राधा दुलाल कार्की : घटना, परिवेश र भोगाइले बनाएको श्रष्टा

राधा दुलाल कार्की : घटना, परिवेश र भोगाइले बनाएको श्रष्टा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष १७, २०७९

उहाँको बुवा भने कृषक । कृषि पेशामा नै हुनुहुन्थ्यो । तर, आमा भने राजनीति तथा सामाजिक काममा संलग्न हुनुहुन्थ्यो । र, महिला संगठनका पनि जोडिनुभएको थियो । परिवार नियोजनका तालिमहरु लिने तथा दिने काम पनि गर्नुहुन्थ्यो त्यो बेला । अनि पीडित महिलाहरुका विरुद्ध आवाज उठाउने, भेदभाव हुन नदिने तथा अन्यायका विरुद्ध लड्ने गर्नुहुन्थ्यो उहाँको आमा । समाजका धेरै मान्छेहरु बिहान, बेलुका धेरै विषयमा छलफलका लागि आउने गरेको पनि थाहा छ उहाँलाई आमासँग । बिहान उहाँ ब्युँझदा तथा बेलुका पनि मानिसहरु छलफल गरिरहेका हुन्थे । 

पूर्वमा त्यस बेला एक जना दाह्रा सिंह भन्ने नामी गुण्डा थिए । ती मानिस पनि उहाँको आमाकोमा आउने तथा आमाले सम्झाउने सरसल्लाह दिने गर्नुहुन्थ्यो । ती दाह्रा सिंह पनि आमासँग डराउँथे । यसरी त्यस बेलाको समाजमा एउटा सामाजिक अभियन्ताको रुपमा उहाँको बेग्लै पहिचान थियो । आर्थिक अवस्थाका हिसाबले भने आफ्नो परिवारलाई मध्यम वर्गीय परिवार भन्न रुचाउनुहुन्छ । 

उहाँको जन्म २०२९ सालमा झापाको दमक नगरपालिकामा भएको हो । उहाँको बाल्यकाल पनि अन्य आम नेपाली महिलाहरुको बाल्यकाल जस्तै बित्यो । गट्टी खेल्ने, पुतली खेल्ने, भाँडा कुटी खेल्ने, भात पकाइ खेल्ने भनेको सामान्य नै भयो । उहाँको घर नजिकै अन्य तीनवटा घर थिए । र, सानी भएका कारण खेल्न नदिने भनेर कहिले काहीँभन्दा उहाँ दुःखी पनि हुनु भएको छ ।

०००

एकजना अवकाश प्राप्त लाहुरे बाले उहाँलाई काठको फलेका मसिनो धुलो हालेर सिन्काले कखरा लेख्न सिकाउनु भयो । पछि झापाको बेलडाँगी स्थित सरस्वती निमाविबाट उहाँको प्रारम्भिक शिक्षा सुरु भएको हो । उहाँ एकै पटक तीन कक्षामा भर्ना हुनुभयो । अन्यत्र पहाडका स्कूलमा त्यस बेला पढ्नका लागि डेस्क बेन्चको अभाव हुन्थ्यो । र, कतिपय अवस्थामा त घरबाटै चकटी बोकेर जानुपथ्र्यो । तर, झापा सुगम ठाउँ अनि वन, जंगल भएको हुनाले फर्निचरको अभाव थिएन । त्यसमाथि स्कूलमा फर्निचरका लागि भनेपछि काठ पातको अभाव हुने कुरा भएन । त्यसकारण उहाँले पढ्दाको त्यस समयमा पनि डेस्क, बेन्चको राम्रै व्यवस्था थियो स्कूलमा । असुविधा थिएन । स्कूलमा गइसकेपछि पनि कापी, कलमले नै लेखेर पढ्नु भएको हो । 

झापा सुगम जिल्ला भइ कन पनि शिक्षामा महिलाहरुलाई पढ्नका लागि केहीले हुँदैन कि जस्तो गर्ने परिवार पनि नभएका होइनन् । तर, धेरैमा शिक्षाको चेतना थियो । उहाँको आफन्तका दुई छोरीहरु स्कूल जानुहुन्नथ्यो । तर, उहाँ अनि छिमेकीका छोरीहरु भने स्कूल जान्थे । उहाँको आमा राजनीतिक तथा सामाजिक रुपले पनि सचेत भएको हुनाले पढाइमा खासै बाधा भएन । उहाँको आमालाई छोरी पढेर मास्टर होस् भन्ने चाहना पनि थियो । स्कूलमा पनि महिला तथा पुरुष भनेर भेदभाव गर्ने प्रचलन भने थिएन । 

उहाँले निमावि शिक्षा पूरा गर्दासम्म प्रायः कक्षामा विद्यार्थीको उपस्थिति पच्चीस/तीस/पैंतीस यस्तै हुन्थ्यो । महिलाहरुको उपस्थिति पनि राम्रै हुन्थ्यो । झण्डै बाह्र/पन्ध्र जना महिला हुन्थे कक्षामा । महिलाहरुको त्यो सहभागिता भनेको राम्रो मानिन्थ्यो त्यस बेला । 

उहाँ निमावि शिक्षा पूरा गरेर दमकको हिमालय माविमा जानुभयो माध्यमिक शिक्षाका लागि । पढाइ राम्रो थियो । तर, समय, परिस्थिति तथा अन्य विविध कारणले उहाँले औपचारिकरुपमा माध्यमिक शिक्षा पूरा गर्न पाउनु भएन । उहाँ वैवाहिक बन्धनमा बाँधिनु भयो । तर, आफ्नो पढाइलाई भने विभिन्न माध्यमबाट र स्व अध्ययन पनि जारी राख्नुभयो । 

०००

उहाँ विवाहपछि २०५० सालमा काठमाडौँ आउनु भयो । काठमाडौँ पहिलो पटक आउँदा बसपार्कमा झरेर पशुपति गएर नुहाएको उहाँको सम्झनामा ताजै छ । काठमाडौँ  बसाइको क्रममा २०५२ सालमा उहाँ प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुभयो । त्यस यता प्रज्ञा प्रतिष्ठानमा उहाँको जागिरे कर्म निरन्तर  जारी  छ । उहाँको मनमा साहित्यकाप्रति कता कता रुचि पहिले पनि थियो । २०४६ सालमा उहाँ झापामा हुँदा एक पटक ठूलो बाढी आएको थियो । उहाँको श्रीमान भने इलाममा हुनुहुन्थ्यो त्यस बेला । अनि श्रीमानलाई सम्झिएर एउटा कथा लेख्नु भएको थियो । बाढीमा उहाँलाई श्रीमानले बचाएको भन्ने सन्दर्भ थियो कथाको । तर, त्यस बेलाको यो कथाको जतन भने भएन । तर, अहिले सम्झँदा उहाँलाई के लाग्छ भने लेख्न सक्ने र लेख्नुपर्छ भन्ने एउटा भाव भने पहिलेदेखि थियो । 

आफैँ कथा संग्रहका बारेमा सन्तुष्ट नभएका कारण पनि यसको प्रकाशनमा ढिलाइ गरिरहनु भएको उहाँले । आफैँ सन्तुष्ट नरहे सम्म पाठक कसरी सन्तुष्ट होलान् र भन्ने उहाँलाई लागेको छ । पहिलो पाठक आफैँ भएका कारण आफैँ सन्तुष्ट नरहे सम्म अरु सन्तुष्ट हुँदैनन् भनेर प्रकाशन पछाडि सारिरहेको छ । 

लेख्ने भावनालाई मूर्तरुप दिने काम भने प्रज्ञाको जागिरले गर्यो उहाँलाई । उहाँको पहिलो प्रकाशित कृति भने संवाहक लघु कथा संग्रह हो २०७० सालमा । पछि यसैलाई परिमार्जन र परिष्कृत अनि केही कथाहरु पनि थपेर उहाँले २०७१ सालमा पुनः प्रकाशन गराउनु भयो । त्यसपछि २०७५ सालमा बालकथा संग्रह पप्पी र पट्टु प्रकाशित भयो । अनि २०७८ सालमा शाश्वत आकृति कविता संग्रह प्रकाशनमा आयो । त्यसो त उहाँका थुप्रै फुटकर रचनाहरू पनि स्वदेश तथा विदेशमा पनि हिन्दी तथा अंग्रेजी भाषामा प्रकाशन भएका छन् । 

उहाँले सम्मान तथा पुरस्कार पनि थुप्रै पाउनु भएको छ । सूचक लिली युवा प्रतिभा सम्मान, २०७८, देशभक्त गणतान्त्रिक सम्मान २०७३, प्रज्ञा हीरक सम्मान २०७४, संसाक शेषचन्द्रा पुरस्कार २०७४, बीडी त्यागी प्रतिभा सम्मान २०७६, पुष्पपराग साहित्य सम्मान २०७७, प्रज्ञा दीर्घ सेवा पदक २०७८ लगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । 

उहाँ कथा संग्रह प्रकाशन गर्ने तयारीमा पनि हुनुहुन्छ । त्यसका लागि पहिलेदेखि कलम चलाएका कथा र नयाँ कथाहरु पनि संग्रह गर्ने सोचमा हुनुहुन्छ । २०५२ सालमा एचआइभीको महामारी हुँदा ताका लेखिएको एचआइभी संक्रमितहरुको कथा अनि अरु कथाहरु पनि छन् । तर, सामाजिक परिवेशका अथवा यो संग्रहले समाजलाई भने के दिन्छ भन्ने सामाजिक सन्देश बोकेका कथाहरु अलि कम भएका कारण अब सामाजिक कथाहरु लेख्दै गर्दा उहाँको कृति प्रकाशनमा ढिलाइ भएको हो । यस्ता सामाजिक कथा समावेश हुन नसकेका कारण आफैँ सन्तुष्ट हुन नसक्दा पनि प्रकाशन पछि धकेलिएको हो । 

कथा संग्रह प्रकाशनपछि लघुकथा प्रकाशन गर्ने सोचमा हुनुहुन्छ । त्यसका लागि लघु कथाहरु तयार पनि छन् । नयाँ पनि लेख्दै हुनुहुन्छ । तर, पहिले भने कथा संग्रहमा ध्यान दिएर त्यसलाई नै राम्रो बनाउँदै लघुकथाका बारेमा उहाँ सोच्दै हुनुहुन्छ । आफैँ कथा संग्रहका बारेमा सन्तुष्ट नभएका कारण पनि यसको प्रकाशनमा ढिलाइ गरिरहनु भएको उहाँले । आफैँ सन्तुष्ट नरहे सम्म पाठक कसरी सन्तुष्ट होलान् र भन्ने उहाँलाई लागेको छ । पहिलो पाठक आफैँ भएका कारण आफैँ सन्तुष्ट नरहे सम्म अरु सन्तुष्ट हुँदैनन् भनेर प्रकाशन पछाडि सारिरहेको छ । 

उहाँ आफ्नो प्रकाशित कृतिमध्ये कविता संग्रहमा भने निकै सन्तुष्ट हुनुहुन्छ । यसमा उहाँले सानो मै आफ्नो आमा बितेका समयदेखि अहिले आफूले भोगेको समयसम्मको सिंगो जीवन नै समेट्नु भएको छ । यसकारण पनि यसमा सन्तुष्ट देखिनुहुन्छ उहाँ । उहाँले आफुले देखेका, भोगेका र त्यस बेलाको सामाजिक अवस्था तथा परिवेशलाई पनि संग्रहमा समेट्नु भएको छ । 

लघुकथाका सन्दर्भमा पनि उहाँका यही जीवन भोगाइ र समाजको यथार्थता लागू हुन्छ । लघुकथामा पनि उहाँले बुवा, आमा, परिवार, सामाजिक तथा राजनीतिक परिवेशका घटना परिघटना समावेश गर्नुभएको छ । उहाँ आफ्नो कथामा उच्च वर्ग नसमेटिएको तथा मध्यम, निम्न मध्यम तथा अहिले भोगिरहेको जीवनको यर्थाथ तथा सच्चाइ समेटिएको स्वीकार गर्नुहुन्छ । 

०००

उहाँले ललितकलामा झण्डै दश वर्ष काम गर्दा पहिले पहिले राजाको जन्मोत्सवमा राजपरिवार तथा प्रज्ञा प्रतिष्ठानमा काम गरिरहँदा वरिष्ठ देखि कनिष्ठ अनि नाम चलेकादेखि संघर्ष गर्दै गरेका थुप्रै साहित्यकार देख्नुभएको छ । वरिष्ठ, कनिष्ठ अनि उपल्लो दर्जाका मानिसहरु सधैँ उहाँका कथाका पात्र भएर पनि आएका छन् र आफ्नो जीवन के हो त भन्ने पनि नियाल्न पाउनु भएको छ । 

पुस्तकका पानाहरूमा भेटिने गरेका साहित्यकारहरूलाई प्रत्यक्ष देख्ने भोग्ने मौका पनि पाउनु भएको छ । प्रत्यक्ष देख्दा, भोग्दा र साहित्यका पानामा देखिने अनुहारको भिन्नता पनि उहाँले राम्रै देख्नु भएको छ । यसलाई उहाँ आफ्नो जिन्दगीको आनन्दको क्षण मान्नुहुन्छ । यसले उहाँलाई अफिस जाने उर्जा तथा जीवन के हो भनेर हेर्ने वास्तविक ज्ञान दिएको छ । जुन निश्चय पनि किताबको भन्दा फरक छ । 

उहाँले सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, श्यामदास वैष्णवदेखि राजेश्वर देवकोटा, डिपी भण्डारी सम्मलाई प्रत्यक्ष भेटघाटको अवसर पाउनु भएको छ । यसले साहित्य सृजनामा उर्जा थप्ने कुरा त छँदैछ । जीवनमै पनि सकारात्मक उर्जा थप्ने र जीवनलाई कसरी सहज र सरल बनाउने भन्ने कला पनि सिकाए जस्तो लाग्छ । 

साहित्यमा आदर्शका ठूला कुरा भए तर, जीवनमा भने त्योभन्दा ठीक विपरीत व्यवहार धेरै साहित्यकारका देखेका कारण पनि उहाँ आफ्नो जीवन र लेखनीलाई सकेसम्म सन्तुलित र सरल बनाउने पनि कोशिश गर्नुहुन्छ । यसमा धेरै साहित्यकारको जीवनीबाट पनि उहाँले शिक्षा लिनु भएको छ । एकप्रकारले अरुका जीवन उहाँका लागि जीवन जिउने गुरु, कला र मन्त्र पनि भएको छ । 

जे जहाँ रहन्छौं, जस्तो रहन्छौं व्यवहारमा पनि त्यसलाई केही न केही उतारौँ भन्ने उहाँलाई लाग्छ । राष्ट्र, राष्ट्रियताप्रति सम्मान गर्दै आर्दश र इमान्दार जीवन व्यतित गर्नुपर्छ भन्ने उहाँको मान्यता छ । 

आङसाङ सुकीलाई हालै भ्रष्टाचारका विरुद्धमा गरिएको जेल सजायले उहाँलाई कताकता दुखेको छ । दुखेको यस कारणले यसमा आवाज उठाउने खासै मानिस देखिएन । त्यसो भन्दा पनि जीवन र यथार्थतामाथि मानिसले आवाज उठाउन छोड्यो र स्वार्थ प्रेरित भएर काम गर्न थाल्यो अनि साहित्य पनि यस्तै रङ मिसिएकोमा भने उहाँ   चिन्तित हुनुहुन्छ  । यस्ता घटनाले उहाँलाई पीडा दिन्छ । अनि पीडाले केही सृजना पनि गराउने गर्छ । पीडाले दुःखी बनाए पनि सृजनाका माध्यमबाट त्यसमा मल्हम लगाउँदै उहाँ साहित्य कर्ममा अघि बढी रहनु भएको छ ।