प्राकृतिक चिकित्सा अकार्षणको केन्द्रमा

प्राकृतिक चिकित्सा अकार्षणको केन्द्रमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ १६, २०७६

नवलपरासी । औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तब्यका रुपमा विकास भएकोे छ । 
विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योगा पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएकाले पनि चिकित्सालयमा बिरामीको उपचार सेवा लिन घुइँचो बढेको हो । हाल यस चिकित्सालयमा दैनिक १०० भन्दाबढी बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिने गरिएकोे छ ।  

  यहाँ माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान  पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको उपचार निको हँुदै गएपछि आकर्षण बढेको हो । बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गर्ने गरेको छ ।  

चिकित्सालयमा औषधिरहित पद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । विसं २०६३ मा स्थापना भएको चिकित्सालयले विसं २०६४ बाट उपचार सेवा प्रारम्भ गरेको थियो । हाल यस चिकित्सालयमा  देशका विभिन्न स्थानबाट र छिमेकी देशविदेशसमेत बाट उपचार सेवा लिन आउने गरेका छन्  । 

दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई विसं २०६८ मा नेपाल  सरकारबाट  १० बिघा क्षेत्रफलको जग्गाको भोगाधिकार प्राप्त भएको थियो । अघिल्लो समय बिरामीको खासै चाप नभएपछि अहिले बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको चिकित्सालयले जनाएको छ  । 

यस चिकित्सालयले १५ वर्ष कार्ययोजनासमेत तयार गरेको छ । जसअन्तर्गत यस प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ । साथै यस चिकित्सालयलाई ३०० श्यैयाको बनाउने र यस विधाको मेडिकल कलेज स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ । 

विभिन्न रोगका समस्या लिएर आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दोरुपमा रहेको  छ  । सरकारले नीति तथा कार्यक्रममा नै राखी यस चिकित्सालयको वृत्तिविकासमा ध्यान पुर्‍याउन सकेमा औषधीय उपचार पद्धतिबाट निरास बनेका बिरामीलाई सजिलैसँग उपचारमा सघाउ पुर्‍याउन सक्ने अवस्था देखिने कुरा राससको समाचरमा उल्लेख गरिएको छ  ।