डा. तुलसी भट्टराई र तुलसी दिवस: आजीवन सदस्यता र तलव भत्ता त्यागको घोषणा कहिले ?

डा. तुलसी भट्टराई र तुलसी दिवस: आजीवन सदस्यता र तलव भत्ता त्यागको घोषणा कहिले  ?

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष १३, २०७९

काठमाडौँ । नेपालीमा एउटा उखान छ–‘जुन थालमा खायो, उही थालमा फोहोर गर्‍योे ।’ यस उखानलाई चरितार्थ गरेका छन् नेपाल प्रज्ञा–प्रतिष्ठानका केही आजीवन सदस्यहरूले ! प्राज्ञ परिषद्का पूर्व पदाधिकारी तथा सदस्यसमेत रहिसकेका र आजीवन सदस्य बापत नेपाल प्रज्ञा–प्रतिष्ठानबाट मासिक ५१ हजार रकम लिइरहेका केही साहित्यकारहरूले यस्तो गरेको पाइएको छ ।

यस्तो हर्कत गर्नेमा अग्र पङ्क्तिमा देखिएका छन्–नेपाली लेखक संघका पूर्व अध्यक्ष तथा समालोचक डा. तुलसीप्रसाद भट्टराई । भट्टराई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिवसमेत रहि सकेका व्यक्ति हुन् । उनले हालै नेपाल प्रज्ञा–प्रतिष्ठान आजीवन सदस्य मनोनित गरिएका निवर्तमान कुलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेती र प्राज्ञ सभा सदस्य रहेका र आजीवन सदस्य बनाइएका डडेल्धुराका आर डी प्रभास चटौतको आजीवन सदस्यता रद्द गरिनुपर्छ भन्ने विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

अर्को रोचक प्रसङ्ग के छ भने गत साउनमा सम्पन्न भएको नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभामा डा. भट्टराई आजीवन सदस्यलाई पनि प्राज्ञ सभामा सहभागी गराइनुपर्छ र आजीवन सदस्यलाई समेटेर प्रज्ञाको सल्लाहकार सभा बनाइनुपर्छ भन्ने व्यहोराको माग पत्र नै  बुझाएका थिए । उक्त पत्रमा अर्का दुई जना आजीवन सदस्य बुँद राना र निनु चापागाईंले समेत हस्ताक्षर  रहेको थियो  ।

प्रज्ञा–प्रतिष्ठानको ऐनमा प्राज्ञ सभा सदस्य (परिषद् र सभा सदस्य) हरू बाहेक आजीवन र मानार्थ सदस्य सहभागी हुन नपाउने स्पष्ट व्यवस्था छ । । सदस्य सचिव भइसकेको मान्छेले नै कसरी र कुन नियतले प्राज्ञ सभामा आजीवन सदस्यको प्रतिनिधित्व र सल्लाहकार सभाको कुरा उठाए, त्यतिबेला प्राज्ञ सभा सदस्यहरूले नै प्रश्न उठाएपछि डा. भट्टराईको समूह पछि हटेको  थियो ।  यसबाट भट्टराईले बारम्बार प्रज्ञा–प्रतिष्ठानमा सक्रिय भूमिका खोजेको तथा राजनीति गर्न खोजेको डा. भट्टराईलाई आरोप लाग्ने गरेको छ ।हाल पनि कुलपतिको  समेत दौडमा  रहेका बेला डा. भट्टराईले आफूले लिइरहेको सुविधा अन्य आजीवन सदस्यलाई दिनु हुँदैन  वक्तव्यबाजी गर्दै हिँडिरहेका छन् । 

अर्का आजीवन सदस्य हुन्, तुलसी दिवस पनि सोही लाइनमा उभिएका छन् । विभिन्न कार्यक्रममा प्रमुख अतिथि भएर बोल्ने क्रममा आफूलाई  प्रज्ञा–प्रतिष्ठानले 'प्रमुख अतिथि' नबनाएको भनी गुनासो गरिरहेका छन् । उनको याे गुनासोलाई अनौपचारिक रुपमा  'प्रायः  बहिनी मोमिला जोशीले आफ्नो कार्यक्रममा प्रमुख अतिथि हुनु भएकै हुनुहुन्छ नि !' भन्दा केही जवाफ नदिने गरेको कतिपय साहित्यकारहरू बताउँछन् ।

अहिले उप्रेती र चटौतको आजीवन सदस्यतासम्बन्धी विरोध गर्नेहरूमा सोही पद ताकेका तर आफूलाई नबनाएको मा विरोधमा उत्रिएको पाइएको छ । प्रज्ञाको आजीवन सदस्य ताक्ने र निर्णयका निम्ति ताकेता गर्नेहरूमा पूर्व सदस्य सचिव सनत रेग्मी, अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्र शर्मा, विष्णु विभु घिमिरे (जो कुलपतिका समेत दावेदार थिए) लगायत रहेका बताइन्छ । तर, डा. जगमान गुरुङ निमित्त कुलपति रहेको प्राज्ञ परिषद्को बैठकले उप्रेती र चटौतलाई आजीवन सदस्यमा मनोनित गर्ने निर्णय गरेपछि आकांक्षी हरु लाम लागेर  विरोधमा उत्रिएका छन् । र, तीनलाई साथ भने आजिवन सदस्यता लिएर सुविधा लिएकाहरुले  दिइरहेका छन् । 

आजीवन सदस्यता हालसम्म प्राप्त गर्नेहरु 

वि.सं. २०२२ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजीवन सदस्यता प्रदान गर्न थालिएको थियो । प्रज्ञाको पहिलो आजीवन सदस्यता पाउने भाग्मानी थिए-सिद्धिचरण श्रेष्ठ । त्यसपछि २०२४ मा मनोनित भएका थिए– यज्ञप्रसाद शर्मा । त्यसपछि क्रमशः २०२८ मा बालकृष्ण सम, भवानी भिक्षु र माधवप्रसाद घिमिरेलाई आजीवन सदस्य मनोनित गरिएको थियो । 

यसैगरी २०३६ मा सूयविक्रम ज्ञवाली र चूडानाथ भट्टराय, २०४६ मा लैनसिंह बाङ्देल र अमर चित्रकार, २०४७ मा विजयबहादुर मल्ल र यज्ञराज शर्मा, २०५१ मा नयराज पन्त र केदारमान व्यथित, २०५२ मा डा.ईश्वर बराल, ईश्वर बल्लभ, कृष्ण चन्द्रसिंह प्रधान, प्रा.डा.चूडामणि बन्धु, तुलसी दिवस, डा. तीर्थबहादुर श्रेष्ठ, धनुषचन्द्र गौतम, देवेन्द्रराज उपाध्याय, धर्मराज थापा, बालकृष्ण पोखरेल, मोहन कोइराला, डा.राम निवास पाण्डे, श्यामदास वैष्णव, सत्यमोहन जोशी र ढुण्डिराज भण्डारीलाई आजीवन सदस्य मनोनित गरिएको थियो । 

यसै गरी २०६० मा ११ जना आजीवन सदस्य मनोनित गरिएको थियो, जसमा शशि शाह, रमेश विकल, प्रा.डा.योगेन्द्रप्रसाद यादव, मदनमणि दीक्षित, बैरागी काइँला, नरराज ढकाल, धुस्वाँ सायमी, डा.ध्रुवचन्द्र गौतम, ज्ञानमणि नेपाल, उत्तम नेपाली र अशेष मल्ल रहेका थिए ।  

यसै गरी २०६९ मा डा. तुलसीप्रसाद भट्टराई, तोया गुरुङ, श्यामप्रसाद शर्मा, पूर्ण विराम (बलराम भट्टराई), २०७२ मा मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निनु चापागाईं र मञ्जु काँचुली, २०७७ मा आनन्ददेव भट्ट, २०७८ मा डा. तारानाथ शर्मा, नरेश शाक्य (नरेशकुमार शाक्य) र बूँद राना (लोकबहादुर राना)लाई आजीवन सदस्य मनोनित गरिएको थियो । २०७९ मा गङ्गाप्रसाद उप्रेती र आरडी प्रभास चटौतलाई मनोनित गरिएको छ । 

पहिले प्राज्ञ परिषद्मा रहेका सबैलाई आजीवन सदस्य बनाउने गरिए तापनि पछिल्लो समय अर्थात् बैरागी काइँला कुलपति र गंगाप्रसाद उप्रेती उपकुलपति हुँदादेखि यसमा नियन्त्रण गरिएको थियो । अहिले सरकारलाई आर्थिक दायित्व नबढ्ने गरी स्वीकृत बिस जना कोटा भित्र रहेर मात्र आजीवन सदस्य मनोनित गर्न नेपाल सरकारले अनुमति दिए अनुसार नै रिक्त ठाउँमा दुई जनालाई मनोनितको विषयमा आजिवन सदस्यता लिएर सुविधा लिएकाहरुले बक्तव्य जारी गरेर सदस्यता खारेजको माग गरेको  प्राज्ञ परिषद्का एक निर्वतमान सदस्यले जानकरी दिएका छन् । निर्वतमान सदस्य प्रश्न छ - 'अरुको मनोनित आजीवन सदस्य खारेजको माग गर्ने  आजीवन सदस्यद्वय  डा. तुलसीप्रसाद भट्टराई र तुलसी दिवसले आफ्नो आजीवन सदस्यता र तलव भत्ता त्यागको घोषणा गर्नुपर्ने होइन र ?'