राजनीतिमा पुस्तान्तरणको मुद्दा भाषणमा कि व्यवहारमा ?

लोकसंवाद टिप्पणी

राजनीतिमा पुस्तान्तरणको मुद्दा भाषणमा कि व्यवहारमा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०७९

नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा निकै चर्को रुपमा उठ्ने गरेको छ । सार्वजनिक सभा, सम्मेलनमा युवाहरुलाई फुर्क्याउन शीर्ष नेताहरुले पनि युवाहरुलाई प्राथमिकता दिने र युवालाई नेतृत्वमा स्थापित गर्ने मात्रै होइन देशको भविष्य युवाकै हातमा भएको बताउन पछि पर्दैनन् । तर जब अवसरका कुरा आउँछन्, तब शीर्ष नेता आफैं तम्सिन्छन् । युवाहरु नेताका विरुद्ध उभिने हिम्मत गर्दैनन्, जो उभिन्छ उसलाई ठूलो समर्थन प्राप्त गर्न उत्तिकै कठिन हुनेगर्छ । 

नेपालको राजनीतिको अहिलेको पुस्ता पञ्चायत व्यवस्थाविरुद्ध लडेको पुस्ता छ । नेपालमा हरेक राजनीतिक परिवर्तनमा दलहरुले उल्लेख्य भूमिका खेलका छन् । अहिलेको शीर्ष नेतृत्वको पुस्ताले पञ्चायत विरुद्ध र बहुदलीय प्रजातन्त्रको पक्षमा संघर्ष गर्‍यो । त्यसपछि लोकतन्त्र र गणतन्त्रको पक्षमा पनि यही पुस्ता उभियो ।

हरेक राजनीतिक परिवर्तन र नाम परिवर्तन भएका राजनीतिक व्यवस्थामा पुरानै दल र पुरानै नेताहरु हाबी हुँदै आएका छन् । पञ्चायतका मन्त्रीहरु अहिले पनि सांसद र मन्त्री छन् । बहुदल कालमा प्रधानमन्त्री भएका नेताहरु अहिले संघीय गणतन्त्रमा पनि प्रधानमन्त्रीको दौडमा अगाडि नै देखिन्छन्  ।

यो पुस्ताले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरे पनि व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्न सकेन । जनताका विकासका आकांक्षालाई सम्बोधन गर्न यो पुस्ता करिब करिब असफल भयो । त्यसैले राजनीतिमा युवा पुस्ताको आवाज प्रखर रुपमा उठ्न थालेको छ । गत स्थानीय तहको निर्वाचन र संघीय संसदको निर्वाचनमा पनि पुस्तान्तरण र अहिलेका राजनीतिक दल र वृद्ध नेता विरुद्ध एक प्रकारले जन लहर नै उठ्यो । शीर्ष नेतालाई फेरि नजिताउन ‘नो नट अगेन’ जस्ता अभियान नै चले । 

एक वर्षअघि भएको काँग्रेसको महाधिवेशनमा महामन्त्रीका लागि प्रतिस्पर्धा गरेका मुख्य ५ मध्ये चार महामन्त्री गगनको पक्षमा उभिएका छन् । सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उठेका प्रदीप पौडेल पनि गगनको पक्षमा उभिएर सरप्राइज दिएका छन् । पौडेल नेता कृष्ण सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार भएका थिए । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलको नेतृत्वमा देउवा इतर समूह एकजुट हुन सकेन

राजनीतिमा युवा पुस्ताको आवाज उठिरहेका बेला काँग्रेसमा संसदीय दलको नेताका लागि गगन थापा उम्मेदवार बनेका छन् । सोमबार उनले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेसँगै शीर्ष नेतासँग युवा पुस्ताले अब सहज रुपमा माग्ने र र नभएमा लडेर भए पनि नेतृत्व लिन अघि बढ्नुपर्ने आवाज उठेको छ । युवाहरुलाई प्राथमिकता दिने भनेको दल नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेता चयन गरेको छ । उनी उमेरले ७१ वर्ष पुगिसकेका छन् । 

यस्तै माओवादी केन्द्रमा पनि प्रचण्ड फेरि संसदीय दलको नेता हुने र उनका विरुद्ध कुनै नेताले दाबी नगर्ने निश्चित छ । यद्यपि माओवादीले ७ गते सांसदको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने बताएको छ । एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको छ । जसले युवा नेताहरुलाई युवाको मुद्दा उठाउने तर नेतृत्वमा दाबे दारी गर्न नसक्ने भन्दै आलोचना समेत भइरहेको छ ।

राजनीतिमा  पुस्तान्तरणको मुद्दा भाषणमा कि ब्यवहारमा?

नेपाली राजनीतिमा पुस्तान्तरणको मुद्दा चर्को सँग भाषणमा उठिरहेको भए पनि त्यसमा युवा नेताहरुको हस्तक्षेप भने निकै कमजोर देखिएको छ । बरु युवा नेताहरु पुरानै र वृद्ध नेताहरुको आदेश पालक का रुपमा देखिएको भन्दै आलोचना हुने गरेको छ । 

काँग्रेसमा ३ प्रतिस्पर्धी एकैठाउँ

देशकै सबैभन्दा पुरानो पार्टी हो, नेपाली काँग्रेस । काँग्रेसको राजनीतिको लिगेसी र नेतृत्व हस्तान्तरणको अवस्थालाई हेर्ने हो भने ८० वर्ष हारा हारीका देउवा र रामचन्द्र पौडेलहरुसँग छ । जसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधनपछि मात्रै पार्टीमा नेतृत्वको अवसर पाए । त्यसपछि नेतृत्वमा आउने ६० वर्ष माथिका नेताको ठूलो पंक्ति छ । त्यसलाई क्रस गरेर युवाहरु नेतृत्वमा स्थापित हुन निकै कठिन छ ।

तर काँग्रेस संसदीय दलको नेताका लागि गगन थापा युवाहरुको एउटा पंक्ति र शेखर कोइराला समूहको साथमा देउवासँग चुनावी मैदानमा उत्रिएका छन् । ८९ सांसद रहेको काँग्रेसमा यो समूह निकै कमजोर छ । गगनलाई समर्थन गर्ने समूहभन्दा देउवा समूह दोब्बर मतले अघि देखिन्छ । तर संसदीय दलको निर्वाचनमा गत वर्ष भएको महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका तीन चार एकै ठाउँमा उभिएका छन् । 

एक वर्षअघि भएको काँग्रेसको महाधिवेशनमा महामन्त्रीका लागि प्रतिस्पर्धा गरेका मुख्य ५ मध्ये चार महामन्त्री गगनको पक्षमा उभिएका छन् । सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उठेका प्रदीप पौडेल पनि गगनको पक्षमा उभिएर सरप्राइज दिएका छन् । पौडेल नेता कृष्ण सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार भएका थिए । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलको नेतृत्वमा देउवा इतर समूह एकजुट हुन सकेन । सिटौला १३ औं महाधिवेशनमा नै सभापतिमा उठे भने रामचन्द्र पौडेल १४औं महाधिवेशनबाट देउवा पक्षमै उभिए ।

संस्थापन इतर समूहबाट शेखर कोइराला सभापतिको उम्मेदवार बनेका थिए । जसमा अघिल्लो महाधिवेशनमा सिटौला समूहमा रहेका गगन थापा महामन्त्रीको उम्मेदवार थिए । अर्को महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल पराजित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा गगन थापाकै पक्षमा उभिदा काँग्रेसभित्र पुस्तान्तरणको राजनीतिले बलियो प्रवेश पाएको छ । संसदीय दलको नेतामा गगन पराजित भए पनि यसले ठूलो अर्थ राख्नेछ । जसरी १३औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भए पनि १४औं महाधिवेशनमा युवा महामन्त्री निर्वाचित हुन सहयोग पुगेको थियो, त्यसरी नै संसदीय दलको नेतामा पनि युवा पुस्ताको हस्तक्षेपले राजनीतिमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज जबर्जस्ती अघि बढ्ने संकेतका रुपमा लिइएको छ ।