मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता गर्न नेपाल टेलिकमको अनुरोध

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता गर्न नेपाल टेलिकमको अनुरोध

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ६, २०७९

काठमाडौँ । राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको नेपाल टेलिकमले जनाएको  छ ।

नेपाल टेलिकम प्रवक्ता  शोभन अधिकारीका अनुसार  मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैकिङ लगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ । अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्ने सम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ । नेपाल टेलिकमले आफ्ना ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध समेत गरेको छ । 

ग्राहकहरुको सुरक्षामा विशेष ध्यान दिंदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा निम्न मापदण्डहरु कार्यान्वयनमा ल्याइएको छ । नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्दछ । स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचय पत्रको प्रतिलिपिलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ । 

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको/नभरेको जाँच पश्चात ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुन्छ । 

ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय पत्र देखाई सोको प्रतिलिपी रितपूर्वक भरिएको फराम साथ संलग्न गर्नुपर्छ । कागजात रुजु कार्य सम्पन्न भए पश्चात सिमकार्ड परिवर्तन हुन्छ । 

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपी सहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ । कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हक वाला नातेदार सक्कल कागजात तथा परिचय पत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ ।

वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ । 

   

शोभन अधिकारी 
प्रवक्ता  
नेपाल टेलिकम