तीर्थ भट्टराई : छायाँमा परेका अंग्रेजी पत्रकारिताका उम्दा पत्रकार तथा अनुवादक

तीर्थ भट्टराई : छायाँमा परेका अंग्रेजी पत्रकारिताका उम्दा पत्रकार तथा अनुवादक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर २५, २०७९

आर्थिक अवस्थाका हिसाबले उहाँको परिवार न्यून मध्यम वर्गीय परिवार हो । पहिलो सम्पन्न हो भन्ने सुने पनि पछि उहाँले थाहा पाउँदा भने अवस्था त्यस्तो थिएन । बुवा बाहिर बाहिरै घुम्ने अनि यसो कहिलेकाहीँ घर आउने । यसो गर्दा आमालाई उहाँको लालन पालन मै समस्या परेपछि आमाले अढाइ वर्षको उमेरमा उहाँलाई मावलमा नै छोडेर आउनुभयो । जसका कारण उहाँको शिक्षा, दिक्षा पनि मावलमा नै हुन पुग्यो । बुवा बाहिरै हिँड्ने, यसो जजमानी गर्ने काम पनि गर्नुहुन्थ्यो । अनि बुवाको निधन पनि घरमा नभएर बाहिरै भयो । 

उहाँको जन्म २०१९ साल फागुन ३ गते भोजपुरको भुल्केमा भएको हो । अहिले भने भुल्के गाउँ रामप्रसाद राई गाउँपालिकामा पर्छ । उहाँका दुई भाइ तथा दुई बहिनी । उहाँ भने जेठो । 

उहाँले सानोमा गुच्चा नपाउँदा माटाका मट्याङ्ग्राका गुच्चा खेल्नुभयो । खोपी पनि खेल्थे त्यो बेला । भकुण्डो भनेका त्यो साना, साना सुन्तला अनि ठूला सुन्तला भनेका जुनार, ज्यामिर र झुम्रोको बल पनि खेल्नुभयो । खोला टाढा भएकोले उहाँले पौडी खेल्न जान्नु भएन र जानु पनि भएन । संगीतकार बुलु मुकारुङ लगायतका साथीहरुले उहाँलाई पौडी खेल्न र सिकाउन निकै प्रयत्न गरे तर पौडी खेल्न डराउने कारणले उहाँ अलगै बस्नुहुन्थ्यो । 

०००
उहाँ मावलमा बस्ने हुनाले मावलीको हजुरबा देउ भद्र अधिकारीले कखरा सिकाउने काम गर्नुभयो । काठको पिर्कामा चालेर मसिनो बनाएको रातो माटो फिँजाएर त्यसमा सिन्को अथवा औँलाले लेखेर अक्षर चिनाउनु भएको हो । 

उहाँको प्रारम्भिक शिक्षा भने भोजपुरको दिल्पा स्थित अन्नपूर्ण व्यवसायिक माविमा भएको हो । स्कूलमा व्यवसायिक शिक्षा अन्तर्गत बागवानीको पढाइ हुन्थ्यो । स्कूलमा डेस्क बेन्चको राम्रै व्यवस्था थियो । कक्षा भने धुले भएका कारण पात्लेको स्याउला ले बढार्ने र लिपपोतको काम पनि गर्नुभयो । 

उहाँ उक्त स्कूलमा शिशु कक्षादेखि नै पढेको हो । त्यस बेला कक्षामा १२/१५ जना विद्यार्थी थिए जस्तो लाग्छ उहाँलाई । अन्य कक्षामा पनि १५/२० जना भएझैँ लाग्छ उहाँलाई । अनि कक्षामा ३/४ जना महिला हुन्थे । महिलामा पनि माझ किराँतको गाउँ भएका हुनाले राईका छोरीहरु हुन्थे । तर, क्षेत्री बाहुनका छोरीहरु पाउँदैनथे अनि पढ्दैनथे । 

उहाँ शिशु कक्षाबाट एकैपटक दुई कक्षा र दुई कक्षबाट तीन नपढी एकैपटक चार कक्षामा जानुभयो । चार कक्षाको जेठको अर्धवार्षिक परीक्षामा उहाँ पाँच कक्षामा जानुभयो र मंसिरको अन्तिम परीक्षामा उहाँहरु छ कक्षामा जानुभयो । यसरी एक, तीन र पाँच पनि आधा उधी पढेर उहाँ छ कक्षामा पुग्नुभयो ।

उहाँ दुई कक्षामा सेकेण्ड, चारमा फस्र्ट, पाँचमा थर्ड, छ मा सेकेण्ड र सात कक्षादेखि भने उहाँ लगातार फस्र्ट हुनुभयो । उहाँ अन्तर्मुखी स्वभावको । नजिकका एक/दुई जान साथीबाहेक अरुसँग त्यति बोल्नु हुन्थेन अनि शिक्षकहरूसँग त झन अन्तरक्रिया हुने कुरै भएन । फेरि त्यो समय शिक्षकसँग अन्तरक्रिया भनेको दुर्लभ नै पनि हुन्थ्यो । 

माध्यमिक कक्षामा ४०/४५ जना विद्यार्थी भएजस्तो लाग्छ उहाँलाई । महिलाहरुको सहभागिता ७÷८ को संख्यामा हुन्थ्यो । उहाँको बसाइ पहिलो बेन्चमै हुन्थ्यो । उहाँ शारीरिकरुपमा कमजोर हुनुहुन्थ्यो अनि दुब्लो, पातलो पनि । त्यसैले पनि होला बाहिरी खेलहरुमा उहाँको रुचि थिएन । स्कूलमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगितामा उहाँ नै पहिलो हुनुहुन्थ्यो । उहाँले खेल्ने भनेको साथीहरुले बल खेल्दा बाहिर गएको बल हान्ने नै हुन्थ्यो । अनि रिङ पनि खेल्नुभयो स्कूलमा । छेक्ने अनि कक फाइट पनि खेल्नुभयो उहाँले । उहाँले स्कूलमा पचास पैसा तिरेको याद छ । तर, त्यो पनि नभएर फस्र्ट, सेकेण्ड हुने मान्छेको रोल नम्बर ३४/३५ पुगेको पनि अनुभव छ उहाँको । 

दश कक्षामा झण्डै ६० जना रहेकोमा टेष्ट पास भएर एसएलसी दिनेमा भने १७ जना हुनुहुन्थ्यो , १७ जनामा १७ जना नै पास भएर त्यस बेला अन्नपूर्ण स्कुलले रेकर्ड नै राखेको थियो । उहाँ भने फस्र्ट डिभिजनमा पास हुनुभयो । त्यो विद्यालयका लागि रेकर्ड नै थियो । उहाँको स्कुलले झण्डै २०२५ सालमा एसएलसी दिएजस्तो लाग्छ उहाँलाई । र उहाँ नै स्कूलमा फस्र्ट डिभिजन ल्याउने पहिलो विद्यार्थी हुनुभयो । र, उहाँले फस्र्ट डिभिजन ल्याएको १६ वर्षसम्म पनि कसैले फस्र्ट डिभिजन ल्याएनन् ।

 ०००

उहाँ लगनशील भएर घोकेर पढ्ने भन्दा पनि कुनै कुरा पढाएको छिटो र चटक्क बुझ्नु हुन्थ्यो । उहाँलाई आफ्नो पढाइको बारेमा राम्रो नराम्रो भन्ने पनि थाहा थिएन । र, कोही अग्रजले थर्ड डिभिजनमा पास गर्दा उहाँले त थर्ड डिभिजनमा पास गर्नु भएछ । आफू त पास मात्रै भए पनि हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । थर्ड डिभिजन र पास भन्ने एउटै हुन त्यो भन्दा कम हुन्छ भन्ने पनि उहाँलाई थाहा थिएन ।

नियात्राकार जय छाङ्छा राईको छाङ्छाका प्रेम कविताहरु भन्ने पुस्तकको पनि अनुवाद ‘छाङ्छाज लभ पोइम्स’ गर्नुभयो । भद्र कुमारी घलेको ‘आर्ट एण्ड लाइफ’ तथा उहाँकै ‘आइमाई, हिजो आज र भोलि’को अनुवाद प्रकाशोन्मुख छ । प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको बारेमा लेखेको ऐतिहासिक उपन्यास ‘क्रान्ति वीरको सपना’ ‘ड्रिम अफ अ रिभोलुसनरी’ पनि प्रकाशोन्मुख छ । श्रवण मुकारुङ देखि युवा कविका कविता पनि उहाँले अनुवाद गर्नुभएको छ ।

उहाँ पढाइमा राम्रो भएका कारण एसएलसी पास हुने बित्तिकै उहाँको हेड सरले भोजपुरको आफ्नै गाउँ कटुञ्जे कटुञ्जे स्कूलमा पढाउन पठाउनु भयो । उहाँको आफ्नो घरबाट स्कूल करिब २ घण्टाको दूरीमा थियो । उहाँलाई एसएलसी दिइसकेपछि पनि यहीँ मावलमा बस्ने होला भन्ने लागेको रहेछ । तर, मावल छोडेर पढाउन जानुपर्दा उहाँ रुँदै रुँदै जानुभयो रे !

स्कूलमा मास्टर हुँदै गर्दा उहाँले पाँच, छ र सात कक्षामा अंग्रेजी, गणित र विज्ञान सबै पढाउनु पर्थ्यो । कतिपय विद्यार्थी त आफूभन्दा ठूला थिए । सानो तथा फुच्चे भएकोले उहाँलाई गाउँलेले ‘सानो मास्टर’ भन्थे । आफ्नो कक्षामा त बोल्न लजाउने भर्खरको केटो अब 'माास्टर' भएर जाँदा सुरु सुरुमा बोल्न पनि धकाउने, लाज डर सबै थियो । तर, हेडसरले उहाँ 'ट्यालेन्ट' मान्छे, पढाउन पनि सबै विषय पढाउनुहुन्छ भनेपछि विद्यार्थीले खासै हेप्न पनि खोजेनन् । र, पढाउँदै जाँदा राम्रै पढाउन जान्ने भएकोले पनि विद्यार्थीले हेपेनन् । बरु मान्ने नै भयो ।

उहाँले पढाए वापत स्थानीय स्रोतबाट मासिक १ सय ५० पाउनुहुन्थ्यो । खर्च गर्ने ठाउँ र आवश्यक्ता दुवै नभएकोले उहाँले दिएको तलब सबै आमालाई ल्याएर दिए जस्तो लाग्छ । तलब भने उहाँलाई पहिलो महिनादेखि नै दिन थालिएको थियो । २०३४ सालको माघमा एसएलसी दिएर पढाउन गएको उहाँले झण्डै एक वर्ष पढाएर आफू पढ्नका लागि काठमाण्डौ छिर्नु भयो ।   

२०३४ सालमा फस्र्ट डिभिजन आएको मान्छे अब के के बन्ने भन्ने एउटा चित्र आउँदै गर्दा उहाँको भने बुवाको पनि लथालिङ्ग ताल अनि मावलीमा मामाहरूले पनि यत्तिको पढेपछि भइगो भन्ने पाराले उहाँको यो सबै उपलब्धि खेर जाने अवस्था आयो । अनि उहाँलाई पनि के, कहाँ पढ्ने र कसो गर्ने भन्ने कुराको खासै जानकारी थिएन । 

०००

मावलीबाट घर आउँदा उहाँलाई घर आउने बाटो पनि थाहा नभएर फलानो गाउँ जाने बाटो कता हो भनेर सोध्दै सोध्दै आउनु भएको थियो । अनि उहाँलाई तिम्रो गाउँ कता हो भनेर सोध्थे । अनि उहाँले उत्तर दिँदा आफ्नो घर जाने बाटो पनि थाहा नभएको कस्तो मान्छे भन्थे । अब त्यस्तो मान्छे काठमाण्डौ आएर पढ्नु पर्ने भयो । 

उहाँको साथी बर्ज किराँतले काठमाडौँ गएर पढ्नुपर्छ भनेर उहाँलाई प्रेरित गरेपछि उहाँको काठमाडौँको यात्रा तय भएको हो । किराँतको गाउँमा हाइस्कुल नभएकोले उहाँको मावलीमा नै बसेर किराँत पनि पढ्ने गर्नुहुन्थ्यो । किराँत भने राजनीतिक रुपमा पनि सचेत, अलि उमेर खाएको र सरहरूसँग पनि बोल्नसक्ने किसिमको हुनुहुन्थ्यो । उहाँको पढाइ राम्रो भएका कारण उहाँसँग संगत गर्ने उद्देश्य र उहाँको गाउँ भुल्के पनि जानेका कारण किराँत नजिकिएको भन्ने लाग्छ उहाँलाई । अनि किराँतले नै काठमाडौँ गएपछि ट्युसन पढाएर पनि पढ्न पाइन्छ भनेर उहाँलाई काठमाण्डौ जान थप प्रेरित गर्नुभयो । 

उहाँलाई काठमाडौँ भनेको कहाँ हो ? कहाँ हो नजा भनेर आमाले नभन्नु भएको होइन । तर, फस्र्ट डिभिजन आएको अनि अरु हरुले पनि अब काठमाण्डौ गएर डाक्टर, इन्जिनियर पढ्नुपर्छ भनेका कारण आमाले नजा भन्दाभन्दै पनि किराँत साथीको आड, भरोसा र विश्वास अनि आफ्नो इन्जिनियर बन्ने चाहनाले उहाँ काठमाडौँ आउनु भयो । 

इन्जिनियर कस्तो हो ? के हो ? भन्ने उहाँले देखेको त होइन तर, घर, पुल बनाउने प्राविधिक विषय भएकोले राम्रै होला भन्ने लागेर उहाँले इन्जिनियर पढ्ने निधो गर्नुभएको थियो । भोजपुरबाट तीन दिन हिँडेर धरान अनि धरानबाट बस चढेर उहाँ काठमाडौँ आउनु भयो । बसको भाडा भने यति भन्ने यकिन भएन । एक वर्षपछि धरान जाँदा ४५ रुपैयाँ तिरेकोले त्यस्तै आसपास भाडा थियो भन्ने लाग्छ उहाँलाई । 

उहाँ काठमाडौँ आउँदा उहाँले मास्टरी गरेर कमाएको १२ सय  रुपैयाँ बोकेर आउनु भएको थियो । आउँदा राति भएको थियो । कहाँ बस्ने ? के गर्ने ? उहाँलाई थाहा थिएन । साथीले सबै व्यवस्था गर्छ भनेर उहाँ ढुक्कै हुनुहुन्थ्यो । राति भएकोले त्यहाँको होटलमा बस्ने कुरा पनि चल्दै थियो । तर, पैसा अलि महँगो भनेका कारण उहाँहरु त्रिपुरेश्वरको जगन्नाथ मन्दिरमा बसेर रात कटाएको उहाँलाई सम्झना छ । रातभरी लामखुट्टेले टोकेको पनि उहाँले बिर्सनु भएको छैन । 

भोलिपल्ट उज्यालो भएपछि एकजना दाइको कोठा ठमेलमा उहाँहरु पुग्नुभयो । अब काठमाडौँमा कोठा खोज्नुपर्छ, खोज्दै गरौँला भनेर दाइले भनेको उहाँलाई सम्झना छ । तर, पशुपतितिर यसो घुमाइ दे हुन्थ्यो नि भन्ने आशय व्यक्त गर्दा अब यहाँ घुमाएर साध्य लाग्दैन आफैँ सोध्दै, खोज्दै घुम्ने हो भनेको पनि उहाँलाई याद छ । अनि उहाँहरु सोध्दै, खोज्दै पशुपति पुगेर दर्शन गरेर ठमेल फर्कनुभयो । 

भोलिपल्ट उज्यालो भएपछि अहिलेको निर्वाचन आयोग भएको स्थान केशर महलमा उभिएर यसो हेर्दा गाडी भने एकपछि अर्को गर्दै आइरहेको जस्तो भने उहाँको मानसपटलमा छ । 

पछि उहाँहरु दुईजना डिल्लीबजारमा महिनाको ६० रुपैयाँ भाडा तिरेर कोठामा बस्न थाल्नुभयो । खाना भने झुम्रो वाला स्टोभमा बनाउनुहुन्थ्यो । पछि आएको पित्तलको स्टोभ पनि त्यस बेला आधुनिक अनि नयाँ र राम्रो बल्ने जस्तो हुन्थ्यो त्यो बेला । 

०००

उहाँ काठमाडौँ आएपछि अस्कल, टिचिङ तथा पुल्चोक इन्जिनियरिङमा फर्म भर्नुभयो । सबैमा नाम निस्कियो । तर, उहाँको इच्छा इन्जिनियरिङमा भएको हुनाले पुल्चोकमै भर्ना हुनुभयो । भर्ना हुन २/३ सय लागेजस्तो लाग्छ उहाँलाई । 

इन्जिनियरिङ पढ्न देशैभरका विद्यार्थी आउँथे पुल्चोकमा । इन्जिनियरिङमा गाह्रो लाउने, काठको काम गर्नुपर्थ्यो । ती सबै उहाँ सजिलै गर्नुहुन्थ्यो । तर, अरु शारीरिकरुपमा मोटा र तन्दुरुस्त पनि ज्यान दुख्यो, ढाड दुख्यो भन्थे । उहाँको पढाइ राम्रो थियो । तर, विस्तारै घरबाट ल्याएको खर्च कम हुँदै गयो । त्यत्तिकै मा २०३६ सालको आन्दोलन सुरु भयो । यसले पढाइ नहुने खर्च मात्रै हुने भयो । यसले पैसाको झन झन अभाव हुँदै गयो । यसले गर्दा टी स्क्वायर किन्ने पैसा पनि नभएर एक जना साथीको कोही नातेदारले दिएको टी स्क्वायरले काम चलाउनु भयो । उहाँको डुइङ पनि एकदमै राम्रो थियो । ड्रोइङमा नम्बर आएको देखेर साथीहरु आरिसले ड्रोइङको सर तिम्रो नाता पर्ने हो भनेर पनि भन्न भ्याउँथे । उहाँको खर्चले करिब ६ महिना भ्यायो पढ्नलाई । एकदिन कक्षामा ड्रोइङ सरले उहाँलाई डुइङ गर्न भन्दा उहाँसँग ड्रोइङ पेपर थिएन । अनि सरले यसरी कहाँ पढिन्छ त घर गए हुन्छ भनेर पनि भने । यसले उहाँलाई सबैका अगाडि हिनताबोध गराउने काम भयो । 

त्यसपछि उहाँले दाइहरूसँग पढ्नका लागि खर्च अभाव भएको कुरा बताएपछि उहाँहरुले पनि केही गर्न सकिन्छ कि भनेर धेरै जना कहाँ लैजाने र भेटाउने काम गर्नुभयो । उहाँको छात्रवृत्तिका लागि त्यस बेलाको उहाँको जिल्लाको राज्यमन्त्री डम्बरबहादुर बस्नेतले पनि प्रयास गर्नुभयो । तर, कतैबाट पनि प्रयास सफल भएन । अनि राज्यमन्त्रीले अरु त केही गर्न सकिएन बरु घर जाने एउटा प्लेनको टिकट पनि दिन्छु भनेर दिनुभयो ।

उहाँले ट्युसन पनि नपढाइनु भएको होइन तर, पढाएको ठाउँमा पनि पैसा नदिएका कारण घर फर्किनुको विकल्प रहेन । केही समय घर बसेर फर्केपछि उहाँले इन्जिनियरिङ नभए पनि अरु केही पढ्नुपर्छ भन्ने मन बनाउनु भयो । र, जागिरको अरु जाँच दिन थाल्नुभयो । यसै क्रममा दूर सञ्चारमा तालिम खुलेको थियो । त्यसमा तालिम गर्दै छात्रवृत्तिको लागि अलिकति पैसा पनि दिन्थ्यो । त्यसका लागि निवेदन दिन एक रुपैयाँको टिकट काट्नु पर्थ्यो त्यो पैसा पनि थिएन उहाँसँग । दाइहरुले त्यो टिकटको पैसा हालिदिए ।

उहाँले एक नम्बरमा नाम निकाल्नुभयो । तलब थियो २ सय ५० । त्यसले राम्रै गुजारा चल्थ्यो । यसै बीचमा उहाँले लोकसेवामा खरिदारमा  भएको थियो । यता तीन महिना काम गर्दै गर्दा लोकसेवामा पनि नाम निस्कियो । उहाँ अलमलमा पर्नुभयो । कुन जागिर खाने र कुन छोड्ने । त्यस बेला खरिदारको तलब २ सय ५५ थियो । अनि भर्खरै तलब बढेर ३ सय ५५ भएको थियो । 

उहाँले यहाँ पनि निर्णय गर्न हम्मे हम्मे पर्यो र अग्रजहरूसँग सल्लाह लिनुभयो । अग्रजहरूले लोकसेवामा नाम निकालेर स्थायी जागिर हुनु भनेको यता भन्दा राम्रो हो भनेपछि उहाँ खरिदार हुनुभयो । यो २०३८ सालको कुरा हो । उहाँ नियुक्ति लिएर बबरमहलमा निर्माण तथा यातायात मन्त्रालय बबरमहलमा जानुभयो । उहाँ फोनको बारेमा खासै जानकारी नभएको मान्छेलाई अफिसमा उहाँको फोन आयो । उहाँ अचम्ममा पर्नुभयो । कस्ले, कहाँबाट गर्यो र कसरी उठाउने भन्ने पनि उहाँलाई खासै थाहा थिएन । 

भिनाजु कोठामा आउन ढिलो हुने हुनाले सुकाएको लुगा झिकि दिनका लागि थियो फोन भने । कोठमा बस्दा भिनाजुले काम लाग्छ भनेर उहाँसँग फोन नम्बर लिनुभएको भन्ने लाग्छ उहाँलाई । त्यसपछि उहाँको सरुवा राष्ट्रिय यातायात व्यवस्था शाखामा भयो । जसले गाडीहरुको परमिट सम्बन्धी हेर्ने काम गर्थ्यो । कामको चाप अलि बढी भएपछि शाखाबाट अब विभाग भयो । यातायात व्यवस्था विभाग स्थापना कालको पहिलो दुई जना कर्मचारीमध्ये पर्नुहुन्छ उहाँ । उहाँले खरिदार २०३९ सालदेखि २०४३ सालसम्म पाँच वर्ष काम गर्नुभयो । 

यही बीचमा उहाँ हेटौँडामा शाखा खोल्नका लागि जानुभयो । नौलो ठाउँ र अतिरिक्त भत्ता पनि पाइन्थ्यो । तर, काम राम्रो गर्ने भएका कारण उहाँ त्यहाँ जानु भयो । त्यहाँ यातायात व्यवस्था शाखा स्थापना गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । उहाँको सहिले नै रुट परमिट को काम हुन्थ्यो । त्यही भएर उहाँले राति भए पनि सही गरेर रुट परमिट दिनुपर्थ्यो । पछि भने उहाँको काज फिर्ता भयो । 

उहाँ पढ्नु पनि पर्ने हुनाले काठमाडौँ फिर्ता हुनुभयो । उहाँ हेटौँडामा झण्डै आठ÷नौ महिना मात्र बस्नुभयो । उहाँ हेटौँडा हुँदा दैनिक गाडी चढेर आएर जाँच दिने अनि जागिर खान फेरि हेटौँडा जाने गर्नुहुन्थ्यो । पढ्ने भनेको गाडीमै हुन्थ्यो जति सकेको । 

पढाइ भने उहाँले सरस्वती क्याम्पसमा भर्ना हुनुभयो । त्यहाँ बिहान पढाइ हुन्थ्यो । त्यहाँ व्यवस्थापनको मात्र पढाइ हुन्थ्यो । अब उहाँलाई खासै जानकारी नभए पनि बाध्य भएर भर्ना हुनुभयो । पहिलो वर्ष उहाँ फेल नै हुनुभयो । उहाँले जसोतसो आइकम पास गर्नुभयो । आइकम पास गरिसकेपछि उहाँले आरआरबाट आइए पनि गर्नुभयो । 

अनि उहाँले बिएमा ऐच्छिक अंग्रेजी लिएर भर्ना हुनुभयो । जागिरमा भने उहाँले २०४५ सालमा नासुमा नाम निकाल्नुभयो । उहाँ नाम निकालेर कलैया जानुभयो । छान्न त अरु जिल्ला पनि थियो । तर, कलैया उहाँको रूचिमा पर्‍यो । त्यो छान्नुको कारण काम अलि कम भयो भने पढ्न पाइन्छ भन्ने पनि थियो । कमाउने भन्ने कुनै सोच नै थियो । उहाँ कलैयामा पनि सात/आठ महिना मात्र बस्नुभयो । उहाँको एउटै ध्याउन्न भनेको पढ्ने नै थियो ।

अरु धनकुटा, सोलुखुम्बु जस्ता जिल्लामा कार्यालय प्रमुख बनाएर पठाइदिन्छु भन्दा पनि उहाँ काठमाण्डौ नै आउनु भयो । यहाँ त्यस बेला जावलाखेलमा रहेको सहकारी विभागमा काम गर्न थाल्नुभयो । क्षेत्रीय सहकारी कार्यालयले उहाँलाई कलैया पठाएको थियो । उहाँले क्षेत्रिय सहकारी कार्यालय बानेश्वरमा पनि काम गर्नुभयो । त्यस बेला बानेश्वरमा बन्दै गरेको अहिलेको संसद भवन बनेको पनि उहाँले हेर्न पाउनु भयो । पछि उहाँ जिल्ला सहकारी कार्यालय लगनखेलमा जानुभयो । 

यता सहकारीमा काम गर्दा गर्दै २०५१ सालमा उहाँ राष्ट्रिय समाचार समितिमा समाचारदाताको रुपमा उहाँले एक नम्बरमा नाम निकाल्नुभयो । उता निजामतिमा नासु भएको मान्छे संस्थान जस्तो ठाउँमा जाने कि नजाने द्विविधा भयो । तर, अंग्रेजी राम्रो भएको र बौद्धिक काम अनि यता अधिकृत पनि हुने भएकोले उहाँले राससमा नै जाने निर्णय गर्दै हुनुहुन्थ्यो ।

उहाँको हाकिम श्याम चालिसेले तपाईँ गलत निर्णय गर्दै हुनुहुन्छ भन्नुभयो र गएर आमासँग सल्लाह गरेर आउनुस् पनि भन्नुभयो । तर, उहाँले आमालाई यो विषयमा के थाहा हुन्छ र भन्दै राजीनामा स्वीकृत गरिदिन अनुरोध गर्नुभयो र राससमा जागिर खान थाल्नुभयो । 

उहाँले राससमा पनि एक नम्बरमा नै नाम निकाल्नुभएको थियो । उहाँ छैठौँ तहको अधिकृत सरहको समाचारदाता हुनुभयो । र, २४ वर्ष ८ महिना काम गरेर अवकाश पाउनुभयो । उहाँलाई पहिलो दिनदेखि नै अंग्रेजी र नेपाली दुवै राम्रो भएका कारण अंग्रेजी डेस्कमा राखियो । पछि उहाँ नै अंग्रेजी डेस्क प्रमुख हुनुभयो । अन्तर्राष्ट्रिय डेस्कको प्रमुख तथा नेपाली डेस्कमा पनि वरिष्ठ कार्यकारी प्रमुख भएर काम गर्नुभयो । उहाँ चिफ रिपोर्टर जुन निजामति सेवाको दश तह तथा सहसचिव सरहको पदबाट २०७६ मंसिरबाट अवकाश हुनुभएको हो । 

०००

उहाँ कविता नलेख्ने पनि होइन  । तर, अरुलाई देखाउन भने लाज मान्ने गर्नुहुन्थ्यो । दुई/चार वटा कविता प्रकाशित नभएको पनि होइन । पछि गएर उहाँको मुख्य विधा नै नेपालीबाट अंग्रेजी अनुवाद गर्ने भयो । 

यसै क्रममा साझा प्रकाशनबाट ‘बेस्ट सेलर’को रुपमा रहेको नियात्रा कार प्रतिक ढकालको ‘हिमाल पारीको देशमा’ अनुवाद गर्नुभयो । जुन उहाँले अनुवाद गरिसकेपछि पनि अंग्रेजीमा पनि ‘बेस्ट सेलर’को रुपमा रह्यो । 

उहाँहरु किताबको अनुवाद गराउने क्रममा रेडियो नेपालका समाचार वाचक तीर्थ राज तुलाधरलाई खोज्दै जानुभएको रहेछ । उहाँको एकजना साथी नारायणप्रसाद आचार्यले ती तीर्थ नभएर अर्को तीर्थ कहाँ लैजान्छु भनेर उहाँकोमै त्यो काम आएको रहेछ । 

प्रतिक ढकालको आफ्नो अंग्रेजी पनि नराम्रो होइन । तर, आफ्नो कृति आफैँ गर्दा बिग्रन्छ कि भन्ने पनि भएको हुनसक्छ । उहाँ आफैँ पनि यति सरल ढंगले अनुवाद गरिदिनु भएछ भनेर प्रभावित पनि हुनुभयो । त्यो पुस्तकको अनुवाद ‘वियोण्ड द हिमालयज’ अंग्रेजीमा पनि ‘बेस्ट सेलर’ भयो । 

त्यसपछि अर्का नियात्राकार जय छाङ्छा राईको छाङ्छाका प्रेम कविताहरु भन्ने पुस्तकको पनि अनुवाद ‘छाङ्छाज लभ पोइम्स’ गर्नुभयो । भद्र कुमारी घलेको ‘आर्ट एण्ड लाइफ’ तथा उहाँकै ‘आइमाई, हिजो आज र भोलि’को अनुवाद प्रकाशोन्मुख छ । प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको बारेमा लेखेको ऐतिहासिक उपन्यास ‘क्रान्ति वीरको सपना’ ‘ड्रिम अफ अ रिभोलुसनरी’ पनि प्रकाशोन्मुख छ । श्रवण मुकारुङ देखि युवा कविका कविता पनि उहाँले अनुवाद गर्नुभएको छ । पार्टीका घोषण पत्र देखि नेपालको अन्तरिम संविधान २०६३ पनि उहाँले एकै रातमा पूरै अनुवाद गर्नुभएको हो । 

उहाँ केपी ओली प्रधानमन्त्री भएका बेला चीन तथा स्वीटजरल्याण्डको भ्रमणमा पनि जानुभएको थियो ।  

उहाँले पुरस्कारको हकमा रासस पत्रकारिता पुरस्कार, प्रेस चौतारी पुरस्कार पनि पाउनु भएको छ ।