‘फरैना’ अर्थात् एक बन्दी समयको बिम्ब

‘फरैना’ अर्थात् एक बन्दी समयको बिम्ब

ज्ञानु विद्रोही  |  साहित्य  |  पुष २, २०७९

पृष्ठभूमि
नेपाली साहित्य, अझ विशेषगरी आख्यानमा कमैया अथवा कमलरीका कथाहरू नयाँ विषय होइनन् । यो वा त्यो प्रकारले कथा, कविता, उपन्यासहरूमा उनीहरूका जीवन र भोगाइलाई नेपाली साहित्यकारहरूले लामै समयदेखि उतारिरहेका छन् । तथापि, यो विषय यति गम्भीर र गहन हो कि यससँग सम्बन्धित हरेक सिर्जनाहरूले त्यस सन्दर्भको नयाँ नयाँ पक्षको उद्घाटन गर्ने सामथ्र्य राख्दछन् ।

सतहमा हेर्दा सबै रचनाहरूको पृष्ठभूमि एउटै अर्थात् नेपालको पश्चिमी भेगमा प्रचलित कमैया/कमलरी प्रथा नै हो । तर, त्यस कमलरी प्रथाभित्रका अनेक कथाहरूले फरकफरक रहस्यहरूको उद्घाटन गर्ने परिवेश सिर्जना गर्न सक्छन् ।

विषय, परिवेश र प्रस्तुतिमा आउन सक्ने विविधताले कमैयासँग सम्बन्धित सबै रचनाहरू एउटै हुन् भन्न सक्ने अवस्था छैन । एउटै बगानमा २ फरक बोटमा फलेका फलहरू फरकफरक स्वादका हुन सक्ने भएझैँ कमैया प्रथालाई धरातल बनाएर रचना गरिएका धेरै रचनाहरूमा पनि फरकफरक स्वाद पाइन्छ । यसै कारण यो विषय नेपाली साहित्यमा पढ्नै पर्ने, पढि रहनुपर्ने विषय बनेको छ ।

यही परिवेशमा पश्चिम नेपालको कुनै एक गाउँमा कमलरी बनेकी एक थारू युवतीको जीवन वृत्तमा सिर्जना भएको उपन्यास हो– फरैना । सङ्गीतका मर्मज्ञ सन्तोष श्रेष्ठले आफ्नै आँखा अगाडि देखेका घटनाहरूलाई स्मृतिमा राखेर समग्र वर्ग उत्थानका सपनासहित आमनेपाली पाठकमाझ हालै पस्किएको खँदिलो सिर्जना हो– फरैना, जसलाई इन्डिगो बुकले बजारमा ल्याएको छ ।

कथावस्तु
फरैनाको कथावस्तु नेपालको भित्री मधेस अर्थात् दाङको ग्रामीण परिवेश र मुख्य पात्र फरैनाको जीवन वृत्तमा केन्द्रित छ । दाङका् झिङ्नी गाउँकी एक किशोरी फरैनाका बाल्यकालका संस्मरणबाट कथावस्तुको सुरुआत भई जीवनका विभिन्न आरोह अवरोहहरू पार गर्दै राज्यको एक महत्वपूर्ण र उच्च स्थानमा ती किशोरीको पदार्पणसम्म कथाको आयतन फैलिएको छ । 
गोठालो गएकी फरैना एक अपरिचित बटुवा (जोगी)को प्रश्नले आत्म केन्द्रित भएकी, समाज बुझ्न अग्रसर रहेकी र बिस्तारै असफलतालाई चिर्दै सफलता प्राप्त गरेकी जस्ता घटनाक्रमले कथालाई बाँधेको छ ।

फरैनाका जीवनका फरकफरक चरणहरू नै उपन्यासका उपकथाहरू हुन् । विद्यालयमा पढ्न नपाएकी फरैना, कमैयाका रूपमा रामप्रसाद शर्माका घरमा आश्रित उनको परिवार, जमिन्दारको उत्पीडनबाट फरैनामा आएको चेतना र सङ्कल्प, वर्गमुक्तिका लागि फरैनाकै अगुवाइमा भएको सङ्घर्ष र यसले पाएको एक प्रकारको सफलता नै फरैना उपन्यासको सेरोफेरो हो ।

बन्दी समयको बिम्ब

फरैना नेपालमा अवस्थित समस्त सीमान्तकृतहरूको कथा हो, जसको समय एक निश्चित भूगोलमा बन्दी भएको छ । दमित आवाजहरू त्यस भूगोलको सीमा पार गरेर बाहिरसम्म पुग्न वर्षौं लाग्ने यथार्थको वरिपरि फरैनाको कथानक घुमेको छ । आवाज विहीनहरूको आवाज नेपालको सामाजिक, राजनीतिक परिवेशमा कहाँ, कसरी, कुन रूपमा ओझेल परेको छ अथवा उनीहरूका आवाजलाई केले र कसले बन्दी बनाइरहेको छ भन्ने आधारभूत प्रश्नको वरिपरि फरैनाका हरेक घटना घुमिरहेका भेटिन्छन् ।

गम्भीर विषयको सरल प्रस्तुति, जीवन सापेक्ष घटनाहरूको वर्णन र प्राकृतिक परिवर्तनको सिद्धान्तविपरीत उभिएको कथित समय र त्यसको पराजयले उपन्यासलाई परिवर्तन कामी विचारहरूको संवाहक मात्र बनाएको छैन, सँगसँगै यसले सीमान्तकृत वर्गको उत्थान र मुक्तिका लागि आवाज मुखरित पनि गरेको छ । यस अर्थमा फरैना आवाज विहीनहरूको आवाज हो भने सन्तोष श्रेष्ठ आमसीमान्तकृत शोषित, पीडित सर्वहारा वर्गका मुक्तिकामी योद्धाका सारथि हुन् ।

यसरी हेर्दा फरैनाको मूलभूत सार गायत्री चक्रवर्ती स्पिभाकको ‘के सीमान्तकृतहरू बोल्न सक्छन् ?’ भन्ने बौद्धिक विचारको सेरोफेरोमा केन्द्रित भएको पाइन्छ । आमसीमान्तकृतहरूका आवाज पुँजीवादी समाजले नसुनेको अथवा नसुनेझैँ गरेको मात्र हो तर उनीहरूका पनि आवाजहरू छन्, जुन सदा सर्वदा दबिएर रहन सक्दैनन् भन्ने यथार्थमा भने फरैनाको दृष्टि पुगेको छ ।

समय आफैँमा परिवर्तनको सूचक हो । समयले कतिपय अकाट्य भनिएकाहरूलाई सामान्य, अपरिमेयलाई परिमेय र नृपलाई रैती बनाउन सक्छ । निरन्तरता र परिवर्तनशीलता समयको अकाट्य नियम हो, असीमित परिधि हो, जुन जगजाहेर हुनु जरुरी छ । जसले समयको यो नियमलाई बुझ्दैन अथवा बुझ्ने प्रयास गर्दैन र समयसँग सम्झौता नगरी आफैँले समयलाई नियन्त्रण गर्ने दुष्प्रयास गर्छ, ऊ अवश्य पनि पराजयसहित विनासको सङ्घारमा पुग्छ । फरक यत्ति हो कि समयको त्यो परिवर्तनशीलता कतै चाँडै देखिन्छ भने कतै अलिक ढिलो मात्र महसुस हुन्छ ।

आफ्नै गतिमा बगेको समयले भूगोल र परिस्थितिअनुसार आफूलाई रूपान्तरित गरिरहन्छ । तर, जहाँ त्यो शक्तिशाली समयलाई जबर्जस्ती बन्दी बनाउने प्रयास हुन्छ, त्यहाँ एक न एक दिन स्वयं त्यही समय बिस्फोट हुन्छ र त्यसले ध्वस्त बनाउँछ– उसलाई बन्दी बनाउने ती सबै संरचनाहरूलाई । यस्तै बन्दी बनाइएको समयको बिम्ब हो फरैना उपन्यास भित्रकी फरैनाको जीवन कथा ।

फरैनाले प्राकृतिक रूपमा आफ्नो जीवन जुन रूपमा व्यतीत गर्न पाउनुपर्ने थियो, उनले त्यो पाइनन् । कारण के थियो भने, उनको जीवन, उनको समय तात्कालीन कथाकथित जमिनदारको घरबाट बित्न सुरु हुन्थ्यो । उनका चाहना, सम्भावना, आकाङ्क्षाहरू तिनै जमिन्दारका चाहनाहरूमा समाहित हुन बाध्य थिए, जुन प्राकृतिक परीवर्तनको नियमका खिलाफमा थिए । त्यसैले त समय पनि फरैना र जमिनदारका बीचमा विभक्त थियो र प्रष्ट २ धारमा देखिन्थ्यो– एक परिवर्तकामी समय र अर्को यथास्थितिवादी समय । 

फरैनाले लिएको विचार, सिद्धान्त र गरेका यावत् क्रियाकलापहरू प्रिवर्तनकामी समयको सङ्केत सूचक हुन् भने रामप्रसाद शर्मालगायतले अवलम्बन गरेको र देखाएको व्यवहारले यथास्थितिवादी समयको प्रतिनिधित्व गर्छ । सदियौँदेखिको सामाजिक जडको परिवर्तन त्यति सहज पक्कै हुँदैन र फरैनाले चालेका कदमहरू पनि त्यति सहजचाहिँ थिएनन् । त्यसैले त फरैनाको अठोटमा सन्तोष बोल्छन् ।
‘अनगिन्ती पीडाहरूले भित्रभित्रै चिमोटिरहँदा यति दुःखदायी जिन्दगी बाँच्नुभन्दा त बरु मर्नु नै निको हुन्थ्यो होला भन्ने सोच नआएको पनि होइन तर हरेक रातपछि अवश्यमेय उज्यालो बिहान हुने शाश्वत सत्यझैँ एक न एक दिन त पक्कै आफ्ना पनि दिन उदाउनेछन् भन्ने सोच, धीरता र साहस उनमा पलाउन थाल्यो । (पृष्ठ : ३०)

बरफझैँ जमेर बसेको कठोर समयको विम्बमाझ फरैनाको यस्तो प्रकारको दृढता र परिवर्तनको भोक नै यस उपन्यासको केन्द्रीय ध्वनि हो । सहनशीलता नै सफलताको एक खुट्किलो हो भन्ने विश्वासमा फरैनाको कथा बुनेका सन्तोषले मुख्य पात्र फरैनालाई ठाउँठाउँमा अलिक असहिष्णु, विद्रोही र क्रान्तिकारी योद्धाका रूपमा प्रस्तुत गरेका छन् ।

थारू संस्कृतिमा रहेका कतिपय परम्परागत चालचलन, विश्वास र रहनसहनमा हुर्किएकी फरैना एकाएक तात्कालीन सामाजिक, राजनीतिक परिवेशलाई चुनौती दिँदै परिवर्तनकामी सोचलाई धर्मराउन नदिई समयलाई तरल बनाउँदै बहाउन सफल देखिन्छिन् ।

फरैनाका निरक्षर बुबा रूपलाल तात्कालीन समयको सीमान्तकृत वर्गका एक प्रतिनिधि पात्र हुन् । शिक्षा, ज्ञान र सीप जस्ता पुँजीवादी समाज व्यवस्थाले थोपरिदिएको उच्च हैसियतलाई अपनाउन असमर्थ उनले नयाँ पुस्ताले अँगालेको परिवर्तनको सोच र कदमलाई मौन स्वीकृति जनाएको आभास उनका कतिपय गतिविधिहरूबाट गर्न सकिन्छ । उनी र उनी जस्ता सम्पूर्णका लागि फरैना नयाँ बिहानको थालनी हो, नयाँ विचारको जननी हो, अन्याय र पीडाको विद्रोह हो र समग्रमा परिवर्तित भोलिको सुन्दर सङ्केत हो ।

‘फरैनाको नामको अर्थ उनका बुबाले राम्ररी नबुझे पनि, शिक्षकहरूले नबुझे पनि, साथीसङ्गातीले नबुझे पनि सालका रूखहरूले बुझेका थिए । धुलौटे बाटाहरूले बुझेका थिए । खेत, खलियान र पँधेराहरूले बुझेका थिए अनि खासमा जन्म दिने आमाले बुझेकी थिइन् ।’  (पृष्ठ: ८१)

यसरी हेर्ने हो भने फरैना नाम आफैँमा परिवर्तनको एक प्रतीक हो । गोठाले किशोरीको सङ्घर्ष, विद्यालय शिक्षा र भोग्नुपरेका व्यवधानहरू, सामाजिक उत्पीडन र त्यसबाट मुक्तिका लागि चालिएका हरेक कदमको सावधानीपूर्ण नेतृत्व, साङ्गठनिक फुटका लागि जमिन्दारहरूबाट गरिएको गोप्य षड्यन्त्र, समाज परिवर्तन खातिर उठाइएको हतियार र सशस्त्र युद्ध, जिम्मेवार नेतृत्वमा आइसकेपछि हुन सक्ने विचलन र अनुत्तरदायी प्रतिनिधित्व आदिबाट पाठ सिक्दै फरैनाले देखाएको सत्चरित्रले के प्रतीत गराउँछ भने, यदि नेतृत्वले आफ्नो पानी र माटोको सुगन्ध नबिर्सने हो भने र भुइँमान्छेका दर्दलाई महसुस गर्न सक्ने हो भने ठूलै परिवर्तनका लागि पनि कुनै ठूलो सङ्घर्ष आवश्यक हुँदैन ।

समय आफ्नै गतिमा बगिरहन्छ र समाज सोहीअनुरूप परिवर्तन भई नै रहन्छ । तर, जब त्यो तरल समयलाई कसैको निजी स्वार्थमा बन्दी बनाउने प्रयास गरिन्छ, त्यही शान्त समय नै बारुद बनेर बिस्फोट भइदिन्छ । त्यही बिस्फोट हो देशमा विद्यमान परम्परागत शक्तिको अवसान र नयाँ शक्तिको रूपमा राज्य सञ्चालनमा फरैनाको उदय ।

भाषिक कला र शैली

भाषिक सरलता फरैनाको विशेष प्रकारको विशेषता हो जस्तो लाग्छ । अत्यन्तै सरल शब्द चयन र स्पष्ट अभिव्यक्तिले उपन्यासको कथालाई सरल रेखामा बहाएको भान हरेक पाठकले गर्न पाउँछ । फरैनाले आफ्नो विगतमा प्रयोग गरेको भाषाशैली र आमूल परिवर्तन पछाडि प्रयोग गरेको भाषाशैलीमा फरक लाउनुले पनि लेखक त्यस विषयमा कति सतर्क र सम्वेदनशील छन् भन्ने बुझिन्छ । 

आञ्चलिक भाषिक विशेषताले यस उपन्यासका हरेक पात्रलाई त्यतिकै प्रभाव पनि पारेको छ । रूपलालले प्रयोग गरेको भाषा अन्यन्तै सरल, सोझो र स्पष्ट छ भने बटुवा (जोगी)को भाषामा अलिक बढी बौद्धिक, राजनीतिक र विश्लेषणात्मक छनक भेटिन्छ । 

अर्कातरर्फ ठाउँठाउँमा प्रयोग भएका कविता र गीतका टुक्राहरूका कारण आख्यान खुबै मन पराउने र कम मनपराउने दुवै प्रकारका पाठकका लागि फरैना पठनीय कृति बनेको छ । सन्दर्भ र परिवेशलाई टपक्कै टिपेर त्यही परिवेशको काव्यिक सिर्जना पस्कनुले सन्तोष श्रेष्ठको साङ्गीतिक, साहित्यिक दक्षता एकै पटक उपन्यासमा देखापरेको छ भन्दा अत्युक्ति नहोला । यसरी हेर्दा भाषिक कला र प्रस्तुतिको शैलीमा पनि सन्तोष श्रेष्ठ निपूर्ण भेटिन्छन् ।

सुधारापेक्षित टिप्पणी

यसो भनिरहँदा फरैना उपन्यासमा के सबै कुराहरू पूर्ण छन् त ? खोट लगाउन सक्ने कुनै ठाउँ छैनन् त ? यो अवश्य होइन । उपन्यासमा केही कमजोरीहरू पक्कै पनि छन् तर तिनीहरू सुधार अपेक्षित छन् । उपन्यास पढ्दै जाँदा यो एकदमै सिधा सरल रेखामा बगेको भान हुन्छ । यसले के देखाउँछ भने, सन्तोष श्रेष्ठले उपन्यासको खाका बनाउँदा नै अन्यन्तै सिधा खाका बनाएका हुन् र दायाँबायाँ नलागि सोझै त्यसैमा केन्द्रित भएर लेखेका पो हुन् कि ! 

त्यसरी नै पाठकमा सन्तोषले कथालाई परिपक्व हुनै नदिई कतै आफ्नो उद्देश्य प्राप्तिका लागि जबर्जस्ती दौडाएका त होइनन् ? भन्ने शङ्का जन्मनु पनि स्वाभाविक हो ।

त्यसरी नै उपन्यासमा पूर्ण सम्पादनको अभाव भने ठाउँठाउँमा खड्किएको छ । केही ठाउँमा विषय र घटनाहरू, केही ठाउँमा जस्ताको तस्तै वाक्य र केही ठाउँमा साना अनुच्छेदकै पुनरावृत्ति हुनुले एक पटक सम्पादनको माग गर्छ । कालक्रमिक विकाससँग घटनाहरूको तादात्म्यमा पनि सम्पादनको पाटोमा देखिन सक्ने विषयहरू हुन् फरैना उपन्यासका सुधारापेक्षित टिप्पणीहरूमा ।

निष्कर्ष
समग्रमा औपन्यासिक धरातलमा बसेर हेर्दा कोट्याउनै पर्ने र खोट्याउनै पर्ने समालोचकीय दृष्टिबाहेक फरैना उपन्यास नेपाली साहित्य बजारमा पछिल्लो समयमा आएको एक सशक्त हस्तक्षेप भने पक्कै हो । गम्भीर विषयको सरल प्रस्तुति, जीवन सापेक्ष घटनाहरूको वर्णन र प्राकृतिक परिवर्तनको सिद्धान्तविपरीत उभिएको कथित समय र त्यसको पराजयले उपन्यासलाई परिवर्तन कामी विचारहरूको संवाहक मात्र बनाएको छैन, सँगसँगै यसले सीमान्तकृत वर्गको उत्थान र मुक्तिका लागि आवाज मुखरित पनि गरेको छ । यस अर्थमा फरैना आवाज विहीनहरूको आवाज हो भने सन्तोष श्रेष्ठ आमसीमान्तकृत शोषित, पीडित सर्वहारा वर्गका मुक्तिकामी योद्धाका सारथि हुन् ।