विजयध्वज थापा: साहित्य, नोकरी तथा समाजसेवामा सन्तुलित र समर्पित नाम

विजयध्वज थापा: साहित्य, नोकरी तथा समाजसेवामा सन्तुलित र  समर्पित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष १०, २०७९

उहाँको बुवा साहित्यकार लिला ध्वज थापा जसले २०१४ सालमा मन उपन्यासका लागि मदन पुरस्कारसमेत प्राप्त गर्नु भएको थियो । उक्त उपन्यास एक/दुई वर्ष अगाडि चिनियाँ भाषामासमेत अनुवाद भएको छ । उहाँ त्यस बेलाको भद्रकाली स्थित नेपाल भाषा अनुवाद प्रकाशन समितिको त्यस बेलाको प्रमुख पनि हुनुहुन्थ्यो ।

उहाँको बुवाको आर्थिक अवस्था खासै कमजोर थिएन । र, यदि हजुर बुवाको सम्पत्तिहरु सबै संरक्षण गर्न सकेको भए उहाँहरु सम्पन्न वर्गमै पर्नुहुन्थ्यो । तर, उहाँको परिवारका अग्रजहरुको अलि चाँडो निधन भएका कारण सम्पत्ति अर्थात् जग्गा जमिनका बारेमा त्यति जानकारी भएन । त्यसो हुँदा कस्ले कहाँ कति हिनामिना गर्यो भन्ने कुराको जानकारी पनि भएन । 

उहाँको हजुरबाको जन्म कमलपोखरीमा भएको र त्यहाँ नै पनि उहाँको घर थियो । र, भक्तपुरको डोलेश्वर तथा गट्ठाघरमा समेत जग्गाहरु थियो रे ! उहाँको बुवा आठ बर्षको हुँदा हजुर बुवाको निधन भएको रहेछ । अनि बुवा पनि राणा विरुद्ध आन्दोलनमा लागेर धेरै समय कलकत्तामा निर्वासनमा बिताएको हुनाले पनि यहाँको सम्पत्तिको बारेमा जानकारी र संरक्षण गर्ने जोहो मिलेन । त्यसले गर्दा आर्थिक अवस्था त्यति राम्रो भएन । तर, पछि भने जागिर पनि भयो र उपन्यास प्रकाशन भएर पुरस्कार पनि प्राप्त गरेपछि भने नाम, दाम र काम पनि राम्रो भयो । 

उहाँको जन्म २००९ सालमा हाँडीगाउँमा भएको हो । गुच्चा खेल्ने, लप्सीको बियाँ जसलाई च्याम्पुटी भनिन्छ त्यो घुमाएर खेल्ने, बाघ चाल खेल्ने, नाग पास खेल्ने, चुरोटको बट्टाको कित्ता बनाएर खेल्ने । जसमा मोटरमार चुरोटको एक प्वाइन्ट, फूलमारको हाफ प्वाइन्ट अनि क्याप्टेनको पाँच प्वाइन्ट भन्ने हुन्थ्यो । यसलाई पैसामा किनबेच पनि हुन्थ्यो । एक पैसाको यति हजार र उति हजार भनेर किनबेच पनि हुन्थ्यो । 

उहाँ त पढ्न पनि अलि ढिलै पढेको अर्थात् आठ वर्षमा एक कक्षामा भर्ना भएको अनि बुवा अफिस जाने र आमालाई त्यति नटर्ने कारणले पनि दिनभर टोलका साथी भाईसँग खेल्ने काम पनि हुन्थ्यो । पांग्रा गुडाउने, भोगटेको बल खेल्ने, कागजको पंखा बनाएर घुमाउने, अनि होलीमा बाँस तथा नर्कटको पिचकारी बनाउने आदि गरेर खेल्दै बडो रमाइलोसँग बित्यो । 

०००

उहाँले कखरा सिक्ने काम घरमै गर्नुभयो । अलि लेख्न सक्ने र हिसाब गर्न सक्ने भएपछि मात्र पाँच कक्षामा डिल्लीबजारको विजय मेमोरियल स्कुलमा भर्ना हुनुभएको हो । स्कूल जानु अगाडि टोलकै बलदेव आचार्य तथा उहाँकी बहिनी तारा आचार्य कहाँ गएर उहाँ पढ्ने काम पनि गर्नुहुन्थ्यो । पढ्न जानुका दुई कारण थिए पढ्ने पनि पढाइका नाममा दिनभरी खेल्न पनि पाइने । 

उहाँ एकैपटक विजय मेमोरियलमा पाँच कक्षामा भर्ना हुनुभयो । पाँच कक्षामा छ महिना पढ्दै उहाँलाई सरहरूले राम्रो पढ्छ भनेर छ कक्षामा भर्ना गरिदिनुभयो । छ कक्षमा दुई विषय लाग्यो । त्यस बेला उहाँको दाइ पद्मोदयमा पढ्नुहुन्थ्यो । अनि उहाँलाई पनि लगेर पद्मोदयमा भर्ना गरियो सात कक्षामा । उहाँलाई पढ्न अलि गाह्रो भइरहेको थियो । अनि पद्मोदयको पढाइ अलि कडा पनि थियो । यसले गर्दा उहाँलाई पढ्न अलि गाह्रो पनि भयो । 

विजय मेमोरियलमा भुइँमा काठको फल्याक ठोकिएको थियो भने फल्याकमा सुकुल विच्छ्याउने गरिन्थ्यो पाँच कक्षासम्म । छ कक्षादेखि भने डेस्क बेञ्चको व्यवस्था थियो । तर, पद्मोदयमा पढाइ नै छ कक्षादेखि थियो भने डेस्क, बेञ्चको राम्रो व्यवस्था थियो । पद्मोदयमा सह–शिक्षाको व्यवस्था थिएन । पद्मकन्या स्कूल नबनिसकेको हुनाले त्यसको पढाइ पद्मोदयमा बिहान हुन्थ्यो । 

पद्मोदय त्यस बेलाको एकदमै नाम चलेको स्कूल भएको हुनाले विद्यार्थीको चाप एकदमै धेरै थियो । एउटै कक्षामा विभिन्न सेक्सन र एउटा सेक्सनमा झण्डै ५०/६० जना विद्यार्थी हुन्थे । गाउँतिर महिलाहरुलाई पढाउने खासै चलन नभए पनि शहरमा भने महिलाहरुलाई पनि पढाउनु पर्छ भन्ने मान्यता आइसकेको थियो ।

विजय मेमोरियलमा पढ्दा उहाँ पहिलो बेञ्चमा बस्नुहुन्थ्यो तर पद्मोदयमा भने पहिलो बेञ्चमा नबसे पनि दोस्रो तथा तेस्रो बेन्चतिर बस्नुहुन्थ्यो । 

पद्मोदयमा पनि त्यसबेला प्रत्येक शुक्रबार खासै अतिरिक्त क्रियाकलाप भएझैँ लागेन उहाँलाई । स्काउटमा भाग लिनेको स्काउट सम्बन्धी काम केही हुन्थ्यो । क्यारेम, फुटबल, भलिबल अलि अलि हुन्थे । 

पढाइमा उहाँ एकैपटक पाँचमा भर्ना भएर छ महिनामा फेरि छ कक्षा हुँदै सातमा पद्मोदयमा भर्ना भएको हुँदा सधैँ गाह्रो, गाह्रो नै भयो । स्कूल जाने बेलामा बुवाको अफिसको गाडीमा जाने अनि बेलुका पनि बुवाले अफिसबाट आएपछि आज के के पढियो, के के गरियो भनेर सोध्ने हुँदा दायाँबायाँ बरालिने मौका खासै उहाँले पाउनु भएन ।

तर, दुई/तीन महिनापछि देउसी, भैलो तथा चन्दा संकलन बाट रकम उठ्यो । जनश्रमदानले स्कूल भवन तयार भयो । कक्षा कोठा खेल मैदान, कार्यालय सबै जनश्रमदानबाट तयार गर्ने काम भयो । पछि त्यहाँको विद्यार्थी संख्या तथा अवस्थाका बारेमा निरन्तर सुर्खेतमा रहेको क्षेत्रिय निर्देशनालयलाई जानकारी तथा आवश्यकताका बारेमा जानकारी तथा मनाउने प्रयास गर्दा अस्थायी रुपमा हाइस्कुल स्वीकृत भएर आयो । र अहिले पनि राम्रोसँग चलिरहेको छ । श्री महादेव माध्यमिक विद्यालय, दार्मा ।

दश कक्षामा चार वटा सेक्सन थियो । एउटा सेक्सनमा झण्डै ४० जना विद्यार्थी हुन्थे । उहाँले २०२४ सालमा एसएलसी दिनु भएको थियो । झण्डै एक सयभन्दा बढीले एसएलसी दिएका थिए । यतिले एसएलसी पास गरे भन्ने यकिन नभए पनि उहाँसँगै पढ्ने दश/बाह्र जनाको समूहमा भने उहाँ एक्लै पास हुनु भएको हो । 

०००

एसएलसी पास गरे पछि त्यसै बस्नुहुन्न काम पनि गर्नुपर्छ राम्रो हुन्छ भनेर एकजना साथीले भनेपछि उहाँले जागिर खान थाल्नुभयो । उहाँ कलेज भने महेन्द्र रत्न क्याम्पस बसन्तपुरमा भर्ना हुनुभयो । बुवाको जोड मानविकीमा थियो र महेन्द्र रत्न क्याम्पसमा भर्ना हुनुभयो । साथीहरुको जोड व्यवस्थापनमा थियो । त्यसैले ती महिनापछि उहाँ व्यवस्थापनतिर लाग्नुभयो । यता र उता गर्दा उहाँ फेल पनि हुनुभयो एकवर्ष ।

बुवा साहित्यकार भएका नाताले नेपालीमा पढ्ने लेख्ने र साहित्यकार बन्न सकिन्छ भनेर पनि बुवाको जोड नेपालीमा थियो । तर, त्यसो भएन त्यसको एक वर्षपछि उहाँले त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । र, पछि प्राइभेट दिएर बिए पास गर्नुभयो । त्यस बेला उहाँ नेपाल बैँकमा काम पनि गर्नुहुन्थ्यो । बैंकले उहाँलाई के सुविधा दियो भने बिहान, बेलुका पढ्ने अनि दिउँसो भने त्रिभुवन विश्वविद्यालयमा गएर एमए पढ्ने । 

उहाँले पहिले दूरसञ्चारमा काम गर्नुभयो । त्यहाँ एक/डेढ वर्ष काम गरेपछि छोड्नु भयो । पछि औलो उन्मुलनमा काम गर्नुभयो । औलो उन्मुलनमा तीन महिना काम गरेपछि नेपाल बैँकमा दिएको जाँचमा नाम निस्किएपछि उहाँ बैँकमा काम गर्न थाल्नुभयो । 

बैँकमा काम गर्दागर्दै उहाँले नेपाल खाद्य संस्थानमा फर्म भर्नु भएको थियो । जाँच दिने र रिजल्ट निस्कने गर्दा उहाँले एमए पास गर्नुभयो । यसरी झण्डै ३२ वर्ष खाद्य संस्थानमा काम गरेर अवकाश प्राप्त गर्नुभयो । 

उहाँले पहिले दूरसञ्चारमा काम गर्दा तलब १ सय ५० रुपैयाँ थियो । त्यस बेला सुन झण्डै अढाइ सय तोलामा पाइन्थ्यो । उहाँले पहिलो तलबले आधा तोला सुन किन्नुभयो । लुगाफाटो खासै किन्नुपर्ने थिएन अनि घरमा पनि बुवाले हेर्ने हुँदा त्यहाँ पनि पैसा खर्च भएन र यसो पकेट खर्च पनि बुवाले दिने भएकोले त्यो पहिलो तलबले भने उहाँले सुन किन्नु भएको रहेछ । 

उहाँ अफिसको काममा खासै पछाडि पर्नु भएन । काम राम्रो गर्ने भएकोले पदोन्नति पनि समयमै भयो । खासै पदोन्नतिको लागि कसैलाई भन्नुपर्ने भएन । तरल एउटा दुःखद कुरो भने उहाँ नायव महाप्रवन्धक हुनुहुन्थ्यो अनि महाप्रवन्धक हुने समयमा भने पैसाको चलखेल भयो । उहाँ पैसा दिएर महाप्रवन्धक हुन चाहनु भएन र नायव महाप्रबन्धकबाट नै अवकाश प्राप्त गर्नुभयो । 

उहाँले त्रिविबाट अर्थशास्त्रमा एमए तथा कोलम्बो प्लान अन्तर्गत भारतको नागपुर बाट एमबिए पनि गर्नुभएको छ ।

०००

एमए पहिलो वर्ष पास गरिसकेपछि त्यस बेला दश महिना गाउँमा गएर काम गर्नुपर्थ्यो । अनि फेरि आएर एक वर्ष पढेपछि बल्ल एमए पास होइन्थ्यो । उहाँलाई त्यस बेला शहरमा नभएर सबैभन्दा दुर्गममा गएर काम गर्छु भन्ने विचार आयो । त्यहाँका नागरिकले केही पढेका जानेका हुँदैनन् त्यसकारण यो पढाइले त्यहाँ केही भए पनि योगदान पुग्छ भन्ने हेतुले उहाँले यो विचार गर्नुभएको थियो । 

त्यस बेला पहिलो पटक हुम्ला जिल्ला समावेश गरिएको थियो । हुम्ला जस्तो विकट जिल्ला राखियो भनेर एक प्रकारको विद्रोह पनि भएको थियो । आउने, जाने कसरी बाटो छैन, प्लेन छैन, विद्यार्थी बिरामी भए भने के गर्ने भन्ने कुरा चलिरहेको थियो । उहाँको भने सुगममा परेको थियो । तर, उहाँले भने साथीसँग साटेर हुम्ला जाने मिलाउनुभयो । 

हुम्ला जाने भनेर भन्दा उहाँलाई यहीँ पनि यस्तो फुच्चे मान्छे हुम्ला जाने भनेर चिडियाखानामा नयाँ जन्तु ल्याउँदा मान्छे हेर्न आए झैँ हेर्न आउँथे । एनडिएसका सरहरुले पनि उहाँलाई निरुत्साहित त होइन तर हुम्ला जानलाई कतै ट्रेकिङ त के थानकोट पनि नाघेको छैन भनेर भन्दा सबै मज्जाले हाँस्थे पनि । 

हुम्ला, जुम्लाबाट पनि अझ साठी कोश टाढा थियो । यहाँबाट वीरगञ्ज अनि गोरखपुर हुँदै नेपालगञ्ज पुग्नुभयो । त्यहाँबाट हिँडेरै जाने कार्यक्रम थियो । सुर्खेत, दैलेख, कालिकोट, जुम्ला गर्दै त्यहाँबाट साठी कोश गर्दा हिँडेर जाँदा तीन महिना जति लाग्ने देखियो । त्यसैले उहाँहरुलाई एक महिना नेपालगञ्जमा राखेर जुम्लासम्म प्लेनमा लगियो । जुम्लाबाट भने सत्र/अठार हजार अग्लो लेकहरू बाट्दै हिँड्ने पर्ने हुन्थ्यो । 

जाने खर्च र महिनाको केही खर्च पनि एनडिएसले दिन्थ्यो त्यस बेला । एनडीएसको कार्यक्रमलाई युएनडिपीले सहयोग पनि गरेको थियो जुम्लासम्म जान युएनडिपीकै प्लेन थियो । 
हाइ अल्टिच्युट हुने डरले उहाँहरु सात दिन जुम्लामा बस्नुभयो  । र, त्यहाँ बस्दा विश्वविद्यालयबाट विद्यार्थी आएका छन् भनेर इज्जतका साथ सिडिओ लगायत त्यहाँका अधिकृतहरुले बोलाएर चिनजान गर्ने गराउने काम भयो । 

हुम्ला जाने क्रममा बाटोमा एक दिन खाना खाने क्रममा गाउँलेहरूसँग कुराकानी भएको थियो । पछि गाउँलेहरु उहाँ र उहाँको एकजना साथी अहिले अर्थविद् डा.रेवतबहादुर कार्कीलाई हुम्ला सिडिओ अफिसमा लिन आए । कसैले सम्मान गरेर लिन आउँछ भनेर किन नजाने भनेर उहाँहरु दार्मा गाउँमा जानुभयो । 

उहाँहरु त्यहाँको स्कूल हेर्न भनेर जानुभयो । स्कूल खोइ भनेर भन्दा त चार कोठाको स्कूल न विद्यार्थी न शिक्षक गाइ भैँसीले गोब्य्राएको ढोक पनि नभएको एउटा खण्डहर देखियो । तीन कक्षा र पाँच कक्षा पास गरेको त्यहीँका दुई जना शिक्षक रहेछन् । सात कक्षासम्मको दरबन्दी रहेछ पढाइको । 

पछि त्यस स्कूलका लागि उहाँहरुले गाउँ, गाउँ घुमेर विद्यार्थी बोलाएर सुरु गर्नुभयो पठनपाठन । उहाँहरु अग्रसरता देखाएपछि एक कक्षामा झण्डै चालिस/पचास जना, दुई कक्षामा दश/बाह्र जना, तीन कक्षामा आठ/नौ जना चारमा दुई/तीन जना अलि अलि गरेर स्कूल सञ्चालन गर्नुभयो । 

पैसा हुने भन्ने सम्भावना थिएन । त्यस कारण जनश्रमदानद्वारा जंगलबाट काठ ल्याएर, ढुंगा बोकाएर एक/दुई वटा कोठा थप्ने र शौचालय बनाउने काम पनि गर्नुभयो । स्कूल सञ्चालनको अतिरिक्त दिउँसो खानेपानीका कुवाहरू मर्मत गर्ने, ढुंगेधारा बनाउने, बाटोघाटो बनाउने जस्ता काम पनि गर्नुभयो । 

गाउँमा कुनै किसिमको सुविधा नभएकोले आफूले जानेको औषधि दिएर डाक्टर न्यायाधीश तथा प्रहरी पनि आफै‌ं बनेर गाउँको झैझगडा, मुद्दा, मामिला पनि आफैँले छिन्नुपर्थ्यो । 

त्यस बेला उहाँहरु गएपछि जिल्ला भरको लागि एउटा हाइस्कुलको कोटा आयो । त्यस बेला हुम्ला सदरमुकाम सिमिकोटमा पनि हाइस्कुल थिएन । उहाँहरुको काम देखेर त्यहाँका स्थानीयले स्कूल ल्याइदिए हाम्रा बालबच्चा पढ्न पाउँथे भन्ने आग्रह पनि गरे । तर, सदरमुकाम मै हाइस्कुल नभएको अवस्थामा त्यहाँ भन्दा ४० कोश पर कसरी स्कूल पुर्याउने भन्ने समस्या पनि थियो । 

सदरमुकाममा  जहिले पनि खुल्न सक्छ यहाँ अहिले प्रयास गरेर खुल्न सक्यो भने ठूलो काम हुन्छ भनेर उहाँले प्रयास गर्नुभयो । स्कूलका लागि बाह्र हजार दिनपर्ने थियो । सदरमुकामका मानिसहरुले उठाएर दिए । यहाँ त्यो पैसा संकलन हुन सकेन । तर, दुई/तीन महिनापछि देउसी, भैलो तथा चन्दा संकलन बाट रकम उठ्यो । जनश्रमदानले स्कूल भवन तयार भयो । कक्षा कोठा खेल मैदान, कार्यालय सबै जनश्रमदानबाट तयार गर्ने काम भयो । पछि त्यहाँको विद्यार्थी संख्या तथा अवस्थाका बारेमा निरन्तर सुर्खेतमा रहेको क्षेत्रिय निर्देशनालयलाई जानकारी तथा आवश्यकताका बारेमा जानकारी तथा मनाउने प्रयास गर्दा अस्थायी रुपमा हाइस्कुल स्वीकृत भएर आयो । र अहिले पनि राम्रोसँग चलिरहेको छ । श्री महादेव माध्यमिक विद्यालय, दार्मा । यसलाई उहाँ जीवनकै ठूलो उपलब्धि पनि मान्नुहुन्छ ।

स्कूल खुले पनि किताब हुँदैनथ्यो । एउटा किताबले सबैले काम चलाउनुपर्ने अवस्था थियो । पछि उहाँहरुले आफ्नो भत्तासमेत हालेर अनि देउसी, भैलोको पैसाले विद्यार्थी पठाएर जुम्लाबाट सबै कक्षको तीन/चार सेट किताबको पनि व्यवस्था गर्नुभयो । र विकास पुस्तकालय नाम राखेर पुस्तकालय पनि खोल्नुभयो । 

त्यहाँ उहाँहरुले त्यस बेला एउटा अर्को साहसिक काम पनि गर्नुभएको थियो । त्यस बेला त्यहाँबाट नौ वटा प्रहरी पोष्ट छलेर तस्करी हुन लागेको २९ तोला कस्तुरीको विना समेत पक्राउ गरेर सिडिओ अफिसमा बुझाउनु भएको थियो । त्यस बेला यो समाचार काठमाण्डौमा पनि निकै चर्चित भएको थियो । 
०००
सानोमा पनि अलि अलि कविता लेखेको थाहा छ उहाँलाई । अलि ठूलो भएपछि उहाँलाई व्यंग्य पूर्ण कविता लेख्न मन लागेर रचना द्वैमासिक का सम्पादक रोचक घिमिरेलाई देखाउनुहुन्थ्यो अनि उहाँ भने मुसुमुसु हाँसेर ठीक छ भन्नुहुन्थ्यो । जागिर तथा अरु विविध कारणले उहाँको कलम अगाडि सरेको थिएन । 

तर, २०५५ सालदेखि भने उहाँ नियमित जसो लेख्न थाल्नुभयो । २०६० सालमा काठमाडौँ आएका बेला उहाँले रोचक घिमिरेलाई फेरि आफ्ना १५/१६ वटा कविता सुनाउनु भयो र एउटा कविता छाप्नका लागि माग्नु पनि भयो । त्यही मध्येको मजबुर शीर्षकको कविता उहाँले छाप्नका लागि दिनुभयो र २०६० सालमा पहिलो पटक उहाँको रचना प्रकाशन भयो । 

२०६१ सालमा भएको विशालनगरमा तुलसी दिवस प्रमुख अतिथि भएको एउटा कवि सम्मेलन भएको थियो । र, कवि दिवसले उहाँको नाम लिएर थापाले कविता वाचन गरेपछि बल्ल कवि सम्मेलन भएजस्तो लाग्यो भनेर मन्तव्यमा नै भन्नुभयो । उहाँले संग्रह निकाल्नु भएको छ भनेर सोध्नुभयो । यही नैतिक बलले उहाँले २०६३ सालमा ‘भुंग्रो नबनोस् लप्को’ कविता संग्रह पनि निकाल्नुभयो । 

व्यंग्य कवितामात्र लेख्दा नकारात्मक धेरै भयो कि भन्ने लागेर उहाँले गीत लेख्न थाल्नुभयो । गीतमा माया प्रेमका पनि कुरा हुने भए । अनि ‘सम्झनाले पिर्‍यो’ भन्ने गीति संग्रह प्रकाशन गर्नुभयो २०६७ सालमा । सङ्ग्रहबाट २०/२५ वटा गीत पनि रेकर्ड भए । 

२०७० सालमा त्रिविको एकजना विद्यार्थी तपाईँका बारेमा थेसिस गर्छु भनेर आउनुभयो । उहाँलाई अलि अप्ठ्यारो पनि लाग्यो । जम्मा दुईवटा कृति भएको लेखको बारेमा थेसिस के गर्नु भनेर । हुनत् थेसिस का लागि त्रिवि सेवा आयोगले व्यक्तिको सूचि नै सार्वजनिक गर्छ । सार्वजनिक नभएका व्यक्तित्वका बारेमा थेसिस लेख्न पाइन्न । तर, पनि उहाँलाई  एकजना विद्यार्थी भने आफ्नै बारेमा थेसिस गर्छु आफैँलाई अप्ठ्यारो लाग्यो । उहाँले विद्यार्थीलाई कति समय लाग्छ भन्नुभयो । छ, सात महिना लाग्ने उत्तर आएपछि उहाँले तीन महिनामा अरु तीन वटा  कृति एकै साथ प्रकाशन गर्नुभयो । यसरी उहाँले ‘कर्णालीको कुनोदेखि मानसरोवरसम्म’ भन्ने नियात्रा संग्रह, ‘निबुवाको बोटमा आँप फल्दैन’ मुक्तक संग्रह, ‘अचम्मको खेल’ कविता संग्रह एकै पटक निकाल्नुभयो । ‘घुम्दाघु म्दै अद्भूत गुफा’ अमेरिका भ्रमणको संस्मरण, ‘समुद्र वारी समुद्र पारी’नियात्रा संग्रह,, ‘हिजो आज’ मुक्तक संग्रह, ‘बहस गहिरो छ’ मुक्तक संग्रह लगायत बाल साहित्य पनि लेख्नु भएको छ । 

उहाँका थुप्रे सम्मान तथा पुरस्कार पनि रहेका छन् । त्यस्तै उहाँले बुवाको नामबाट लिला ध्वज थापा साहित्य प्रतिष्ठान पनि स्थापना गर्नुभएको छ । हरेक महिना रचना वाचन तथा स्रष्टाको सम्मान गर्ने कार्यक्रम हुने गर्छ । आफ्नो संस्थाबाट सम्मान तथा पुरस्कार प्रदान गर्ने हुँदा उहाँ आफूलाई भने अरुले सम्मानका लागि आग्रह नगर्नुस् भनेर सार्वजनिक रुपमा भन्ने पनि गर्नुभएको छ ।