राजकुमार प्याकुरेल: हिप्नोसिसका माध्यमबाट मानसिक लगायत रोगको उपचाररत अध्यात्म साधक

राजकुमार प्याकुरेल:  हिप्नोसिसका माध्यमबाट मानसिक लगायत रोगको उपचाररत अध्यात्म साधक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष ३, २०७९

उहाँको बुवा सेनाको जागिरे । ठूलो हजुरबा भने मोहन शमशेरको अंगरक्षक । पूरै परिवार खानदान नै सैनिक पृष्ठभूमिको हुनुहुन्छ । आमा भने विशुद्ध गृहिणी । परिवारको आर्थिक अवस्था सम्पन्न नै थियो । 

उहाँको जन्मस्थान भने नुवाकोट । गुच्चा खेल्ने, खोपी खेल्ने, डण्डी बियो खेल्ने आदि आम मानिसको बालापनमा हुने कुनै कुरा उहाँका पनि छुटेका छैनन् । बुवा सेनामा जागिर भएर सुन्दरीजलमा भएको हुनाले उहाँले केही समय सुन्दरीजलमा पनि पढ्नुभयो । पछि नुवाकोट नै जानुभयो । तर, नुवाकोटमा पनि बसाइँसराइ भयो । पछिल्लो बसाइँसराइ खोला नजिक भएको हुनाले पौडी खेल्नमा भने उहाँ सिद्ध हस्त हुनुभयो । बाढी आएको बेलामासमेत पौडी खेल्न सक्ने क्षमताको पनि विकास भयो उहाँको । 

उहाँको प्रारम्भिक शिक्षा नुवाकोटको गेर्खुमा रहेको सतीदेवी निमाविमा भएको हो । स्कूल घरबाट झण्डै एक घण्टाको दूरीमा थियो । स्कूल भने डाँडा माथि थाप्लोमा थियो । बल खेल्ने मैदान पनि थियो माथि । र, यदि बल खेल्दा खस्यो भने खोज्न दिनभर लाग्थ्यो । दुवैतिर सल्लाको जंगल । रातो माटो भएको चिसो हावा आउने वातावरण एकदमै रमाइलो थियो । 

भौतिक संरचना भने एकदमै आधुनिक पनि होइन र बस्नलाई घरबाट चकटी नै लैजानु पर्ने गरी गए गुज्रेको पनि होइन । उहाँलाई अहिले पनि त्यस स्कूलमा पढाएका चेतबहादुर प्याकुरेल सर, ठाकुर सर । उहाँहरुले कखरा सिकाउनु भएको हो र आज पनि सम्मानका साथ नाम लिनुहुन्छ । 

उहाँको मामाघर त्रिशुली । मामाघरमा पर्सी जस्तो विवाहको कार्यक्रम थियो । उहाँको स्कूलमा जाँच चल्दै थियो । उहाँलाई के लाग्यो भने जाँच त भोलि नै सकिन्छ । नभन्दै उहाँ जाँच सकियो भनेर मामाघर जानुभयो । तर, भएछ के भने जाँच एउटा अझै बाँकी रहेछ । तर, अब राम्रो विद्यार्थी भएका नाताले सरहरूले छुटेको जाँच पछि लिइदिन भयो । 

परीक्षा दश अंकको थियो । काट्ने कुनै ठाउँ नै नभएकोले सरले दश नै दिनु भएछ । तर, पछि स्कूलले त्यसो गर्नुहुँदैन भनेर ९ दशमलव ५ नम्बर दिएको पठाएको उहाँको स्मरणमा छ । 

उहाँको शरीर साह्रै लचकदार थियो सानोमा । जिम्न्यास्टिक पनि राम्रो गर्नुहुन्थ्यो । स्कूलका कार्यक्रमहरुमा उहाँले जिम्न्यास्टिकका कला पनि देखाउने गर्नुहुन्थ्यो । टिम लिडरका रुपमा अन्य विद्यार्थीलाई पनि पढाउनु भएको छ । 

एकदेखि पाँच कक्षाको कुरा गर्दा महिलाहरुको सहभागिता पनि राम्रै थियो । झण्डै समान जस्तै । महिलालाई पनि पढाउनुपर्छ भन्ने एकप्रकारको चेतना थियो भन्ने पनि बुझिन्छ यसबाट । 

उहाँ तीन कक्षासम्म दोस्रो हुनुहुन्थ्यो । चार कक्षामा आएर पहिलो हुनुभयो र पाँच कक्षामा पहिलो हुँदा भने स्कूलमा हंगामा मै भयो । त्यस बेला अन्य कक्षामा पहिलो भएर आएको उपल्लो गेर्खुकै रामलक्ष्मण जुम्ल्याहा न्यौपाने दाजुभाइ हुन्थे । तर, जब उहाँ पहिलो हुनुभयो धाँधली गरेर उहाँलाई बनाइयो भनेर गाउँकै मान्छे आएर आन्दोलन नै भएको थियो । कति दिन स्कूल नै बन्द भयो । 

पछि उहाँहरु बसाइँसराइ गरेर नुवाकोटको चौघडामा आउनुभयो । उहाँ क्षेत्रपाल माविमा छ कक्षादेखि पढ्न थाल्नुभयो । नेपालीको विष्णु धिताल सर उहाँको मानसपटलमा अहिले पनि हुनुहुन्छ । उहाँको कक्षामा सहभागी भएर पढ्दा मात्रै पनि स्नातक तहसम्म पनि व्याकरण नै पढ्नु नपर्ने हुन्थ्यो । उहाँ फेरि एकदमै साहित्यिक पनि । अरुको कक्षामा हल्ला हुन्थ्यो भने उहाँको कक्षामा भने गहिरो शून्यता हुन्थ्यो । कक्षामा छिरेपछि उहाँ सबैको नजरमा दुई मिनेट हेरेर पढाउन थालेपछि कोही कतै चल्दैनथे । सबै मूर्तिजस्ता । विष्णु तिवारी सर, अंग्रेजी पढाउने राई सर उहाँका प्रिय सरहरू हुनुहुन्छ । यसको अर्थ अरु सरहरू प्रिय हुनुभएन भन्ने होइन । 

चौघडामा आएपछि उहाँ पौडी वाज नै हुनुभयो । यसले छ कक्षामा पढाइ केही खस्कियो । तर, विस्तारै राम्रो हुँदै गयो । उहाँ प्रायः दोस्रो, तेस्रो हुनुहुन्थ्यो । चौघडामा आएपछि पनि कक्षामा महिलाको संख्या झण्डै हाराहारी नै थियो । किशोर अवस्था तिर लाग्दै गरे पनि पढाइमा राम्रो भएका कारण अन्यत्र बरालिने भन्ने भएन । स्कूल प्रशासन तथा सरहरूले पनि त्यसरी नै लिएका कारण फलानो विद्यार्थी के गर्दैछ भनेर नजिकबाट निगरानीमा पनि पर्नुहुन्थ्यो । 

बस्नलाई उहाँहरु पहिलो बेञ्चमा नै बस्नुहुन्थ्यो । यदि कोही आएर ओगटे भने पनि त्यसलाई निकालेर भए पनि पहिलो बेञ्चमा नै बस्नुपर्ने हुन्थ्यो । हतपति अरु विद्यार्थी पहिलो बेञ्चमा बस्न पनि रुचाउँदैनथे । 

प्रत्येक शुक्रवार धिताल सरले कविता वाचनको कार्यक्रम राख्नुहुन्थ्यो । कवितामै संवाद, मिलन र झगडा हुन्थ्यो । उहाँले पनि थुप्रै कविता तथा कथा लेख्नुभयो । भलै ती प्रकाशित भएनन् । 

दशैँमा गृहकार्य अहिले त दिइन्छ भने त्यो बेला कुरै भएन । धिताल सरको भने कविता, कथा तथा सारांश लेख्ने विशेष गृहकार्य हुन्थ्यो । र, उहाँको प्रतिकृया पनि कवितामै आउँथ्यो । अक्षर पनि राम्रा बनाउनु पर्छ भन्ने मान्यता थियो । सरको मान्यताले आज पनि उहाँका अक्षर राम्रा छन् । 

दशैँको गृहकार्यमा उहाँको अलि केरकार भएको थियो । अनि धिताल सरले त्यसमा कवितात्मक प्रतिकृया दिनुभयो, अझै राम्रो पढ लेख बन होसियार, अरु प्रयास सबै ठिक छन् नहोस् केरकार ।

उहाँको एकपटक धिताल सरसँग साहित्यिक झगडा नै पर्यो । लामा कविताको अन्त्यमा सरले धेरै आर्दशका कुरा नसिकाउ सिद्धार्थ भनेर उहाँले लेख्नुभयो । अनि सरले कतै एक पटक टिपेक्स लगाएको उहाँले देख्नु भएको थियो । र उहाँले पनि यहाँ टिपेक्स काण्ड मच्चाउने पनि छन् भनेर घोचपेच गर्दै जानुभयो । 

एकपटक आठ कक्षामा हुनुपर्छ स्कूलबाट टुर लगिएको थियो । टुरमा देखिएका सबै घटनालाई सरले यात्रा निबन्धका रुपमा तयार गर्नुभएछ कुनै पनि घटना नबिराइ । निबन्ध यति सुन्दर थियो त्यो उहाँले वाचन गर्दा सबै स्तब्ध थिए । त्यस बेला अर्को स्कूलको पनि टुर आएको थियो । त्यसको ब्यानर पढ्न खोज्दा नभ्याएर उहाँले थुइक्क भन्नुभएको थियो । त्यो शब्द पनि निबन्धमा समेटियो । 

यसरी वालिङमा हामी जाँदै गर्दा अर्को बस आयो अनि पढ्दा पढ्दै बीचमै टुंगियो, लललल थुइकक भन्दा भन्दै शब्द पढ्न पाइएन भनेर, यही शब्दलाई उहाँले निबन्धमा निकाल्नुभयो । पछि उहाँले यो निबन्धलाई दोहोर्याएर भन्न अनुरोध गर्दा पनि भन्नुभएन र एसएलसी पास गरेर घरमै जाँदा पनि शायद त्यसको महत्व घट्न सक्छ भनेर होला सरले छैन हरायो भन्नुभयो । 

हाजिर जवाफमा पनि उहाँको टिमले जित्थ्यो । एक पटक हाजिरी जवाफमा डेमोक्रेसीको ‘नाउन’ बनाउन भनिएको थियो । अरुले पनि भन्न सकेनन् । तर, उहाँले डेमोक्र्याटिक भन्दै गर्दा पूरै नभनी अड्केर डेमोक्र्याट्.. भन्दै गर्दा ठिक भन्ने उत्तर आयो । त्यही उत्तरले गर्दा उहाँको टिमले जित्यो । 

उहाँले २०५६ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याजमा झण्डै ३५/३६ जना थिए । त्यसमा पाँच जनाले फस्र्ट डिभिजन ल्याए । त्यस मध्येमा उहाँ पनि एक हुनुहुन्थ्यो । 
एसएलसीको रिजल्ट त्यस बेला सजिलै हेर्न पाइँदैनथ्यो । उहाँहरु नुवाकोट दरबार आउनुभयो । त्यहाँ पनि हेर्न नपाएर साथीहरुसँग हिँड्दै हिँड्दै सदरमुकाम बट्टार पुग्नुभयो । 
साथीहरुलाई फस्र्ट डिभिजन ल्याउने भन्ने आशै थिएन । अनि थर्ड डिभिजनबाट हेर्न सुरु भयो । सेकेण्ड डिभिजनमा पनि थिएन । अनि साथी त छैन भनेर हिँड्यो । उहाँको पनि गोडा काम्न थाल्यो । पछि फस्र्ट डिभिजनमा हेरौँ न त भन्दा उहाँको भेटियो । अनि अर्को साथीको पनि भेटियो । यसको बेग्लै रमाइलो थियो त्यो बेला । 

०००
एसएलसीपछि उहाँ अस्कल क्याम्पसमा बायोलोजी पढ्न थाल्नुभयो । नेपाली माध्यमबाट पढेर आएको मान्छे पास हुन सकिएला कि नसकिएला भनेर उहाँले एक वर्षपछि आरआर क्याम्पसमा आइ एमा पनि भर्ना हुनुभयो । 

साइकोलोजिको विद्यार्थी भएका नाताले पनि अधिकांश रोग मानसिक अवस्थाका कारण आउने र त्यसपछि मात्रै शरीरमा देखा पर्ने रहेछ भन्ने उहाँको अध्ययन छ । त्यसकारण यदि मानसिक रुपबाट उपचार गर्न सकियो भने शारीरिक रोग पनि निको हुने उहाँको ठम्याइ छ । 

एसएलसीदेखि नै उहाँको आध्यात्मिक साधना सुरु भइसकेको थियो । नदी तटमा गएर ध्यान गर्ने, प्राणायाम, श्वासको साधना, विस्तारै विस्तारै सम्मोह न तथा त्राटकको साधना गर्न थाल्नुभयो । उहाँ शक्ति चक्रमा त्राटकको साधना गर्नुहुन्थ्यो । त्यो शक्तिचक्र उहाँसँग अहिले पनि छ । साधना गर्दै गएपछि अद्भूत घटनाहरु हुन थाले । आफूले चाहँदा आकर्षित हुने र नचाहँदा विकर्षित हुन थाल्यो । 

उहाँ स्कूलमा पनि गायनमा एकदमै रुचि राख्नुहुन्थ्यो । नारायण गोपालका लगभग सबै गीत कण्ठ छन् भन्दा हुन्छ उहाँलाई । प्रत्येक शुक्रवार ल आज राजकुमारले गाउने भनेर हेडसरले एकप्रकारको रूटिन नै बनाउनु भएको थियो । भक्त राजको गीत अहिले पनि उहाँले गाएर सुनाउँदा छुट्याउनै गाह्रो पर्छ । उहाँको आफ्नै शब्द, संगीत र स्वरमा भजन एल्बम पनि निस्किएको छ । उहाँ सबै खालका वाद्य यन्त्रहरु पनि बजाउनुहुन्छ । 

एकपटक के भयो संगीतमा रुचि भएका कारण उहाँ बालाजुको एउटा स्टुडियोमा अर्को गायकको रेकर्डिङ सुन्न भनेर मात्र जानु भएको थियो । तर, त्यहाँ एक जना अनु रेग्मी भन्ने मोडल बसिरहनु भएको थियो । उहाँको चिनजान थिएन । रेग्मी पनि ओशोको ध्यान, साधन गर्नु हुँदो रहेछ । रेग्मीले तपाइँको आँखामा एकदमै शक्ति छ, हेर्नै सकिँदैन के साधना गर्नुहुन्छ भनेर सोध्नुभयो । उहाँ त्यस बेला बिहान, बेलुका दिउँसो तथा राति पनि त्राटकको अभ्यास तथा साधना गर्नुहुन्थ्यो । तर, उहाँलाई त्यस बेलासम्म सम्मोहनको शक्ति निस्कन्छ भन्ने थाहा पनि थिएन । उहाँलाई साधना थाहा थियो र साधना गर्नुहुन्थ्यो मात्र । 

रेग्मीले तपाईँकोमै एकदमै इनर्जी छ के साधना गर्नुहुन्छ मलाई पनि सिकाउनुस् भनेर भन्नुभयो । उहाँ बागमती प्लास्टिकको विज्ञापन गर्नका लागि आउनु भएको रहेछ । उहाँले मेरो आफ्नै गुपत साधना छ, त्राटकहरु गर्छु भनेर भन्नुभयो । 

०००

उहाँ स्कूल पढ्दा नवराज लम्सालको निकै ठूलो फ्यान । उहाँको सुरसँग कार्यक्रममा पठाउनका लागि भनेर लेखेको प्रेम कथा अहिलेसम्म पनि उहाँसँग सुरक्षित छ । नवराज लम्साल भनेपछि एकदमै गजब व्यक्तित्व लाग्थ्यो उहाँलाई । एक पटक नवराज लम्साल भेट्न जसरी पनि रेडियो नेपाल जान्छु र भेटेर आउँछु भन्ने उहाँको ध्येय नै थियो । नवराज लम्साललाई भेट्नका लागि भनेर उहाँ काठमाण्डौ पढ्न आउनु भएको । नत्र उहाँ बट्टारमै पढ्नु हुन्थ्यो होला शायद । उहाँलाई भेट्ने यति तीव्र चाहना थियो कि गएर भेटेर नमस्कार गरेर हात मिलाएर, छोएर आउँछु भन्ने थियो उहाँलाई ।

मिरा राणा र तारा थापाले त्यस बेला एउटा कार्यक्रम चलाउनुहुन्थ्यो । जसमा व्यक्तिहरु जान्थे, गीत गाउँथे र आफूलाई मन परेको मान्छेलाई 'डेडिकेट' गर्थे । उहाँ पनि एक जना एकदमै मिल्ने साथी कृष्णप्रसाद न्यौपानेलाई लिएर जानु भएको थियो । काठमाण्डौ आउँदा पनि उहाँ न्यौपाने कै कोठामा बस्नु भएको हो । कैयौँ वर्षसम्म कोठामा साथीको रुपमा उहाँहरु बस्नुभयो । उहाँको आजको सफलतामा अनुहारमा मुस्कान देखेको साथीको रुपमा न्यौपाने मात्र हुनुहुन्छ होला । 

नवराज लम्साललाई भेट्न भनेर गएको मिरा राणा र तारा थापासँग भेट भयो । उहाँहरुको पनि गीतहरु पनि एकदमै मनपर्ने । उहाँ न्यौपानेलाई लिएर दुई पटकसम्म नवराज लम्साललाई भेट्न जानुभयो तर, भेट भएन । 

एक पटक भने उहाँले दिनभर कुरेर नवराज लम्साललाई भेट्नु भयो । उहाँ आएपछि सुरसंगमको एकदमै फ्यान अनि बुवाले शान्तिसेनामा जाँदा ल्याउनु भएको क्यासेट मा रेकर्ड गरेर राख्नुहुन्थ्यो र पढ्ने बेलामा पनि बजाएर सुन्नुहुन्थ्यो । उहाँलाई भेटेर, हात मिलाएर प्रशंसक भनेर आएपछि उहाँलाई एकदमै सन्तुष्टि मिल्यो । र, उहाँलाई काठमाडौँ आएको सार्थक भयो भन्ने लाग्यो । 

संयोग कस्तो त्यस्तो प्रेरणादायी व्यक्तित्व जसलाई भेट्न उहाँ गाउँबाट काठमाडौँ आउनु भयो तर, त्यही व्यक्ति घटनाक्रमले के भयो भने २० वर्षपछि नवराज लम्साल उहाँलाई भेट्न खोज्दै आउनु भयो । लम्सालले राजकुमार प्याकुरेललाई भेट्नका लागि बागबजारको होटल हार्दिक मा दुई घण्टा कुर्नुभयो । 

लम्साल केही काम विशेषले उहाँलाई भेट्न खोज्दै आउनु भयो । उहाँ एकदमै खुसी हुनुभयो । उहाँलाई यो सपना हो कि विपना भन्ने भयो । जसलाई भेटेर हात मिलाएर आउँछु भनेको व्यक्ति बीस वर्षपछि उहाँलाई नै भेट्न कुरेको देखेर भने उहाँलाई यो ठूलो उपलब्धि हो भन्ने लाग्यो । 

०००

उहाँले अध्यात्म साधनाकै क्रममा कुरुक्षेत्र गएर नारायण दत्त श्रीमालीको संस्था अन्तराष्ट्रिय  सिद्धा श्रम साधक परिवारम  पनि दिक्षा लिनुभयो । महावतार बाबाजीको क्रियायोगको पनि उहाँले दिक्षा लिनु भएको छ । उहाँले कुण्डलिनी जागरणको लागि विशेष ध्यान विधि तथा दिक्षा लिनुभएको छ । जुन उहाँको अध्यात्म यात्राको उचाइसम्म लैजाने एउटा कोसे ढुंगा सावित भएको छ । जुन सरल छ तर, अहिले त्यो कतै गुगल वा युट्युबमा पाइन्छ । त्यो कहीँ पनि छैन गुप्त छ । जुन सहज र त्यसले सीधै कुण्डलिनीलाई उठाउने काम गर्छ । 

रकेट तथा हवाईजहाज उड्नका लागि थ्रस्ट को सिद्धान्त हुन्छ । जति तौल छ त्यो भन्दा धेरै थ्रस्ट पैदा गर्नुपर्छ इन्जिनद्वारा । थ्रस्ट पैदा गरेपछि मात्र त्यो माथि उड्छ भनेझैँ कुण्डलिनीका लागि पनि थ्रस्ट पैदा गर्नुपर्छ । जति मुद्रा लगाउनुस्, जति प्राणायाम गर्नुस् हुँदैन । त्यसका लागि प्राणको थ्रस्ट पैदा गर्नुपर्छ । 

तन्त्र शास्त्रमा अधर्मी, गुरु द्रोही, आत्म प्रशंसक, गुरु विरोधी, गुरु निन्दक, पाखण्डी, कुतर्की, पात्रता नभएको व्यक्तिलाई शिक्षा दिनु हुँदैन भनिएको छ । दुई जना शिष्यलाई यसरी कुण्डलिनी जागरणको दिक्षा दिँदा उर्जा थाम्न नसकेर एक जना मानसिक रुपमा विक्षिप्त भएका छन् भने अर्काले त्यसको गलत प्रयोग गरे । 

गुरु कसलाई मान्नु पर्छ भन्दा आगम ज्ञाता, निगमले मात्र हुँदैन । आगम निगमको ज्ञान भएको गुरु त दुर्लभ हुन्छ । मन्त्रका ज्ञाता, तन्त्रका ज्ञाता, मन्त्र सिद्धि भएको, तन्त्र सिद्धि भएको, मिलनसार, उर्जा वान र कुनै पनि शिष्यको संशय दूर गर्न सक्ने व्यक्ति नै गुरु हो । 

गुरुले शिष्यको र शिष्यले पनि गुरुको परीक्षा नलिइकन दिक्षा ग्रहण गरेको छ भने त्यो दुवै नरकगामी हुन्छन् । गुरुदेवलाई मनुष्य, मन्त्रलाई अक्षर र प्रतिमालाई पत्थर देख्ने कुनै पनि साधक नरकगामी हुन्छ । 

गुरु भनेको व्यक्ति होइन तत्व, ज्ञान अनि ज्योति हो । त्यस्तै साधक भनेको सार तत्वलाई लिन सक्ने हो । जसले सार तत्वलाई लिन्छ, धर्म कर्म, साधनारत् हुन्छ, गुरु आज्ञालाई पालना गर्छ त्यो साधक हो । शिष्य त अझ धेरै परको कुरा हो । शरीर र प्राण सद्गुरुदेवको चरणमा समर्पित गर्नसक्ने व्यक्ति । 
०००

आइएस्सी पढिसके पछि उहाँ साधनामा धेरै लिप्त हुन थाल्नुभयो । मन्त्र, तन्त्रको खोज गर्न थाल्नुभयो । हिमालयको यात्रा गर्न थाल्नुभयो । बद्रीनाथ, शितलानन्दको आश्रम, गन्ध मादन पहाड, तथा सिद्धाश्रम खोज्दै जानुभयो । गन्ध मादनको पछाडि एउटा पर्वत र त्यसको पछाडि सिद्धाश्रम छ । सिद्धाश्रम संस्कार अनुसार देखिन्छ । श्रीमालीजीले वर्णन गरेको ठाउँमा अहिले सिद्धाश्रम छैन । त्यो परिवर्तन भइसक्यो । सिद्धाश्रम जानका लागि हाम्रो नेपालको लिम्पियाधुराबाट लिपुलेक हुँदै तिब्बततर्फ छिर्नुपर्छ । तर, सिद्धाश्रम प्रवेश गरेको गुरुसँग मात्रै जान सकिन्छ ।

कैयौँ पटक हिमालयको यात्रा भयो तर, सिद्धा श्रम भेटाउन सकिएन । गुरु र विना गति नाशः । त्यसपछि गुरु खोज्न थालियो । उहाँले त्यस बेलासम्म श्रीमालीको दिक्षा, उपनिषद, संहिता, तन्त्रका थुप्रै शास्त्र तथा दश महाविद्या साधना पनि गर्न थालिसक्नु भएको थियो । 

त्यसक्रममा गढवालमा गुरुको आश्रममा, नागकुट पर्वत जहाँ माथि थाप्लोसम्म जहाँ राति बस्ने अनुमति थिएन त्यहाँ पनि एक जना गुरुको आश्रममा बस्नुभयो । गढवालमा राम गिरीजीको आश्रम लगायत तीर्थस्थल र मसान त कति बस्नुभयो भयो । बनारसको मनिकर्णिका घाटमा त उहाँले महिनौं साधना गर्नु भएको छ । मसान जगाउने, मसान शान्त गर्ने, मसान खेलाउने, भूत भष्म गर्ने साधनालगायत विभिन्न साधना गर्नुभएको छ । जो, जो योगी वा गुरु भेट्यो उसँग साधना सिक्दै गर्दै गर्नुभयो ।

उहाँले फरक फरक साधना फरक फरक गुरुसँग गर्दै जानुभयो । सिद्ध हुँदै गएपछि ती योगीहरूसँग लिएको मन्त्रहरू शक्तिशाली रहेछ भन्ने उहाँलाई अहिले आएर बुझ्नु भएको छ । अघोर    तन्त्रको पनि  दीक्षित हो उहाँ । अघोर तन्त्र अन्तर्गतको कपाली तन्त्रको पनि उहाँ दीक्षित हो । हिमालयका प्रत्येक कुना काप्चा जहाँ योगी बस्छन् भन्ने सुनिएको छ ती ठाउँमा पुगेर पनि साधना गर्नुभएको छ । 

जब उहाँ राम गिरीजीको आश्रममा बस्दा श्रीविद्याको साधना दिनु भएको थियो ध्यानाकर्षणको लागि । उहाँले गुरुलाई हामी सिद्ध गुरु खोज्दै  हिँडेको भनेपछि तिमीहरु फर्क भनेर भन्नुभयो । यसरी खोजेर भेटिँदैन भनेर उहाँले भन्नुभयो । 

उहाँले त्यसबेला एउटा कहानी भन्नु भएको थियो । काठमाडौँको बागमतीको किनारमा एउटा मन्दिर छ त्यहाँको पूजारी एक दिन दौडिँदै रुँदै, कराउँदै गढवाल उहाँकहाँ पुग्नुभएछ । भएछ के भने वर्षको एक दिन विशेष पूजा हुने त्यस मन्दिरमा सबै टीका लगाइदिँदै गर्दा एक जना अग्लो मान्छेलाई टीका लगाउँदा पुजारीको औँला नै निधार भित्र छिर्‍यो ।

पुजारी औँला थुतेर भागेर राम गिरीजीको आश्रममा पुग्नु भएको रहेछ । अनि आश्रममा पुगेपछि पुजारीलाई गुरुजीले बताइदिनुभयो ती मानिस अश्वत्थामा थिए । वर्षमा एक दिन अश्वत्थामा त्यस मन्दिरमा आउनु हुने रहेछ । 

उहाँले यी विभिन्न गुरुहरूसँग लिएका ज्ञान, तन्त्र, मन्त्र र साधनालाई सम्मिलित  गरेर आफ्नै किसिमको विधि बनाएर गरिरहनु भएको छ ।
०००

साधनाहरू गर्दै गएपछि उहाँलाई फेरि अध्ययन गर्न मन लाग्यो र साइकोलोजीमा त्रिचन्द्रमा बि ए पढ्न थाल्नुभयो । त्रिवि सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजीमा मास्टर इन साइकोलोजी क्लिनिकल साइकोलोजी 'स्पेशलाइजेशन' को पनि अध्ययन गर्नुभयो । उहाँ अहिले त्रिविमै साइकोलोजीको पिएचडी स्कलर हो ।

उहाँले नेपालको झाँक्री विद्या, सम्मोहनको बारेमा किताब लेख्दै हुनुहुन्छ । अहिले उहाँ तन्त्रको किताब पनि लेख्दै हुनुहुन्छ । र विशेषगरी कुण्डलिनी तन्त्रका बारेमा लेख्दै हुनुहुन्छ । जुन थुप्रै तन्त्रहरूबाट लिइएको छ । केही तन्त्रका संहिताहरुलाई संस्कृतबाट नेपालीमा अनुवाद पनि गर्दै हुनुहुन्छ । 

उहाँले वाल्मीकि क्याम्पसमा संस्कृत पनि पढ्नु भएको छ । ल क्याम्पसबाट एल एलबी पनि गर्नुभएको छ । 

शास्त्रमा पनि आफुले प्राप्त गरेको ज्ञान नबाँडेसम्म कैवल्य मोक्ष प्राप्त हुँदैन भनिएको छ । मोक्ष मार्गमा जानलाई बाँड्नु पनि पर्छ भनिएको छ । साथै आफ्नो जीविकोपार्जन पनि हुनुपर्छ भनिएको छ । यसकारण  विभिन्न मानसिक रोगी तथा अन्य मानसिक समस्याको उपचारमा उहाँ संलग्न हुनुहुन्छ । 

उहाँलाई प्रविधिमा पनि राम्रो ज्ञान छ । उहाँ पि एच पी 'प्रोग्रमर' पनि हो । उहाँ 'डिजाइनिङ' पनि गर्नुहुन्छ । पहिले उहाँले ट्राभल एजेन्सी पनि चलाउनु भयो । र धेरै ठाउँबाट 'पास्ट लाइफ रिग्रेशन थेरापी' का बारेमा सिकेर 'पास्ट लाइफ' को बारेमा जानकारी भइसकेपछि अन्य सबै कर्म छोडेर उहाँ अध्यात्म र हिपनोसिसको माध्यमबाट विभिन्न रोगको उपचारमा लागिरहनु भएको छ । उहाँ आफैँ पनि अहिले विभिन्न देशमा गएर यस्ता तालिमहरु दिनुहुन्छ । दक्षिण अमेरिकालगायत झण्डै पन्ध्र वटा देशमा उहाँले तालिम दिइसक्नु भएको छ । स्वीटजरल्याण्डको हिलिङ बोर्डमा उहाँका शिष्यहरूले यहाँ सिकेको र उहाँले प्रमाणित गरेर दिएका प्रमाणपत्र पेश गरेर काम गरिरहेका छन् । पाकिस्तान, बंगलादेश र भारतमा पनि उहाँका थुप्रै विद्यार्थी छन् । 

उहाँ साइकोलोजिको विद्यार्थी भएका नाताले पनि अधिकांश रोग मानसिक अवस्थाका कारण आउने र त्यसपछि मात्रै शरीरमा देखा पर्ने रहेछ भन्ने उहाँको अध्ययन छ । त्यसकारण यदि मानसिक रुपबाट उपचार गर्न सकियो भने शारीरिक रोग पनि निको हुने उहाँको ठम्याइ छ । 

व्यवसायिक बनेर मोटो रकम लिने आरोपमा अध्यात्म भन्ने बित्तिकै निःशुल्क हुनुपर्ने मान्यता गलत रहेको उहाँको ठम्याइ छ । कोही नेपाली अन्तर्राष्टिय व्यक्तित्व बनेकोमा खुसी हुनुपर्नेमा नकारात्मक सोच हावी भएकोमा उहाँको रोष पनि देखिन्छ । 

नेपालको कुनै एउटा क्षेत्र जहाँ भारतीयहरु आएर लाखौँ खर्च गरेर व्यक्तिगत रुपमा कुनै नेपालीसँग तालिम लिएको भए त्यो आफू र आफ्नो क्षेत्र रहेको पनि उहाँ बताउनुहुन्छ । भारतीयहरु शिष्य भएकोमा उहाँ गर्व पनि गर्नुहुन्छ र नेपालीको दाँजोमा उनीहरुसँग राम्रै पैसा लिने पनि बताउनुहुन्छ । 

उहाँ अनन्त मय साधना शक्तिपीठ भन्ने आश्रम पनि बनाउने सोचमा हुनुहुन्छ । त्यसका लागि बुढानिलकण्ठ क्षेत्रमा जग्गा हेर्दै पनि हुनुहुन्छ । त्यसमा उहाँहरुको पूर्व जन्मका साधनाहरु तानेर अनि साधना गराउने सोच छ । हरेक साधकको जातीय स्मरण जरुरी छ । तब मात्र उसको सिद्धि हुन्छ । भूत शुद्धि गर्नु पनि जरुरी छ । जबसम्म भूत शुद्धि हुँदैन कुनै पनि तन्त्र साधनाको सफलता हुँदैन । गुरु त्यसलाई मात्र बनाउनुस् जोसँग तन्त्रको सिद्धि छ । गुरु आगम, निगम दुवैको ज्ञाता हुनुपर्छ । तन्त्रको गुढतम् रहस्य नै आगममा लुकेको छ जुन शिवको मुखबाट निस्केको हो । अर्थात् शिव उवाच सबै आगम तन्त्र हो भने पार्वती उवाच सबै निगम तन्त्र । उहाँ कमसेकम अध्यात्मको बीज छर्न सकियो भने भावी पुस्ताको लागि र यो भूमिको रक्षाका लागि लागिरहनु भएको छ । उहाँले आफ्नो पूर्व जन्मका बारेमा हेरेपछि साधनामा लागे पनि व्यापारलगायतका काममा लागेर आफू भड्किरहेको ठान्नुभयो । र, उहाँ आफ्नो यो जन्म भनेको मान्छेको सेवा गर्न, मानसिकरुपमा विक्षिप्त भएका मानिसहरुलाई उद्धार गर्ने भनेर पूर्व जन्मको चेतना आएपछि अहिले यसै कर्ममा आफूलाई समर्पित गरिरहनु भएको छ । 

उहाँ अहिले जातीय स्मरण र पूर्व जन्मको साधनालाई विशेष विधिद्वारा जगाएर दिक्षा दिने तथा दीक्षित गरेको मन्त्रलाई साधना गर्ने अनि कुण्डलिनी जागरण साधना गरेर परमहंसको स्थितिमा लैजाने काममा लागिरहनु भएको छ । यसका लागि आफ्नो पूर्व जन्मको नाम सिद्धेश्वरानन्द परमहंस रहेको पनि बताउनुहुन्छ ।