'पर्ख र हेर'मा रहेको एकीकृत समाजवादीलाई कांग्रेस सभापति देउवाको नयाँ र 'बेटर' प्रस्ताव !

'पर्ख र हेर'मा रहेको एकीकृत समाजवादीलाई कांग्रेस सभापति देउवाको नयाँ र 'बेटर' प्रस्ताव !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १४, २०७९

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिने दिन पुस १० गते अप्रत्यासित रुपमा सत्ता गठबन्धन भत्कियो र केही घन्टाको बिचमा नयाँ गठबन्धनसहितको सरकार बन्यो । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस गठबन्धनमा रहेको माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै पद छाड्न तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए  । 

पुस १० गते दिउँसो करिब १ बजेसम्म बालुवाटारको बैठकमा रहेका प्रचण्ड एकाएक त्यहाँबाट खुमलटार हुँदै बालकोट पुगे । बालकोटमा एमालेसँग नयाँ गठबन्धन बनाइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुले सरकारमा मन्त्रीसँगै निम्तो पाए । तर लामो समयदेखि प्रचण्डलाई मित्रवत रुपमा सहयोग गरिरहेको एकीकृत समाजवादीलाई सो बैठकमा बोलाउन उनले आवश्यक ठानेनन् । अघिल्लो गठबन्धनबाट प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिक सिट भने पाउन असफल भयो । यदि उसले थ्रेसहोल्ड कटाएको भए कम्तीमा पनि थप ४ सिट पाउने निश्चित थियो । 

१० सिट रहेको एकीकृत समाजवादी यतिबेला कुनै पनि गठबन्धनमा औपचारिक रुपमा सामेल छैन । अन्तिम समयमा आफू प्रधानमन्त्री बन्ने दौडमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीलाई नबोलाएकोमा अध्यक्ष माधवकुमार नेपाल आफैं सन्तुष्ट नभएको मात्र होइन दुखी भएको र एकीकृत समाजवादी नै दुखी भएको धारणा सार्वजनिक गरिसकेका छन् । 

 अहिलेको सत्ता गठबन्धनमा पनि नरहने र काँग्रेस नेतृत्वको विपक्षी मोर्चामा पनि नहुने भएपछि एकीकृत समाजवादी अब के गर्ने भन्ने रणनीति तय गर्दैछ । एकीकृत समाजवादीले अब के गर्छ भन्ने चासो बढिरहँदा सो पार्टीलाई पनि सत्ता गठबन्धनमा सामेल गराउन नेताहरु थप सक्रियता बढाइरहेको सन्देश दिइरहेका  छन् । निर्वाचन अघि नै एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि कार्यदल नै बनाउने समझदारी गरि सकेको छ । 

 तर निर्वाचन परिणाम लगत्तै सरकार गठनमा माओवादी एक्लै दौडमा कुदेपछि अलग भएको एकीकृत समाजवादीलाई फकाउन अब माओवादी र एमालेका नेताहरुले दौडधुप सुरु गरेका हुन् । अध्यक्ष नेपालले बुधबार पनि एमाले र माओवादी केन्द्रका नेताहरुसँग मात्र होइन नेपाली कांग्रेससँग पनि  निरन्तर संवादमा रहेको सभापति देउवाको नयाँ र 'बेटर' प्रस्ताव आएको जानकारी कार्यकर्तालाई दिएका सहभागी नेताले बताएका छन् । 

अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेकोले आगामी यात्राबारे छलफल थप घनिभूत रुपमा अघि बढाउने 'पर्ख र हेर'को नीतिमा रहेको पार्टी पंक्तिलाई जानकारी गराएको एकीकृत समाजवादी  एक नेताले जानकारी दिए । एकीकृत समाजवादी राष्ट्रिय राजनीतिबारे ठोस निर्णय नभएसम्म छलफललाई निरन्तरता दिने सोचमा रहेको समेत उल्लेख छ । एकीकृत समाजवादीले भूगोल कमिटीका नेताहरुसँग बुधबार जुम मार्फत छलफल समेत गरेको छ । एकीकृत समाजवादी सरकार गठन प्रक्रियामा टाढा रहे पनि अब सरकारलाई समर्थन गरेर जानुपर्ने मत समेत रहेको छ । 

कांग्रेस सबैभन्दा ठूलो दल हुँदा ०७४ मा जितेको भन्दा एमालेले ४३ र माओवादी केन्द्रले २१ सिट गुमाउन पुगेको थियो ।  त्यसैले एमालेले सुरुमा एकीकृत समाजवादीसँग सत्ता सहकार्य र त्यसपछि पार्टी एकता गर्नुपर्ने बताउन थालेको छ । एमाले र एकीकृत समाजवादी एकीकरण भएमा प्रतिनिधिसभामा एमाले काँग्रेसभन्दा १ सिट कम सहितको दोस्रो ठूलो दल हुन्छ । मोरङ–५ बाट विजयी भएका योगेन्द्र मण्डल र प्रभु साहलाई ल्याएमा सबैभन्दा ठूलो दल बन्नेछ । 

कतिपय नेताले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन मात्रै गर्नुपर्ने बताएका छन् भने कतिपयले सरकारमा सहभागी हुनुपर्ने मत राखेका छन् । केही नेताहरु भने प्रतिपक्षमा बसेर पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने पक्षमा पनि छन् । १६ गते स्थायी कमिटि र १८ गते पोलिटब्युरोको बैठकअघि बिहीबार पनि सो पार्टीले गैरभौगोलिक कमिटीका नेताहरुसँग सुझाव लिने सो पार्टीले जनाएको  छ । 

प्रचण्डले सरकार गठनमा समन्वय कारी भूमिका निर्वाह नगर्दा समस्या भएको एकीकृत समाजवादीका नेताहरुको भनाई छ । २०७८ भदौमा एमालेबाट अलग भएको एकीकृत समाजवादी त्यसपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा गएको थियो । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन भित्रैबाट प्रतिस्पर्धा गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा त एकीकृत समाजवादीले जितेका १० मध्ये ९ सिटमा एमाले उम्मेदवारलाई नै हराउन सफल भएको थियो ।

त्यसैले आगामी यात्रा तय गर्न अध्यक्ष नेपाललाई अप्ठ्यारो परेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालले भेटवार्ता गरे । हात्तीवनस्थित एक निजी घरमा प्रचण्डसँग भएको कुराकानीमा अध्यक्ष नेपालले सँगै जाने सल्लाह भए पनि एक्लै हिँडेको र सोध्न समेत आवश्यक नठानेको भन्दै गुनासो पोखेका थिए । नेता नेपालले कार्यकर्तालाई दिएको जानकारी अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गम्भिर त्रुटी भएको भनी आत्म आलोचित  भएका थिए । 

प्रचण्डले परिस्थिति फरक बनेकोले आफूले छलफल गर्न नसके पनि सहकार्य कायम राख्नुपर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका कार्यकर्तालाई  जानकारी दिएका  छन् । 

अध्यक्ष नेपालले एमालेका नेताहरुसँग पनि लगातार छलफल गरिरहेका छन् । एमाले नेताहरुले भने सहकार्य भन्दा एकताका लागि प्रस्ताव गरेका छन् । बुधबार महेश बस्नेतले नेता नेपालसँग छलफल गरेका थिए । त्यसअघि उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालसँग भेट गरेका थिए । अर्का उपाध्यक्ष सुवास नेम्वाङले यसअघि देखि नै एकीकृत समाजवादीसँग एकताका लागि पहल गरिरहेका छन् । प्रचण्ड नेतृत्वको सरकार बनेसँगै वाम तालमेलको ढोका खुलेकाले अब प्रचण्ड, नेपाल र ओली बसेर छलफल गर्ने सहमतिको  खोजी भइरहेको बताइएको छ ।

गत निर्वाचनमा कुनै पनि वाम पार्टीले अपेक्षित परिणाम नल्याएपछि एकताको आवाज उठिरहेको छ । कांग्रेस सबैभन्दा ठूलो दल हुँदा ०७४ मा जितेको भन्दा एमालेले ४३ र माओवादी केन्द्रले २१ सिट गुमाउन पुगेको थियो ।  त्यसैले एमालेले सुरुमा एकीकृत समाजवादीसँग सत्ता सहकार्य र त्यसपछि पार्टी एकता गर्नुपर्ने बताउन थालेको छ । एमाले र एकीकृत समाजवादी एकीकरण भएमा प्रतिनिधिसभामा एमाले काँग्रेसभन्दा १ सिट कम सहितको दोस्रो ठूलो दल हुन्छ । मोरङ–५ बाट विजयी भएका योगेन्द्र मण्डल र प्रभु साहलाई ल्याएमा सबैभन्दा ठूलो दल बन्नेछ । 

एमालेले जसपासँग तालमेल गरेपछि मण्डलले स्वतन्त्र उम्मेदवार नै बनेर विजयी भएका हुन् । एकता भएमा प्रदेशमा पनि एमाले झनै बलियो हुनेछ । एकीकृत समाजवादीका पनि एमालेसँग एकता गर्नुपर्ने आवाज उठ्न थालेको छ । दुबै पार्टीले एक निर्वाचनबाट धक्का बेहोरि सकेका कारण अब सार्थक परिणामसहित एकताका लागि दुवै दलमा दबाब सिर्जना हुने थालेको छ । 

तर बुधबार पार्टी अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई माओवादी केन्द्र र एमालेले भन्दा  नेपाली कांग्रेसको तर्फबाट नयाँ 'बेटर' प्रस्ताव आएको खुलासा गरेका छन् । एक नेताका अनुसार नेता नेपालले कार्यकर्तालाई भने - सबैले नयाँ नयाँ प्रस्ताव आइरहेका छन् । आउनु पनि पर्छ । आएका प्रस्ताव  'बेटर' लाई लिएर अगाडि बढ्ने हो । आएका सबै प्रस्तावहरूमा आफूले  पार्टीमा छलफल गरेर जवाफ दिने बताएको छु ।