भोट हार्ने नेता

भोट हार्ने नेता

टेकबहादुर थापा 'बुद्धप्रिया'  |  साहित्य  |  पुष २९, २०७९

चुनाव आयो भने मात्र गाउ फर्की आउने 
अरुबेला रातो-दिन  शहर बजार धाउने 
ठेक्का पट्टा कमिसनले परिवार पाल्ने 
यिनले भोट नहारे र कसले  हो त हार्ने ?

गाउँघरमा आउँदा पनि टाई-सुट मै आउने  
ससुराली जादा पनि हेलिकप्टर चाहिने 
गरि खाने जनताको कुरै नसुन्ने  
यस्ताले भोट नहारेर कस्ताले हो हार्ने ?

छोरी,चेली जस्तै सधैं क्रिम पाउडर घस्ने 
नङ काट्न नसकेर ह्यान्डसम पार्लर पस्ने 
माछा, मासु बिना त भान्सै नबस्ने  
यिनले भोट नहारेर कसले हो त हार्ने ?

चुनाव जिति गएपछि फर्की नआउने
जनताको पक्षमा माखो नमार्ने   
सुरा पान, सुन्दरी मै मस्ती सधैं  मार्ने   
यिनले भोट  नहारेर कसले  हो त हार्ने ?

पार्टी भन्दा बाहिरका लाई वास्तै नगर्ने     
सानो काम लगायो कि कमिसन माग्ने  
आफ्नै कार्यकर्तालाई नि दास,दासी ठान्ने 
यिनले  भोट नहारेर कसले हो त  हार्ने ?

देशभक्ति  र राष्ट्रवादको कुरा पनि गर्ने
राष्ट्रघाती सन्धी गर्न  अधि पनि सर्ने 
एमसिसीको कमिसनले राजनीति गर्ने 
यिनले भोट  नहारेर कसले  हो त हार्ने ? 
  
मतदाताहरु लाई अपमानित गर्ने 
भोट हुनु भन्दा पहिला भगवान भन्ने 
भोट पाइसके पछि भेडाबाख्रा ठान्ने 
यिनले भोट नहारे कसले  हो त हार्ने ?