'कोर्ष करेक्सन'मा एमाले अध्यक्ष ओली ! ओली–दाहाल मिलनसँगै नेपाल र गौतम मिलाउने हतारो !?

लोकसंवाद टिप्पणी

'कोर्ष करेक्सन'मा एमाले अध्यक्ष ओली ! ओली–दाहाल मिलनसँगै नेपाल र गौतम मिलाउने हतारो !?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १३, २०७९

नेपालमा सबैभन्दा धेरै पटक विभाजन र एकता कसैको भएको छ भने त्यो कम्युनिस्ट पार्टीमै भएको छ । पछिल्लो पटक ३ जेठ, २०७५ मा देशका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । तर त्यो एकता दुई वर्षपनि राम्रोसँग चलेन र विवादै विवादबीच २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदियो ।

नेकपाको खारेजी तथा एमाले र माओवादी केन्द्र पुरानै रुपमा कायम रहने फैसला लगत्तै एमाले कार्यकर्ताहरुले दीपावली मनाए । यी तिनै कार्यकर्ता थिए, जसले ३ जेठ, २०७५ मा नेकपा बन्दा पनि दीपावली नै गरेका थिए । 

नेकपाको खारेजी पछिसम्म पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरू एकै ठाउँमा थिए । सर्वोच्चको फैसलापछि कोटेश्वरस्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बैठक गरी आ–आफ्ना पार्टीमा सक्रिय हुने निर्णय गरेर अलग भए ।

नेपाली कम्युनिस्ट आन्दोलनमा सबैभन्दा सौहार्दपूर्ण फुट र अलग बाटो रोजेको क्षण पनि सम्भवतः यही पहिलो थियो । प्रतिनिधिसभाको दोस्रो विघटन, पुनर्स्थापनाको फैसला, एमालेको विभाजन र एकीकृत समाजवादी पार्टीको गठनजस्ता अनेकौं राजनीतिक परिघटना यो बिचमा भए । पार्टी विभाजित हुँदा एकबाट दुई नभएर तीन र त्योभन्दा बढी हुने रहेछन् । विगतमा अन्य पार्टी विभाजन हुँदा पनि दुई पक्ष एक एक तिर लाग्ने र एउटा पक्ष निस्कृय हुने वा तेस्रो धार खडा गर्ने गरेका थिए । नेकपा र एमालेको विभाजनले पनि त्यही गर्‍यो । ठुलो वा सानो गरेर चार टुक्रा भयो । 

केपी शर्मा ओली र माधवकुमार नेपाल नेतृत्वमा अलग अलग पार्टी खडा हुँदा वामदेव गौतमको नेतृत्वमा नेकपा एकता अभियान बन्यो । केपी ओली, प्रचण्ड र माधवकुमार नेपाललाई एक ठाउँमा उभ्याउन नसक्दा विभाजन भएको नेकपालाई फेरि एकीकृत बनाउने यो समूहको एजेन्डा छ ।

लामो समयको तिक्तता कारण यी पार्टीहरु एक भएर बृहत् कम्युनिस्ट पार्टी निर्माणको अभियान प्रभावित बन्दै आएको छ । पछिल्लो समयमा एमाले र माओवादी केन्द्र मिलेर सत्ता गठबन्धन बनेपछि फेरि नेकपा कालीन शक्तिलाई एक ठाउँमा उभ्याउने प्रयास सुरु भएको छ । 

नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान बनाएका वामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् । समाजवादीको पार्टी कार्यालयमा पुगेर नेपालसँग छलफल गर्दै नेता गौतमले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न सरकारमा सहभागी हुन सुझाव दिएका हुन् । 

गत निर्वाचनमा प्रमुख कम्युनिस्ट शक्तिहरुले  फरक फरक गठबन्धनबाट चुनाव लड्दा  कमजोर परिणाम व्यहोर्न बाध्य भए ।  जसका कारण पार्टी फेरि एकजुट हुनुपर्ने आवाज दबाबको सामना  नेकपा कालिन सचिवालय सदस्यले नेतृत्व गरेका  चारै वट समूहमा बढ्दो छ । 

गौतमले माओवादी र एमालेको सरकार बनेको अवस्थामा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुनुपर्ने बताए । तर उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीलाई नसमेटी एमालेसँग गठबन्धन गर्न जानु गम्भीर त्रुटी भएको बताएका छन् । 

एकीकृत समाजवादी पार्टीले पनि पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रुपमा हेरिरहेको र उपयुक्त निष्कर्ष निकाल्ने अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । अध्यक्ष नेपालले पछिल्ला दिनमा सार्वजनिक रुपमा नै नेपाली काँग्रेसले दम्भ देखाएको बताएका छन् । उनले काँग्रेस र माओवादी दुवैले एकीकृत समाजवादीलाई हेप्न खोजेको पनि टिप्पणी गरिरहेका छन् ।

सरकार गठनका लागि काँग्रेस लचिलो नभएपछि सत्ता गठबन्धन टुट्न पुगेको र एमालेसँग छलफलका लागि आफूले पनि प्रचण्डसँग छलफल गरे पनि ओलीसँग वार्ताका लागि प्रचण्ड एक्लै गएको नेपालले बताउँदै आएका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयको अन्तिम दिन आइतबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा छलफलका लागि प्रचण्ड एक्लै पुगेका थिए ।

उनले सो छलफलमा आफूलाई लामो समयदेखि साथ दिँदै आएका माधवकुमार नेपाललाई लैजाने आवश्यकता समेत महसुस गरेनन् । जसले गर्दा पछिल्ला दिनमा प्रचण्डसँग नेपाल खुसी छैनन् । यद्यपि उनी प्रचण्डको सरकारलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने पक्षमा पनि छैनन् । 

एमाले अध्यक्ष ओली दुई वर्षअघिको 'कोर्ष करेक्सन' गर्न तयार भए पूर्व नेकपा फेरि एक ठाउँमा हुनसक्ने वातावरण बन्दै गएको कतिपयको विश्लेषण गर्न थालेका छन् । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा झण्डै २० महिनापछि ओली र नेपालबीच संवाद खुल्नु लाई लिएको  छ । दुवैले एक पटक नेपालको स्वास्थ्यबारे कुराकानी गरेका थिए भने अर्को चरणमा राजनीतिमा आफूहरुले किनाराबाट हेरिरहेको समान धारणा राखे सूचना बाहिर आएको छ । गत निर्वाचनमा प्रमुख कम्युनिस्ट शक्तिहरुले  फरक फरक गठबन्धनबाट चुनाव लड्दा  कमजोर परिणाम व्यहोर्न बाध्य भए ।  जसका कारण पार्टी फेरि एकजुट हुनुपर्ने आवाज दबाबको सामना  नेकपा कालिन सचिवालय सदस्यले नेतृत्व गरेका  चारै वट समूहमा बढ्दो छ ।