सरकार गठनमा भ्यागुताको धार्नी: पाँच पटके पाँच काम देखाऊ !

सरकार गठनमा भ्यागुताको धार्नी: पाँच पटके पाँच काम देखाऊ !

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर २६, २०७९

२०७९ निर्वाचनको परिणाम प्रकाशित भइसक्यो। क-कस्ले कति पाए कति गुमाए त्यों सब बिर्सेर अब सिंह दरवार छिर्ने एकमात्र लक्ष्य बाँकी छ। सबै दल आफ्नो दलबल छलबल धन वलका अतिरिक्त उनीहरुसँग भएको सबैखाले बलको प्रयोग गरेर राज सिंहासनको उर्ध्व यात्रामा तल्लीन भइसकेका छन।

राजनीतिलाई आजीविका बनाएका विभिन्न दलका कार्यकर्तामा आफ्नो दल सत्ताको दलदलमा भासिने अवसर पाउने कि वन्चित रहने बडो उत्सुकता छ। एक मिनेटलाई मान्न सकिन्छ ठूला दलका नेताले, भो अब कति सत्ताका लागि संघर्ष गरी रहने विचार मात्रै गर्यो भने उसका आसेपासेलाई कोलाहल, रुवाबासी नै मच्चिछन्।  सबैले उसलाई घेरामा लिएर विगतदेखि भविष्यसम्मको चित्रण गर्दै नेतालाई यस्तो गर्नबाट रोक्छन्।

नेता आफ्नो स्वविवेकबाट होइन आफु वरिपरिको समूहबाट संचालित हुन्छ। असम्भव भए पनि एक क्षणलाई कल्पना गरौ- शेरबहादुरलाई दिक्क लागेर उनले विश्राम लिन खोजेको खण्डमा के वरिपरिको झुण्डले यस्तो गर्न दिन्छ ? शेरबहादुरको सट्टा कुनै अर्को व्यक्ति 'ए बी सी' जो सुकै नेतृत्वमा आयो भने  शेर बहादुर निकटस्थ समूह किनारा लाग्छ।  अर्को नेताको अर्को समूह हुन्छ, नेतृत्व पाउने बित्तिकै उसकै वरिपरिको समूह पालित पोषित हुन्छ।  शेरबहादुर समूहमा रहेका केही 'डायनामिक इण्डिभिजुअल' ले त नयाँ समूहमा स्थान बनाउन सक्लान् तर अधिकांश भने ओझेलमा पर्न जान्छन्।  पूर्वदेखि पश्चिमसम्म रहेका देउवा क्याम्पका सबै महत्वाकांक्षी अनुहार, नाता गोता घर परिवारमा रहेका सबै विशिष्ट जन आफु अनाथ हुने कर्म गर्न दिन्छन् र देउवालाई !

 व्यक्तिगत रुपमा राष्ट्रिय परिप्रेक्ष्य र परिदृश्य एवम देउवाको अकर्मण्य नेतृत्वको स्मरण गर्दै गगन थापाले उनलाई विस्थापित गर्नुपर्छ भन्ने चाहना मभित्र पनि नभएको होइन तर अहिले नै यो सम्भव हुने वस्तुस्थिति छैन। मुलुकले अझै  केही वर्ष देउवा कै र देउवा जस्तै अकर्मण्यता झेल्नुपर्छ। देउवाले सत्ताका लागि जे पनि गर्न सक्छन त्यो २०५१ मै प्रमाणित भइसकेको कुरा हो।  कामचलाउ प्रधानमन्त्रीले अध्यादेश ल्याएर सत्ता गठबन्धनको कार्पेटमा रेसमको टालो लाउनु त्यसकै निरन्तरता हो। देउवाले छैठौं पटक गोल गर्ने प्रबल सम्भावना छ, यस्तो हुन गएमा उनी नेपालको राजनीतिमा ६ पटक प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनेछन।

कसैले त सोधोस् देउवाजी, विगतमा ५ पटक प्रधानमन्त्री हुँदा तपाइँको कार्यकालमा देशले के पायो ? तपाईं कुन कुरालाई आफ्नो प्रधानमन्त्रीत्व कालमा भएको उपलब्धि ठान्नु हुन्छ ??  

जनयुद्धको सर्वोच्च कमाण्डर खुल्ला राजनीतिमा , शासन सत्ता सञ्चालन गर्नमा पुरै निकम्मा साबित भयो।  २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका ओली तेस्रो सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा सिंह दरबार छिरेका थिए। स्वर्गमा देवराज इन्द्रलाई पनि सुलभ नभएको कांग्रेस जस्तो निरीह प्रतिपक्ष पाएर पनि यिनले उखान तुक्कामै समय खेर फाले।

देउवा सर्वप्रथम २०५२ भाद्र २७  मा प्रधानमन्त्री बनेका थिए।  उनको कार्यकाल ५४७ दिन रहेको थियो। नेपाली राजनीतिमा समस्त खाले विकृति यसै अवधिमा भित्रिएका थिए।

उनी दोस्रो पटक प्रधानमन्त्री २०५८ साउन ११ मा बनेका थिए।  कार्यकाल रह्यो ४३५ दिन। यस कार्यकालमा उनले सत्ता तत्कालीन राजा ज्ञानेन्द्रलाई  सुम्पिने महत्वपूर्ण काम गरे।

२०६१ जेष्ठ २१ मा उनी तेस्रो पटक प्रधानमन्त्री बने। कार्यकाल रह्यो २४३ दिन। यस कार्यकालमा उनले महाराजाधिराजलाई पूर्ण रूपमा सत्ता सुम्पिए।

देशमा गणतन्त्र आएपछि उनी पुनः २०७४ जेष्ठ २४ गते  चौथो पटक प्रधानमन्त्री बने। चुनावकै मुखमा प्रधानमन्त्री बनेकाले कार्यकाल रह्यो २५३ दिन। यस कार्यकालमा सत्ता मोहका कारण चितवनमा प्रचण्ड पुत्रीलाई मेयर निर्वाचित गर्न उनले मतपत्र च्यात्ने सम्मका काम  भए ।  सत्तामा साझेदार माओवादीले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गर्दा पनि उनले टुलुटुलु  हेर्न बाहेक केही गर्न सकेनन्। उनको नेतृत्वमा भएको चुनावमा नेपाली कांग्रेसको ऐतिहासिक पराजय भयो। नेपाली कांग्रेस प्रत्यक्षतर्फ २३ सीटमा झर्यो। तर उनलाई केही फरक परेन। उनी निर्लज्जता साथ कांग्रेसको नेतृत्व गरी रहे, संसदीय दलको नेता बनी रहे।

कम्युनिस्टहरुको बन्दरबाट नमिलेर  एवम आपसी अन्तर कलहले १२००  दिन नपुग्दै सत्ता पुनः देउवाको निधारमा आयो। २०७४ को निर्वाचन ताका सत्तामा सहभागी हुँदाहुँदै प्रतिपक्षसँग मिल्न गएका प्रचण्डले पुनः देउवाको शरणमा फर्किनु पर्‍यो। त्यो दशैको टीका लाउँदा  पढिने संस्कृत श्‍लोकमा भनिएको 'मानं च दुर्योधने' कलियुगमा पनि ठीक साबित भयो। हस्तिनापुरका लागि दुर्योधन र नेपालका लागि शेर बहादुर देउवाको भूमिकामा सामञ्जस्य गर्दै विद्यावारिधि गर्न गाह्रो हुन्न होला।

२०७८ आसार २९ मंगलवारको दिन देउवा पाँचौ पटक प्रधानमन्त्री बने। यसो गरेर उनले आफुलाई गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको पंक्तिमा उभ्याए। यसपटक उनको कार्यकाल जीवनकै दोस्रो लामो कार्यकाल ५१६ दिन  पुग्दैछ आज  २०७९ मङ्सिर २६ गते। नयाँ सरकार गठनमा एक महिना विलम्ब हुने हो भने यो उनको सबैभन्दा लामो कार्यकाल हुने सम्भवना छ।

एकपटक पुनः शेरबहादुर र उनका आसेपासे एवम आफुलाई बुद्धिजीवी ठान्ने नेपाली कांग्रेससँग सम्बन्धित सबै जनासँग आग्रह गर्न चाहन्छु देउवाले पाँच पटकसम्म प्रधानमन्त्री हुँदा, आजका मितिसम्म १ हजार ९९४ दिन देशको बागडोर  लिँदा गरेका कुनै पाँचवटा उपलब्धि सार्वजनिक गर्नुस। महादेवको सौगन्ध म देउवाको लामो उमेर, सुस्वास्थ्य  र अनन्तकालसम्म उनले नै प्रधानमन्त्री हुनुपर्छ भनी महामृत्युञ्जय जाप गर्न थाल्छु।

यही प्रश्न माओवादी मित्रहरूसँग पनि छ। एमालेका मित्रहरूसँग पनि छ।

प्रचण्ड २०६५ भाद्र २ मा पहिलो पटक प्रधानमन्त्री बने। २८० दिनको कार्यकालमा उनले देशको मुहार फेर्ने के काम गरे ?  देशमा अराजकता, भद्रगोल, बेथिति ल्याउन गरेका समस्त कामबारे सम्पूर्ण नेपालीलाई जानकारी छ। ८ वर्षपछि प्रचण्ड दोस्रो पटक  २०७३ साउन २० गते प्रधानमन्त्री बने।  कार्यकाल रह्यो ३०७ दिन। दुबै कार्यकालमा उनले गरेका दुइटा उपलब्धि नै जान्न पाए नेपाली जनता हर्षित हुने थिए। अहिले सम्भावित प्रधानमन्त्री हुनेमा प्रचण्ड पनि दौडमा छन। उनीसँग गणतन्त्रको जगेर्ना, संविधानको रक्षा, संघीयताको सुदृढिकरणका अतिरिक्त भन्ने अन्य कुनै कुरा छ ?

'ताक परे तिवारी' हुने अर्को पात्र माधव नेपाल हो।  २०६८ जेष्ठ ११ मा पहिलोपटक प्रधानमन्त्री बनेका नेपाल ६२२ दिन पदमा रहे। के गरे उनै जानून। उनीसँग पनि प्रतिक्रिया वादीलाई परास्त गर्ने, गणतन्त्रले दिएका उपलब्धि जोगाउने बाहेक केही अरु योजना भएको भए जानकारी पाउ ।

प्रधानमन्त्री हुनसक्ने अर्का सम्भावित पात्र ओली पनि हुन। यी महाशय पहिलो पटक २०७२ असोज २५ मा प्रधानमन्त्री बनेका थिए।  कार्यकाल रह्यो २९७ दिन। दोस्रो पटक झण्डै दुइ तिहाई बहुमतले प्रधानमन्त्री बने  २०७४ फागुन ३ गते। यिनले कागजी रेल, हवाई पानी जहाज ल्याएको हुन ! यिनको पाला समृद्धि आएकै हो तर ओमनी र यती ग्रुपलाई मात्रै। यिनको यो कार्यकाल १ हजार १८३ दिनको रह्यो  । 

२०४८ को पहिलो आम निर्वाचनपछि तीनजना व्यक्ति सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा सत्तासीन भए। २०५९ असोज १८ गते शेरबहादुरलाई फ्यालेर सत्ता आफ्नो हातमा लिएका तत्कालीन राजा ज्ञानेन्द्रले ।  'डाइरेक्ट रूल बाई किंग'को समयावधिमा यिनले कहिले लोकेन्द्रबहादुर चन्द, कहिले सूर्यबहादुर थापा फेरी शेरबहादुर देउवालाई र अन्त्यमा आफैलाई मौका दिएर २०६१ माघ १९ गतेसम्म शासन गरे।  कुल मिलाएर १ हजार २९२ दिन सत्ताका सबै अंग आफ्नो अधीनस्थ राखेर पनि यिनले माखो मार्न सकेनन्।

यस क्रममा दोस्रो नाम प्रचण्डको आउँछ।  तथाकथित जनयुद्ध को नाममा हजारौंको बलि चढाएर यिनी ठूलो जनसमर्थन लिएर २०६५ भाद्र २ मा प्रधानमन्त्री बनेका यिनको ध्याउन्न सेना कब्जामा लिन र पशुपतिको पुजारी फेर्न मै केन्द्रित रह्यो। जनयुद्धको सर्वोच्च कमाण्डर खुल्ला राजनीतिमा , शासन सत्ता सञ्चालन गर्नमा पुरै निकम्मा साबित भयो।
 २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका ओली तेस्रो सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा सिंह दरबार छिरेका थिए। स्वर्गमा देवराज इन्द्रलाई पनि सुलभ नभएको कांग्रेस जस्तो निरीह प्रतिपक्ष पाएर पनि यिनले उखान तुक्कामै समय खेर फाले।

यिनले तेस्रो पटक प्रधानमन्त्री हुने चान्स  पाए भने एलन मस्कलाई जग्गा एवम सुविधा उपलब्ध गराएर विद्युतीय टेस्ला कार नेपालमै बनाउने, अन्तरिक्षमा नेपाली बस्ती बसाउने, लिम्पियाधुराको चुच्चे ठाउँमा संसारकै सबैभन्दा ठूलो टेलिस्कोप राख्ने, काठमाडौँदेखि भारत र चीनका प्रमुख शहर बीच 'हाइपर लूप ट्रेन' चलाउने काम गर्छन।

जस जस बीच जस्तोसुकै गठबन्धन बने पनि सम्भावित प्रधानमन्त्री हुने पात्र  यिनै हुन। नेपाली कांग्रेससँग शेर बहादुर बाहेक अरु २-३ जना प्रधानमन्त्री हुनसक्ने अनुहार छन।  अन्य दलमा भने यसको पनि अकाल छ। प्रचण्डले नेतृत्व गरेर खडा भएको माओवादी पार्टी उनकै नेतृत्वका कारण उनैसँग विसर्जित हुने छाँटकाँट देखा परिसकेको छ। एमालेमा ओली बाहेक को ? कांग्रेसको गगन थापा झै एमालेमा ओली विरुद्ध संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्छु भन्ने साहस कुन एमाले सांसदसँग छ ? माओवादीका ३१ जना सांसद मध्ये कसले साहस गर्नसक्छ ?

जोसुकै प्रधानमन्त्री भए पनि आउने दिनमा नेपालको अवस्था झन झन खस्किने नै हो। २६ खरब भएको ऋण बढ्ने नै हो। नेपाल ग्रिसको बाटोमा अघि बढ्ने नै हो। नेपाली युवा पलायन हुने स्थिति यथावत रहने नै हो।