पूर्वीय सभ्यतामा हाम्रो योगदानको खोज-अनुसन्धानमा बेवास्ता किन र कहिलेसम्म ?

फर्कलान् र ती दिनहरु

पूर्वीय सभ्यतामा हाम्रो योगदानको खोज-अनुसन्धानमा  बेवास्ता किन र  कहिलेसम्म ?

हरिविनोद अधिकारी  |  समाचार  |  मंसिर २४, २०७९

मनमा अनेक विचार आउँछन् अनि हराउँछन् बग्दो नदीमा उठ्ने पानीका फोकोझैँ । ती भावना मनको कुनै कुनामा यसरी अभिलेखी कृत हुने रहेछ कि कता कता ती विचारहरूले विपनामा मूर्त ता प्राप्त गर्न सकेन भने पनि सपना बारम्बार देखिने रहेछ भन्ने मनोविद्हरुके धारणा छ ।

विचार परिवेशले पनि जन्माउँछ, अध्ययनका कारणले पनि जन्माउने हुन्छ र आवश्यकताले पनि विचारको उत्पादन हुने रहेछ । सबै विचार भन्न पनि सकिँदैन किनभने विचार न हो, केके आउँछ केके आउँछ । औपचारिकतामा भन्न पटक्कै नसकिने तर अनौपचारिक या एकान्त वाससमा भने मनमा आइरहने । त्यसले विचार पूरा गर्न यदि मनमा अर्को विचार आयो भने मानिसले त्यसका लागि प्रयास सुरु गर्ने रहेछ । कुनै कुनै विचार यसरी आउँछन् कि आफूलाई सत्य जस्तै लाग्ने अनि त्यसको मूर्तरुप पर्खेर बसिने पनि हुने रहेछ । अर्थात् मानिसले पहिले कल्पना गर्ने रहेछ अनि त्यसलाई धारणामा परिवर्तन गर्ने रहेछ ।

यो कुराको एउटा ज्वलन्त उदाहरण महाभारतमा पाइँदो रहेछ सुभद्राको विवाह प्रसङ्गमा । आज हाम्रो समाजमा मामा चेली र फुपू चेलीका बिचमा विवाह हुने परम्परा छँदैछ । अझ जाति विशेषमा यो चलन छ । नेपाली विवाहको नियममा जेजे कुरा लेखिँदा पनि अन्त्यमा भनिन्छ ....तर परम्परा र चलनमा चलेको रहेछ भने माथिका कुराले असर पार्ने छैन । हाडनातामा हुने विवाहका विषयमा पनि यसै भनिएको पाइन्छ । वासुदेवकी छोरी सुभद्रा र वासुदेवकी बहिनी कुन्ती या पृथाको कान्छो तर पाण्डु तर्फका साहिँलो छोरो अर्जुन जसलाई हाम्रो पुराणहरुमा र महाभारतमा नर नारायणको अवतारमध्ये नरको अवतार मानिन्थ्यो ।

कृष्णलाई विष्णुको सोह्र कलाको अवतार या नारायणको पूर्ण अवतार मानिन्थ्यो । फुपूको छोरो अर्जुन अनि मामाकी छोरी सुभद्राको मागी होइन, भागी  विवाह  भएको पाइन्छ । त्यो विवाहमा कृष्णको बाहेक अरु कसैको पनि त्यसमा सहयोग पनि थिएन । अझ भनौँ, स्वीकृति पनि थिएन । सर्वव्यापी र सर्व ज्ञानी कृष्णले मात्र बुझेको के रहेछ भने भरत वंशीको नाममा भारतवर्षमा राज्य गर्ने नै बृष्णिवंशीय नारीबाट जन्मिएको कुरुवंशीले मात्र राज्य निरन्तर गर्नेछ । बारम्बार कुन्तीले यो विवाहको टिकाउ र वैधताका बारेमा कृष्णसँग प्रश्न राख्दा कृष्णले भन्ने नै के हो भने , फुपू यही जोडीबाट जन्मिएका सन्तानले नै भारतवर्षको हजारौँ वर्ष राज्य गर्नेछ । तपाई ढुक्क हुनुहोस् यो विवाह फाप्छ, फाप्छ । 
त्यो बेलामा, हाम्रो पूर्वीय सभ्यताको सुनौलो  समय भनेको नै द्वापरको अन्त्यतिर थियो जसको उदाहरण हो वेदको नयाँ व्याख्या । श्रुति-स्मृति मार्फत् समाजलाई बाटो देखाउनका लागि अठार पुराण, अठार उपपुराण, वेदको नयाँ व्याख्या, उपनिषद्हरूको व्यवस्था गरियो । श्रीमद्भागवतसँगै पञ्चम वेदको रुपमा महाभारतको सृजना गरिएको थियो ।

भविष्य द्रष्टाले भनेका थिए, कली युगमा यस्तो हुन्छ, यसरी समाज अनैतिक हुनजान्छ । आज कसरी त्यस्तै हुँदैछ ? के पहिले पनि यस्तै हुन्थ्यो र ? त्यही बेलाको प्रतिविम्ब आज देखिएको हो ? अनुभवले दिएको सन्देश थियो कि सुदूर भविष्यलाई टाढैबाट आँखा चिम्लेर देखेका थिए ? आज त त्यसको पनि अनुसन्धान हुन सकेको छैन ।

आजसम्म हामीले त्यो बेलाको इतिहासका लागि भर पर्नुपर्ने साहित्य भनेको नै वेदव्यास कृष्णको अर्का कृष्णको लीला लेखन नै हो । ब्रजमा जन्मिएका कृष्णका भक्त रहेका हस्तिनापुरका बुढा कृष्ण(व्यास) र युवा कृष्ण(अर्जुन) दुवै ब्रजका कृष्णका भक्त थिए । उनीहरुलाई कृष्णको प्रादूर्भाव तथा उत्पत्ति , लीला, क्षमता र परिणामका बारेमा थाहा थियो । त्यसैले व्यासले वासुदेव कृष्णको लीलालाई विभिन्न पुराणहरु मार्फत् मात्र होइन कि महाभारत र श्रीमद्भागवत मार्फत् अठासी हजार सौनकादि  ऋषिहरु मार्फत्  संसारलाई जानकारी गराएका थिए । त्यस्ता श्रुति स्मृतिको सृजना पनि एउटा सानो विचारको फिलिङ्गो मार्फत् नै भयो होला । 

अझ भनिन्छ, पहिले व्यासले आफ्नो परिवारको कथामात्र लेख्दै थिए जय नामका ग्रन्थ मार्फत् जसलाई त्यो बेलामा छिटो लेख्न सक्ने गणेशले लेखेर पूरा गरेका थिए । सुभद्रा र अर्जुनको विवाह एउटा प्रगतिशील विवाह थियो जसलाई भविष्यको भारतवर्षको राज्य सञ्चालनको अभिभारा लिने कुराको भविष्य द्रष्टा व्यास र श्रीकृष्ण मात्रै थिए । द्रौपदीबाट पाँच पाँच ओटा छोराहरु हुँदाहुँदै पनि किन सुभद्राको सन्तानले नै राज्य गर्नेछ भनेर कृष्णले भने भनेर सोच्ने मात्र कुन्ती थिइन् । पछि सुभद्राको विवाहबाट विचलित भएकी द्रौपदीलाई सम्झाउँदै कृष्णले भनेका रहेछन्- यो इतिहासको माग हो किनभने पछि हामी कोही नरहँदा पनि सुभद्राको सन्तान रहनेछन् । त्यसो त सुभद्राको सन्तान पनि द्रौपदीकै सन्तान हुन् या द्रौपदीको सन्तान पनि सुभद्राका सन्तान हुन् । 

विचारको झिल्काले सधैँ मूर्त ता खोज्छ र बाटो पहिल्याउन खोज्छ । जसले विचार मस्तिष्कमा ल्याउँछ, त्यसैले नै मूर्तरुप दिलाउन सक्छ भन्नेचाहिँ हुँदैन । आजका जति पनि वैज्ञानिक आविष्कार छन् , ती सबैको एकैदिन परिणाम दिनेगरी पूर्णता पाएका हुँदैनन् । 

सायद वेद व्यासमा पनि भविष्य द्रष्टाका रुपमा देखिएको सुदूर भविष्यलाई लिपिबद्ध गर्न मन लाग्यो होला । त्यसो त हामीले वेद व्यासलाई अष्ट चिरञ्जीवीका मानेका छौँ । सायद चिरञ्जीवीको एउटा अर्थ यो पनि होला, आज म एउटा कुनामा बसेर टाइप गर्दैगर्दा पनि व्यासको देनलाई सम्झेर शिर निहुराउँछु र पूर्वीय सभ्यताको महान प्रतारकका रुपमा सम्झना गर्दैछु । व्यासले पूर्वीय सभ्यताको परिभाषा तयार गरे, पुनर्व्याख्या गरे र त्यसलाई लिपिबद्ध गरे अनि विश्वका लागि दिए । आज पनि हामीसँग विश्व साहित्यसँग सर्वोच्च स्थानका रहने पुराणहरू छन् । त्यसो त  आदिकवि बाल्मीकिले दिएको राम कथा रामायण पहिलो काब्य भएको पनि रेकर्ड हाम्रै सभ्यतासँग छ ।

आदर्श राज्य र भ्रातृ प्रेमको र बहादुरी पनको कथा पनि हो र विभिन्न जात सम्प्रदायका बिचको एउटा समावेशिताको कथा पनि हो । रामायण इतिहास पनि हो , भूगोल पनि हो, रण संग्राम पनि हो, राज्यहरूका बिचको सम्बन्धलाई कसरी विकसित गर्ने भन्ने पनि हो । सबैभन्दा बढी त्रेता युगको सभ्यताको कथा हो । कसरी त्रेता युग तेस्रो युग नबनेर दोस्रो युग बन्न पुग्यो भन्ने कथा पनि हो । 

अर्थात् हामीले पूर्वीय सभ्यताको पहिचानका लागि आज पनि जप्ने नाम भनेको वेद, उपनिषद्, पुराणहरु, रामायण, महाभारत नै हुन् जसले अप्रतिस्पर्धीरुपमा विश्वभर पूर्वको ज्ञान प्रसार प्रचार गरेका छन् र आजभन्दा दसौँ हजार वर्ष अघि पनि त्यसप्रकारको विचार उत्पत्ति भएको थियो र खगोलको बारेमा आज पनि अकाट्य तथ्यहरूको संग्रह निर्माण गर्न सक्ने  भन्ने अकल्पनीय विचारको प्रवाहित हुन सक्यो । 

पुर्खाले हामीलाई सुम्पेको विरासतलाई जोगाउन सकेका त छैनौँ छैनौँ तर त्यसलाई समर्थन पनि गर्न सकेका छैनौ र त्यसप्रति गर्व गरेर हामी त्यस्ता सभ्यताका उत्पादन हौँ भनेर छाती उच्चा गरेर भन्न पनि सकेका छैनौँ । किन ? यसको उत्तर कोसँग होला र ? हामी आफैँ सचेत हुन नसकेको र ती साहित्यको अध्ययन गर्न पनि नसकेको जस्तो लाग्न थालेको छ । अनि हामी विचार दिन असमर्थ हुँदैछौँ ? यसको पनि उत्तर कोसँग खोज्ने र ? 

ती भविष्य द्रष्टाले भनेका थिए, कली युगमा यस्तो हुन्छ, यसरी समाज अनैतिक हुनजान्छ । आज कसरी त्यस्तै हुँदैछ ? के पहिले पनि यस्तै हुन्थ्यो र ? त्यही बेलाको प्रतिविम्ब आज देखिएको हो ? अनुभवले दिएको सन्देश थियो कि सुदूर भविष्यलाई टाढैबाट आँखा चिम्लेर देखेका थिए ? आज त त्यसको पनि अनुसन्धान हुन सकेको छैन । त्यस्ता ग्रन्थ या साहित्यको सृजना त कता हो कता । क्रमशः