नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पेश्की लिएर फर्स्यौट नगर्ने चर्चित साहित्यकारहरू !

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पेश्की लिएर फर्स्यौट नगर्ने चर्चित साहित्यकारहरू !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७९

काठमाडौँ । लेखक साहित्यकारहरू आफ्ना लेख रचना वा भाषण र संवाद मार्फत समाजलाई आदर्श पढाइरहेका हुन्छन् । पार्टीका नेता तथा कार्यकर्तालाई सबैभन्दा नैतिकता सिकाइरहेका पाइन्छन् ।

तर, उनीहरू आफैँ चाहिँ कत्तिको नैतिक वान, आदर्शवादी, व्यवहारिक र सामाजिक छन् त ? प्रश्न उठ्नु स्वभाविक नै हो । यस्तै आफ्ना लेख रचना, भाषण वा संवादमा नैतिकता र आदर्शको पाठ पढाएर नथाक्ने समाजले वरिष्ठ मानेकादेखि नवोदित साहित्यकारहरूले समेत सरकारी निकायबाट विभिन्न शीर्षकमा नगद पेश्की लिएर सम्पर्कविहीन भएको र सम्बन्धित निकायले पटक पटक ताकेता गर्दा पनि पेश्की फर्स्यौट नै नगरेको पाइएको छ । ती लेखक साहित्यकारहरूले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विभिन्न शीर्षकमा नगद पेश्की रकम लिएर फर्स्यौट नगरेको सूचि लोकस‌ंवादलाई प्राप्त भएको छ  ।

यसरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विभिन्न आर्थिक वर्षमा विभिन्न शीर्षकमा पेश्की रकम लिएर फर्स्यौट  नगर्नेहरूमा प्रज्ञा–प्रतिष्ठान कै पूर्व सदस्य सचिव डा. ध्रुवचन्द्र गौतम, प्राज्ञ परिषद्का पूर्व सदस्यद्वय डा. केशवप्रसाद उपाध्याय र तोया गुरुङ, हालै भाषा आयोगको सदस्य नियुक्त भएका गोपाल अश्क,  प्रगतिशील लेखक संघ (प्रलेस) का अध्यक्ष डा. मधुसुदन गिरी, साझा प्रकाशन सञ्चालक समितिका सदस्य डी.पी. अर्याल लगायतका लेखक साहित्यकारहरू रहेका छन् । पूर्व सदस्य सचिव डा. गौतमले वृत्तचित्र बनाउन भनेर आ.व. २०६०/२०६१ मा  ४० हजार लिएर अहिलेसम्म फर्स्यौट गरेका छैनन् । 

यसरी नै प्राज्ञ परिषद्का पूर्व सदस्य डा. उपाध्यायले गोष्ठी शीर्षकमा क्रमशः १० हजार ३ सय सत्तरी लिएका थिए भने अर्का सदस्य गुरुङले  १८ हजार ३३ लिएकी थिइन् । भाषा आयोगका वर्तमान सदस्य अश्कले नेपाली आख्यानमा समाज विषयक गोष्ठी गर्नका लागि २०६७ जेठ २५ गते ५० हजार नगद लिएका थिए । प्रलेस अध्यक्ष डा. गिरीले लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको प्रतिमा बनाउन भनेर १ लाख ७२ हजार पाँच सय नगद बुझि लिएका थिए । साझाका सदस्य अर्यालले चित्र लेखन कार्यशाला कार्यक्रम गर्न भनेर ६३ हजार ७ सय ५० लिएका थिए । जब कि चित्र लेखन कार्यशाला गर्ने दायित्व नेपाल प्रज्ञा–प्रतिष्ठानको पर्दैन । 

यसरी नै प्रज्ञा–प्रतिष्ठानबाट सुदूर पश्चिम साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार प्राप्त गर्ने लेखक रामलाल जोशीले पनि १ लाख ५० हजार नगद लिएर पेश्की फर्स्यौट  नगरी चुपचाप बसेका छन् । युवा कवि मनोज न्यौपानेले एक पटक ४५ हजार र अर्को पटक १७ हजार रकम पेश्की लिएका थिए ।  यस्तै प्रकाशन कम्पनी चलाउने जगदीश अधिकारीले झापामा कला साहित्य उत्सव गर्ने शीर्षकमा ४२ हजार ५ सय र राजन मुकारुङले आदिवासी जनजाति चेतनाका कविता सङ्कलन तथा सम्पादन परियोजनाका नाममा ३० हजार पेश्की लिएका थिए ।  

पटक पटक सम्पर्क गर्दा पनि पेश्की लिएका लेखक साहित्यकारहरूले पेश्की फर्स्यौट  गर्नेतर्फ चासो नदिएको प्रज्ञा–प्रतिष्ठान सूत्र बताउँछ । यसरी पेश्की लिएर फर्स्यौट  नगर्नेहरू प्रज्ञा–प्रतिष्ठानमा नियुक्तिका आकांक्षी हरू हुन् । समाचार सूत्रका अनुसार यसरी पेश्की लिएर फर्स्यौट  नगर्नेहरूको सूची लामै छ । यसरी पेश्की लिने अधिकांशले काम नै नगरेको प्रज्ञा–प्रतिष्ठानका अधिकारीले जानकारी दिएका छन् ।