९३ वर्षीया लेखिका नन्दकला सुवेदीको 'अठासी वर्षमा कैलाश मानसरोवर'  पुस्तक लोकार्पण

९३ वर्षीया लेखिका नन्दकला सुवेदीको 'अठासी वर्षमा कैलाश मानसरोवर'  पुस्तक लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १, २०७९

 सुर्खेत ।   त्रियानब्बे वर्षीया लेखिका नन्दकला सुवेदीको नियात्रा सङ्ग्रह 'अठासी वर्षमा कैलाश मानसरोवर'  को लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेतस्थित  होटल डी नमस्तेमा मध्यपश्चिम  विश्व विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले उक्त पुस्तक विमोचन गर्नु भएको  हो ।

आजैका दिन त्रियानब्बे वर्षमा प्रवेश गरेकी लेखिकालाई उपकुलपतिलगायत उनका छोरा-छोरीहरूले सम्मान समेत गरेका थिए । कार्यक्रममा साहित्यकार एवम् शिक्षाविद् महेन्द्रप्रसाद गिरीले पुस्तकको समीक्षा गरेका थिए भने प्रमुख अतिथि सिंह, पुस्तकका भाषा सम्पादक नन्दु उप्रेती, सामजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव सन्त बहादुर सुनारलगायत‌ले आफ्नो विचार प्रकट गरेका थिए ।

वक्ताहरूले नेपाली नियात्रा साहित्यमा एक उत्कृष्ट कृति थपिएको चर्चा गर्दै विशिष्ट जेष्ठ नागरिकका जीवनका अनेक आयामका अनुभवहरू हराउनुबाट बचाउनका लागि यसरी नै पुस्तकका रूपमा प्रकाशित गर्नु पर्ने धारणा व्यक्त गरे । लेखिका नन्दकला सुवेदीले उपस्थित सबैलाई धन्यवाद दिँदै पुस्तक प्रकाशित हुँदा आफूलाई असाध्यै खुसी लागेको बताएकी थिइन् । यसअघि गतसाल लेखिका सुवेदीको  'पुराना भजन तथा तीजगीत सङ्ग्रह'  नामक पुस्तक पनि प्रकाशित भइसकेको छ । कार्यक्रममा १५० भन्दा बढी साहित्यकार एवम् विभिन्न क्षेत्रका सुर्खेतीहरूको उपस्थिति रहेको थियो ।