भ्रम तथा वास्तविकताको कसीमा 'प्रज्ञा नेपाली शब्दकोश' निर्माण प्रक्रिया

भ्रम तथा वास्तविकताको कसीमा 'प्रज्ञा नेपाली शब्दकोश' निर्माण  प्रक्रिया

प्रा. जगत् प्रसाद उपाध्याय  |  साहित्य  |  पुष ८, २०७९

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट २०७९ आषाढमा प्रकाशित 'प्रज्ञा नेपाली बृहत् शब्दकोश' लाई लिएर केही पत्रिका र विद्वानहरूका टिप्पणी सार्वजनिक भएका सन्दर्भमा नेपाली भाषाको शब्दकोश निर्माणको सङ्क्षिप्त दिग्दर्शन सहित उक्त कोशको निर्माण प्रक्रियाका सम्बन्धमा यस मुहार पुस्तकको भित्तामार्फत केही कुरा सार्वजनिक गर्न मन लाग्यो ।

हाल सम्मको खोज अनुसार विक्रमको दसौँ शताब्दीपछि लेख्य रूपमा आएको नेपाली भाषाको व्याकरण लेख्ने कार्य सर्वप्रथम विदेशी विद्वानहरुले गरेजस्तै नेपाली भाषाका शब्द सङ्कलन गर्ने र नेपाली भाषाको कोश निर्माण गर्ने कार्य पनि सर्वप्रथम विदेशी विद्वान् बाटै भएकाे पाइन्छ । विदेशी विद्वान् डब्ल्यु.जे. कर्कप्याट्रिकले सन् १८११ मा प्रकाशन गरेकाे आफ्नो पुस्तक 'नेपालकाे इतिहास वा वंशावलीसम्बन्धी विवरण' काे पृष्ठ भागमा नेपाली शब्दहरूको सूची दिएर नेपाली भाषाका शब्दहरूकाे सङ्कलन गर्ने परम्पराको सुरुआत गरेका थिए ।

ए. टर्नबुलले सन् १८२० मा प्रकाशन गरेकाे आफ्नो पुस्तक 'नेपाली व्याकरण र शब्दावली' मा पनि नेपाली भाषाका केही शब्दहरू सङ्कलन गरेका थिए । आर. एल. टर्नरले सन् १९३१ मा आफ्नो 'नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्ति मूलक शब्दकोश' प्रकाशन गरे, जसमा नेपाली शब्दहरूका अर्थ अङ्ग्रेजी भाषामा दिइएका छन् । यसरी नेपाली शब्दहरूको सङ्कलन र अर्थ लेखन गर्ने कार्य माथि उल्लिखित र अन्य कतिपय विदेशी विद्वानहरूले गरिरहेका पृष्ठभूमिमा चक्रपाणि चालिसेका 'बगली कोश' (१९९८) र 'पर्यायवाची कोश' (१९९९) तथा रामचन्द्र ढुङ्गानाकाे 'नेपाली कोश' (२००८) प्रकाशन भएकाे पाइन्छ ।

'बगली कोश', 'पर्यायवाची कोश' र 'नेपाली कोश' चकै परम्परामा तात्कालिक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट त्यस वेलाका उपकुलपति बालचन्द्र शर्माको सम्पादनमा 'नेपाली शब्दकोश' प्रकाशन भएकाे थियाे । उक्त कोशले लामाे समयसम्म नेपाली भाषामा व्यवस्थित कोशीय अभावको पूर्ति गरे तापनि त्यसलाई अद्यावधिक न गरिएकाे र त्यसको पुन: प्रकाशन पनि हुन नसकेको तर नेपाली भाषाको प्रयोग विस्तार भने निरन्तर भइरहेकाे स्थितिलाई दृष्टिगत गरी नेपाली भाषामा प्रचलित सबै स्रोतका शब्दहरूलाई समेट्ने र तिनलाई पुनर्व्यवस्थित गर्ने उद्देश्यले प्रामाणिक र आधिकारिक एउटा छुट्टै शब्द कोशकाे निर्माण अभियान प्रारम्भ भयाे ।

वि. सं. २०३३ मा तात्कालिक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लैनसिंह बाङ्गदेलको अध्यक्षतामा शब्दकोश समिति गठन भएकाे थियाे र पच्चिस प्रतिशत कार्य त्यसै समितिको परामर्शमा सम्पन्न भएकाे थियाे । २०३६ सालमा उपकुलपति माधवप्रसाद घिमिरे हुनु भयाे र उहाँकै अध्यक्षतामा केही परिवर्तन साथ कोश समितिकाे पुनर्गठन भयाे ।

परिवर्तित समितिमा प्रज्ञा-प्रतिष्ठानको भाषा तर्फका सदस्य प्रा. बालकृष्ण पोखरेल लगायत रहनु भएकाे थियाे । यसै समितिले विभिन्न विद्वानहरुले सहयोगमा बालचन्द्र शर्माद्वारा सम्पादित 'नेपाली शब्दकोश' मा सङ्कलित शब्दहरू र तिनका अर्थलाई पुनर्व्यवस्थित गर्नुका साथै अन्य थुप्रै पारिभाषिक लगायतका शब्दहरूको सङ्कलन र तिनको  अर्थ लेखनको  कार्यसमेत गरेकाे थियाे । याे कोश २०४० सालमा पहिलो पटक प्रकाशन भएकाे थियाे ।

याे शब्दकोश २०४० सालमा प्रकाशित 'नेपाली बृहत् शब्दकोश' काे जस्ताको त्यस्तै प्रकाशन होइन । 'नेपाली बृहत् शब्दकोश' काे जग बालचन्द्र शर्माको 'नेपाली शब्दकोश' भएजस्तै र बालचन्द्र शर्माको 'नेपाली शब्दकोश'काे जग बगली कोश, पर्यायवाची कोश अनि नेपाली कोश भएजस्तै यस कोशको जगका रूपमा 'नेपाली बृहत् शब्दकोश' लाई मानिएको हाे ।

यस संस्करणमा मूल प्रविष्टिमा ३२ हजार र उप प्रविष्टिमा ३० हजार शब्द गरी जम्मा ६२ हजार शब्द रहेका थिए । वि. सं. २०७५ सम्म आइपुग्दा यस कोशका दसौँ संस्करणसम्म प्रकाशन भएका छन् । अन्तिम संस्करणसम्म यस कोशमा शब्द सङ्ख्यामा केही वृद्धि भएर ६४ हजार शब्द पुगेका छन् । उक्त कोशको सम्पादक मण्डलमा निर्देशक सम्पादक प्रा.बालकृष्ण पोखरेल, विशेष सम्पादक प्रा. डा. वासुदेव त्रिपाठी र प्रा.डा.बल्लभ मणि दाहाल, सम्पादक कृष्णप्रसाद पराजुली, सह सम्पादक गोपीकृष्ण शर्मा र सहायक सम्पादक हर्षनाथ भट्टराई रहनु भएको थियो ।

काल क्रममा 'नेपाली बृहत् शब्दकोश' मा समाविष्ट शब्दहरू नै पनि कम भएका, नेपाली भाषाका क्षेत्रीय, सामाजिक लगायतका भाषिकाका शब्दहरू र नेपालका विभिन्न मातृभाषाबाट पछिल्लो चरणमा नेपालीमा आएर प्रयोग भएका शब्दहरू अनि विज्ञान र प्रविधिका विकाससँगै विश्वसित सम्बन्ध र सम्पर्क बढ्दै जाँदा विदेशी भाषाहरूबाट नेपालीमा आएर प्रयोग भइरहेका शब्दहरू समेटिन नसकेका हुनाले र विभिन्न समयमा सम्पन्न सम्बद्ध विद्वानहरूसहितका कार्यशालाबाट तद्भव शब्दको वर्णविन्यास तथा पदयोग र पदवियोग सम्बन्धी मान्यतामा समेत केही परिवर्तन आएका सन्दर्भमा यी सबै पक्षलाई सम्बोधन गर्ने गरेर नयाँ शब्दकोश निर्माण गर्ने निर्णय बैरागी काइँलाको कुलपतित्व र गङ्गाप्रसाद उप्रेतीको उपकुलपतित्वकाल (२०६६-२०७०) मै भएकाे थियाे ।

सोही निर्णयानुसार उपकुलपतिका साथै नेपाली भाषा, कोश र व्याकरण विभागका प्रमुखका नाताले प्रस्तुत शब्दकोश निर्माणकार्यलाई गङ्गाप्रसाद उप्रेतीले नै २०६६-२०७० मा अगाडि बढाएको, २०७१-२०७५ मा गङ्गाप्रसाद उप्रेती कुलपति हुनु भएकाे र प्रा. डा. हेमाङ्गराज अधिकारी प्राज्ञ परिषद् सदस्य तथा नेपाली भाषा, कोश र व्याकरण विभाग प्रमुख रहनु भएकाे अवधिमा समेत यस कोशको निर्माण कार्य उहाँहरूको सक्रियतामा अगाडि बढेको र २०७५-२०७९ मा गङ्गाप्रसाद उप्रेती पुन: कुलपति हुनुका साथै नेपाली भाषा, कोश र व्याकरण विभागको प्रमुखसमेत रहनु भएकाे अवस्थामा उप्रेती कै अनवरत चासो र सक्रियताका कारण विभिन्न विद्वानहरुले सहयोगबाट यस कोशले पूर्णता पाएको छ र प्रथम संस्करणको रूपमा प्रकाशनसमेत भएकाे छ ।

यस कोशमा विभिन्न गोष्ठी/सम्मेलन आदिमा पूर्वोत्तर भारतका नेपाली भाषाविदहरू, त्यहाँका विश्वविद्यालय र महाविद्यालयका नेपाली विषयका प्राध्यापकहरू र लेखक/साहित्यकारहरूबाट प्रस्तुत अनुरोधलाई समेत दृष्टिगत गरेर त्यस क्षेत्रमा बेलिने नेपालीका भाषिकाका शब्दहरूका साथै नेपालमा बोलिने विभिन्न क्षेत्रीय र सामाजिक भाषिकाका शब्दहरू सङ्कलन गरिएका छन् । नेपालमा बाेलिने नेवारी, किराँती (राई, लिम्बू), मगर, गुरुङ, तामाङ, मैथिली, भोजपुरी, अवधी, शेर्पा, थारू आदि भाषाबाट आएर नेपालीमा प्रयुक्त शब्दहरूसमेत समेटिएका छन् ।

विश्वसितको सम्पर्क/ सम्बन्धमार्फत अङ्ग्रेजी जस्तो अन्तर्राष्ट्रिय भाषाका साथै अन्य विदेशी भाषाहरूबाट पछिल्लो चरणमा नेपालीमा आएर प्रयोग भइरहेका शब्दहरू पनि यसमा परेका छन् । यसमा पछिल्लो चरणमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराेना भाइरस 'काेभिड-१९' काे कहर र यसको रोकथाम र नियन्त्रणका सन्दर्भमा प्रचलनमा आएका लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, स्यानिटाइजर, भेन्टिलेटर, पर्सनल प्रोटेक्ट इक्विपमेन्ट लगायतका थुप्रै शब्द समेटिएका छन् ।

भारोपेली भाषा परिवारको सर्वाधिक समृद्ध र प्राचीन तम भाषा संस्कृतबाट जस्ताको त्यस्तै वा रूप फेरिएर आएका तर अगिल्ला शब्दकोशहरूमा प्रविष्टि नपाएका विज्ञान, प्रविधि, साहित्य, प्रशासन, भूगोल, राजनीति, पुरातत्व, कला, सङ्गीत, उद्योग, वाणिज्य, कानुन, समाजशास्त्र, मानवशास्त्र, खेलकुद, थर, गोत्र आदि अनेकौँ क्षेत्रका यथासम्भव धेरै शब्द यसमा सङ्कलन गर्ने र तिनका अर्थ दिने काम भएकाे छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशन भएका र आगामी दिनमा प्रकाशन हुने शब्दकोशलगायत राष्ट्रिय गौरवसँग सम्बन्धित ग्रन्थहरूको नामका अगाडि प्रज्ञा शब्द जोड्ने भन्ने नीतिअनुसार नै यस शब्दकोशका अगाडि प्रज्ञा शब्द राखेर 'प्रज्ञा नेपाली बृहत् शब्दकोश' का रूपमा यसको प्रकाशन गरिएको हाे ।

'नेपाली बृहत् शब्दकोश' तात्कालिक दरबारको विशेष प्रेरणा, पहल र चासोमा निर्माण गरिएकाे थियाे भन्ने कुरा उक्त शब्दकोशको सुरुमै त्यस वेलाका कुलपति लैनसिंह बाङ्गदेलले आफ्नो मन्तव्यमा व्यक्त गर्नुभएका यी पङ्क्तिबाट पुष्टि हुन्छ -'राष्ट्रनायक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको वरद संरक्षकत्वमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषा, कला, संस्कृति तथा ज्ञान-विज्ञानको क्षेत्रमा उत्तरोत्तर विकास गर्दै जाने स्वर्ण अवसर प्राप्त गरेकाे छ । मौसुफ सरकारबाट बक्स भएकाे महान् प्रेरणा तथा निगाहको फलस्वरूप याे नेपाली शब्दकोश प्रकाशित हुँदै छ ।' 

 अहिले प्रकाशित 'प्रज्ञा नेपाली बृहत् शब्दकोश' सङ्घीय संरचनासहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना र समाजवादोन्मुख राष्ट्र निर्माणकाे प्रतिबद्धता युक्त संविधान जारी भएपछि नेपालकाे बहुभौगोलिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशिष्टतालाई केन्द्रमा राखेर तत् तत् जातीय मातृभाषाबाट नेपालीमा आएर प्रयाोग भएका शब्दहरू, खेलकुद, स्वास्थ्य, चलचित्र आदिसँग सम्बन्धित प्रयोजन परक भाषिक शब्दहरू त्यस क्षेत्रमा क्रियाशील विद्त समुदाय र सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूका अनुराेधमा समावेश गरेर तयार गरिएकाे हाे । त्यसैले याे शब्दकोश  विगतको शब्दकोश भन्दा भिन्न छ ।

याे शब्दकोश २०४० सालमा प्रकाशित 'नेपाली बृहत् शब्दकोश' काे जस्ताको त्यस्तै प्रकाशन होइन । 'नेपाली बृहत् शब्दकोश' काे जग बालचन्द्र शर्माको 'नेपाली शब्दकोश' भएजस्तै र बालचन्द्र शर्माको 'नेपाली शब्दकोश'काे जग बगली कोश, पर्यायवाची कोश अनि नेपाली काेश भएजस्तै यस कोशको जगका रूपमा 'नेपाली बृहत् शब्दकोश' लाई मानिएको हाे ।

याे कृतज्ञता हाे, विनयशीलता हाे र अग्रज पुस्ता प्रतिको सम्मान हाे । यसमा 'नेपाली बृहत् शब्दकोश' मा सङ्कलित शब्दभन्दा दोब्बर बढी शब्दहरूको प्रविष्टि भएकाे र तिनको सङ्कलन, अर्थ लेखन र सम्पादन/परिमार्जनमा आजका धेरै मान्छेको श्रम परेकाे हुनाले पुरानो सम्पादक मण्डल यसमा रहने कुरा सम्भव हुने विषय होइन । विभागीय प्रमुखको नेतृत्वमा प्रत्यक्ष सम्पादनमा जोडिएका व्यक्तिहरू सम्पादक मण्डलमा रहने र शब्द सङ्कलन र अर्थ लेखनमा सहयोग पुर्‍याउने  विद्वानहरुले नामावली र स्रोतका रूपमा प्रयुक्त शब्द कोशका नामावली कृतज्ञतासहित शब्दकोशको भूमिका खण्डमा दिने नीतिअनुसार नै सोको पालना गरिएकाे छ ।

यस कोशलाई मोबाइल एपमा समेत राखिसकेपछि छ । 'नेपाली बृहत् शब्दकोश' नवाँ संस्करण (२०७२) ए-फोर साइजको पृष्ठ १३५५ र मूल्य एक हजार तथा संशोधित र परिवर्द्धित दसौँ संस्करण (२०७५) काे पुनर्मुद्रण (२०७७) ए-फोर साइजको पृष्ठ १३८२ र मूल्य रु. १ हजार ८ सय ९५ रहेकोमा प्रस्तुत 'प्रज्ञा नेपाली बृहत् शब्दकोश' प्रथम संस्करण (२०७९) रोयल साइजको पृष्ठ २१०६ र मूल्य रु. ३हजार ३ सय ५ रहेकाे छ । यी दुवै कोश प्रज्ञा-प्रतिष्ठानबाट बिक्रीवितरण भइरहेकै छन् ।

प्रा. जगत् प्रसाद उपाध्यायको फेसबुक वालबाट