किचकन्नी तर्साउनेको कथा: सहरीकरणको चपेटाले ओझेल परे पनि नघटेको विश्वास

फर्कलान् र ती दिनहरु

किचकन्नी तर्साउनेको कथा: सहरीकरणको चपेटाले ओझेल परे पनि नघटेको विश्वास

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  पुष २, २०७९

कहिलेकाहीँ लाग्छ, हामी जुन यो पृथ्वीमा छौँ र अरु पनि जीवन अरु ग्रहहरूमा होलान् कि नहोलान् ? ब्रह्माण्डका त के कुरा भयो र, यही पृथ्वीका बारेमा नै हामीले सबै कुरा पत्ता लगाउन सकेका छैनौँ र पनि  मानिसले अनुसन्धान गरेजस्तै अरु ग्रह या ताराका ती जीवले या प्राणीले पनि हाम्रो ग्रहलाई हेरेर त्यहाँ पुग्न पाए हुन्थ्यो भनेर यता पनि आउँदा हुन् कि ?

त्यसो त एलियनका धेरै कथाहरु मानिसहरुले अनुभूतिको रुपमा या कल्पना शीलताका आधारमा भन्दै त आएका छन् । भूत प्रेत पिशाच हुन्छन् कि हुँदैनन् ? तर्साउने पनि हुन्छन् कि हुँदैनन् ? टाउको विहीन पिशाच हुन्छन् ? या हुँदैनन् ? काठमाडौँ उपत्यकामा ख्याकको कथा अहिले पनि प्रचलित छ र किचकन्ने या किचकन्नी( संस्कृतमा कृता कन्या हुने रहेछ) विश्वासलाई जनमतले प्रमाण गरिरहेको हुन्छ तर यथार्थमा कसैले प्रमाणित गर्न भने सकेको छैन । तर नदेखेको कुरामा विश्वास गर्ने आख्यान धेरै छन् ।

त्यसो त धार्मिक पन्थहरुका पथिकहरुले आफ्ना आफ्ना आस्था र विश्वासमा देवताहरुको अनौठा छविहरु तयार गरेका छन् र ती छविहरूका अनेक काल्पनिक मूर्तिहरु, चित्रहरु बनाएर राखिएका छन् । पहिले फोटोको चलन थिएन र पनि ती छविहरूलाई काल्पनिक रुपमा चित्रको रुपमा, मूर्तिको रुपमा तयार गरेर सम्झनाका लागि, भावी पुस्ताका लागि जगेडा गरिएको पाइन्छ । मिश्रको सभ्यता त्यसका लागि पुरानो मानिने रहेछ । कल्पना र छविको प्रत्यक्षीकरणका लागि वेद, उपनिषद् तथा पुराणहरूले बाटो देखाएका रहेछन् ।

आज पनि प्रत्यक्ष र परोक्ष रुपमा विश्वको मानचित्रलाई सभ्यताको र अनुशासनको डोरेटोमा डोर्‍याउन सकेको छ । म एकपटक नर्वे भन्ने देशको राजधानी ओस्लोमा पुगेको थिएँ कान्छी छोरी अर्चनाको निम्तोमा, या भनौँ उसको प्रत्याभूति मा । मैले त्यहाँ भेटेका केही बुज्झकी जस्ता लाग्ने मानिसहरुलाई सोधेँ - तपाईँहरुको देशमा विवाहका लागि कस्तो अवरोधात्मक वा कोसँग विवाह गर्नु हुने या नहुने भन्ने नीति या नियम छ ?

जस्तो कि नेपालमा जातीय र परम्पराले विवाहका लागि कोसँग हुने या कोसँग नहुने भन्ने कानुनले पनि तोकेको छ, समाजले पनि तोकेको छ । मेरो कुरा नै ती उत्तर दाताले बुझेनन् र भने - विवाह आफ्नो इच्छा अनुसारका मन पर्ने  प्रेमी प्रेमिकाका बिचमा हुने गर्छ । त्यसो त अहिले पुरुष र पुरुषका बिचमा र नारी र नारीका बिचमा पनि विवाह हुन थालेको छ । त्यो पनि प्रेमका आधारमा, मन पर्दाको अवस्थामा ।

अनि मैले बीपीको हिटलर र यहुदी उपन्यासको त्यो भाग सम्झे । जहाँ स्विडेनका लेखकको म बसेको ठाउँमा छोरीले उनकी आमालाई सुनाउँछिन्- हेर्नु न आमा, यो नेपाली त भन्छ, उसले कहिल्यै नदेखेकी केटीसँग बिहे भएको रे !  बिहेका दिनमात्र केटीलाई देखेको रे ! अहिले प्रेम यस्तो छ रे ! कि त्यो यात्री आफ्नी बुढी लक्ष्मीलाई मात्र सम्झन्छ रे !   चिठी लेख्दैछन् । अर्थात् बीपीले त्यो कथाको पृष्ठभूमिको समय द्वितीय विश्वयुद्धबाट तहस नहस भएको बर्लिनको यादको बेला र त्यतैबाट स्विडेन घुम्न जाँदाको हुनुपर्छ ।

आज तर शहरीकरणको चपेटामा कसलाई कहाँ गाडेको भन्ने पनि थाहा छैन, कोको प्रेतात्मा हुन् भन्ने पनि भन्न नसकिने भएको बेलामा  किचकन्नीको कथा ओझेलमा परेको त छ तर विश्वास यथावत् छ । 

सायद हिटलरले तहस नहस पारेर द्वितीय विश्वयुद्ध गरायो, लाखौँ विरोधीहरूलाई आफ्नै देशमा मारेर एकछत्र राज्य कायम गर्न चाह्यो । अन्ध राष्ट्रवाद, अन्ध धर्मान्धता र अरुको धर्म र पन्थप्रति असहिष्णु हिटलरको कथा । त्यो पनि यहुदी प्रति यति असहिष्णु कि लाखौँ यहुदीको हत्या गरेका अनि ती बाँकी भागेर कता गएका आदि आदि ....। 

मानवीय चेतनाको प्रादुर्भावलाई नै मानवीय सभ्यताको प्रारम्भिक अवस्था मान्नु पर्ने हुन्छ । सभ्यताको प्रभाती कालमा मानिसहरुलाई आफ्नो पहिचान दिने र अनि कसरी एउटा बन्धनमा बाँध्ने भन्ने गाह्रो विषय मानियो होला र के गर्ने र के नगर्ने भन्ने सिद्धान्त बनाउनका लागि साँच्चै नै मुस्किल भयो होला किनभने स्वतन्त्ररुपमा जन्मिएको मानिसलाई बन्धनमा, त्यो पनि कृत्रिम रुपमा तयार गरेको भावनात्मक त्यान्द्रोलाई नियमको रुपमा आफूले आफैँलाई बन्धनमा राख्ने चलन चलाउनु पक्कै पनि एउटा क्रान्तिकारी अवस्था थियो किनभने ती बन्धनहरू चाँडै चुँडाउन सकिन्थ्यो । 

मनुको राज्यमा बल्ल बल्ल एउटा विधान तयार भएको रहेछ राज्य सञ्चालनका लागि । अर्थात् मनुको बेलामा राज्य र राजाको परिभाषा तयार गरेको देखिन्छ । राजा समूहबाट छानिन्थ्यो जस्तो छ । र मानिसहरुलाई नीति सिकाउने बेलामा अनेक उपायद्वारा त्यसलाई स्वेच्छिक प्रक्रियाले कार्यान्वयन गर्नु पर्ने हुन्छ । अहिले मनुवादी भनेर नकारात्मक भाष्य तयार गरिएको छ । त्यो पनि कसले भने बनेको संविधान नमान्ने , कुनै पनि बन्धनलाई नमान्ने अनि बन्धन आफूखुसी तयार गर्नका लागि आन्दोलन, दबाब दिने मध्येबाट ।

एकपटक सम्झौँ, मनुले या त्यो बेलामो राज्यले कसरी तयार गर्‍यो होला र स्वेच्छाका आधारमा प्रयोग गरेको होला ? मानिसहरुलाई स्वभाव र चरित्रका आधारमा, मिहिन तरिकाले राज्यले अनुसन्धान गरेर वर्गीय स्वरुप दिएको थियो होला र पछि गएर त्यसरी मिहिन तरिकाले अनुसन्धान गर्न र चरित्र गत वर्ग र श्रेणी छुट्याउन गाह्रो भएपछि जन्मका आधारमा एउटै श्रेणीमा राखेका हुनुपर्छ । त्यो पनि धेरै पछिमात्र । अब त त्यो पनि एकादेशको कथा भयो नेपालमा तर पनि बाँकी छ मानिसहरुको क्षमता अनुसारको पहिचानको अवस्था कार्यान्वयनमा । एकातिर हामी एक्काइसौं शताब्दीको कुरा गछौं तर व्यवहार चाहिँ पुरानै अवस्थाको आधारमा, जातीय वर्गीय र वर्णका आधारमा नै । 

म आस्तिक हो पनि, नास्तिक हो पनि । आस्तिक हुनका लागि त कुनै धर्मप्रति आँखा चिम्लेर समर्थन गर्नुपर्ने र त्यहाँ लेखिएका कुराहरुलाई ढुंगाका अक्षरजस्तै मान्नुपर्ने हुन्छ । एकप्रकारले धर्म भीरु, धर्मान्धता भनौँ । त्यस्तो आस्तिक पनि होइन । त्यस्तो नास्तिक पनि होइन जसले सम्पूर्ण समाजको सभ्यतालाई नमानेर नयाँ सभ्यताको सृजना गर्ने र त्यसमा अरुलाई हिँडाउन सक्ने । एउटा सामान्य तर सचेत व्यक्तिले प्रमाण पाउँदासम्मको ठिक र बेठिक सम्म भन्न  सक्छ तर अरु नै नयाँ बाटो तयार गरेर समाजलाई हिँडाउन सकिँदो रहेनछ । धर्मप्रति अनास्था फैलाउनु पनि अमानवीय र मानव अधिकार विरुद्धको काम हो एकातिर भने त्यस धर्मका लागि गरिने अमानवीय कामको विरोध गरेर समाजलाई ठिक बाटोमा हिँड्न प्रेरित गर्नु चाहिँ हामी सचेतहरुको कर्तव्य हो । 

मैले एउटा कुरा के बुझिन भने मानिसहरुमा एउटा विश्वासको यस्तो लेपन स्थायीरूपमा कसरी बस्छ होला ? जस्तो किचकन्नीको कथा, तर्साउनेको कथा । भूतप्रेतको कथा । समाजका सबै समाजका यस्ता कथाहरूले यसरी जग गाडेर राखेको छ कि मान्ने कि नमान्ने भन्ने पनि भन्न सकिँदैन । होइन भनौँ, काठमाडौँमा किचकन्नीको कथा हामी विद्यार्थी भएर आउँदा पनि चर्चित थियो । मलाई मेरो आमाले काठमाडौँ  आउने बेलामा किचकन्नीबाट, ख्याकबाट जोगिन सचेत बनाउनु भएको थियो । म अलि पछि नै काठमाडौँमा आएको हुँ । अर्थात् स्नातक तहमा पढ्नका लागि । बच्चा पनि भइसकेपछि । तर आमाको मन न हो, त्यो दूर देशमा के होला के होला भन्ने त्रास । मलाई विश्वास त छैन तर सबैले विश्वास गर्छन् अनि त्यस्ता कथाहरु बग्रेल्ती रहेछन् । किचकन्नीलाई संस्कृतमा भनिँदो रहेछ कृत्या कन्या । कृत्याको अर्थ रहेछ- कृत्या नामकी एक राक्षसी, हत्याकी देवी, आसुरी देवता, दुष्ट आइमाई, कुकर्म गर्ने स्त्री,काट्न या छेदन गर्न लायक (तत्सम नेपाली व्युत्पत्ति शब्दकोश, टीकादत्त बराल) । नेपाली बृहत् शब्दकोशले भन्छ- पैतला पछाडिपट्टि फर्किएको, पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी, स्त्रीका रुपमा रहने एक प्रेतयोनि, अगतिमा परेका स्त्रीहरुको प्रेतात्मा । 

आज तर शहरीकरणको चपेटामा कसलाई कहाँ गाडेको भन्ने पनि थाहा छैन, कोको प्रेतात्मा हुन् भन्ने पनि भन्न नसकिने भएको बेलामा  किचकन्नीको कथा ओझेलमा परेको त छ तर विश्वास यथावत् छ । 

प्रत्येक समाजको विकासक्रम कसरी भएको हुन्छ भन्ने कुराको साक्षी त्यहाँ चल्ने लोकोक्ति र लोककथाले एउटा खाका दिएको हुन्छ र मात्र समाजको विश्लेषण गर्न सकिन्छ । पूर्वीय सभ्यताको सबैभन्दा ठुलो योगदान नै संसारलाई सभ्यताको पाठ सिकाउने काम रहेछ । सायद मनु स्मृतिको आधारमा, वेद पुराणका आधारमा संसारलाई मानिसले अपनाउने ठिक बेठिकको खाका दिएको रहेछ । कृपया आफ्ना आफ्ना क्षेत्रमा, भनिने लोकगीत, भनिने लोककथा र स्थायीरुपमा रहेका चलनलाई सम्झनु पर्छ । अनि मात्र म को हुँ र मेरो यस समाजमा, संसारमा के योगदान होला र के गर्नुपर्ला भन्ने थाहा हुन्छ भन्ने मलाई लाग्छ । क्रमशः