नेपालको आन्तरिक मामिला : चीन र भारतको हस्तक्षेपमा प्रतिस्पर्धा किन ?

नेपालको आन्तरिक मामिला : चीन र भारतको हस्तक्षेपमा प्रतिस्पर्धा किन ?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बने लगत्तै दुई छिमेकी देश भारत र चीनबीच बधाई दिन तथा सहकार्यको प्रस्ताव राख्न तँछाडमछाड चल्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री भएलगत्तै बधाई दिए । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले पनि प्रचण्डलाई बधाई सन्देश पठाए र नेपाल सरकारसँग सहकार्य गर्न चाहेको उल्लेख गरे । हालैमात्र चीनले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) अन्तर्गत नेपालसँग द्विपक्षीय सहकार्य गर्न चाहेको उल्लेख गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयले नेपालसँग बेल्ट एन्ड रोड (बीआरआई) को अवधारणाभित्र उच्च गुणस्तरको सहयोग अघि बढाउन चीन इच्छुक रहेको पनि उल्लेख गरेको छ ।

नेपालले गत वर्षमात्रै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गरेको थियो । एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको एक हिस्सा भएको दाबी हुँदै आएको छ । नेपाल अमेरिकी सुरक्षा छाताभित्र जाने त्रासमा रहेको चीन नेपाललाई आफ्नो सुरक्षा छातामा राख्न चाहन्छ । 

जीएसआई, जीडीआई र बीआरआई चीनका तीन अवधारणामध्ये जीडीआई र बीआरआई भौतिक पूर्वाधार विकाससँग जोडिन ल्याइएका हुन् भने जीएसआई चीनको नयाँ सुरक्षा योजना हो । 

नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेको छ । सन् २०१७ देखि नेपाल बीआरआईमा आबद्ध भएपछि छनौट गरेका ९ वटा परियोजनामध्ये नेपाल–चीन सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनको काम सुरु हुन लागेको छ । 

चीनले सन् २०२१ मा सेप्टेम्बरमा ल्याएको जीडीआई सन्तुलित, समन्वयात्मक र समावेशी आर्थिक विकासका साथै संयुक्त राष्ट्रसंघीय दिगो विकासका लक्ष्य (एसडीजी) हासिल गर्न विकासशील मुलुकलाई सघाउने उद्देश्यले ल्याइएको हो । 

चीन पछिल्लो समयमा लगातार सरकारसँग रणनीतिक साझेदारी गर्न कोशिस गरिरहेको छ । नेपाल अमेरिका र भारतसँग नजिक हुने त्रासका कारण चीन नेपालमा आफ्नो प्रभाव बढाउन चाहन्छ । गत सातामात्रै चीनले लामो सयमदेखि बन्द नाका खुलाएको थियो । 

ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) चीनले विश्व सुरक्षाका लागि अघि सारेको अवधारणा हो । नेपाल यसमा सहभागी हुनेबारे कुनै निर्णय गरेको छैन । चीनले नेपालसँगको कूटनीतिक वार्तामा जीएसआईबारे पटकपटक कुरा उठाए पनि नेपाल मौन रहँदै आएको थियो । जीएसआईलाई प्रवद्र्धन गर्नेगरी चीनले गत असोजमा आयोजना गरेको एक सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएपछि त्यसले चर्चा र विवाद निम्त्याएको थियो । उक्त सम्मेलनमा भाग नलिन राष्ट्रपतिलाई परराष्ट्र मन्त्रालयले लिखित रुपमै सुझाव दिए पनि राष्ट्रपति सहभागी भएकी थिइन् । 

चीन पछिल्लो समयमा लगातार सरकारसँग रणनीतिक साझेदारी गर्न कोशिस गरिरहेको छ । नेपाल अमेरिका र भारतसँग नजिक हुने त्रासका कारण चीन नेपालमा आफ्नो प्रभाव बढाउन चाहन्छ । गत सातामात्रै चीनले लामो सयमदेखि बन्द नाका खुलाएको थियो । 

यता भारत पनि पछिल्लो समयमा नेपालसँग सम्बन्ध नजिक बनाउन कोशिस गरिरहेको छ । प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै भारतीय सञ्चारमाध्यमले चीन निकट प्रचण्ड नेपालको प्रधानमन्त्री बनेको भन्दै समाचार सम्प्रेषण गरेका थिए । भारतीय मिडियाले अहिलेसम्मका सबै प्रधानमन्त्रीले पहिलो भ्रमण भारतको गरेका र प्रचण्डले सन् २००८ मा चीनको पहिलो भ्रमण गरेका स्मरण गर्दै चीन निकट प्रचण्ड भनेर प्रचार गरेका छन् । २००८ मा बेइजिङ ओलम्पिकको उद्घाटनमा भाग लिन प्रचण्ड चीन गएका थिए ।

प्रचण्डले केही महिनाअघि मात्रै भारतको भ्रमण गरेका थिए । तर त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएन । जसलाई मोदी प्रचण्डप्रति सकारात्मक नरहेको संकेतका रुपमा लिइएको थियो । प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई बधाई दिँदै मोदीले नेपाल भारत सम्बन्धलाई थप बलियो पार्न मिलेर काम गर्ने उल्लेख गरेका थिए । भारतले पनि नेपालसँग सहकार्यका लागि विभिन्न प्रस्तावहरु अघि सारिरहेको छ । नयाँ सरकार गठन लगत्तै आफू अनुकूल बनाउन कसले सक्ने भन्ने भारत र चीनबीच प्रतिस्पर्धा गरिरहेका छन् ।