अवैध संरचना हटाउने डढेलो गाउँपालि तर्फ

अवैध संरचना हटाउने डढेलो गाउँपालि तर्फ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७९

गुल्मी ।गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।

गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिनुभयो । 'कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो' उहाँ भन्नुहुन्छ, 'चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ', उहाँले भन्नुभयो ।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्माले तोकिएको समयभित्र संरचना नहटाएमा दफा ४५ को उपदफा ४ बमोजिम गाउँपालिकाले आफैँ हटाउने बताउनुभयो । हटाउन वा भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति, संस्था र निकायबाट असुरउपर गरिने गाउँपालिकाले जनाएको छ ।