घनेन्द्र ओझाका ५ मुक्तक

घनेन्द्र ओझाका ५ मुक्तक

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २, २०७९

भाव होस्, प्रभाव होस्, दबाब नहोस् जीवनमा,
दुःख होस्, कठिन होस्, अभाव नहोस् जीवनमा,
हुँदै गर्छ ओल्टे(कोल्टे, बाँचुन्जेली यसैगरी,
रिस होस्, घुर्की होस्, तनाव नहोस् जीवनमा !

एउटा रहर बनाउनुहोस्- रहर जस्तै,
सुन्दर घर बनाउनुहोस्- घर जस्तै,
मान्छे हुँदैमा, रमझम हुँदैमा हुँदैन,
एउटा शहर बनाउनुहोस्- शहर जस्तै !!

केके छन् कसकसका नजरमा, देख्दै छु,
मान्छे जस्तै यी पशुहरू शहरमा, देख्दै छु,
नपल्टिए हुन्छ साखुल्ले, हजुरले पनि अब,
दुराचारी, भ्रष्टाचारी, हरेक घरघरमा, देख्दै छु !!

पत्थर पनि फूल बन्छ, हजुरले छोएपछि,
यो मन मोरो केके भन्छ, हजुरले छोएपछि,
आगो हो कि, हिउँ हो, हो कि शीतल जूनको,
जेजे भए पनि सहन्छ, हजुरले छोएपछि 

जाग्नुपर्ने भएको छ हिमाल, पहाड, मधेसहरू,
उखेल्नलाई अन्याय र अत्याचारका अवशेषहरू,
हो, सत्य हो, चुप लागेर बस्नुहुन्न अब जनहरू हो,
काल कूट छाडिरहन्छन् अल्लाह, जिसस, 'महेशहरू'!!'