चार्वाकको नीति समाज र मानवीय शरीरको रक्षार्थ स्पष्ट सन्देश : ऋणं कृत्वा घृतम् पिवेत् !

फर्कलान् र ती दिनहरु

चार्वाकको नीति समाज र मानवीय शरीरको रक्षार्थ स्पष्ट सन्देश : ऋणं कृत्वा घृतम् पिवेत्  !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  पुष १६, २०७९

हामी आफ्ना अतीतलाई स्मरण गर्दैगर्दा अनुभूतिलाई पनि दार्शनिक लेपन लगाउन चाहन्छौँ र भन्छौँ म त त्यस्तो मान्छे होइन या म त आफ्नो सिद्धान्तमा अडिग मान्छे हो पनि भन्ने गर्दछौँ । आफ्नो परिवारका बारेमा जानकारी जति राखेका हुन्छौँ, त्यसैबाट आफूलाई चिन्ने कोसिस गरिरहेका हुन्छौँ ।  

अनि हामी आफ्नो जीवन कसरी बाँचेका छौँ, त्यसकै पक्षमा जानेर वा नजानेर पक्षपोषण गरिरहेका हुन्छौँ । यसरी चल्दै आएको चलनलाई नै संस्कार पनि भनिएको होला । अहिले हामी नेपालीहरु विश्वका अनेक देशमा छरिएर बसेका छौँ र ती देशमा मिलेर बसेका छौँ । 

कति कुरामा त पुरानो चलन नै बिर्सन थालिएको छ र ती अहिले कथामा सीमित भएका छन् । यसो हुनुमा समाजको गतिशीलता पनि हो, देखासिकी पनि हो र पहिलेभन्दा परिवारहरूको संख्या बढेर नयाँ समाजको सृजना भएकोले पनि हो । यो समस्या हाम्रो मात्रै होइन, विश्वमा नै यसप्रकारको नयाँ संस्कृतिको उत्पादन हुन थालेको छ । यसले अर्को कुराको पनि संकेत गर्छ , मानिस भन्ने एउटै जात हो र उसले कसरी बाँच्ने भन्ने बारेमा जस्तोसुकै अवस्थाको पनि सामना गर्छ र त्यससँगै मिलेर त्यसैमा आफूलाई समायोजन गर्छ पनि । 

ब्रह्माण्डको कुरा गर्दै गरौँला, अहिले यही पृथ्वीको कुरा गरौँ । धर्मको उत्पत्ति कसरी भयो होला ? यसका धेरै उदाहरणहरु र भनाइहरु पाइन्छन् र पनि आधिकारिक भनाइका लागि पूर्वीय सभ्यताको सबैभन्दा पुरानो अपौरुषेय तर श्रुति प्रधान वेदलाई मानिन्छ । वेदलाई आफ्ना आफ्ना तरिकाले व्याख्या गरिएको छ । माध्यमिक कालमा वेदलाई पनि परिमार्जन गरियो र धार्मिक शास्त्रको रुपमा प्रस्तुत गरियो । त्रिवेदलाई चार वेदका रुपमा, अठार पुराण तथा अठार उपपुराण र अन्य अनेक ग्रन्थ तयार गरियो तर ती सबै  श्रुति प्रधान रहे । स्मृतिमा रहेका कुराहरुले आजको समयमा ग्रन्थको रुप लिएका हुन् । 

जहिले पनि समाजमा दुई समूह हुन्छ आस्तिक र नास्तिकको दार्शनिक रुपमा । मत कसले कहिले स्थापित गरेको हुन्छ भन्ने कुरा आधुनिक कालमा आएर स्पष्ट हुन थालेको छ । जस्तो कि बौद्ध परम्पराको जगमा वेद देखिन्छ र पूर्वका कन्फ्युसियस या ताओ या अन्य चिनियाँ दार्शनिक परम्परा, कोरियन परम्परा , जापानी परम्परा, कम्बोडियन परम्परा या पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका आधारभूत परम्परा र अनेक विचारहरु वेद र बौद्ध परम्परासँग मिलेका पाइन्छन् । जब हामी थाइल्यान्ड या कम्बोडिया या इन्डोनेसियाका कुरा सुन्छौँ, तिनलाई आफ्नो परम्परासँग दाँजेर हेर्छौँ ।

धेरैजसो कुराहरुमा कतै न कतै मिलेको पाउँछौँ । त्यतिमात्र होइन, इराक, इरान, अफगानिस्तान, पाकिस्तान, पहिलेका सोभियत संघमा रहेका तर अहिले एसिया र युरोपमा बाँडिएका राज्यहरूका चलनहरूलाई पनि हामी आफ्ना दर्शन र चलनसँग दाँजेर हेरेका हुन्छौँ । त्यसो त त्यहाँ पनि, अन्य समाजहरू पनि गतिशील अवस्थामा तीब्र गतिमा परिवर्तन भइरहेका छन् जुन स्वाभाविकै हो । अहिले हामी नेपालमा धार्मिक स्वतन्त्रताको प्रयोग भएको पाउँछौँ र धर्म निरपेक्षताको रुपमा नयाँ समाजको विकास भएको पाउँछौँ। मात्र इस्लाम धर्ममा आफ्नो संस्कृति र संस्कार प्रति अपरिवर्तनीय सोच देखिन्छ तर त्यहाँ पनि सूक्ष्म रुपमा अवलोकन गरेमा विश्वव्यापी परिवर्तनको प्रभाव देखिन्छ ।

एउटा समाज र अर्को  समाज, एउटा धर्म र अर्को धर्म, एउटा संस्कृति र अर्को संस्कृतिले एकअर्कालाई प्रभाव पारेको हुन्छ । एउटामा आउने परिवर्तनको आधारमा अर्को समाजमा परिवर्तन अवश्यंभावी देखिन्छ । समाजको परिवर्तनशील स्वभावले नयाँ नयाँ धर्म र नयाँ नयाँ संस्कृतिको विकास पनि हुन्छ । त्यसो त मानवीय स्वभाव हो, नयाँको खोजी गर्ने र फेरि पुरानो चलनमा गर्व गर्दै त्यही ठाउँमा  फर्कने । फर्केर त्यही ठाउँमा आउँदा तर पुरानै समाज पनि हुँदैन, त्यही समझमा पनि समाज रहेको हुँदैन र परिमार्जन भएर समायोजन गरिएको हुन्छ जसलाई विनिर्माण भनिन्छ । निर्माणमा वा स्थापित मान्यतामा आएको अनौठो परिवर्तन जुन ठ्याक्कै पुरानो अवस्थामा स्थापित हुन सक्दैन ।

नेपालको समाजमा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक फाँटमा एकैपटक नयाँ यात्रा सुर भएको भनेको २००७साल फागुन ७ गतेबाट हो । त्यसलाई राजनीतिक परिवर्तन मात्र मान्न सकिँदैन । त्यसलाई एउटा धारले अहिले पनि अपूर्ण राजनीतिक परिवर्तन मानेका छन् भने धेरै नेपालीले नयाँ गन्तव्यको खोजीको रुपमा प्रस्थान विन्दु मानेका छन् । सात सालको परिवर्तनपछि मुलुकमा राजनीतिक चिन्तनका आधारमा समाज विभाजित भयो तर आफ्ना आफ्ना सिद्धान्तलाई समाजमा स्थापित गरेर भावी राज्य सञ्चालनको आधार बनाउन लागिपरेका थिए दलहरु । त्यो हाम्रो समाजमा एउटा नयाँ प्रयोग हुन थालेको थियो जुन त्योभन्दा पहिले अनुभव गरिएको थिएन । प्रजातान्त्रिक वातावरणको प्रयोगले कति पुरातन पन्थ ढले, कति नयाँ प्रचलनहरू जन्मिए । 

हाम्रो समाज आस्तिक हो कि नास्तिक या मध्यम मार्गी ? परिवर्तनले के देखाउँछ ? समायोजन कि  नयाँ संस्कारको जन्म हुने प्रसव वेदना ? यिनै वरिपरि चार्वाकको सिद्धान्तका बारेमा प्राप्त सामग्रीको विवेचना गर्नु आवश्यक भएको छ  । चार्वाकको सिद्धान्त हाम्रो मनको कुनामा रहेका अविश्वासी कुराहरुको पुञ्ज प्रतिको अविश्वास हो कि मानवीय चाल चलनको नयाँ अवतार ?

म यहाँ एउटा आफूले भोगेको पुरातन चलन र नयाँ परिवर्तनको सीमाभित्रको चलनको अनुभूति राख्न चाहन्छु । जस्तो कि दलहरु खुले । दलहरुले आफ्ना आफ्ना सभा समारोह गर्न थाले । नेपाली कांग्रेसले आफूलाई प्रगतिशील पक्ष र पुरातन पन्थको बीचबाट लिएर जान चाह्यो । राणाका पक्षधरहरुले पुरानै व्यवस्थाको पक्षमा आफूलाई उभ्याउन थाले । कम्युनिस्टहरुको दुईवटा पक्ष सँगै देखियो- एउटा अग्रगामी सोच भनेर भारतका कम्युनिस्टहरुको नक्कल, चिनियाँ र सोभियत संघका शासकहरुको नक्कल, नेपाली कांग्रेसको उग्र विरोध गर्नका लागि नयाँ नयाँ चलनको खोजी । अर्थात् कम्युनिस्ट संस्कृतिको सुरुवात गर्नका लागि सर्वप्रथम नास्तिकताको तयारी, धर्म प्रतिको नकारात्मक सोचको प्रेसर, प्रगतिशीलको नयाँ अर्थ यसरी खोजियो कि जसले प्रजातन्त्रको अत्यन्त सदुपयोग गर्ने र प्रजातन्त्रकै जगमा कोदालोले खनिरहने ।

यसले फेरि नेपाली समाज अन्यौल ग्रस्त देखिएको थियो । परिवारहरूको नयाँ परम्परा सुरु भयो तर प्रचलित परम्परालाई त्याग्न आज पनि  सकिएको देखिँदैन । ब्राह्मण, क्षत्री, नेवार र आफ्ना आफ्ना चलन अनुसारका नेपाली जातजातिका परम्परा छोड्न सकेको पाइँदैन जस्तो कि छेवर गर्ने, ब्रतबन्ध गर्ने, विवाह पहिले आवश्यक संस्कार पूरा गरेर मात्र विवाह गर्ने । 

मेरो घरमा बा (रामप्रसाद उपाध्याय अधिकारी १९७६-२०६१) हुन्जेल सम्म हामी  परिवारका ब्रतबन्ध गरेका सन्ततिहरूले धोती मात्र फेरेर  भान्सामा जान्थ्यौँ । मेरो ब्रतबन्ध २०१९साल चैत्र २९ गते भयो, आजसम्म पनि बाले भनेकाले म भात खाँदा बोल्दिन । मेरो सिको गर्दै भनौँ या मेरा बाको निर्देशनमा अझै मेरो ठुलो छोरो सिद्धिविनोद पनि ब्रतबन्ध पछि भान्सामा भात खाँदा बोल्दैन । बोल्नु या नबोल्नुले खासै फरक पर्दैन तर हामी बोल्ने गर्दैनौँ ।

अझ मेरो बाले त यसो पो गर्नु हुन्थ्यो रे -नेपाली कांग्रेस पूर्व २ नम्बरको भेलामा( सिन्धुली रामेछाप र दोलखाको भेलामा) सामान्यतः आर्थिक सहयोग बा कै हुन्थ्यो रे ! भेलामा भात पकाउनेहरू बाले नै खोज्ने र जसले जसरी मिलाएर खाए पनि बा चाहिँ त्यो भिडमा धोती नै फेरेर खानु हुन्थ्यो रे ! जस्तो जाडो हुँदा पनि बाले धोती नै फेरेर खाएको मैले नै देखेँ र भोगेँ । अर्थात् समाजको गतिशीलतालाई हामीले स्वीकार गरेका छौँ र बाले पनि स्वीकार गर्नु भएको थियो तर बाको दृष्टिमा धर्मको अर्थ संस्कारको निरन्तरता थियो भने हामीले पनि संस्कारको निरन्तरतालाई जुन रुपमा भए पनि चलाएका छौँ । 

समाजमा सबै खालका मानिसहरु पहिले पनि हुन्थे, अहिले पनि छन् । एउटा पक्ष हो, अदृश्य तर शक्तिशाली कुनै क्षमताप्रति आस्था व्यक्त गर्ने र कुनै अहिलेको अवस्थाको मात्र आधारमा, देखिएका कुराहरुको आधारमा मात्र समयको, जीवन र जगतको व्याख्या गर्ने । अर्थात् आस्तिक र नास्तिकको समूहको रुपमा । यसलाई आध्यात्मिकवादी  र भौतिकवादीहरुको  समूहका रुपमा रहेको भन्न र मान्न सकिन्छ । 

क्सैले वैदिक युग नास्तिकहरुको युग हो पनि भन्ने गरेका छन् भने विश्वमा धर्मको सुरुवात नै वेदको प्रयोग गर्न थाले पछि भएको मान्नेहरु छन् । पूर्वीय संस्कृतिमा सबैभन्दा प्रभावशाली दर्शन भनेको वैदिक संस्कृति नै हो र यसले यज्ञको सुरुवात गरेको हो  र यज्ञका लागि देवताहरुको आविष्कार गरिएको हो । त्यही आस्थामा बाँधिएपछि हो भन्ने बाहेक अर्को सिद्धान्त हुँदैन ।

होइन भने अर्को सिद्धान्तको उत्पादन गरेर, नयाँ दर्शनको उत्पादन गरेर समाजलाई नयाँ बाटोमा डोर्‍याउन सक्नुपर्छ । यसमा एउटा नाम आउँछ पूर्वीय दर्शनमा-चार्वाक । कसैले ऋषिको रुपमा व्याख्या गरेका छन् । कसैले मनमा लागेका भौतिकवादी धारणाको प्रयोग गर्नका लागि चार्वाकको आडमा भनेको मानेका छन् त कसैले समाजलाई अस्थिरताको बाटोमा धकेल्न चाहनेहरूले चार्वाकको नाममा सही कुराको व्याख्या समाजमा पस्केका हुन् पनि भनेका छन् । 

हाम्रो समाजमा चार्वाकको नाममा भनिने वाक्य हो-ऋणं कृत्वा घृतम् पिवेत् । अर्थात् ऋण गरेर भए पनि यो अमूल्य मानवीय शरीरको रक्षा गर्नुपर्छ  । सकेसम्म भौतिक संसारमा भौतिकताको सकेसम्म उपयोग गर्नुपर्छ । न  त स्वर्ग छ , न त नर्क छ । न त पाप छ, न त पुण्य छ । मानवले गर्ने कामको एउटा विवरण तयार गरेर सकेसम्म यो जीवनको रक्षा र सुरक्षा गर्नुपर्छ भन्ने हो । 

हाम्रो समाज आस्तिक हो कि नास्तिक या मध्यम मार्गी ? परिवर्तनले के देखाउँछ ? समायोजन कि  नयाँ संस्कारको जन्म हुने प्रसव वेदना ? यिनै वरिपरि चार्वाकको सिद्धान्तका बारेमा प्राप्त सामग्रीको विवेचना गर्नु आवश्यक भएको छ  । चार्वाकको सिद्धान्त हाम्रो मनको कुनामा रहेका अविश्वासी कुराहरुको पुञ्ज प्रतिको अविश्वास हो कि मानवीय चाल चलनको नयाँ अवतार ?क्रमशः