व्यावसायिक पत्रकारिता : उत्तरदायी पाठक/दर्शक/श्रोताप्रति कि विज्ञापन दाता प्रति ?

बहसमा सञ्चार

व्यावसायिक पत्रकारिता : उत्तरदायी पाठक/दर्शक/श्रोताप्रति कि विज्ञापन दाता प्रति ?

विष्णुहरि ढकाल  |  दृष्टिकोण  |  पुष २४, २०७९

नेपालको सहकारी आन्दोलनलाई गति प्रदान गर्न सूचना तथा सञ्चारको क्षेत्रबाट हाम्रो नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ लिमिटेड (निक्कु) ले निकै ठुलो योगदान दिएको विषय प्रति हामी गौरव गर्दछौं । सहकारी मैत्री नीति, रणनीति, ऐन, नियम निर्माण गर्न र पालना गर्न गराउन सूचना, बिचार र जनचेतना अभियान सञ्चालन गर्नू, सदस्य संस्थाहरुको हित अभिबृद्धि गर्नु र सदस्यहरुलाई आवश्यक सेवा प्रदान गर्नु नै हाम्रो संघको मूख्य उद्देश्य हो । हाम्रा सदस्य संस्थाहरुले सञ्चालन गरेका आमसञ्चार माध्यमहरु एफएम रेडियो, अनलाइन, पत्रपत्रिका लगायतका माध्यामबाट  सहकारी शिक्षा, सूचना र बिचारको क्षेत्रमा  उल्लेख्य कामहरु भएका छन् । यस संघले रेडियो कार्यक्रम, प्रकाशन, प्रसारण सामाग्री उत्पादन गरेर आफ्ना सदस्य मर्फत देशभरका सहकारी सदस्य र आम जनसमुदायमा सूचना, विचार र जनचेतना फैलाउने काम गरेको छ ।

यसबीचमा संघले विचार निर्माणको निम्ति  विभिन्न गोष्ठी, अन्तरक्रिया र तालिमहरूको आयोजना गरेको छ । राष्ट्रिय स्तरमा हुने यस्ता कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाएर विचार निर्माण र प्रचारमा हाम्रो संघ क्रियाशिल रहेको छ । संघले अघि सारेका कार्यक्रमहरु सफल वनाउन र सहकारी आन्दोलनमा यस संघलाई भूमिका प्रदान गर्न राष्ट्रिय सहकारी महासंघ, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, सहकारी विभाग, केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक लगायत सहकारी संघ संस्थाहरुले ठूलो योगदान गरेका छन् । संघको लक्ष एवं उद्देश्य प्राप्त गर्न यसका सदस्यहरुको भूमिका सबै भन्दा ठुलो हुने हुँदा हाम्रा सदस्य संस्थाहरु एकै लक्ष र उद्देश्यका साथ अघि वढ्न आवश्यक भएकोले सञ्चार सहकारी सम्वन्धी अवधारणा निर्माण र कार्यान्वयन गर्न छलफल गर्नु पर्ने यस सम्मानित सभाको कार्यभार रहेको हुँदा यहाँ सञ्चार सहकारीको आवश्यक्ता वारे संघको अवधारणा प्रस्तुत गर्ने अनुमति चाहन्छौ ।

मिडियाको लोकतान्त्रिकका सञ्चार सहकारीको भूमिका

अहिले विश्वमा राजनीति, अर्थतन्त्र, शिक्षा आदी सबै विषय सूचना र ज्ञानले डोर्याउँछ । राजनीतिक शक्ति प्राप्त गर्न होस् कि धन वान बन्न होस वा विद्वान बन्न होस सबैका लागि सूचना र ज्ञान चाहिन्छ ।  संचार शक्तिको रुपमा विकसित भएको छ । मानिसका अरु आधिकारिक लागि पनि सूचना र संचारको अधिकार अपरिहार्य बन्दै छ । यसैले सूचना र विचार संचार अधिकार अरु अधिकार भन्दा महत्वपूर्ण बनेको छ ।

मानव अधिकारको निगरानी गर्ने र त्यसबारे चेतना बढाउने अनि मानवअधिकार हनन् हुँदा आवाज उठाउने संस्थाहरु नेपालमा धेरै छन् । यसको दाँजोमा नागरिकको सञ्चार अधिकारको निगरानी गर्ने सस्था स्पष्ट देखिएका छैनन् । संचार अधिकार मानवअधिकारसँग छुट्याउनै नमिल्ने विषय पनि हो । तर यस वारेमा चासो राख्ने वा चेतना जगाउने काम संचारकर्मी र मिडिया हाउसहरूको हो, भनेर मानवअधिकारकर्मी संस्थाहरुले वास्ता नगरे जस्तो देखिन्छ ।

प्रेसले परम्परागत रुपमा खेल्दै आएको जन कल्याणकारी भूमिका र मिसन पत्रकारिता अहिले लोप हुँदै गएको छ । विकासशील देशलाई ग्लोवल मिडियाले गाँज्दै लगेको छ । मिडिया सम्पादक र सञ्चारकर्मीको हातबाट जाँदैछ । नाफामुखी पत्रकारिता फस्टाउँदैछ । मिडियामा जनहितका कुरा हट्दैछ ।  बिज्ञापन दाता, व्यापारी, उद्योगी र बहुराष्ट्रिय कम्पनीको हितको कुरा बढीरहेको छ । यो स्थितिमा नागरिकको संचार अधिकारको कुरा संचारकर्मी वा मिडिया हाउसहरूको जिम्मामा छाड्न मिल्दैन । नागरिक समाज यसबारे सचेत हुनैपर्छ ।

अहिले नेपाली नागरिकको हातमा आफ्नो भविष्य आफैंले कोर्ने अभूतपूर्व अवसर आएको छ । यो ऐतिहासिक बेलामा नेपालको लोकतन्त्रका लागि मिडियाले खेल्नु पर्ने भूमिका एकातिर छ भने अर्कोतिर मिडियालाई जनमुखी बनाउनका लागि मिडियाको लोकतान्त्रिक करण झन महत्वपूर्ण विषय बनेको छ । नेपालको सामन्ती परम्परामा हुर्केको समग्र संचार प्रणालीकै लोकतान्त्रिक करण गरिनु अति आवश्यक छ । 

लोकतन्त्र, जनमत, विचार र भोटबाट चल्छ । जनमत सही भएन भने वा खुल्ला र सही रुपमा अभिव्यक्त भएन भने लोकतन्त्र मासिन्छ । नागरिकलाई सुसूचित र शिक्षित बनाएर सही जनमत निर्माण गर्ने तथा जनमत सही र निर्वाध रुपमा अभिव्यक्त गर्ने काम मिडियाले गर्दछ । त्यसैले लोकतन्त्रको निम्ति स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य हुन्छ । लोकतन्त्रको सही अभ्यासको लागि नागरिकको पहुँच सीमित मिडियामा मात्र नभइ असीमित वा बहुल मिडियामा हुनुपर्दछ ।

पहिले मिडिया चलाउन उद्योगी र व्यवसायीको आवश्यक्ता पर्दथ्यो । अहिले उद्योगी र व्यवसायीलाई उद्योग व्यवसाय चलाउन आफ्नो वजार वनाउन र नाफा बढाउनुको लागि  मिडिया नभई हुँदैन । फलस्वरुप विश्वका उल्लेखनीय तथा प्रभावशाली मिडिया कम्पनीहरु उद्योगी, व्यापारी, बहुराष्ट्रिय कम्पनीहरुको हातमा जाँदैछन् ।

नागरिकलाई आफूले चाहेको विचार राख्न, आफूले रोजेको मिडियाबाट विचार राख्न अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र मिडिया (आमसञ्चारका माध्यमहरु रेडियो, टि.भि. पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल आदि) को आवश्यक हुन्छ । स्वतन्त्र मिडिया र नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको निम्ति लोकतन्त्र नभइ हुँदैन । 

कुनै देशको मिडिया कति स्वतन्त्र छ भन्ने हेरेर त्यस देशमा लोकतन्त्रको अवस्था कस्तो छ भनेर थाहा पाउने गरिन्छ । त्यसैले स्वतन्त्र मिडिया तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र एउटा रथका दुई पांग्रा  हुन्  । एउटाको अभावमा अर्काको अस्तित्व सम्भव छैन ।

मिडिया स्वतन्त्र हुनको निम्ति प्रमुख दुई विषयहरु महत्वपूर्ण छ । एउटा सम्पादकीय स्वतन्त्रता वा वैचारिक स्वतन्त्रता र अर्को आर्थिक स्वतन्त्रता । अर्काले दिएको खाएर बाँच्ने मिडिया स्वतन्त्र हुन सक्दैन । स्वतन्त्रताको अर्थ स्वसक्षमता पनि हो ।

वैचारिक स्वतन्त्रता माथी सरकार, सत्ता, वा राजनीतिक शक्ति केन्द्रहरूले मात्र अंकुश लगाउँदैनन् । अहिलेको वजार अर्थतन्त्रको समयमा वास्तविक अंकुश आर्थिक शक्ति केन्द्रहरूले लगाउँछन् ।

विश्वव्यापी मिडिया, विदेशी लगानी, दाताहरुको सहयोग आदिले पनि मिडियाको स्वतन्त्रतालाई असर गर्दछ । स्वतन्त्र मिडिया उपभोक्ताको पहुँच भएको र धान्न सक्ने हुनु पर्दछ ।
मिडियाको स्वतन्त्रतालाई प्रमुख पाँच तत्वहरुले धेरै प्रभाव पारेको हुन्छ । 

१. स्वामित्व, नियन्त्रण र सञ्चालन : मिडियाको मालिक को हो, नियन्त्रण र सञ्चालन कस्ले गर्दछ भन्ने प्रमुख विषय हो । 
२. नीति, ऐन कानून : नीति, ऐन कानूनले मिडियालाई नियन्त्रण मात्र गर्दछ भन्न सकिदैन । यसले बहुलवादी मिडियालाई हुर्काउन, जनमुखी विषयहरु समावेश गर्न, मिडियाको एकाधिकार वादी र नाफामुखी प्रवृत्तिलाई घटाउन पनि भूमिका निर्वाह गर्न सक्दछ ।
३. आर्थिक पक्ष: आर्थिक विकास, वजार, विज्ञापन,  उपभोक्ताको हैसियतले पनि मिडियाको स्वतन्त्रतालाई प्रभाव पार्दछ ।
४. नागरिकको चेतना : मिडिया उपभोक्ता नागरिकको मिडियामा पहुँच, मिडिया उपभोग गर्ने र आफ्नो पक्षमा उपयोग गर्ने गराउने क्षमताले पनि मिडियाको स्वतन्त्रतामा प्रभाव पार्दछ । 
५. मिडिया सामाग्री : मिडियाको आवश्यक्ता नै मिडिया सामाग्री(मिडिया कन्टेन्ट)को निम्ति हो । मिडियाले प्रस्तुत गर्ने सामाग्रीको गुणस्तर र उद्देश्यले नै त्यसको उपयोगिता निर्धारण गर्दछ । आफ्ना उपभोक्ताको हितको निम्ति उनीहरुको सरोकारको विषय दिन सकिएन भने मिडिया स्वतन्त्रताको कुनै अर्थ रहँदैन ।

तानाशाही व्यवस्था भएका देशहरुमा पनि नागरिकले आफ्नो विचार अभिव्यक्त गरेको हुन्छन् । तर त्यस्तो अवस्थामा अभिव्यक्त विचारहरु कसैको 'जय होस', 'प्राण भन्दा प्यारो छ'  जस्ता कसैले नागरिकको मुखबाट बोल्न लगाएको, विचार  नगरी बोलिएको, अन्ध धार्मिक, अन्ध राष्ट्रवादी, अतिवादी, अधिनायकवादी चरित्र र उद्देश्य बोकेका हुन्छन् । सही विचार बनाउनका लागि सही सूचना पाउनु आवश्यक हुन्छ । अज्ञानतामा वा पूर्वाग्रह वस विचार निर्माण गर्नबाट जोगिनका लागि नागरिकले सुसूचित नभई हुँदैन ।

त्यसैले कुनै पनि लोकतान्त्रिक देशमा सूचना पाउने र कुनै पनि सञ्चार माध्यमद्वारा विचार, मत व्यक्त गर्ने नागरिकको अधिकार सुनिश्चित गरिएको हुन्छ । नागरिकले चुनेर पठाएका प्रतिनिधिहरुले जुन कामका निम्ति उनीहरु चुनिएका हुन् त्यो काम गरे कि गरेनन् भन्ने सुनिश्चित गर्नका निम्ति सूचनामा नागरिकको पहुँच हुनु पर्दछ । स्वतन्त्र मिडियाले व्यक्ति, निकाय, सरकार, जनप्रतिनिधि, तथा न्यायपालिकाले गरेको कामको निगरानी गर्दछ । कसैले पनि अनियमित, अन्याय, गैरकानूनी, असंवैधानिक काम गर्यो भने स्वतन्त्र मिडियाले औंला ठड्याउँछ । लोकतान्त्रिक व्यवस्थामा सरकार संसद र अदालतलगायत सबै सार्वजनिक कार्यालयहरुका बाथरुम वाहेक सबै ठाँउ खुल्ला हुन्छन् ।

ती सबैको काम पारदर्शी हुन्छ । मिडियाले नागरिकको निम्ति पारदर्शिताको भूमिका खेल्दछ । उल्लेखित भूमिकाका कारण मिडिया कतिपय अवस्थामा राज्यका तीन अंग सरकार, संसद र अदालत भन्दा पनि माथि देखिन्छ । यसैले मिडियाका सञ्चालक, मिडिया मालिक, व्यक्ति, सस्था र पत्रकारहरूमा पनि वेला वेलामा आफ्नो महानता (सुप्रिमेसी)  भ्रम उत्पन्न हुन्छ ।

सयौं वर्ष पराधीन, उपनिवेश भएर स्वतन्त्र भएका वा हजारौं वर्षसम्म सामन्ती परम्परामा हुर्केको समाजभित्रका प्रायः सबैमा देखिने उपनिवेशी र सामन्ती, तावेदारी  प्रवृत्ति र व्यवहार मिडियामा पनि देखिन्छ । लोकतन्त्रका निम्ति मिडियाको यति महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि मिडिया आफै एकाधिकार वादी बन्ने संभावना हुन्छ । 'ग्लोवलाइजेसन', विश्व बजारको उदारीकरण, सूचना तथा संचार प्रविधिमा अभूतपूर्व विकास, ग्लोवल मिडिया, स्याटेलाइट टेलिभिजन, डिजिटल रेडियो तथा इन्टरनेट आदि विविध कारणले गर्दा मिडियाको सेवामुखी चरित्र फेरिएर नाफामुखी बन्दै गइरहेको छ ।

पहिले मिडिया चलाउन उद्योगी र व्यवसायीको आवश्यक्ता पर्दथ्यो । अहिले उद्योगी र व्यवसायीलाई उद्योग व्यवसाय चलाउन आफ्नो वजार वनाउन र नाफा बढाउनुको लागि  मिडिया नभई हुँदैन । फलस्वरुप विश्वका उल्लेखनीय तथा प्रभावशाली मिडिया कम्पनीहरु उद्योगी, व्यापारी, बहुराष्ट्रिय कम्पनीहरुको हातमा जाँदैछन् ।

मिडिया उद्योग हो । तर यो चाउचाउ र पाउरोटी उद्योग जस्तो होइन । मिडियाले मानिसको चेतना, चिन्तन र व्यवहारमा प्रभाव पार्दछ । यसैले मिडियालाई कसरी नागरिकको हितमा लगाउने भन्ने चुनौति अहिलेको विश्वकै लागि ठूलो चुनौति बनेको छ । सामन्तवादको विरुद्ध र लोकतन्त्रको लागि वर्षौंसम्म संघर्ष गर्ने नेताहरुमा पनि बेलाबेलामा सामन्ती प्रवृत्ति देखिन्छ । सामन्तवाद भनेको दरबारमा मात्रै बस्दैन । यो दिमाग र स्वभावमा वस्ने र प्रकट हुने गर्छ । मिडिया मालिक, व्यक्ति र संस्था तथा सञ्चारकर्मीहरु पनि यो प्रवृत्ति बेलाबेलामा देखिन्छ ।

सम्पादकको कुकुर मर्दा समाचार बनेको र कसैको घरखेत पहिरोले लैजाँदा पनि समाचार नबनेका कयौं उदाहरणहरु छन् । पैसा तिर्न सक्नेको कुकुर हराएको पनि रेडियोले विज्ञापन दिन्छ तर विपन्न किसानको  एक मात्र भैंसी हराउँदा पनि रेडियोले विज्ञापन नबजाउन सक्छ । विज्ञापनमा बाँच्ने र नाफा कमाउने मिडियाले विज्ञापन दाताहरूलाई दुहुना गाई ठानेका हुन्छन् । यसैले विज्ञापन दाताहरुको बदमासी मिडियामा न आउनसक्छ । यस्ता कतिपय उदाहरणहरु छन् । 

नेपालमा धेरै वर्षसम्म मिसन पत्रकारिताको नाममा राजनीतिक र पार्टी पत्रकारिता चल्यो । २०४६ सालको परिवर्तनपछि व्यवसायिक पत्रकारिताको नारा घन्क्यो । तर व्यावसायिकताको नाममा प्रोफेसनलिजमको सट्टा बिजनेस हाबी भयो । विभिन्न समाजको अनुभवबाट पनि के स्पष्ट भएको छ भने नाफामुखी पत्रकारिताको दाँजोमा राजनीति मुखी पत्रकारिता धेरै जिम्मेवार हुन्छ । किनकि राजनीति गर्नेहरु चाहे पत्रकार हुन् वा जनप्रतिनिधि उनीहरु जनताप्रति उत्तरदायी हुन्छन् । मिडिया प्रति उत्तरदायी हुन्छ ? पाठक/दर्शक/श्रोताप्रति कि विज्ञापन दाता प्रति ?

यस्ता अनेक प्रश्नहरु छन् जसको उत्तर सजिलो हुनसक्छ, तर चाहेको अवस्था निर्माण गर्न वा रोजेको उत्तर प्राप्त गर्न नयाँ उपायको खोजि गर्नु आजको युगको प्रमुख चुनौति बनेको छ । नेपालमा अहिले रहेका मिडियाहरुको स्वामित्वको अवस्था हेर्दा चार प्रकारको छ । सरकार, प्राइभेट लिमिटेड कम्पनी, सहकारी, र गैर सरकारी संस्थाहरुले मिडियाको स्वामित्व, नियन्त्रण र सञ्चालन गरेको अवस्था छ । आजको युगको मिडिया चुनौति सामना गर्न सक्ने क्षमता सहकारी प्रणालीमा खोज्न सकिने सम्भावना धेरै छ । सहकारीका सात सिद्धान्त मध्ये पाँचौं सिद्धान्त सूचना, शिक्षा र तालिम हो । मानव श्रोत संसारको सबै भन्दा ठुलो र अपार सम्पदा ठान्ने सहकारीले अवलम्वन गरेका मूल्य, र सिद्धान्तहरूको पूर्ण रुपमा परिपालना गरेमा मिडियासँगको अपेक्षा मात्र होइन मानवजीवनका हरेक साझा आकांक्षाहरु परिपूर्ति गर्न सकिन्छ ।

सहकारीमा सूचना, शिक्षा र तालिमको निम्ति आफ्नो कुल आयबाट कोषको व्यवस्था गर्नु पर्ने अनिवार्य व्यवस्था हुने भएको हुँदा नेपालमा सहकारी क्षेत्रको बिकास संगसंगै नागरिक मैत्री मिडियाको निम्ति श्रोतको कमी नहुने उज्यालो संभावना पनि प्रष्ट छ । आमसञ्चार क्षेत्रमा सहकारीको  भूमिका खोजि गर्न नेपालमा सहकारी प्रणालीबाट मिडिया सञ्चालन प्रारम्भ भइसकेको छ ।

नेपालमा सहकारी प्रणालीबाट स्थापना भएको पहिलो विद्युतिय आमसञ्चार माध्यम लुम्विनी सूचना तथा सञ्चार सहकारी सस्था लिमिटेडले सञ्चालन गरेको रेडियो लुम्विनी हो ।  २०५६।१०।२७ मा रेडियो लुम्विनी  प्रसारण शुरु गरेको हो । एफएम रेडियो सञ्चालन गर्ने सहकारी संस्थाहरुको संख्या १२५ को हाराहारीमा पुगिसकेको छ । सहकारी संस्थाले राष्ट्रिय दैनिक पत्रिका, साप्ताहिक, पाक्षिक पत्रिकाहरू र टेलिभिजन स्टेसन समेत सञ्चालनमा ल्याइसकेका छन् ।

सूचना तथा सञ्चार सहकारीहरूको केन्द्रीय संघ निर्माण भएको छ । नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ लिमिटेडले अहिले सञ्चार माध्यम सञ्चालन गर्ने सहकारी संस्थाहरु र तीनले सञ्चालन गरेका आमसञ्चार माध्यमहरुको लगत तयार गर्ने कार्य गरिरहेको छ । आमसञ्चारका माध्यमहरु सञ्चालन गर्ने अथवा आमसञ्चारको क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरुको लक्ष, उद्देश्य तथा कार्यक्रमहरु वारे बिस्तृत अध्ययन गरेर यी संस्थाहरुले सहकारी मूल्य र सिद्धान्तको परिपालना गरी सम्पादन गरेका कार्यहरु वाट प्राप्त नतिजा अध्ययन गरेपछि नागरिक सर्वोच्चता कायम हुने मिडिया नीति तय गर्न सकिने विश्वास लिइएको छ ।

संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभरका सरकार र सहकारी क्षेत्रले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ मनाए । 'सहकारी पहलमा सुन्दर विश्व निर्माण' भन्ने मुख्य नारा तय गरेर सहकारी क्षेत्रको प्रवर्द्धन, आमनागरिक तहमा सहकारीको विस्तार र सहकारी मैत्री नीति, ऐन नियम तर्जुमा गर्ने लक्ष लिएर संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय सहकारी वर्ष घोषणा गरेको हो ।

यस उपलक्ष्यमा संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले दिनु भएको सन्देशमा सहकारीहरूले विश्व समुदायलाई आर्थिक समृद्धि र सामाजिक उत्तरदायित्व दुवै एकसाथ पुरा गर्न सम्भव छ भनेर स्मरण गराइ रहेका छन् भन्नु भएको छ । यो भनाई निकै अर्थपूर्ण छ । आर्थिक समृद्धि भएपछि सबै लक्ष पुरा हुन्छ भन्ने सोच अव अभ्यासद्वारा अफाप सिद्ध भइसकेको छ । मानवता, वातावरणमैत्री कृयाकलाप र सामाजिक उत्तरदायित्व वोध नभइ समाज शान्त र समृद्धि हुँदैन र यो तीनै गुण भएको सर्वमान्य मूल्य र सिद्धान्त सहितको संसारको सबैभन्दा जेठो र सबै भन्दा ठुलो नागरिक संगठन सहकारी प्रति अव विश्व समुदाय विश्वस्त भएको छ । नेपालको  संबिधानमा महत्वपूर्ण स्थान पाएको सहकारी प्रति सबै राजनीतिक दलहरु सकारात्मक छन् ।

संचार सहकारी संघ, संस्थाहरुलाई मिडियाको लोकतान्त्रिक करणको उद्देश्यले आफ्नो क्षेत्रमा सक्रिय हुन जरुरी छ । सबै सहकारी संघ संस्थाहरुले अन्तर सहकारी सम्बन्धको छैठौं सिद्धान्त अनुसार संचार सहकारी संघ संस्थाहरुलाई सहयोग गर्न जरुरी छ 

धन्यवाद । जय सहकारी ।

(नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ लिमिटेड (निक्कु) दशौं वार्षिक साधारणसभा समक्ष प्रस्तुत सञ्चालक समितिको तर्फबाट अध्यक्ष  विष्णुहरि ढकालद्वारा प्रस्तुत  प्रतिवेदन सार्वजनिक बहसको लागि प्रकाशन गरिएको छ - स। )