'औपचारिक कार्यक्रमको ढर्रा त्यागौँ '

'औपचारिक कार्यक्रमको ढर्रा त्यागौँ '

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०७९

काठमाडौँ । राष्ट्रिय सभाका सांसद डा.बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गर्नुभएको छ । 

खासगरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता बढी राखी विषयवस्तुमा कम छलफल हुने गरेको भन्दै उहाँले सबैले छरितो ढङ्गले कार्यक्रम गर्नुपर्ने सुझाव राख्नुभयो ।

‘यहाँ मैले कुनै मञ्च पनि देखिनँ, कुनै प्रमुख अतिथि र अतिथिहरूको लावालस्कर पनि देखिनँ । बोल्ने र सुझाव दिने सबै बराबरी र आमनेसामने पाएँ । हामी सबैले यस्तै गरौँ, पुरानो ढर्रा त्यागौँ’ लैङ्गिक मैत्री नीति निर्माण सम्बन्धमा मङ्गलबार काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले भन्नुभयो । 

कार्यक्रममा सहभागी वक्ता सांसदहरु, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान ढङ्गले राखिएको थियो । 

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतम, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले विषयवस्तुमाथि बोल्नुभएको थियो । 

सांसद थापाले प्रेस सम्बद्ध ऐन, कानुन, नियमावली र निर्देशिका परिमार्जनका लागि काउन्सिलले पहल लिनुपर्ने, त्यसमा संसदमा रहेर आफूहरुले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । 

सांसद पौडेलले मिडियालाई जिम्मेवार नबनाइ अहिलेको समस्या समधान नहुने सुझाव राख्नुभयो । सांसद गौतमले नयाँ संसदमा सञ्चार प्रबर्द्धनका लागि प्रभावकारी भूमिका खेल्ने दृढता राख्नुभयो ।