लोकसंवाद संवाददाता | शिक्षा | पुस १६, २०७९
शिक्षा, प्रशासन र साहित्यमा कलम चलाइरहने डा। खगराज बरालको नयाँ कृति विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन बजारमा आएको छ । लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गरेका बरालका विभिन्न अनुभूति जन्य पुस्तकहरू बजारमा आइसकेका छन् ।
शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै एक दर्जन पुस्तक पनि प्रकाशन भइसकेका छन् । तर, यो पुस्तक विगतका अनुभूतिजन्य र शिक्षा व्यवस्थापनसम्बन्धी प्रकाशित पुस्तकभन्दा भिन्न छ । यो पुस्तक सैद्धान्तिक र अनुसन्धानमूलक रहेको छ ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित छ । नौ परिच्छेदमा लेखिएको यो पुस्तकमा शिक्षक व्यवस्थापन, विद्यालय शिक्षाको इतिहास, गुरुकुल शिक्षा पद्धतिको इतिहास, आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहास, शिक्षक व्यवस्थापनका सिद्धान्त, शिक्षक व्यवस्थापनका नीतिगत व्यवस्था, शिक्षक व्यवस्थापन साहित्यको पुनरावलोकन, शिक्षक व्यवस्थापनको विश्लेषण, प्राप्ति, निष्कर्ष र सुझाव जस्ता शीर्षकमा राखिएको छ ।
अन्त्यमा पाँचवटा अनुसूचीहरू रहेका छन् । कुल २२७ पृष्ठमा लेखिएको यो पुस्तकको मूल्य रु। ३९० राखिएको छ । भुँडीपुराण प्रकाशनले देशका मुख्य मुख्य सहरमा यो पुस्तक उपलब्ध हुने जनाएको छ ।