नेपाल अर्बुद रोग निवारण संस्थाको ३२ औं  साधारणसभामा उप राष्टपति पुन

नेपाल अर्बुद रोग निवारण संस्थाको ३२ औं  साधारणसभामा उप राष्टपति पुन

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ३०, २०७९

काठमाडौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३२ औं  साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भक्तपुरको बोडेमा संस्थाको ३२ औं  साधारणसभालाई उप राष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको हो । 

साधारण सभाको उद्घाटन गर्दै उप राष्टपति पुनले  आम समुदायको आधारभुत स्वास्थ्य सेवामा समान पहुँच  हुनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच अभिवृद्धि गर्नुपर्नेमा सरकारलाई  ध्यानाकर्षण गराउनु भयो । उहाँले उपचार अभावमा मृत्युवरण गर्नुपरेका घटनाहरु दुखद भएको बताउनु भयो ।

क्यान्सर जस्तो रोगको नियन्त्रण र निवारणमा नेपाल अर्बुद रोग निवारण संस्थाले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै विश्वमा मानव जगतले नयाँ नयाँ रोगको सामना गरिरहनु परेको र त्यसबाट हामी नेपालीहरु पनि अछुतो नभएको बताउनु भयो । क्यानसर कै कारण वर्षेनी ३६ हजार नेपालीलाई सताउने गरेको र १५ देखि १७ हजारको मृत्यु पनि त्यही कारणबाट हने गरेको तथ्यांक रहेकोे बताउनु भयो । अर्बुद रोग निवारण संस्थाले भरतपुर क्यान्सर अस्पताल ,लाहान क्यान्सर केयर मार्फत सेवा प्रदान गर्नुका साथै प्रतिकात्मक र उपचारात्मक अन्य कार्य मार्फत सचेतनाका कार्यहरु गरेको , क्यान्सर पीडितले पाउने एक लाख सुविधा,मासिक ५ हजार सुविधा सहित सूर्तिजन्य पदार्थको नियन्त्रमा संस्थाले गरेको प्रयास सह्रानीय भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा सांसद् तेजुलाल चौधरीले नेपालमा ऐन नियम कानुन बनेपनि कार्यान्वयनको अभाव भएको भन्दै सूर्तिजन्य पदार्थको नियन्त्रणमा बनेका ऐन नियम कानून कार्यान्वयनको अभाव भएको बताउनु  भयो । 

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,,संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । 

साधारण सभामा संस्थाका  अध्यक्ष महेश श्रेष्ठले वार्षिक कार्ययोजना सहित आगामी कार्यक्रम ,केन्द्रीय महासचिव विमलकुमार होडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिनेश शंकर पालिखेले आर्थिक प्रतिवेदन र कार्यतालिका पेश गर्नुभएको थियो । 

देशभरमा ४५ वटा जिल्ला शाखा रहेको अर्बुद रोग निवारण संस्थामा ३ हजार वढी सक्रिय सदस्य र १० हजार वढी स्वयंसेवकहरु रहेको  साधारण सभामा संस्थाको नियमित कार्यमा सहयोग पुर्‍याउँदै आएका विभिन्न संघ संस्था औद्योगिक प्रतिष्ठान, व्यापारी एवं व्यक्तिहरु सहित उत्कृष्ट शाखाको रुपमा सिरहा ,मकवानपुर ,कास्की र संखुवासभा लाई सम्मान समेत गरेको संस्थाका सदस्य प्रकाश खतिवडाले बताउनु भयो ।