नेकपा (एस) को संसदीय दलको नेतामा अध्यक्ष नेपाल

नेकपा (एस) को संसदीय दलको नेतामा अध्यक्ष नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ४, २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष नेपाललाई सर्व सम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो । 

त्यसैगरी बैठकले दलको उप नेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेको छ  । 
प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीमा प्रदेशसभामा २५ सदस्य छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान भएपछि संसदीय दलको नेतृत्व छनोट गरिएको महासचिव डा‍. बेदुराम भुसालले जानकारी दिनुभयो ।

संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्थामा सामाजिक रुपान्तरणका साथै जनअधिकार स्थापित गर्न पार्टीलाई गतिशील बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान गरेको पार्टीले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको छ ।