समानुपातिकको शरम : ठुला र पहुँचवालाको तँछाडमछाड

लोकसंवाद टिप्पणी

समानुपातिकको शरम : ठुला र पहुँचवालाको तँछाडमछाड

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०७९

मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम आएसँगै संसदले पूर्णता पाउने प्रक्रिया तीव्र गतिमा छ । शनिबार दलहरुले समानुपातिक सूचीबाट सांसद हुनेको नाम निर्वाचन आयोगलाई बुझाएपछि अब सोमबार समानुपातिक सांसदहरु निर्वाचित भएको घोषणा गरिदैछ । आयोगले शनिबारसम्म प्रतिनिधिसभाका लागि बन्द सूचीमा रहेका उम्मेदवारबाट नाम सिफारिस गर्न दलहरुलाई समय दिएको थियो । 

प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ सिट पाएका सात वटा सहित प्रदेशसभामा मात्र सिट पाएका अन्य सात वटा राजनीतिक दलले बन्द सूचीबाट सदस्य बनाउन चाहेका उम्मेदवारको नाम सिफारिस गरेका छन् । 

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले गत बिहीवार दलहरुलाई पत्र पठाएर  सांसद बनाउन चाहेका उम्मेदवारको नाम पठाउन आग्रह गरेको थियो । 

दलहरूले सदस्यहरूको नाम सिफारिस गरेपछि अब निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार समावेशी प्रतिनिधित्व भए/नभएको हेर्नेछ । कुनै दलले पठाएको सूचीमा समावेशी प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याएर सोही बमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेस गर्न आग्रह गर्नेछन् । 

दलले पेस गरेको सूची समावेशी सिद्धान्त तथा कानुनी व्यवस्था अनुरूप नभएसम्म कोही पनि सो दलबाट निर्वाचित नहुने व्यवस्था प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा उल्लेख छ । 

राजनीतिक दलहरुले आर्थिक चलखेल र पहुँचका आधारमा समानुपातिक सांसद चयन गरेको आरोपपछि अघिल्लो निर्वाचनबाट केही सुधार गरिएको हो । दलहरुले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता आदि 'क्लस्टर'बाट सूची तयार गर्ने र पहिलो प्राथमिकता सूची अनुसार नै चयन गर्नुपर्ने व्यवस्था छ ।

दलहरुले पठाएको सूची सही भएको अवस्थामा निर्वाचन अधिकृतहरुले सांसद निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र दिनेछन् । आयोगले सोमबारसम्ममा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ । तर सम्पूर्ण प्रक्रिया सकिएर राष्ट्रपतिलाई बुझाउन ढिला हुने देखिएको छ । निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन तथा संसद्मा सभामुख, उपसभामुखको निर्वाचन लगायतका प्रक्रिया औपचारिक रुपमा सुरु हुनेछन् । 

समानुपातिकमा पनि ठूला कै हालीमुहाली

राष्ट्रिय राजनीतिमा कम अवसर पाउने र किनारा पारिएका हरुलाई मूलप्रवाहमा जोड्ने उद्देश्य हो, समानुपातिक प्रणालीको । तर समानुपातिक निर्वाचन प्रणाली प्रत्यक्षमा चुनाव जित्न कठिन हुने र आफूलाई सधैं शीर्ष नेताको वरिपरी राख्ने पहुँचवालाको हालीमुहाली हुने भएको छ । 

यसपटक पनि दलहरुले आयोगमा बुझाएको सूची हेर्दा पटक पटक अवसर पाएका हरु नै परेका छन् । यसअघि पटक पटक मन्त्री बनेका देखि पार्टी पदाधिकारी र पार्टी प्रमुख भएका सम्म समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा छिर्ने भएका हुन् ।  

प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनता समाजवादी पार्टी र जनमत पार्टीले ५–५ सिट पाएका छन् । 

पहिलोपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीबाहेक अन्य दलबाट समानुपातिक सांसद हुनेहरु यसअघि देखि नै लाभको पद पाएकाहरु छन् । ३३ प्रतिशत महिलासहित क्लस्टर अनुसार प्रतिनिधित्व गराउनुपर्ने बाध्यता दलहरुलाई छ । त्यसैले प्रत्यक्षमा धेरै निर्वाचित नभएका कारण समानुपातिक बाट

नै महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारु, पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराइएको छ । 

एमालेबाट समानुपातिक सांसद बन्नेमा खस आर्य पुरुषमा स्थायी कमिटी सदस्य रघुजी पन्त, नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकाल छन् । ढकाललाई एमालेबाट सांसद बनाएको विषयले सो पार्टीभित्रै असन्तुष्टि छ । व्यवसायी देवीबहादुर भट्टचन, पूर्वमन्त्री तथा उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती पूर्वमन्त्री नैनकला थापा, अघिल्लोपटक जसपाबाट सांसद भएर निर्वाचनअघि एमालेमा गएकी अमृता अग्रहरी पनि सांसदका लागि सिफारिसमा परेका छन् । 

कांग्रेसबाट समानुपातिक सांसद बन्नेहरू पनि वरिष्ठ नेताहरु छन् । पार्टी उपसभापति र उपप्रधान तथा गृहमन्त्री भइसकेका विमलेन्द्र निधि, पार्टी प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, सभापति देउवाकी पत्नी तथा पटक पटक सांसद बनेकी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण सांसद बन्ने भएका छन् । 

नेकपा माओवादी केन्द्रको हालत पनि उस्तै छ । यसअघि गोरखाबाट प्रत्यक्ष निर्वाचित भएर मन्त्री पनि भइसकेका हितराज पाण्डे समानुपातिक सांसद बनेका छन् भने रातो पासपोर्ट दुरुपयोगको मुद्दामा दोषी ठहर भएका शिव पूजन राय यादवकी पत्नी मीना यादव पनि समानुपातिक सांसद बन्ने छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक संसदमा पुगेकाले उसले पठाउने सबै नयाँ अनुहार छन् । तर उसको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टीभित्रै चरम विवाद र असन्तुष्टि देखिएको छ । राप्रपाबाट पूर्वअध्यक्ष र पटकपटक मन्त्री तथा सांसद भएका पशुपतिशमशेर जबरा, पूर्वमन्त्री बुद्धिमान तामाङ र नेता रोशन कार्की परेका छन् । 

जसपाबाट नेता अशोक राईकी पत्नी सुशीला श्रेष्ठ र कार्यालय सचिव प्रकाश अधिकारी सांसद बन्ने भएका छन् । राई आफैं पटक पटक अवसर पाएका नेता हुन् भने उनी यसपटक सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचित छन् । त्यसैले यसपटक राई दम्पत्ति नै संसदमा देखिने भएका छन् । 

राजनीतिक दलहरुले आर्थिक चलखेल र पहुँचका आधारमा समानुपातिक सांसद चयन गरेको आरोपपछि अघिल्लो निर्वाचनबाट केही सुधार गरिएको हो । दलहरुले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता आदि 'क्लस्टर'बाट सूची तयार गर्ने र पहिलो प्राथमिकता सूची अनुसार नै चयन गर्नुपर्ने व्यवस्था छ । तर अझै पनि प्रत्यक्षमा यी क्लस्टरबाट कम हुने हुँदा समानुपातिक बाट दलहरुले चलखेल गर्ने मौका पाइरहेका छन् ।