निर्वाचन परिणाम : पुराना दल र पाका नेतालाई खतराको झापड !

लोकसंवाद टिप्पणी

निर्वाचन परिणाम : पुराना दल र पाका नेतालाई खतराको झापड !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २१, २०७९

मंसिर ४ गते भएको निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ । समानुपातिक तर्फको मतगणनापछि अब संसदमा दलहरुको आकार प्रष्ट भएको छ ।

यसपटक प्रतिनिधि सभासमा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ भने ७ वटा राष्ट्रिय दल बनेका छन् । समानुपातिक तर्फको मतगणना भएर अन्तिम परिणाम आएसँगै अब संसदमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौ दल बनेका छन् । 

कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ भने एमालेले प्रत्यक्ष मा ४४ र समानुपातिकतर्फ ३४ सिट जितेको छ । 

तेस्रो भएको माओवादी केन्द्रले प्रत्यक्ष मा १८ र समानुपातिकमा १४ सिट पाएको छ । ६ महिनाअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले अस्वभाविक रुपमा चौथो दलको हैसियत बनाएको छ । उसले प्रत्यक्ष मा ७ र समानुपातिकतर्फ १३ गरी २० सिट हात पारेको छ । 

यसैगरी राप्रपाले प्रत्यक्ष मा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेर पाँचौं दल बनेको छ । प्रत्यक्ष मा ७ सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ ५ सिटसहित १२ सिट र प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीले समानुपातिकमा ५ सिट जितेको छ । यो निर्वाचनबाट स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बलियो उपस्थितिसहित राष्ट्रिय दल बन्दा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ४ सिट (स्वतन्त्र विजयी रेशम चौधरीका बाबु लालविर चौधरीसहित) जितेको छ । उसले समानुपातिकमा भने ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन । 

यो निर्वाचनबाट ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादी पार्टी प्रत्यक्षमा १० सिट जितेर पनि राष्ट्रिय दल बन्न सकेन । लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रत्यक्षमा ४ सिट जित्यो । तर उसले पनि थ्रेसहोल्ड कटाउन सकेन । राष्ट्रिय जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टी १ सिट जित्दा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । समानुपातिकमा सबैभन्दा धेरै नेकपा एमाले २८ लाख ४५ हजार ६४१ अर्थात २६.९५ प्रतिशत मत पाएको छ भने दोस्रो भएको काँग्रेसले २७ लाख १५ हजार २२५ मत अर्थात २५.७१ प्रतिशत मत पाएको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत, रास्वपाले ११ लाख ३० हजार, ३४४ अर्थात १०.७० प्रतिशत, राप्रपाले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जसपाले ४ लाख २१ हजार ३९३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत मत पाएका छन् ।

एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात ३२.७८ प्रतिशत मत पाएको थियो । दुई ठूला दल एमाले र काँग्रेसले अघिल्लो चुनावभन्दा करिब ६ प्रतिशत मत गुमाएका छन् ।

समानुपातिकमा २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादी थोरै मतले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन असफल भएको छ । यदि उसले थ्रेसहोल्ड कटाएको भए कम्तीमा ४ सांसद पाउने निश्चित हुन्थ्यो । तर एक वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी राष्ट्रिय दल बन्न चुकेको छ । 

यो पटकको निर्वाचनले ठूला र पुराना राजनीतिक दलहरूप्रति जनताको वितृष्णा देखाएको छ । प्रमुख राजनीतिक दलहरुले यो पटकको निर्वाचनमा धेरै मत गुमाउँदा नयाँ र साना पार्टीले मत बढाउन सफल भएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात ३२.७८ प्रतिशत मत पाएको थियो । दुई ठूला दल एमाले र काँग्रेसले अघिल्लो चुनावभन्दा करिब ६ प्रतिशत मत गुमाएका छन् । 

तेस्रो ठूलो दल माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६६ प्रतिशत पाएको थियो । उसले २ प्रतिशत मत गुमाएको देखिएको छ । अघिल्लो पटक करिब दुई तिहाई मत पाएर पनि सरकार सञ्चालनमा एमाले र माओवादी केन्द्रको असफलता, पटक पटक पार्टी विभाजित भएर चार टुक्रा बनेको र राष्ट्रिय राजनीतिमा पुराना पार्टी र पाका नेताको विकल्प जनताले खोज्न थालेको यो निर्वाचन परिणामले देखाउँछ । खासगरी युवा मतदाताहरु सबैभन्दा बढी परिवर्तनको पक्षमा उभिएको देखिन्छ । यसैको प्रभावले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित रुपमा प्रत्यक्षमा ७ र समानुपातिकमा १घ गरी २० सिट जितेको छ । 

यो निर्वाचनले २०६४ पछि राजनीतिमा निरन्तर बलियो उपस्थिति जनाउदै आएका माओवादी र मधेसवादी शक्तिलाई कमजोर बनाइदिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग मिलेर प्रत्यक्षमा ७ सिट जितेको छ भने समानुपातिकमा थ्रेसहोल्ड कटाउन अघिल्लो पटकभन्दा संघर्ष गर्नुपरेको छ । यस्तै महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) थ्रेसहोल्ड कटाउनै असफल बनेको छ । मधेसमा उदाएको जनमत पार्टीले यी दललाई कडा चुनौती दियो । सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका सिके राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए । यसबाट मधेसमा पनि जनताले अब वैकल्पिक शक्ति खोजेको प्रष्ट देखिन्छ । 

यो निर्वाचनबाट १२ दल प्रतिनिधि सभामा पुगेकामा ७ वटा दलले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन् । जबकि अघिल्लो पटक ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बनेका थिए । निर्वाचनको बदलिएको परिणामले पुराना दल र पाका नेतालाई अहिलेकै रवैया कायम राखिराखे राष्ट्रिय राजनीतिमा टिक्न कठिन हुने देखिन्छ । उनीहरुका लागि यो निर्वाचन परिणाम अर्को खतराको घन्टी नै बजेको छ  ।