अनर्गल प्रचार बिच नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न

अनर्गल प्रचार  बिच नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २६, २०७९


काठमाडौँ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको सभापतित्वमा उद्घाटन तथा बन्द सत्र सम्पन्न भएको थियो । 

निमित्त कुलपति डा. जगमान गुरुङ समुद्घाटन गर्नु भएको समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका निवर्तमान कुलपति  गङ्गाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा सहयोग र सहकार्य गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । गर्नुपर्ने कामको दायित्व सम्बन्धित विभागको हुने भए पनि सबै विभाग र कुलपति, उपकुलपतिकोसहितको सहकार्य र छलफलबाट काम गर्ने राम्रो संस्कार बसेको उहाँले बताउनु भयो । छोटो समयमा महत्वपूर्ण कृति प्रकाशन गरेर सार्वजनिक गर्न सकेकोमा निमित्त कुलपति, निमित्त सदस्य सचित सहितको टिमलाई उहाँले बधाई दिनुभयो । प्राज्ञ, प्रतिष्ठानका प्रज्ञा सभा सदस्यहरु, कर्मचारीहरु तथा सहयोगी हरुको सहकार्यमा आफ्नो नेतृत्वको टिमले काम गर्न सकेको उहाँको भनाई थियो  । 

नयाँ सरकार बनेसँगै प्रतिष्ठानको मर्म नखलबलिने गरी नयाँ प्राज्ञ सभा गठन हुने उहाँले अपेक्षा गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यक्ष रुपमै भेटेर भन्ने वा सुझाव दिने अपेक्षा भए पनि आज उपस्थित हुन नसक्नु भएकोले त्यो पुरा नभएको उहाँले बताउनु भयो । 

प्रतिष्ठान गरिमामय संस्थाको रुपमा रहेकोले नेपालको साहित्य प्रवद्र्धनमा आगामी दिनमा संवेदनशील बनी काम गर्नुपर्ने उहाँले बताउनु भयो । नयाँ आउने टिमलाई काम गर्ने ठाउँ धेरै भएको उल्लेख गर्दै मात्रै इच्छाशक्ति, क्षमता र योग्यता बोकेर आउन आग्रह गर्नुभयो । आगामी नयाँ नेतृत्वलाई पनि आफ्नो सम्पूर्ण सहयोग रहने उहाँले बताउनु भयो । 
प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँइलाले ल्यापटपको कि थिचेर प्रज्ञा नेपाली बृहत शब्दकोश मोबाइल एप शुभारम्भ गर्नुभयो । मोबाइल एप निर्माता नयाँ यात्रा प्रा.लि.का प्रमुख इन्जिनियर शिरिश पाण्डेले एपको बारेमा जानकारी दिनुभयो । उहाँले एन्ड्रोइड र एप्पल दुबै भर्सनमा यो एप तयार भएको जानकारी दिनुभयो । इन्स्टल भइसकेपछि शब्द खोजेर अर्थ प्राप्त गर्न सकिने सरल र सहज किसिमले शब्दार्थ खोज्न सकिने उहाँले जानकारी दिनुभयो । शब्द र अर्थमा त्रुटी भए त्रुटी रिपोर्ट गर्न सकिने सुविधा पनि रहेको तथा अन्य केही सुझाव भए एप मार्फत नै दिन सकिने उहाँले बताउनु भयो ।

समुद्घाटन सत्रका सहभागीहरुलाई स्वागत गर्दै निमित्त सदस्य सचिव प्रा.डा. होमनाथ पौडेलले सभाको औचित्य र सभाले यसअघि गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो । 

अतिथिहरूलाई स्वागत गर्दै प्रा.डा. पौडेलले ६५औं वार्षिकोत्सव २०७९ असारमा मनाइएको बताउनु भयो । उहाँले नेपाली भाषा, साहित्य, संस्कृतिको विकास र प्रवद्र्धन गर्न प्रतिष्ठान क्रियाशील रहेको बताउनु भयो । प्रतिष्ठानले स्रष्टा, द्रष्टा हरुलाई सम्मानित र पुरस्कृत गरिरहेको उहाँले बताउनु भयो । विदेशी प्राज्ञिक संस्थासँग सहकार्य गर्दै आएको पनि उहाँले सुनाउनु भयो । 

प्राज्ञ सभा सर्वोच्च निकायको रुपमा रहेको उल्लेख गर्दै उहाँले प्रज्ञ सभाको बैठक वर्षमा २ पटक बस्ने उल्लेख गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ ले कूलपति र सदस्य सचिव नभएको अवस्थामा निमित्त कूलपति र निमित्त सदस्यसचिवको व्यवस्था गरेको बताउनु भयो । अहिले कूलपति र सदस्यसचिव नभएको अवस्थामा अधिकारप्राप्त निकायले यो प्राज्ञ सभा सञ्चालन गरिरहेको उहाँले बताउनु भयो । 

प्रतिष्ठान नेतृत्वको यो कार्यकालमा ३२१ वटा अध्ययन/अनुसन्धान, २२७ वटा गोष्ठी, सम्मेलन र कार्यशाला तथा ३८६ ओटा पुस्तक प्रकाशन र पुनः प्रकाशन भएको उहाँले सुनाउन भयो । 

प्रतिष्ठानले नेपाल सरकारको सहयोगमा मूल भवनको पुनर्निर्माण, प्रज्ञा आधुनिक छापाखाना सञ्चालन, भारत सरकारको सहयोगमाा प्रज्ञा–पुस्तकालय भवन निर्माण गरेको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानलाई प्रशासनिक भवनको अभाव रहेकोले त्यो निर्माण गर्न पहल भइरहेको, महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) लाई तोकिए भन्दा कम लागतमा महाकवि देवकोटा सङ्ग्रहालयका रुपमा विकास गरी सञ्चालनमा आएको, वेबसाइट पुनः डिजाइन गरी इबुक एप निर्माण गरिएको, प्रज्ञा नेपाली बृहत् शब्दकोशलाई एप निर्माण गरी निःशुल्क वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो । सातवटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति, र तिनका भाषा संस्कृति, इतिहास, कला, साहित्य, धर्म, दर्शन, परम्परा, सभ्यता, ज्ञान, विज्ञान आदि पक्षका स्थलगत अवलोकनसहितको सातवटा आधिकारिक ग्रन्थ निर्माण गर्ने र तिनको सारसंक्षेपका रुपमा ‘नेपाल दर्पण’ र ‘नेपाली दर्पण (मधेस प्रदेश)’ प्रकाशनको अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमको अर्को चरणमा प्रज्ञाप्रतिष्ठान दर्शन विभागले तयार गरेको ‘नेपाली दर्शन’ पुस्तकको प्रतिष्ठानका पूर्व कुलपति बासुदेव त्रिपाठीले लोकार्पण गर्नुभयो । यसैगरी ‘नेपाली लोकवार्ता कोश’ को निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गर्नुभयो । यो पुस्तकलाई डा. देवी नेपालको नेतृत्वमा रहेको लोकवार्ता तथा बालसाहित्य विभागले तयार पारेको हो । 

कार्यक्रमको मन्तव्य चरणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले बोल्नु भएको थियो । सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कर्माचार्यले ललितकला प्रतिष्ठानले पनि अन्तिम सभाको रुपमा १३औं प्राज्ञ सभा सम्पन्न गरिसकेको बताउनु भयो । विभिन्न महत्वपूर्ण पुस्तकहरु, अनुसन्धान कृतिहरु प्रकाशन गर्न सफल भएकोमा यो प्राज्ञ सभालाई उहाँले बधाई तथा धन्यवाद दिनुभयो । यो प्राज्ञ सभाले धेरै काम गरेकोले यो सफल भएको उहाँको भनाई थियो । वर्तमान नेतृत्वले गरेका काम आगामी नेतृत्वलाई मार्ग निर्देशक हुने उहाँको भनाई थियो । सभाले महत्वपूर्ण निर्णय गर्दै आफ्नो औपचारिक पदावधि समापन गर्ने अपेक्षा गरेको पनि उहाँले बताउनु भयो । प्राज्ञसभा भव्य रुपमा सम्पन्न होस् र महत्वपूर्ण विषयमा निर्णय होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो । 

मन्तव्यकै क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री नारायण भक्त श्रेष्ठ ‘रायन’ ले प्राज्ञ सभा सफलताको शुभकामना दिनुभयो । यो कार्यकालमा सम्पन्न भएका सम्पूर्ण कार्यहरुका लागि सबैलाई धन्यवाद र बधाई पनि ज्ञापन गर्नुभयो । 

कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले ३८औं प्राज्ञ सभा तथा गणतन्त्र स्थापनापछिको तेस्रो कार्यकालले आयोजना गरेको प्राज्ञ सभाको शुभकामना व्यक्त गर्नुभयो । ‘यो ज्ञान उत्पादन, निर्माण र वितरण गर्ने संस्था भएकोले अहिले जे जति काम भएका छन् सराहनीय छन् भन्ने मलाई लागेको छ’ उहाँले भन्नु भयो । मुलुक सानो भए पनि ज्ञानगुनमा धनी रहेको उल्लेख गर्दै नेपालमा भएको विविधतालाई विश्वमा प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।  उहाँले सभाको सफलताको कामना गर्नुभयो ।

कार्यक्रमा धन्यवादसहित उद्घाटन सत्र समापन गर्दै निमित्त कुलपति डा. जगमान गुरुङले प्रतिष्ठानको आफ्नै ऐन र नियमावली भएकोले सोही अनुसार नयाँ प्रज्ञा सभा नबनुनजेल निमित्तले काम गर्ने व्यवस्था अनुसार नै यो सभा चलिरहेको बताउनु भयो । यो विशेष प्राज्ञ सभा रहेको उहाँको भनाई थियो । निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीलाई आजीवन सदस्य बनाउन प्राज्ञ सभा राखिएको भन्दै अनर्गल प्रचार गरिएको पनि उहाँले बताउनु भयो । आजीवन सदस्यता वितरणको कार्यविधि रहेकोले सोही अनुसार नियुक्त हुने उहाँले बताउनु भयो । २०६२/०६३ पछि बनेको ऐनको प्रावधानमा टेकेर नै आजीवन सदस्य बन्ने उहाँले बताउनु भयो । प्राज्ञ सभा, पदाधिकारी तथा कर्मचारीको विषयमा केही असन्तुष्टी भए छलफल र वार्ताबाट समाधान गर्न सकिने उहाँले बताउनु भयो । 

मौजुदा प्राज्ञपरिषद् र प्राज्ञ सभाका शीर्षस्थ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री जीवनराम श्रेष्ठ रहनु भएको उल्लेख गर्दै केपी शर्मा ओली र रवीन्द्र अधिकारीको संयोजनमा तयार भएको प्रज्ञा परिषद्लाई प्राप्त हुने ५ करोड रकम अहिले विनियोजन नभइ रोकिएको उहाँले बताउनु भयो । पदावधि सकिएपछि पूर्वप्रधानमन्त्री, मन्त्रीहरु र वर्तमान प्रधानमन्त्री र मन्त्रीहरुलाई धन्यवाद ज्ञापन गर्न जाने उहाँले बताउनु भयो । प्राज्ञिक कार्य गर्नका लागि सबैको साथ र सहयोग चाहिने भएकोले भेटघाट गर्नु आवश्यक रहेको उहाँको भनाई थियो । सम्बन्धित निकायले राम्रो काम गरे धन्यवाद र गलत गरेको भए आलोचना गर्नुपर्ने उहाँले बताउनु भयो । अन्त्यमा प्रज्ञ सभा सपफलताको शुभकामना व्यक्त गर्दै उद्घाटन सत्रलाई समापन गर्नुभयो ।