांगीतिक समारोहमा स्वरसम्राट नारायणगोपालका १८ वटा गीतहरू गाइएका थिए । दोस्रो चरणमा साङ्गीतिक समारोहको पहिलो प्रस्तुति सिद्धिचरण श्रेष्ठको रचना र नारायणगोपालको संगित रहेको 'मेरो प्यारो ओखलढुङ्गा' बोलको गीत मदनगोपाल गाउनु भएको थियो । दोस्रो प्रस्तुती गोपाल योञ्जनको रचना र गोपाल योञ्जनकै संगीत रहेको 'आज यौवनलाई'  बोलको गीत संगीता राना र मनमोहन थपलियाले प्रस्तुत गर्नु भएको थियो भने चर्चित गायक शिशिर योगीले लक्ष्मी प्रसाद देवकोटाको रचना र गोपाल योञ्जनको संगीत रहेको 'सागर भरी छाती चरी' बोलको गीत पस्कनु भएको थियो । 

राष्ट्रिय नाचघरको हलमा खचाखच दर्शक माझ सम्पन्न भएको सांस्कृतिक समारोहमा भीम विरागको रचना र भीम विरागकै संगीत रहेको' तिमीले पनि म जस्तै माया दिएर हेर' को गीत वैभवविक्रम परियार, राजेन्द्र थापाको रचना र अम्बर गुरुङको संगीत रहेको  'पोहोर साल खुसी फाट्दा 'बोलको गीत अविज्ञ घिमिरे, दिनेश अधिकारीको रचना र प्रकाश गुरुङको संगीत रहेको 'बोल बोल, पाखाहरू' बोलको गीत गायत्री त्रिपाठी,  गोपाल योञ्जनको रचना र गोपाल योञ्जनकै संगित रहेको 'ए मलाई माया गर्छु भन्ने हजुर' बोलको गीत धर्म मानन्धर, माधवप्रसाद घिमिरेको रचना र नातिकाजीको संगित रहेको  'आजै र राति के देखेँ सपना' बोलको गीत गायक संजीव चौधरी र रत्नशमसेर थापाको रचना र नारायण गोपालको संगीत रहेको 'स्वर्गकी रानी माया कि खानी'  बोलको गीत सदिहाङ राईको प्रस्तुती रहेको थियो । 

कार्यक्रममा गोपाल योञ्जनको रचना र गोपाल योञ्जनकै संगित रहेको  'तिमी देउ या नदेऊ'  बोलको गीतलाई दीपेन्द्र बज्राचार्य र बबिता बज्राचार्यले, ईश्वर वल्लभको रचना र गोपाल योञ्जनकाे संगित रहेको  'सारा दिन अरूलाई बाँडे'  बोलको गीत विजयनारायण मानन्धरले, कालिप्रसाद रिजालको रचना र नारायण गोपालको  संगीत रहेको 'यसैगरी बिताई दिन्छु दुई दिनको जिन्दगी'  बोलको गीत समृद्धि परियारले,  दिब्या खालिङको रचना र दिव्या खालिङकै संगित रहेको 'बिपना नभई बाँचिदिने'  बोलको गीत तीर्थराज पौखरेलले, विश्वम्भर प्याकुरेलको रचना र शम्भूजित बास्कोटाको संगीत रहेको 'तिमीले भनेको सारा देव छोएर'  बोलको गीत देवेन्द्रमान सिंहले र दीपक जंगमको रचना र संगीत रहेको  'यति धेरै माया दिई बोलको गीत किरण पुञ्जले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रमको अन्तिममा नगेन्द्र थापाको रचना र कर्म-गोपाल योञ्जनको  संगीत रहेको 'मेरो गीत म उभेको धुलोले सुनोस्'  बोलको गीत डेनी निरौलाले दिनेश अधिकारीको रचना र दिव्य खालिङको  संगीत रहेको ' तिमी जुन रहरले ममा फुल्न आयौ' बोलको गीतको प्रस्तुती अधिग्री कस्पाल र गोपाल योञ्जनको रचना र गोपाल योञ्जनकै संगित रहेको  'जीवनका हरेक मोडमा'  बोलको गीतलाई शिला विष्ट र विपिन घिमिरेले गीत गाएर दर्शकहरुलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।