माओवादी अधोगतिको यात्रा: हालको मत कायम रहँदा पनि ७-८ सिटमा सीमित हुने कुरूप दृश्य !

माओवादी अधोगतिको यात्रा: हालको मत कायम रहँदा पनि ७-८ सिटमा सीमित हुने कुरूप दृश्य !

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर २२, २०७९

एउटा सचित्र बोध कथाको स्मरण आउँछ। चित्रमा एउटा व्यक्ति रूखको हाँगामा झुन्डिएको हुन्छ। उ झुन्डिएको हजारौ फीट तल उभिएको सिंह निकट भविष्यमै आउन गइरहेको सुखद क्षणको व्यग्रता साथ प्रतीक्षा गर्दै गर्जन गरिरहेको हुन्छ। व्यक्ति झुन्डिएको हाँगातिर विस्तारै एवं मन्द गतिले भंयकरको सर्प केही दिनको क्षुधा मेटिने आशा प्रत्याशामा लम्किरहेको हुन्छ।

व्यक्तिका दुबैतिर सर्वनाशको कालो छाया मूर्त मान बनी उपस्थित भएको हुन्छ। उसले मृत्युको सन्निकट ता क्षण क्षण बढ्दै गइरहेको स्पष्ट अनुभूति गरिसकेको हुन्छ। यत्तिकै मा रुखको माथिल्लो हाँगामा रहेको मौरीको घारबाट निस्केको महको एक थोपा उसको मुखमा पर्छ।  उसले तत्काल वर्तमानको विकरालता बिर्सेर मास्तिर हेर्दै महका अन्य थोपाको लालसा गर्न थाल्छ। सर्पका रुपमा निकट आउँदै गइरहेको मृत्युका साथै हजारौ फिट तल पर्खिरहेको मृत्यु बिर्सेर उ जीवनको मादकता र रोमान्सबारे सोच्न र प्राप्त गर्ने चेष्‍टामा केन्द्रित हुन्छ।

आध्यात्मिक क्षेत्रमा यस सचित्र कथाको आशय, अर्थ र प्रयोजन जेसुकै खुलाइएको भए पनि 'आम निर्वाचन २०७९ विशेष'को यस नवौं श्रृंखलामा यस कथाको सान्दर्भिकता माओवादी पार्टी र त्यसका मुखिया प्रचण्डसँग दुरुस्त मिल्न गएको बारे सामयिक चर्चामा खर्चिन मन लाग्यो।

संसदीय व्यवस्था रूपी रुखमा प्रचण्ड ३२ जना सहकर्मी लिएर सत्ता गठबन्धनको माथिल्लो हाँगाबाट झर्ने मह माफिकको सत्ता सुख लालसामा सर्वथा र सर्वाङ्ग रुमलिएका छन। रुखमा झुन्डिएको व्यक्ति सादृश्य निकट भविष्यमा हुनसक्ने उनको र उनको दलको राजनीतिक अवसान पुर्व संसदीय अंक गणितमा उनका लागि महका केही थोपा अर्थात सत्ता सुख  उपलब्ध छ।

झुन्डिएको व्यक्तिले महका थोपा पाउन साथ केही क्षणपछि उपस्थित हुने जीवन संकटलाई बिर्से जस्तै प्रचण्डले सत्ता सुखका सामु अर्को निर्वाचनलाई बिर्सनु यथार्थमा मानवीय गुण र प्रवृति नै हो। प्रचण्डका लागि संसदमा भएको ३२ संख्या बल महका अन्तिम बुँदा माफिक हुन यसको रस्वादन गर्नु सर्वथा जायज हो।

कसै कसैलाई लाग्न सक्छ के भयो त २०७९ को निर्वाचनमा ३२ सीटमा झरेको माओवादी भविष्यका निर्वाचनमा अझ सशक्त हुनसक्छ। बाबुराम र नेसपा, माधव नेपालको एस, मधेशको जसपा लगायत अन्य सानातिना दल र व्यक्ति विशेष देशका बैंक मर्जर भए झै संयुक्त मोर्चा बनेर ठूलो शक्तिका रूपमा उदाउन सक्छन । 'मुन्गेरी लाल के हसीन सपने' जस्तै सपना हेर्ने मौलिक एवं प्राकृतिक अधिकार सबैलाई हुन्छ। यस्तो सपना बुन्नेलाई यो अधिकार नहुने कुरै हुँदैन।

बाबुरामको हैसियत विगत ५-७ वर्षदेखि नै क्रिस्टल क्लियर छ। घुमिफिरी रूम्जाटार पुगेका उनको चर्चा गर्नु आवश्यक छैन।  माधव नेपालको हैसियत भर्खरै भण्डाफोर भएको हो। माओवादीसँग मोर्चा बन्नु अघि नै भागबण्डा पाएर पनि निर्वाचनमा पराजय ब्यहोरेको व्यक्ति पवेलियन फर्किन्छन्। जितेका १० मध्ये पनि अधिकाँश अवसर खोज्दै मोर्चा बन्नु अघि नै तितरबितर हुन्छन्। जसपा र उपेन्द्र यादवको भाग्य निर्धारण (१२ सदस्य ) नवगठित संसद सुचारु भएसँगै स्पष्ट हुन्छ।  सबैभन्दा पहिला विभाजित हुने श्रेय यसैलाई प्राप्त भयो भने कुनै अचम्म हुने छैन। आउने समयमा सीके राउतको जनमत र भोंपुले  मधेश प्रदेशमा उनको पत्ता साफ नै बनाउने परिदृश्य उपस्थित भइसकेको छ।  

समानुपातिकमा माओवादीको भोट ११ लाख ७५ हजार कायम नै रह्यो भने यो ७-८ प्रतिशतमा खस्न पुगेर ७-८ सिटमा सीमित हुन्छ। माओवादीले ११ लाख ७५ हजार भोट कायम राख्ने कुनै सम्भावना छैन।  अर्को निर्वाचनमा यसको भोट खसेर ८ लाखको हाराहारीमा आइपुग्छ। अर्को निर्वाचनको परिणाम आउदा माओवादी राप्रपाभन्दा पातलो हुने प्रसस्त सम्भावना छ।  

यसरी सरसर्ती हेर्दा नयाँ मोर्चा बने पनि बाबुराम, माधव नेपाल, उपेन्द्र यादव र अन्य महोदयले त ओत लाउने ठाउँ पाउलान् तर समग्रमा माओवादीलाई कुनै लाभ हुँदैन। झन नाना प्रवृतिका मानिसको जमघटले पार्टीभित्र किचलो मात्रै बढ़्ने हो। हो यो बनेमा देशले कम्युनिस्ट नामबाट उन्मुक्ति पाउने सम्भावना छ।  नयाँ मोर्चाको नाममा कम्युनिस्ट नाम नरहने प्रबल सम्भावना देखिएको छ। देशका लागि यो एकदमै ठूलो उपलब्धि हुन्छ। यस मोर्चाले पार्टी नाममा कम्युनिस्ट शब्द नराख्दा एमालेका लागि पनि कम्युनिस्ट शब्द हटाउन आँट आउँछ।

माओवादीलाई सत्ता सुख भोग गर्ने यो नै अन्तिम अवसर हो, प्रचण्डका मुखमा महका केही थोपा खस्न सक्ने अन्तिम 'चान्स'  हो।  उनले यसबाट किमार्थ पनि बन्चित हुनु हुँदैन। साम - दाम -दण्ड-भेद लगायत उनमा जेजे खुबी छन् सबैको अन्तिम थोपासम्म दोहन गरेर यस 'चान्स मा डान्स' गर्ने मौका छाड्नु हुन्न।

पाठकलाई लाग्ला यस्तो लेख्नुको प्रमाणिकता के ? यो पाठकीय मनोवृत्ति स्वाभाविक हो, सबै पाठक म जस्तै जन्मजात कम्युनिस्ट विरोधी हुन्ननन्। ल यसको 'फ्याक्ट'  चेक गरौ -२०६४ को पहिलो संविधान सभा निर्वाचनमा देशभरी १ करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेका थिए। ६१ दशमलब ७० प्रतिशत मतदानले प्रत्यक्षतर्फ सदर मत संख्या रह्यो १ करोड ३ लाख ६ हजार १२० र समानुपातिक तर्फ १ करोड ७ लाख ३९ हजार  ७८ मात्र ।  माओवादीले प्रत्यक्षतर्फ ३०  दशमलब ५२ प्रतिशत मत पाएर कुल  ३१ लाख ४५ हजार ५१९  मत ल्याउदै  १२० सीट जित्नका साथै समानुपातिक तर्फ २९ दशमलब २८ प्रतिशत मत बटुल्दै कुल ३१ लाख ४४ हजार २०४ मत पाउँदै १०० सीटमा विजय पाएर संसदको सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको थियो।

माओवादीको ओरालो यात्रा २०६९ को दोस्रो संविधान सभा बाटै शुरू भइसकेको थियो। २०६९ को निर्वाचनमा निर्वाचन आयोगले मतदाता नामावली व्यवस्थित गर्दै लैजाने क्रममा देशमा मतदाताको संख्या घट्यो।  यस निर्वाचनमा देशमा मतदाता संख्या घटेर १ करोड ७ लाख ३९  हजार ७८ हुन आयो। सामान्यतया ५ वर्षको अवधिमा २०-२५ लाख मतदाता थपिनु पर्नेमा झण्डै ६९ लाख मतदाता घटे।  सहज अनुमान गर्न सकिन्छ यी ६९ लाख मतदाता फर्जी थिए। २०६९ को निर्वाचनमा माओवादीको समानुपातिक तर्फको मत घटेर १४ लाख ३९ हजार ७२६ मा आइसकेको थियो। माओवादीको समानुपातिकको आकार आधी रहेको थियो। तर यो पनि उसको वास्तविक धरातल थिएन।  

२०७४ को निर्वाचनमा आउँदा मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ पुग्यो। २०६९ को निर्वाचनपछि झण्डै ४७ लाख मतदाता थपिँदा माओवादीको भोट बढ्नु सट्टा ओरालो यात्रामै लागि रह्यो। २०७४ को निर्वाचनमा वाम एकता हुँदा प्रत्यक्ष तर्फ माओवादीले सीट बढाए पनि माओवादीले समानुपातिक तर्फ १३ लाख ३ हजार ७२१ मत मात्रै ल्याउन सक्यो। १७ सीट मात्रै पाउन सक्यो।

अब २०७४ को निर्वाचन सिंहावलोकन गरौ।  २०६९ को भन्दा ५ वर्षको अवधिमा झण्डै २५ लाख मत थपिएर मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० पुगेको थियो। निर्वाचन आयोगले अहिलेसम्म समानुपातिक तर्फको बदर मत संख्या प्रकाशित गर्न सकेको छैन। देशभरी समानुपातिक तर्फको सदर मत संख्या १ करोड ५ लाख ६० हजार ८२  रहेको छ। यसमध्ये माओवादीले झण्डै ११ दशमलब १३ प्रतिशत मत ल्याउदै ११ लाख ७५ हजार ६८४ आफ्ना लागि सुरक्षित गरेको छ। अर्थात निर्वाचन २०७९ मा पनि माओवादीको समानुपातिक तर्फको ओरालो यात्रा जारी नै रह्यो।

२०७४ देखि २०७९ सम्म को समयावधिमा झण्डै २५ लाख युवा मतदाता थपिँदा माओवादीको समानुपातिक तर्फको मत झनै घटेको हेर्दा सहज अनुमान लाउन सकिन्छ - थपिएको युवा मतदाताले माओवादीलाई भोट नै दिएनन। पुराना मध्ये पनि ३ लाखभन्दा बढीले माओवादीलाई बाई बाई गरे, अथवा उनले आफ्नै जीवनलाई बाई बाई गरे

बाबुरामले त्यसै पार्टीको नामबाट माओवादी र कम्युनिस्ट शब्द झिकौँ भनेका होइनन। यसका पछाडि वास्तविक तथ्य र तर्क छ। देशको युवा वर्ग माओवादीप्रति किञ्चित पनि आकर्षित छैन। आउने ५ वर्षमा माओवादीलाई यस पटकसम्म मत प्रदान गर्ने पुराना मतदाता मध्ये धेरैले  प्राकृतिक कारणले नै सही मतदान गर्न पाउदैनन्। अर्को निर्वाचनसम्म थपिएको युवा मतदाताको माओवादी प्रति समर्थन- आकर्षण- झुकाव अर्जित गर्न नसके माओवादीको भोट घट्ने स्वतः प्रमाणित हुन्छ। यस अर्थमा बाबुरामको दूरदर्शितालाई स्वीकार गर्नुपर्ने हुन्छ।

माओवादीले नयाँ मोर्चा बनाउनु भनेको राजनीतिक रूपमा पलायन भएकाहरुलाई आश्रय प्रदान गर्नुभन्दा बढी केही पनि हुँदैन। मोर्चा बनाएर माओवादीको भोट बढ्दैन। हो , अर्को चुनावमा वाम गठबन्धनमा माओवादी सम्मिलित हुन पायो भने प्रत्यक्षतर्फ उसका केही सीट बढ्न  सक्छन। तर यहाँ पनि प्रश्न तेर्सिन्छ - वाम गठबन्धनमा प्रत्यक्षतर्फ कति सिटको भागबण्डा पाउँछ माओवादीले ? २०७४ को निर्वाचनमा वाम गठबन्धनमा यसले पाएको ४० प्रतिशत हिस्सेदारी, २०७९  निर्वाचनको लोकतान्त्रिक वाम गठबन्धनमा पाएको २९ प्रतिशत हिस्सेदारी, भविष्यमा हुने कुनै पनि गठबन्धनमा पाउन सक्दैन। माओवादीले अब हुने जुनसुकै गठबन्धनमा  प्रत्यक्ष तर्फ १५-१६ प्रतिशत अर्थात २० देखि २५ सिटसम्ममा लड्ने मौका पाउँछ।  आफु एक्लै लडेको खण्डमा उसलाई १६५ सिटमै लड्ने स्वतन्त्रता रहन्छ। एक्लै लडेर ५-६ सीट जित्ने कि गठबन्धन गरेर १०-१२ सिटसम्म जित्ने ! यसको फैसला गर्ने पनि एकलौटी अधिकार माओवादीसँग रहन्छ।

जस्तो गठबन्धनमा समाहित भए पनि समानुपातिकतर्फ भने अरु दलले माओवादीलाई मत दिने होइनन।  मध्यावधि निर्वाचन नभएको खण्डमा अर्को चुनावसम्म अर्थात ५ वर्षको अवधिमा देशमा कम्तीमा २०-२५ लाख भोट थपिन्छ। ५ वर्षपछि हुने निर्वाचनमा मतदाता संख्या २ करोडभन्दा बढी पुग्छ। वोटिङ प्रतिशत जति रहे पनि समानुपातिक तर्फ झण्डै  १ करोड ३५ लाख मत खस्छ। समानुपातिकमा माओवादीको भोट ११ लाख ७५ हजार कायम नै रह्यो भने यो ७-८ प्रतिशतमा खस्न पुगेर ७-८ सिटमा सीमित हुन्छ। माओवादीले ११ लाख ७५ हजार भोट कायम राख्ने कुनै सम्भावना छैन।  अर्को निर्वाचनमा यसको भोट खसेर ८ लाखको हाराहारीमा आइपुग्छ। अर्को निर्वाचनको परिणाम आउदा माओवादी राप्रपाभन्दा पातलो हुने प्रसस्त सम्भावना छ।  त्यसपछि हुने जुनसुकै निर्वाचनमा माओवादी रोल्पा -रुकुम लगायतका अन्य एक दुइ जिल्लामा मादल बजाएर बस्छ। हत्तेरिका तपाईंहरुले मादल बजाउनुको अर्थ पनि बुझ्नु भएन ! त्यै क्या मादल चुनाव चिन्ह भएको नेमकिपा जस्तै भक्तपुरमा सीमित हुने उपमा दिएको !! 

यो पनि 

कमरेड ! आफ्नो बुतामा कति सिट जित्न हुन्थ्यो ?

नेकपा एसको समानुपातिक मतमा गिड्गिडाहट: समस्या आफैंमा कि गठबन्धन दलमा ?

बाबुराम भट्टराईकै नियतिमा गगन थापा !

अब कुन पथ हो 'सुप्रिमो' ?

आत्महन्ता ओलीको राजीनामा ! दुई तिहाइ टिकाउन नसक्ने कम्युनिस्टहरूको सामान्य बहुमतमा कसरत !?

रवि लामिछानेको खुकुरी धारको यात्रा: टिके ठुलो राजनीतिक दल चिप्ले भने पत्ता साफ !

चुनावी विकृति रोक्ने रामवाण : मन्त्रीमण्डलमा गैह्र सांसदको मात्र सहभागिता !