सरकार गठनको दौडधुप : आलोपालोमा 'को पहिला' भन्नेमा परेको अड्को !

सरकार गठनको दौडधुप : आलोपालोमा 'को पहिला' भन्नेमा परेको अड्को !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिन अब तीन दिनमात्रै बाँकी छ । सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिँदा सांसदहरुले शपथ ग्रहण गर्ने प्रक्रिया सुरु भएकै थिएन । बुधबारमात्रै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमसेर जबराले शपथ लिएपछि बिहीबार सबै सांसदहरुले शपथ लिँदैछन् । 

सांसदहरुको शपथअघि नै सबै प्रमुख दलहरुले संसदीय दलको नेता चयन गरेका छन् । संसदमा कुनै दलको स्पष्ट बहुमत नभएका कारण संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने नेता प्रधानमन्त्री बन्नेछन् । निर्धारित मितिमा सरकार गठन गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने छिन् । त्यो भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । तर उनले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत पाउनुपर्नेछ । त्यसैले दलहरुले सकेसम्म सरकार गठनको अहिलेको विकल्पलाई खेर फाल्नेछैनन् । 

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा पनि दलहरु धेरै दौडधुपमा छैनन् । सत्ता गठबन्धनभित्र रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निमोनियाका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । बुधबार अध्यक्ष नेपाललाई भेट्न र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा अस्पतालमै पुगेका थिए । 

देउवा संसदीय दलको नेतामा निर्वाचित भएको केही घन्टामै भएको यो भेटमा उनीहरुबीच भावी प्रधानमन्त्री चयन लगायतका विषयमा समेत कुराकानी भएको थियो । अब एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि सरकार गठन र शक्ति बाँडफाँटको छलफलले तीव्रता पाउनेछ । दलहरुबीच सरकार गठन र शक्ति बाँड फाँटबारे सम्भवतः तत्कालै औपचारिक छलफल सुरु हुनेछ । 

नेपाली काँग्रेस आफ्ना सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छ । उसले सोही अनुसार गठबन्धन दलसँग प्रस्ताव राख्ने तयारी गरिरहेको छ । दलहरुबीच आलोपालो प्रणालीअनुसार प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको छ । तर पहिलो पालोमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटेको छैन । काँग्रेस पहिलो पालोमा आफ्नो प्रधानमन्त्री चाहन्छ भने माओवादी केन्द्र पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा पहिलो पालोमा सरकार गठन गर्न चाहन्छ । तर केही दिनअघि नै माओवादी अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीका लागि सबै कुरा परित्याग नगर्ने बताएर सरकार गठनसँगै शक्ति बाँडफाँटमा आफ्नो मुख्य चासो रहेको दर्साइसकेका छन् । 

सरकार गठनका अन्य विकल्प पनि बन्द गर्न नहुने मत माओवादी केन्द्रमा देखिन्छ । एकीकृत समाजवादी भने सरकार गठनमा कसले पहिलो पालोमा प्रधानमन्त्री बन्दा सहमति हुन्छ, उसैको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउँदै आएको छ । यसको अर्थ एकीकृत समाजवादी काँग्रेस वा माओवादी जसको नेतृत्वमा सहमति भए पनि सरकार गठनमा बाधक छैन । 

पुस ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको पनि दाबीले सरकार गठनमा पहिलो पालो कसको हुने भन्ने टुंगो लागेको छैन । गठबन्धनमा रहेका दलहरु गठबन्धनलाई कायम राखेर सरकार गठन गर्नुपर्ने पक्षमा देखिन्छन् ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनलाई कायमै राखेर सरकार गठनको पहल गर्ने पटकपटक बताइसकेका छन् । तर प्रधानमन्त्री नपाएको अवस्थामा सरकार गठनका अन्य विकल्प पनि बन्द गर्न नहुने मत माओवादी केन्द्रमा देखिन्छ । एकीकृत समाजवादी भने सरकार गठनमा कसले पहिलो पालोमा प्रधानमन्त्री बन्दा सहमति हुन्छ, उसैको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउँदै आएको छ । यसको अर्थ एकीकृत समाजवादी काँग्रेस वा माओवादी जसको नेतृत्वमा सहमति भए पनि सरकार गठनमा बाधक छैन । 

नेपाली काँग्रेसको संस्थापन पक्ष सुरुमा देउवालाई प्रधानमन्त्री बनाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पालोअनुसार प्रधानमन्त्रीमा समर्थन गर्न तयार छ । तर संसदीय दलको नेतामा पराजित भएका गगन थापाले बुधबारमात्रै पनि आलोपालो र शक्ति बाँड फाँटबारे आफूहरुसँग सहमति नभए पालना गर्न बाध्य नहुने संकेत गरेका छन् । 

उनले सरकार चलाउने सन्दर्भमा अर्को पार्टीसँग आलोपालो गर्ने समझदारी संस्थागत रुपमा भएमा कांग्रेसले बोक्ने र केही नेताहरु बन्द कोठामा बसेर आलोपालो गर्ने सहमति गरेमा त्यसलाई कांग्रेसले नबोक्ने बताए । उनले अन्य दललाई सभापति देउवासँग मात्रै सहमति गरेमा भोलि काँग्रेसले धोका दियो भन्न नपाउने चेतावनी समेत दिए । 

दलहरुबीच सरकार गठनसँगै अन्य मुख्य पदहरुमा भागबण्डा मिलाउनुपर्ने भएकाले सत्ता समीकरण कठिन देखिन्छ । प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुखजस्ता पदमा पनि भागबण्डा गर्नुपर्नेछ । 

काँग्रेसले प्रधानमन्त्रीसँगै राष्ट्रपतिमा पनि दाबी गरिरहेको छ । सभापति शेरबहादुर देउवालाई गत मंसिरमा भएको महाधिवेशनदेखि नै सघाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई देउवाले राष्ट्रपति बनाउन चाहेका छन् । त्यसैले काँग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गरिरहेको छ । एकीकृत समाजवादीले पनि झलनाथ खनाललाई राष्ट्रपति बनाउन चाहेको छ । 

शक्ति बाँडफाँटबारे प्याकेजमा सहमति गर्ने र सरकार गठनका लागि दलहरुलाई अब तीन दिनमात्रै समय छ । सत्ता गठबन्धनसँग सरकार गठनका लागि बहुमत जुटाउनुपर्ने बाध्यता पनि छ । त्यसका लागि गठबन्धनमा रहेका काँग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, लोसपा र जनमोर्चाबाहेक अन्य २ सांसद जुटाउनु पर्नेछ ।