रवि लामिछानेको जिरह: 'मेरो नागरिकता पुनः प्राप्ति गर्नु पर्दैन, आफैं कायम हुन्छ' !

रवि लामिछानेको जिरह: 'मेरो नागरिकता पुनः प्राप्ति गर्नु पर्दैन, आफैं कायम हुन्छ' !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ३, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेपाली नागरिकता नत्यागेकाले पुनः प्राप्ति गर्नु नपर्ने र आफैं कायम हुने दाबी गरेका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम लामिछानेले सर्वोच्चमा जवाफ दिँदै आफ्नो पुरानै नागरिकता आफैं कायम हुने दाबी गरेका हुन् । 

४ मंसिरको चुनावअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनमा परेको लामिछानेले नेपाली नागरिकता त्यागेको र पुनः नागरिकता नलिएको भन्दै उजुरी परेको थियो । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसद जाने तयारी गर्दैगर्दा उनको नागरिकताको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासमा दुई वटा रिट दर्ता भएका थिए । रविले खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा उम्मेदवारी दिएकाले निर्वाचन बदर हुनुपर्ने रिट निवेदनको माग छ ।

अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले दायर गरेको रिटमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अनुसार रवि नेपालको नागरिक नभएको दाबी गरिएको छ । सो दफामा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने उल्लेख छ । अमेरिकाको नागरिकता लिएपछि रविको नेपाली नागरिकता स्वतः खारेज भएको र उनले पुनः नेपाली नागरिकता नलिएका कारण उनी नेपाली नागरिक नठहर्ने रिट निवेदकहरूको दाबी छ ।

नागरिकता ऐन, २०६३ अनुसार, कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएर पछि परित्याग गर्दा स्वतः नेपाली नागरिक हुँदैनन् । उनीहरुले दफा ११ अनुसार नेपालमा आएर बसोबास गरेको हुनुपर्छ र विदेशी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ ।

तर रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा पेश गरेर फेरि नेपाली नागरिकता पाउन निवेदन नदिएको निवेदकको दाबी छ । रिट निवेदनमा भनिएको छ, ‘रवि लामिछानेले ऐनको दफा ११ बमोजिम कुनै पनि कार्य गरेको नदेखिँदा निज हाल नेपाली नागरिक होइनन् ।’ 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादबारे छलफल भए पनि अदालतले कुनै अन्तरिम आदेश दिएन । सर्वोच्च अदालतले उनीसँग लिखित जवाफ माग गरेको थियो । लामिछानेले लिखित जवाफ पेश गर्दै नागरिकता नियमावलीको नियम ११ को एउटा वाक्यांश उल्लेख गरेका छन् । 

नियमावलीको नियम ११ मा भनिएको छ, ‘ऐनले नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सा सहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ ।’ 

‘म लिखित जवाफ वालाले नेपाली नागरिकता त्यागी विदेश अमेरिका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधिअनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएका झुठा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन’, जवाफमा लेखिएको छ । लामिछानेले सन् २०१४ अर्थात् वि.सं.२०७० सालमा अमेरिकी नागरिकता लिएको र २०१८ अर्थात् २०७५ मा त्यागेको जानकारी अदालतलाई दिएका छन् ।

लामिछानेले भने आफूले यसरी निवेदन दिनु नपर्ने तर्क गरेका छन् । उनको नागरिकता विवाद चलिरहेका बेला गृह मन्त्रालय सम्हालेका छन् । लामिछानेले स्वार्थ बाझिने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै आलोचना समेत हुँदै आएको छ । 

उक्त नियमावलीको व्यवस्था नेपालको नागरिकता त्यागी विदेश गएको व्यक्तिका लागि भएको र आफूले त नेपाली नागरिकता नत्यागी अमेरिका गएकाले पुनः नागरिकता कायम गर्न निवेदन दिनु नपर्ने र आफैं कायम हुने लामिछानेले जिकिर गरेका छन् । 

‘म लिखित जवाफ वालाले नेपाली नागरिकता त्यागी विदेश अमेरिका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधिअनुसार नागरिकता त्यागी विदेश गएको र पुनः कायम गरी पाउँ भनी हुँदै नभएका झुठा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन’, जवाफमा लेखिएको छ । लामिछानेले सन् २०१४ अर्थात् वि.सं.२०७० सालमा अमेरिकी नागरिकता लिएको र २०१८ अर्थात् २०७५ मा त्यागेको जानकारी अदालतलाई दिएका छन् ।

२०७५ जेठ ५ गते अमेरिकी नागरिकता त्याग्न नेपालस्थित अमेरिकी दूतावासमा आफूले निवेदन दिएको र दूतावासले एक महिनापछि परित्यागको स्वीकृतिपत्र दिएको उनले जवाफमा उल्लेख गरेका छन् । उनले २०७५ साल असार १४ गते अमेरिकी नागरिकता परित्यागको स्वीकृति पत्र पाएको पनि जानकारी गराएका छन् । 

विदेशी नागरिकता त्यागेको निस्सा सम्बन्धित अधिकारीलाई दिएपछि निस्सा दर्ता भएको दिनदेखि नेपाली नागरिकता पुनः कायम भएको मानिने कानुनी व्यवस्था रहेको  उनको दाबी छ । उनले आफूले यो प्रक्रिया पूरा गरेकाले आफ्नो नागरिकता पनि नेपाली भएको उल्लेख गरेका छन् । 

‘मैले अमेरिकाको नागरिकता त्यागेको निस्सा राखी नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई आफ्नो रेकर्ड अध्यावधिक गर्न भन्दै २०७५ असार ६ गते निवेदन दिएको, विभागले पनि मैले अमेरिकी नागरिकता त्याग गरेको निस्सा सहितको कागजात गृह मन्त्रालय पठाएको र गृहले असार ७ गते प्रेस काउन्सिल र सूचना तथा सञ्चार मन्त्रालयलाई पठाएको तथ्यगत अवस्था छ’, लामिछानेको जवाफमा भनिएको छ, ‘म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक भएको प्रमाण सम्मानित अदालतमा पेश गर्नुपर्ने छ । अन्यथा मजस्तो नागरिकको निजी जीवन म र मेरो देशको सम्बन्धलाई जोड्ने मेरो नागरिकताको बारेमा झूटो आरोप लगाउन मिल्ने होइन ।’

आफू प्रतिनिधिसभा सदस्य हुन योग्य रहेकोले आफू विरूद्ध परेका रिट खारेज हुनुपर्ने उनको तर्क छ । 

‘मेरो हकमा यसै लिखित जवाफको माथिको विभिन्न प्रकरणहरूमा मेरो साविकको नेपाली नागरिकता पुनः कायम भएको भनी सोको कानूनी आधार र तथ्यगत प्रमाणको बारेमा उल्लेख गरिसकेको हुँदा सोही आधार र कारणबाट प्रतिनिधिसभा सदस्यको लागि योग्य रहेको र उल्लेखित कानूनबाट म अयोग्य नरहेको व्यहोरा अनुरोध गर्छु’, उनले जवाफमा भनेका छन् ।