वरिष्ठ लघु कथाकार दिव्य गिरीको पुत्ला दहन बजारमा

वरिष्ठ लघु कथाकार दिव्य गिरीको पुत्ला दहन बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ७, २०७९

काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज मीनभवनस्थित थाहा पुस्तकालयमा वरिष्ठ लघु कथाकार दिव्य गिरीको दोस्रो लघुकथा कृति पुत्ला दहनको लोकार्पण भयो। प्रमुख अतिथि समालोचक डा। लक्ष्मणप्रसाद गौतम, अतिथिहरू प्रा। रामकुमार पाँडे,  अशेष मल्ल, डा। सावित्री मल्ल कक्षपति लगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो। 

आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा। गौतमले दिव्य गिरीका लघुकथाहरूमा समकालीन समय, समाज र मानिसका प्रतिच्छाया पाइने बताउनुभयो।  उहाँले गिरी प्रतिनिधि लघु कथाकार भएकोमा कुनै दुविधा नरहेको धारणा राख्दै संरचना शैलीको पक्षमा भने परिमार्जनका ठाउँहरू रहेको उल्लेख गर्नुभयो। 

समीक्षक डा। सावित्री मल्ल कक्षपतिले दिव्य गिरीका लघुकथाहरूको विभिन्न उद्धरण प्रस्तुत गर्दै गिरीका लघुकथाहरू नेपाली लघुकथा क्षेत्रको प्राप्ति भएको चर्चा गर्नुभयो। 

कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सव मनाइरहेको यस घडीमा विभिन्न विधा केन्द्रित कार्यक्रमको आयोजना गरिरहेको बताउनुभयो। 

लोकार्पण कार्यक्रममा स्रष्टा दिव्य गिरीले आफ्ना दुइटा लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा समालोचक डा। नारायण गडतौलाले शुभकामना दिनुभएको थियो भने साहित्यकार प्रमोद प्रधानले गिरीको परिचय प्रस्तुत गर्नुभएको थियो। 

साहित्यकार श्रीबाबु कार्कीले संचालन गर्नुभएको कार्यक्रममा आयोजक संस्थाका सदस्य डा। दामोदर पुडासैनी किशोरले स्वागत गर्नुभएको थियो । 

समीक्षक युवराज मैनालीले गिरीका लघुकथामा जीवनका विभिन्न पक्ष र घटनाहरूको चित्रणका साथै व्यङ्ग्य पनि पाइने बताउनुभयो।