कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभ्ने/गाभिने सम्झौता पत्र अनुमोदन

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभ्ने/गाभिने सम्झौता पत्र अनुमोदन

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २६, २०७९

कुमारी बैंक लि.को विशेष साधारण सभा २०७९ मंसिर २५ गते आइतबार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाडौँमा संचालक समितिका अध्यक्ष  अमिर प्रताप ज.व.राणाको अध्यक्षतामा सम्पन्न भएको छ  ।

कुमारी बैंकका अनुसार  सभाबाट विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौता पत्र अनुमोदन गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृयाहरु पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्न संचालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने काम गरेको छ । 

एक आपसमा गाभ्ने/गाभिने (मर्ज) प्रयोजनका लागि मुल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मुल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गर्ने, एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रवन्ध पत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा संचालक संख्या ७ जना हुने गरी र नियम २९ मा संचालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित पारीत गरियो ।  

कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी रु.२६ अर्व भन्दा बढी हुने छ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्व १ अर्व भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । 

कुमारी बैंक लि.ले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने प्रतिवद्धता व्यक्त गर्दछ ।