23 सदस्यीय मन्त्रीपरिषद् विस्तार : नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ

23 सदस्यीय मन्त्रीपरिषद् विस्तार : नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ३, २०७९

 काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नियुक्त मन्त्रीहरु  मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन लगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सुशीला श्रीपालीले  पर्यटन राज्यमन्त्रीको शपथ लिनुभएको छ । 

    एमालेबाट डा विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास र  शपथ लिनुभएको छ । 

    त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकास मन्त्रीको शपथ लिनुभयो । त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

    गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सोही दिन नै उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिनुभएको थियो ।