कन्सुलर सेवा शिविरमा टेक्ससमा सेवा केन्द्र स्थापनाको माग : २ सय ६६ को पासपोर्ट नवीकरण

कन्सुलर सेवा शिविरमा टेक्ससमा सेवा केन्द्र स्थापनाको माग : २ सय ६६ को पासपोर्ट नवीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ७, २०७९

अस्टिन, टेक्सास ।   अमेरिका स्थित टेक्सासमा रहेका नेपाली समुदायले टेक्सासमा नेपाली राजदूतावासको कन्सुलर सेवा केन्द्र स्थापना हुनु पर्ने माग गरेका छन् ।

टेक्सासको राजधानी अस्टिनमा नेपाली राजदुतावास अमेरिकाद्वारा आयोजना गरिएको २ दिने कन्सुलर सेवा शिविरको समापनमा बोल्दै नेपाली समुदायका सामाजिक अभियन्ताहरुले टेक्सासमा नेपाली राजदूतावासको कन्सुलर सेवा केन्द्र स्थापना गरि सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउनु पर्ने बिचार व्यक्त गरेका थिए ।

ग्रेटर अस्टिन नेपाली समाजका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता देवराज न्यौपानेले टेक्सासमा नेपाली समुदायको जनसंख्या बढ्दै गएकोले टेक्सासमा रहेका नेपाली समुदायलाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन राजदुतावास अधिकारी समक्ष माग गर्नु भयो ।

ग्रेटर अस्टिन नेपाली समाजका महासचिव विदुर खतिवडाले नेपाली राजदूतावासद्वारा आयोजना गरिएको २ दिने कन्सुलर सेवा शिविरमा सेवा उपलब्ध गराउन अग्रिम नाम दर्ता गरिएकोमा सेवाग्राहीको अत्यधिक चाप र समय अभावका कारण करिब २ सय सेवाग्राहीहरु सेवा लिनबाट बन्चित रहेको बताउनु भयो ।

यसैगरि अस्टिनका समाजसेवी राजेश्वर निरौलाले राजदुतावास सेवा प्रवाहमा देखा परेका प्राबिधिक समस्याहरुलाई सामाधान गर्दै सरलीकृत बनाउदै हरेक बर्ष शिबिर आयोजना गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टको अध्यक्षता तथा महासचिव बिदुर खतिवडाको सन्चालनमा सम्पन्न समापन समारोहमा बोल्दै नेपाली राजदुतावास अमेरिकाका द्वितीय सचिब उत्तम घिमिरेले हरेक बर्ष कन्सुलर सेवा शिबिर मार्फत नेपाली समुदायलाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाउनु भयो ।

द्वितीय सचिब घिमिरेले कन्सुलर शिबिर मार्फत नेपाली समुदायसँग प्रत्यक्ष रुपमा भेटघाटका साथै सेवा प्रदान गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा प्राबिधिक समस्याहरुलाई समाधान गर्दै दुतावासको सेवाहरूलाई थप बिस्तार गर्दै प्रभावकारी बनाउदै लगिने बताउनु भयो ।

ग्रेटर अस्टिन नेपाली समाजको सामुदायिक भवनमा आयोजना गरिएको २ दिने कन्सुलर शिविरमा २ सय ६६ जनाले पासपोर्ट नविकरण र ११ जनाले गैरआवासीय नेपाली परिचय पत्र गरि २ सय ७७ जनाले सेवा प्राप्त गरेको समाजले जनाएको छ । शिविरमा सान अस्टिन आसपासका क्षेत्रहरु आन्टोनियो, ह्यूस्टन र सियाटलबाट समेत सेवाग्राहीहरु आएका थिए । शिविरमा समय व्यवस्थापनका लागि अग्रिम नाम दर्ता गरि सेवा उपलब्ध गराइएको ग्रेटर अस्टिन नेपाली समाजका महासचिव विदुर खतिवडाले जानकारी दिनु भयो ।
कार्यक्रमको समापन गर्दै ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले कन्सुलर सेवा शिबिर आयोजना गरि सर्वसुलभ पमा सेवा प्रदान गर्ने नेपाली राजदूतावासको टीम, स्थानीय स्तरमा शिबिर व्यवस्थापन गर्न सहयोग गर्ने समाजका पदाधिकारीहरु, स्वयंसेवकहरु सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाली राजदुतावास द्वितीय सचिब उत्तम घिमिरेले शिविरमा सहयोग गर्ने सबै स्वयंसेवकहरूलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो । नेपाली राजदुतावास अमेरिकाले डिसेम्बर महिनाको १५ देखि २० तारेख सम्म टेक्सासका प्रमुख शहर ड्यालस, अस्टिन र ह्युस्टनका नेपाली समुदायलाई लक्षित गरि कन्सुलर सेवा शिबिर आयोजना गरेको थियो ।