आत्मावाद र अनात्मावाद एउटै सिक्काका दुई पाटा पो हुन् कि ?

फर्कलान् र ती दिनहरु

आत्मावाद र अनात्मावाद एउटै सिक्काका दुई पाटा पो हुन् कि ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  पुष २३, २०७९

आध्यात्मिकता भनेको धार्मिक आस्था हो कि मानवीय अवधारणा ? व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशले भन्छ-ब्रह्म वा जीवसम्बन्धी/आत्मासम्बन्धी । आध्यात्मिक ज्ञान भनेको आत्मतत्वसँग सम्बद्ध ज्ञान । आत्मालाई कसरी परिभाषित गर्ने भन्नेमा पनि एकमत देखिँदैन किनभने संस्कृतमा आत्माका धेरै अर्थ पाइन्छन् र पनि साधरणतया आत्माले व्यापक रुपमा मान्नेचाहिँ के हो भने आत्मा भन्नाले जीव, ब्रह्म र प्रकृति ।

आत्मासम्बन्धी चिन्तन गर्ने दर्शन मूलतः दुई प्रकारका मानिन्छन्-आत्मवादी र अनात्मवादी । आत्मवादी आत्मालाई प्रकृतिदेखि अलग पदार्थ विशेष मान्दछन् भने अनात्मवादी चैतन्ययुक्त शरीरलाई नै आत्मा मान्दछन् र ज्ञान प्राप्त गर्ने साधनहरूमध्ये इन्द्रिय, प्राण, मन, बुद्धि र अहङ्कार नै आत्मा हो भन्ने अनात्मवादीहरुको धारणा छ । पूर्वीय दर्शनमा अनेक शाखाहरु छन् र प्रत्येक दर्शनले शरीर, प्राण, आत्मा, विवेक, बुद्धि र धारणालाई अनेक तरिकाले परिभाषित गरेका छन् तर पनि आत्माको तत्व भौतिक हो कि आध्यात्मिक हो भन्ने कुरामा भने सधैँ विवाद रहेको छ । 

शरीरलाई नै आत्माको बासस्थान मानिने कुरामा भने कसैको पनि विवाद देखिएको छैन । सृष्टिको आदिकाल देखि नै अझ भनौँ जहिलेदेखि चेतनाको प्रयोग गर्न थालियो आफ्नो परिचय र जीवनको सहजता अनि समाजको सृजनातर्फ, त्यही बेलादेखि प्रकृतिप्रतिको धारणा राख्न थालियो । कसैलाई लाग्यो होला, यी जीवन र जगतका यावत् सबै कुराहरु प्रकृतिका देन हुन् र फगत् प्रकृतिका अनुशासनभित्र पर्ने हुन् । देखिएको ब्रह्माण्डसमेत प्रकृतिका आवश्यक अवयवहरु हुन् र त्यसैलाई आधार बनाएर अनुसन्धान सुरु भएको देखिन्छ ।

अनि आत्मालाई केन्द्रमा राखेर अनुसन्धान गर्नेहरूलाई लाग्यो होला कि यो प्रकृतिकै सृजना कसले गरेको होला? पक्कै पनि त्यस्तो कुनै शक्ति हुनुपर्छ जसले संसारलाई सृजना मात्र गरेको होइन, ब्रह्माण्डका सबै कुरामा उसले आफ्नो नियमित पकड राखेको छ र सबैको छिनछिनको अनुगमन गर्ने प्रणाली विकास गरेको छ, जुन हामी नाङ्गा आँखाले देख्दैनौँ जस्तो कि प्राण वायु जसलाई अहिले हामी अक्सिजन भन्ने गछौँ, देखिँदैन र पनि त्यो नभई हामी जीवित रहन सक्दैनौँ भन्ने महसुस गरेका छौँ , भोगेका छौँ । एकातिर आत्मा कहिल्यै मर्दैन बरु त्यसले ठाउँ सर्छ भनिन्छ भने कसैले शरीरको अन्त्यसँगै त्यो प्राणीको आत्मा पनि समाप्त हुन्छ भन्ने मानेका छन् र त्यसैलाई  अनात्मवादी दर्शनको रुपमा मानिएको हुनुपर्छ ।

आत्माको अस्तित्वको स्थायित्व र क्षणिकतासँग आत्मावादी र अनात्मावादी विचारको धारणा मात्र आएन, वैचारिक द्वन्द्व पनि सुरु भयो । त्यही अनुसारका परिणामहरूलाई संसारमा विकसित गरियो र आज पनि भौतिक वादसँग आध्यात्मिक वादको वैचारिक युद्ध कायम छ । 

समाजको गतिशीलता भनेको नै विचारको मन्थन हो र त्यसको प्रयोग हो । शिवका कुरा हुन् या विष्णुका उपदेशहरु हुन् या  श्रीकृष्णका उपदेशहरुको कुरा हुन् , या वृहस्पति सूत्रका बारेमा नयाँ व्याख्याको आवश्यकता होस्, सबैको दुई पक्ष देखिन्छ , आत्मावादी पक्ष र अनात्मावादी पक्ष । आध्यात्मिक पक्ष र भौतिकवादी पक्ष । तर एउटा पक्ष र अर्को पक्षको अभिन्नता पनि व्याख्या गर्न सकिन्छ ।

अनात्मवादी दर्शनको रुपमा मानेको भौतिकवाद या भौतिकताले मात्र जीवन र जगतको उत्पत्ति र संरक्षण भएको मान्दा सृष्टिको सुरुवाततिरको अवस्थामा जानुपर्छ । अनात्मवादको जडमा मन्थन गरेर आध्यात्मिक वाद वा आत्मावादको दर्शनको प्रयोग गरिएको पाइन्छ जस्तो कि अमर धार्मिक राजा श्री ध्रुव जसलाई हामी अहिले पनि प्रकृतिको एउटा स्थिर ताराको नाम समेत दिएका छौँ, उनकै वंशमा राजा अङ्ग थिए र उनको एक जना अधार्मिक कन्या सुनीथासँग विवाह भयो र पुत्रेष्टि यज्ञबाट उनीबाट जन्मिएका छोरा बेन अङ्गलाई देशबाट निकाला गर्ने अवस्थामा पुर्‍याएर आफैँ राजा भए ।

जब उनी राजा भए, उनले भनेछन्- न यष्टव्यं न दातव्यं न होतव्यं द्विजा क्वचित् । इति न्यवारयद्धर्मं भेरीघोषेण सर्वशः।। अर्थात् आजदेखि मेरो राज्यमा कसैले धर्मकर्म, पाठपूजा र यज्ञहरु गर्न नपाऊन् । पछि यिनै राजालाई विद्रोही जनताले , ऋषिहरुले मारेर उनको हात मन्थन गरी एकजोडी उत्पन्न गरे जसलाई राजा पृथुको रुपमा मानिन्छ । अर्थात् आत्मावादी जमात र अनात्मावादी जमातका बिचमा सुरु भएको त्यो विवाद,युद्ध र संघर्ष आज पनि कायम रहेको रहेछ भन्ने मान्नुपर्छ । 

त्यसो त प्रत्येक पीँढी अघिल्लो भन्दा आफूलाई गतिशील र प्रगतिशील मान्ने गर्छ । सधैँ त्यही नीति प्रयोगमा नआउन सक्छ किनभने उग्र परिवर्तनपछि त्यहाँ शान्ति समयको अवस्था आउँछ जसले विनिर्माणको अवस्था ल्याउँछ र सहजीकरणको उपाय निकालिन्छ । 

 आध्यात्मिकता र आत्मावादी विषयका विरुद्धमा उभिएका आदि राजा बेनको प्रवृत्तिलाई प्रत्येक युगमा, कल्पमा पुनरावृत्ति गरिएको या त्यस्तो भएको पाइन्छ । आधुनिक कालमा पनि भौतिकवाद र आध्यात्मिक वादका बिचमा देखिएको संघर्षलाई दार्शनिक पुष्टि कसरी गर्न सकिएला ? त्यसो त प्रत्येक युग या कल्पमा विनिर्माण हुने गर्छ विचारको पनि, अवस्थाको पनि र ब्रह्माण्डको पनि । आज पनि करोडौँ ताराको अनुसन्धान हुन बाँकी छ र हाम्रो अस्तित्वका बारेमा हामी कसरी उत्पन्न भयौँ भन्ने नै पनि रहस्यमय देखिन्छ । 
चार्वाकको बारेमा मैले खासै साहित्य या जानकारी पाइन किनभने चार्वाक भन्ने व्यक्तिको अस्तित्वप्रति नै कुनै आधिकारिकता पाइँदैन । तर चार्वाकले प्रत्येक सभ्यतालाई भने प्रभाव पारेकै रहेछ किनभने त्यसमा एउटा समयको, उमेरको जिज्ञासालाई सम्बोधन गरिएको रहेछ  ।

चार्वाकलाई कसैले ऋषिको रुपमा मानेको पाइयो किनभने त्यस्तो दर्शन दिने भनेको पूर्वमा ऋषिहरुले आफ्नो लामो अध्ययन र अनुशीलनपश्चात् मात्र सार्वजनिक गरेका हुन्थे । कसैले चार्वाकलाई भौतिकवादी दर्शनको एउटा प्रतीकात्मक विम्बका रुपमा व्याख्या गरेको पाइयो । आत्माको अस्तित्व भनेको शरीर हुँदासम्म मात्र हो किनभने कुनै आत्मा भन्ने स्थायी तत्त्व छैन, मरेपछि जाने भनेर भनिएको स्वर्ग पनि छैन, नरक पनि छैन, धर्म र पाप पनि छैन । स्वर्ग, नरक, पाप, धर्म भनेको बनाइएको नियम मात्र हो, कुनै देवता छैनन् , कुनै राक्षस छैनन्, कुनै असुर छैनन् र कसैले पनि कसैलाई हस्तक्षेप गर्नु हुँदैन । प्रकृतिले दिएको सामानको प्रयोग सबैले समान तरिकाले गर्नुपर्छ भन्ने चारुवाक्य बोल्नेलाई चार्वाक भनिएको मानिँदो रहेछ । 

त्यसो त पूर्वीय दर्शनको महत्त्वपूर्ण दार्शनिक वृहस्पतिले पनि यज्ञ, वेद तथा सन्वासीप्रति तीव्र विरोध गरेको पाइन्छ । त्यसमा पनि कसैले वृहस्पति नै चार्वाक हुन् भनेका छन् भने कसैले देवताका गुरुबाट अनीश्वर वादी दर्शनको उत्पत्ति भएको पक्कै होइन, त्यस्तै नाम भएको अर्को कुनै ऋषिले आफूलाई भौतिकवादी, अनीश्वर वादी र प्रकृतिप्रति सम्पूर्ण विश्वास गर्ने अनात्मिकवादको सृजना गरेर व्याख्या गरे र त्यस्ता समूहहरुको नेतृत्व गरे होलान् ।

आगो आफैँ तातो छ, सूर्य आफैँ उज्यालो दिन्छन् , पृथ्वी आफैँ आफ्नो अनुशासनमा रहेको छ , पानी चिसो छ, पानीबाट बाफ बन्दै फेरि पानी नै बन्छ भने कसैले के बनाएको मान्ने भन्नेहरुले नै चार्वाकको नीति भनेर प्रचार गरेकै देखिन्छन् । अझ हाम्रो सुख भोग्ने ठाउँ भनेको यही संसार नै हो , त्यसैले बाँचुन्जेल सकेसम्म सुखभोग गर्ने हो भनिएको चार्वाक् दर्शनमा यसो पनि भनिन्छ-श्राद्ध गर्नु एउटा देखावटी काम मात्र हो, श्राद्धमा दिएको कुरा पाइने हो र स्वर्ग वा पितृलोकमा भने परदेश गएको मानिसका नाममा दिएको खाद्य पदार्थ किन उसले खान पाउँदैन त ? मरेको, अस्तित्व नरहेको शरीर जसलाई पृथ्वीमा नै समाप्त पारिएको हुन्छ, माटोमा मिलिसकेको हुन्छ , फेरि त्यसलाई नै दिएको दान कसरी उसले पाउला ? जति खाने हो, यहीँ बाँच्दा नै खाने हो, खुवाउने हो । ऋणं कृत्वा घृतं पिबेत् । ऋण गरेर पनि यहाँ नै खाने हो , नसाँच्ने हो । 

त्यसैले होला, चार्वाक दर्शनलाई नास्तिकवादको दर्शनको रुपमा लिइएको । त्यसो त अहिले पनि आध्यात्मिक संस्था हौँ भन्ने आध्यात्मिक गृहको जिम्मा लिने गुरुहरुको वर्चस्व जति बढी भौतिक सम्पत्ति जोडिएको छ, त्यति नै समाजमा पहुँच बढेको देखिन्छ । मन्दिर, मठ, गुम्बा, मस्जिद, गिर्जाघरको संग्रहलाई नै आध्यात्मिकताको प्रचार प्रसार मानिन्छ । 

समाजको अग्रगतिसँगै विचारको विनिर्माण हुन्छ र विचारहरुको नयाँ नयाँ स्वरुप देखिन्छ ।  समाजको गतिशीलता भनेको नै विचारको मन्थन हो र त्यसको प्रयोग हो । शिवका कुरा हुन् या विष्णुका उपदेशहरु हुन् या  श्रीकृष्णका उपदेशहरुको कुरा हुन् , या वृहस्पति सूत्रका बारेमा नयाँ व्याख्याको आवश्यकता होस्, सबैको दुई पक्ष देखिन्छ , आत्मावादी पक्ष र अनात्मावादी पक्ष । आध्यात्मिक पक्ष र भौतिकवादी पक्ष । तर एउटा पक्ष र अर्को पक्षको अभिन्नता पनि व्याख्या गर्न सकिन्छ । मेरो अनुभवले त्यसै भन्छ । क्रमशः