पदमा नबसी शक्तिशाली बन्ने हुटहुटी: सभामुखमा समेत 'एस मेन' कै खोजी !

लोकसंवाद टिप्पणी

पदमा नबसी शक्तिशाली बन्ने हुटहुटी:  सभामुखमा समेत 'एस मेन' कै खोजी !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ५, २०७९

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबार हुने सभामुखको निर्वाचनका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार उठाएको हो । काँग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ र माओवादीका हित राज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन् । सत्ता गठबन्धन एकजुट भएको अवस्थामा घिमिरे सभामुख बन्ने निश्चित छ । सत्ता गठबन्धनमै रहेका जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले उनलाई मत दिने वा नदिने बारे केही बोलेका छैनन् । तर प्रस्तावक र समर्थक रहेका दलहरु कै सांसदको मतले घिमिरे सभामुख बन्न भने सक्छन् । उनको पक्षमा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ सांसदको समर्थन छ । 

काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा काँग्रेसका ८९, नेकपा एकीकृत समाजवादीका १०, जसपाका १२ र लोसपाका ४ सांसद देखिन्छन् । सत्ता गठबन्धनमा असन्तुष्ट रहेका साना दलले पनि मत दिएमा घिमिरे र न्यौपाने बीच कडा प्रतिस्पर्धा हुनेछ । सभामुख चयनका लागि १३८ सांसदको समर्थन चाहिन्छ । 

काँग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि सानो राजनीतिक गल्तीले पाँच वर्ष सबै मुख्य पदहरूबाट बाहिरिने सम्भावना छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर काँग्रेसले प्रचण्डलाई फकाउने र केही पद हात पार्ने सम्भावना देखेको थियो । तर अहिलेका प्रधानमन्त्री प्रचण्डको हातमा सत्ता गठबन्धनको अधिकार छैन ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ६ जना, स्वतन्त्र सांसद ३ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले कसलाई मत दिन्छन् भन्ने प्रष्ट छैन । सभामुख साझा भूमिका खेल्नसक्ने व्यक्तिको खोजि गरिनु पर्छ  । यसअघिका कतिपय सभामुखहरू विवादित समेत बनेका थिए । अहिले सभामुखमा उठेका घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मात्र होइन  'एस मेन'  नै मानिन्छन् । उनी सभामुख हुँदा एमाले अध्यक्ष ओली झनै शक्तिशाली बन्ने हुटहुटीले काम गरेको छ । 

काँग्रेसले २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा सभामुख वा राष्ट्रपतिमा आफूलाई सहयोग हुने ठानेको थियो । प्रचण्डले बोलाएको मंगलबारको सर्वदलीय बैठकमा काँग्रेसले सोही अनुसारको धारणा राखेको थियो । तर यही विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भए । जसबाट काँग्रेसले कुनै पनि पद पाउने सम्भावना कमजोर छ । प्रचण्ड प्रधानमन्त्री भए पनि उनी निर्णायक छैनन् । २७५ सदस्यीय संसदमा प्रचण्डको पार्टी माओवादी केन्द्रको ३२ सिट मात्रै रहेको छ । त्यसैले उनलाई काँग्रेसले प्रधानमन्त्री नदिएको अवस्थामा एमाले अध्यक्ष ओलीले नै प्रधानमन्त्री बनाएकाले उनी ओलीविरुद्ध जाने सम्भावना तत्काललाई छैन । 

रमाइलो कुरा त के छ भने संसदमा बहुमत भएको पक्षले सभामुखमा उम्मेदवारी दिँदै आएको थियो । २०६२/६३ को जनआन्दोलनपछि चार जना सभामुख भए । सबै जना वामपन्थी पृष्ठभूमिका थिए । उनीहरु कसै विरुद्ध पनि काँग्रेसले उम्मेदवारी दिएन । सभामुख निर्विरोध निर्वाचित हुँदै आएका थिए । अग्नि सापकोटा सभामुख हुँदा पनि  कांग्रेस प्रतिपक्षमा थियो । तर उसले सापकोटा विरुद्ध उम्मेदवार खडा गरेन । कृष्णबहादुर महरा र ओनसरी घर्ती कांग्रेस समेतको समर्थनमा सभामुख बनेका थिए । 

२०६३ पछि चार पटक सभामुख चुनिएका सुवास नेम्वाङले सबै पटक काँग्रेसको समेत साथ पाएका थिए । तर यसपटक भने काँग्रेसले चुनावी मैदानमा उत्रिने फैसला गरेको छ । एक साताअघि मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेसले सभामुखमा उम्मेदवारी दिएको हो । सत्ता गठबन्धनमा तलमाथि नभए बिहीबार उमालेका घिमिरे सभामुख बन्ने निश्चित छ ।

काँग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि सानो राजनीतिक गल्तीले पाँच वर्ष सबै मुख्य पदहरूबाट बाहिरिने सम्भावना छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर काँग्रेसले प्रचण्डलाई फकाउने र केही पद हात पार्ने सम्भावना देखेको थियो । तर अहिलेका प्रधानमन्त्री प्रचण्डको हातमा सत्ता गठबन्धनको अधिकार छैन । त्यसैले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर आफ्नै सगौरव प्रतिपक्षमा बस्ने अवसर मात्रै गुमाएको छ ।