ओली–प्रचण्डको दुरी: उछितो काटाकाट, पानी बाराबार हुँदै मुस्कानसहित हेराहेरमा

लोकसंवाद टिप्पणी

ओली–प्रचण्डको दुरी: उछितो काटाकाट, पानी बाराबार हुँदै मुस्कानसहित हेराहेरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ८, २०७९

१ असोज, २०७९ मा अघिल्लो प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक थियो । जुन बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका थिए । दुई पटक विघटन भएर सर्वोच्चले पुनर्स्थापित गरिदिएको प्रतिनिधिसभाको कार्यकालको यो अन्तिम बैठकमा दलका नेताहरुले तीतो पोखे । सबैभन्दा बढी आरोप प्रत्यारोप र घोचपेच गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । 

यि तिनै नेता हुन्, जसको त्यो प्रतिनिधिसभाको सुरुवाती क्षणहरु सौहार्दपूर्ण थिए । वाम गठबन्धनबाट झण्डै दुई तिहाईको मत पाएका एमाले र माओवादीले ७ मध्ये ६ प्रदेश र केन्द्रमा समेत सरकार बनाए । दुई नेताले एक अर्काको तारिफ गर्न कुनै कसर बाँकी राखेनन् । पार्टी एकतापछि दुवै जना अध्यक्ष भए र आफूलाई 'एउटा जेटका दुई पाइलट'  भन्दै प्रशंसामा धेरै समय खर्च गरे ।

तर पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा ओलीले ५ पुस, २०७७ मा प्रतिनिधिसभा विघटन गरे । एकले अर्कामाथि कारबाही मात्रै गरेनन्, पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाए । दुई नेताबीच पानी बारा बारकै अवस्था रहेका बेला ११ फागुनमा प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आयो । २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्ने फैसला गरिदियो । एकपछि अर्को राजनीतिक घटनाक्रमले दुई नेतालाई अलग अलग धारमा पुर्‍यायो ।

त्यसयताका दुई वर्ष ओली–प्रचण्डबीच आरोप प्रत्यारोपका दर्जनौं शृङ्खला चले । ओलीले हरेक पटक आफूले गरेको संसद विघटनको बचाउ गर्दै आए भने प्रचण्डले त्यसलाई प्रतिगमन भने र भनिरहेका छन् । 

अघिल्लो प्रतिनिधिसभाको अन्तिम बैठकमा ओलीले भनेका थिए– ‘निर्वाचन हुनुलाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार र समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ । हामी निर्वाचनतर्फ जाँदैछौं । म यसलाई प्रतिगमन मान्दिन । परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो ।’

ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै प्रचण्डले भने– ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ? तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?’

निर्वाचन घोषणा गर्नुलाई नभई संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु र मुलुकलाई अँध्यारो सुरुङतिर लैजाने खोज्नुलाई प्रतिगमन भनेको प्रचण्डको प्रष्टीकरण थियो । ओली र एमालेले भने देउवा सरकारलाई परमादेशी सरकार भन्दै आयो । ओलीले प्रचण्डलाई राष्ट्रिय समस्या भएको आरोप लगाए । 

ओलीले प्रतिनिधिसभाको १ असोजको बैठकमा भनेका थिए– ‘सरकारको बारेमा केही केही भन्नुपर्दैन, मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिनेछन् ।’ 

प्रचण्डले त्यसको पनि प्रतिवाद गरे । उनले भनेका थिए–‘हाम्रो प्रतिपक्षी दलको नेताले भन्नुभयो, ४ गते थाहा हुन्छ को के रहेछ । म विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु, राष्ट्रियसभा निर्वाचनले सन्देश दिएको होइन र ? बारको चुनावले सन्देश दिएको होइन । स्थानीय तहको निर्वाचनले देशव्यापी सन्देश दिएको होइन र ? ठीकै छ, ४ गते हेर्ने । तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो ।’

एमाले राष्ट्रपति आफूले लिएर प्रचण्डलाई प्रधानमन्त्री दिन पनि तयार देखिन्छ । अहिले एमाले र माओवादीको गठबन्धन बनेको अवस्थामा राष्ट्रपतिसहित प्रमुख राजकीय पदहरु गुम्ने भएकाले सरकार गठनसहित पद भागबण्डाका लागि निर्णायक बैठकको तयारीमा दलहरु जुटेका छन् ।

ओली र प्रचण्ड बीचको यो घोचपेच सुन्दा उनीहरुबीच अझै लामो समय सम्बन्ध सुधार हुँदैन भन्ने देखिन्थ्यो । ४ मंसिरको निर्वाचनले एमाले र माओवादी दुवैको साइज घट्यो । अघिल्लो निर्वाचनमा जुन परिणाम आएको थियो, त्यसको ठीक विपरीत यो चुनावले वाम शक्तिलाई नै गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा पुर्‍यायो ।

निर्वाचन परिणाम आउँदै गर्दा ओलीले टेलिफोन गरेरै प्रचण्डलाई गोरखाबाट प्रतिनिधिसभामा विजयी भएकोमा बधाई दिए । प्रचण्डले भने ओलीलाई झापाबाट विजयी भएकोमा बधाई फर्काए । ओलीले त्यसबेला नै मिलेर जान प्रस्ताव पनि गर्न भ्याए । तर निर्वाचन परिणाम आइसक्दा दुई पार्टी मिलेर मात्रै पनि सरकार बनाउने अवस्था भएन । दुवै पार्टीका पदाधिकारीहरु नै चुनावमा पराजित भए ।

रोचक कुरा त के छ भने एमाले र माओवादी केन्द्रका महासचिवलाई एक अर्काले चुनावी मैदानमा हराए । दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल माओवादी स्थायी कमिटी सदस्य रेखा शर्मासँग पराजित भए भने लमजुङमा माओवादीका महासचिव देव गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले हराए । 

निर्वाचन परिणामपछि प्रचण्ड र ओली बीचको घनिष्ठता बाहिरी रुपमा नै देखिन थालेका छ । यतिसम्म कि पछिल्ला दिनमा उनीहरुको पोशाक समेत मिल्न थालेको छ । बुधबार राष्ट्रपति भवनमा आयोजित प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमसेर जबराको शपथ ग्रहण कार्यक्रममा सबै पूर्वप्रधानमन्त्रीहरु आमन्त्रित थिए । जसमा ओली, प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनाल तीनै जना नीलो कोट लगाएर उपस्थित भएका थिए ।

बिहीबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओली र प्रचण्ड एकै रङको कोटमा ठाँटिएर सुन्तला छोडाइरहेको दृश्य बाहिर आएको छ । यसलाई लक्षित गर्दै कतिपयले ‘बदाम खाको सुन्तला छोडाको, के छ खबर पुरानो जोडाको’ भन्दै सामाजिक सञ्जालमा व्यंग्य बाण समेत प्रहार भइरहेको छ । 

प्रतिनिधिसभा सदस्यको शपथपछि चियापानका क्रममा पनि दुई नेता एकै ठाउँमा बसेका थिए । ओलीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बसेका थिए । ओली पालैपालो प्रचण्ड र देउवासँग गफमा मस्त थिए । 

सरकार गठनका लागि दलहरुबीच सम्वाद भइरहेका बेला देखिएको यो दृश्यलाई कतिपयले भावी राजनीतिक परिदृश्यसँग समेत जोडेर हेर्न थालेका छन् । शपथ लगत्तै बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले सरकार गठनका लागि ओलीबाट प्रस्ताव आएको बताए । यद्यपि माओवादी केन्द्र गठबन्धन बाटै पहिलो पालोमा प्रधानमन्त्री लिएर सरकार बनाउने सम्भावना रहेको बताउँदै आएको छ ।

एमालेकै केही नेताहरु माओवादीसँग भन्दा काँग्रेससँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा उभिदै आएका छन् । ओलीले भने माओवादीले गठबन्धन छाडेमा सहकार्य गर्न सकिने बताएका छन् । एमाले राष्ट्रपति आफूले लिएर प्रचण्डलाई प्रधानमन्त्री दिन पनि तयार देखिन्छ । अहिले एमाले र माओवादीको गठबन्धन बनेको अवस्थामा राष्ट्रपतिसहित प्रमुख राजकीय पदहरु गुम्ने भएकाले सरकार गठनसहित पद भागबण्डाका लागि निर्णायक बैठकको तयारीमा दलहरु जुटेका छन् । 

बिहीबार पनि प्रचण्डले संसदीय दलको बैठक राखेर आफू सर्वसम्मत संसदीय दलको नेता चुनिएका छन् । त्यसलगत्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासँग भेट गरे । दुई नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु पनि सहभागी भए । 

प्रचण्डले सरकार गठनका विषयमा कुरा नमिले माओवादी केन्द्र र एकीकृत समाजवादी सहित एमालेसँग सहकार्यको सम्भावना औंल्याएपछि देउवा प्रचण्डलाई प्रधानमन्त्री दिन सकारात्मक भएको बताइन्छ । यद्यपि बिहीबार साँझको बैठकमा नेताहरु प्योकज मै सहमति खोज्न भने सकारात्मक बनेका छन् ।