एमालेका कार्यक्रम प्रचण्डको कार्यान्वयन ! सरकारको न्यूनतम साझा कार्यक्रमको जिम्मा ओलीलाई

लोकसंवाद टिप्पणी

एमालेका कार्यक्रम प्रचण्डको कार्यान्वयन ! सरकारको न्यूनतम साझा कार्यक्रमको जिम्मा ओलीलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान राजनीतिक सत्ता समीकरणका प्रमुख खेलाडीका रुपमा प्रमाणित गरिसकेका छन् ।  गत ४ मंसिरमा भएको निर्वाचनमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेर एमाले निर्वाचनमा होमिएको थियो । तर एमालेले सार्वजनिक भाषणमा भनेजस्तै सरकार बनाउन १५० सिट जित्न सकेन । बरु ७८ सिटसहित दोस्रो दल बन्यो । स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ पार्टीले राम्रो जनमत हासिल गर्दा त्यसबेला निर्वाचनमा गठबन्धन गरेर सहभागी भएका काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले पनि सरकार बनाउन आवश्यक १३८ सिट जुटाउन सकेनन् । 

प्रतिनिधिसभामा कुनै दल वा गठबन्धनको बहुमत नभएपछि सरकार गठनमा दुईभन्दा बढी दलहरु सहभागी हुनुपर्ने बाध्यता थियो । जसको चुरो कुरो शक्ति बाँडफाँटमा थियो । तर काँग्रेस दुई मुख्य पदहरु प्रधानमन्त्री र राष्ट्रपतिमध्ये एउटा पनि छाड्न तयार भएन । फलस्वरुप सबैभन्दा ठूलो दल बनेर पनि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आयो र केपी शर्मा ओली एकपटक फेरि सत्ता समीकरणका खेलाडी बनेका छन् । 

पाँच वर्षअघि वाम गठबन्धन बनाएर प्रधानमन्त्री बनेका ओली यसपटक प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफू सत्ताको चाबी लिन सफल भएका छन् । दुई वर्षअघि पार्टीभित्रको आन्तरिक विवादमा संसदलाई सिकार बनाएर राजनीतिक अधोगतिको यात्रा सुरु गरेका ओलीले यो निर्वाचन परिणामपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर फेरि आफूलाई प्रमुख खेलाडी सावित गर्न सफल भएका छन् । 

 यो बिचमा ओली एक सातादेखि करिब मौन देखिन्छन् । नयाँ सत्ता समीकरण बनाएको र माओवादीलाई प्रधानमन्त्रीमा साथ दिएको बारे एमालेका दोस्रो, तेस्रो तहका नेताहरुले प्रतिक्रिया दिए पनि ओलीले अहिलेसम्म केही बताएका छैनन् । एमाले अध्यक्ष ओली प्रचण्ड नेतृत्वको सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजक समेत बन्न तयार भएका छन् । उनले अघिल्लो कार्यकालमा आफूले अघि सारेका योजनाहरु अब प्रचण्डमार्फत कार्यान्वयन गराउने र साढे दुई वर्षपछि त्यसलाई पूरा गर्ने अवसरको  रुपमा उपयोग गर्न चाहान्छन् भन्ने प्रष्ट संकेत दिएका छन् ।

ओलीले आफू नेतृत्वको सरकार ढाल्न अदालतमा सांसदहरु लाइन लागेको देखि तत्कालीन नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीको सरकार ढलाएर विरोधी शक्ति काँग्रेसको नेतृत्वमा सरकार बनाएको भन्दै कडा टिप्पणी गर्दै आएका थिए । उनले माधवकुमार नेपाललाई ‘लाज सरम पचाएको मान्छे र प्रचण्डलाई रंग फेरिरहने मान्छे’, राष्ट्रिय समस्या जस्तो अनेकौं लान्छनाको  पगरी गुथाएका थिए। 

एमाले र माओवादी केन्द्रबीच झण्डै दुई वर्षदेखिको दुश्मनी पूर्ण सम्बन्ध यतिबेला मित्रतामा बदलिएको छ । प्रचण्ड दुई वर्षपछि बालकोट र ओली पनि दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका छन् । संसदमा १० सिट जितेको एकीकृत समाजवादीसँग पनि पछिल्लो समयमा एमाले लचक रुपमा प्रस्तुत हुँदै आएको छ । एकीकृत समाजवादीसँग एकता नै गर्नेगरी एमाले नेताहरुले कसरत गरिरहेका छन् । 

आफूलाई शक्ति केन्द्रमा उभ्याउन तिक्तता पूर्ण सम्बन्धलाई मित्रतामा बदलेको एमालेले एकीकृत समाजवादीलाई समेत सरकारमा ल्याउने पहल सुरु गरिसकेको छ । यसमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि लागेका छन् । माधवकुमार नेपाल पनि सरकारलाई समर्थन गर्दै प्रचण्डलाई आफूहरुलाई बिर्साएकोमा पश्चाताप गराएर सरकारमा जान चाहन्छन् ।

काँग्रेससँग करिब डेढ वर्ष सत्ता सहयात्रा गरेका माओवादी र एकीकृत समाजवादीले काँग्रेसबारे धेरै टिप्पणी गरेका छैनन् । तर काँग्रेससँगको सत्ता यात्रा निकै उकुसमुकुस पूर्ण भएको र काँग्रेसले हेपेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको  प्रतिक्रिया सार्वजनिक भएको छ । 

जसबाट त्यो गठबन्धन विनासको दिशातिर पुगिसकेको प्रष्ट बुझ्न सकिन्छ । काँग्रेससहितको गठबन्धन टुटेर दुई ठूला वाम पार्टीसहितको गठबन्धन बनेको छ । यसमा निर्णायक अग्रसरता पनि ओलीले लिएका छन् । यसको मुख्य कारण भनेको काँग्रेससँगको गठबन्धन नफुटाएसम्म एमाले संघसहित प्रदेशमा समेत सरकारमा पुग्ने सम्भावना कम थियो ।

अर्कोतिर एमालेले जनमत धेरै पाएको भए पनि सिट संख्याका हिसाबले ठूलो क्षति भोगिरहनु परेको थियो । त्यसैले ओली यतिबेला केही नरम देखिएर माओवादी र एकीकृत समाजवादसँगको छलफलमा जुटेका छन् । संसदको प्रमुख दल काँग्रेसलाई पछि पारेर नयाँ सत्ता समीकरण बनाउन सफल भएका ओलीले अब न्यूनतम साझा कार्यक्रम निर्माणसहित नयाँ सरकारको मार्गचित्र कोर्नेछन् । ५ पुस, २०७७ मा पहिलो पटक र ८ जेठ, २०७८ मा संसद विघटन गरेर अलोकप्रियतातिर लागेका ओलीले त्यसपछि चालेका अनेकौं कदमले एमालेको सत्ता यात्रा निकै कमजोर बनेको थियो ।

सातै प्रदेशमा सरकारबाट बाहिर हुनुपरेको अर्को पीडा थियो । तर अब उनले यसलाई बदलेका छन् । ओली र त्यसपछि प्रधानमन्त्री बनेका देउवाले एक अर्कालाई कमजोर पार्न अनेकौं प्रयासहरु गरिरहे । निर्वाचन परिणामपछि देउवाले चलाखीपूर्ण रुपमा युवा नेताहरुलाई अघि सार्न र नयाँ उदाएका दलहरुलाई समेट्न प्रयास गरेनन् । बरु उनी आफ्नै सीमित घेरामा रहेर प्रधानमन्त्री बन्ने सपना देखिरहे ।

त्यसको उल्टो एमाले र माओवादी केन्द्रले नयाँ उदाएका सबै दलहरु र स्वतन्त्र सांसदलाई समेत समेटेर सरकार बनाउँन सफल भए । यसको प्रमुख खेलाडी ओली र प्रचण्ड भए । संघ र प्रदेश निर्वाचनमा भएको ठूलो क्षतिपछि एमाले र माओवादी केन्द्रभित्र वाम गठबन्धनको बहसले तीव्रता पाएको थियो । 

आफूलाई शक्ति केन्द्रमा उभ्याउन तिक्तता पूर्ण सम्बन्धलाई मित्रतामा बदलेको एमालेले एकीकृत समाजवादीलाई समेत सरकारमा ल्याउने पहल सुरु गरिसकेको छ । यसमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि लागेका छन् । माधवकुमार नेपाल पनि सरकारलाई समर्थन गर्दै प्रचण्डलाई आफूहरुलाई बिर्साएकोमा पश्चाताप गराएर सरकारमा जान चाहन्छन् । जसले निकट भविष्यमा वाम शक्तिहरु पुनः एकजुट हुने परिदृश्य देखिन थालेको छ ।