सामाजिक सञ्जालका बेचैनी, निराशा र कुण्ठाग्रस्त बेतुक बहसबाट निर्देशित कहिलेसम्म ?

सामाजिक सञ्जालका बेचैनी, निराशा र कुण्ठाग्रस्त बेतुक बहसबाट निर्देशित कहिलेसम्म ?

गीता रेग्मी  |  दृष्टिकोण  |  माघ ५, २०७९

हो हो जस्तो, हैन हैन जस्तो ! जसले तर्क राख्दा पनि उसैको कुरा ठिक जस्तो ! यो मलाई मात्रै हो कि ? तपाईंलाई पनि हुन्छ ? स्कुल पढ्दा वादविवाद प्रतियोगिता हुन्थ्यो ! यसले  गुरुहरूलाई लाग्दो हो विद्यार्थीको तर्क गर्ने क्षमता बढ्नेछ ! विद्यार्थी ठिक र बेठीक छुट्टाउन सफल हुनेछन् ! सृजनात्मक होलान् !

तर  त्यसो भए जस्तो लागेन ! कलम भन्दा तरबार शक्तिशाली भनेर बोल्दा पनि  ताली बज्थ्यो ! तरबार भन्दा कलम शक्तिशाली भन्दा नि ताली बज्थ्यो ! धन ठुलो कि बुद्धि ठुलो भन्दा पनि पट्किन्थ्यो ताली ! बुद्धि ठुलो कि धन भन्दा पनि ताली पड्किए कै हुन्थ्यो ! सायद हामीलाई त्यहीँ बेला देखि दुबै हो हो र होईन होईन जस्तो भएको होला ! वा हामीलाई राम्रो कुरा होस कि नराम्रो पक्ष र विपक्षमा विभाजन हुन पो सिकाए छ कि ?

क्रिकेटर सन्दिप लामिछाने बलात्कारको मुद्दामा समातिए ! एकथरी फसाइयो भन्न थाले अर्को थरी ठिक भयो ! सजाय बढाउनु पर्छ भन्न थाले ! अहिले आएर बिस लाख धरौटीमा छुटे ! फेरि एकथरी ठिक भयो भन्न थाले अर्का थरी बेठीक ! दुबै थरीका तर्क छन् ! समर्थक छन् !

म दङ्ग खाएर बसिरहेको छु ! उ निर्दोष थियो भने किन बिस लाख धरौटी तिर्‍यो ? उ गलत हो भने किन छुट्यो ? सरकार पनि लिइरहेको छ दोधारे नीति ! उ पनि त हाम्रै पुस्ताको 'धन ठुलो कि बुद्धि ठुलो !' प्रतियोगितामा भाग लिएर दुबै तर्कमा ताली पट्काएर आएको हो नि त ? म समाजको महिला प्रति हेर्ने दृष्टिकोण देखेर आजित हुन्छु !

बेलाबेला सामाजिक सञ्जाल हो हो र हैन हैन ले तताउँछ ! मानिसहरू पक्ष र विपक्षमा तर्क गर्छन ! आजकल मलाई तिनै दोधारे तर्क पढ्ने लत बसेको छ भनौं जानि जानि म कुलतमा फसिरहेको छु ! काठमाडौंका मेयरले स्वतन्त्रबाट उठे ! कतिले उडाए कतिले बोके ! उनले चमत्कारिक मत सहित विजय भए पछि काठमाडौं बालेन मय भयो ! यहीँ सर्कोमा संसदीय चुनावमा धेरैले उम्मेदवारी दिए र जितेपनि ! लहर हो, हो र होईन, होइन का  वीच स्वतन्त्रले पनि जिते  !

छोराछोरी बिदेसिएर गाउँ युवा विहिन भयो भनेर एउटाले भन्छ ! बुढाबुढी बाबुआमालाई यसै छोडेकोमा स्वार्थी सन्तान भनेर खैलाबैला हुन्छ ! फेरि देशमा कमाई खान खोज्नेलाई बाबुआमा र समाज निकम्मा करार गर्छ ! सबै वरपरका त्यसै भन्छन् ! समय यस्तै चल्दैछ, दोधारे ! जे अगाडि आउँछ त्यसैमा आफ्नो मत जाहेर गर्नुपर्ने भएर नै त होला !

कला साहित्यका बहस उस्तै छन् ! उत्कृष्ट कृतिको बहस उस्तै छ ! विज्ञापनको प्रभाव र ओझेल परेका कृतिको बहस उस्तै छ ! प्रकाशन गृह र प्रकाशकका कुरा उस्तै छन् ! नबिक्ने किन छाप्ने ? घाटाको व्यवसाय कस्ले गर्ने ? नाम मात्रै छाप्छन् ! राम्रा लेखन त्यसै ओझेलमा छन् ! महँगाई र लेखकको नाम अनुसारको पुस्तकको मुल्य तोक्छन् ! पाठक ठगिएको गुनासो आइरहन्छ ! सुन्ने कल्ले !

पाठककै मत विभक्त हुन्छ ! वियर र रक्सी खान पुग्ने किताब किन्न नपुग्ने ? म दङ्ग खान्छु !  म जस्तो कोक पनि नखानेले के भन्ने ! रक्सि खानेले एक दिनको रक्सी छोडेर किताब किन्न सक्छन मैले के छोडौँ ? तरकारी वा भात ? हो साहित्यले कतिले नाम र दाम कमाएका छन् कति भने भारत गएको मजदुर घर फर्कदा सिमा र गौँडा गौँडामा लुटिँदै चोरिँदै वर्षौमा घर पुग्दा टिनको बाकस मात्रै लिएर पुगे जस्तो नभएको कहाँ हो र ?

अहिले बजार फेरि तातेको छ  दोहोरो सरकारी सुविधाको ! यहाँ चाहिँ म अर्कै दृष्य देखिरहेको छु ! त्यसको पक्षमा उत्रिएका छन् ! एक थरी मौन छन ! मानौ चोरको खुट्टा काट्छु भनेर घनेन्द्र ओझा र राजकुमार बानिया खुकुरी लिएर बसेका छन्  । अरु खुट्टा समाएर !  म अवाक हुन्छु ! गोरखापत्रमा लेख छापिए बापत पाउने पारिश्रमिक कति नै हुन्छ र तरपनि नगद शाखाका कर्मचारीले सरकारी जागिर भएको थाहा भयो भने भनेर डाँटे झै गर्छन् ! अनि यो प्रज्ञाप्रतिष्ठानमा चाहिँ त्यो नियम कसरी लागू नभएको होला ? 

भुमिकाको बहसले रमिता छ अर्को तिर ! श्रम गरेपछि पारिश्रमिक पाउनु परेन ? प्रकाशन ,कभर डिजाइन , प्रुफ रिडिङ र विमोचनमा खाजा खुवाउने पैसा छुट्याउन सक्नेले भुमिका लेख्ने र वक्तालाई छुट्याउनु पर्दैन ? कुरा हो हो जस्तो पनि लाग्छ ? सधैं अर्का कै कृति पढेर भुमिका लेखी बस्ने हो भने आफ्नो सृजना कहिले र कसरी गर्ने ?  फेरि सोच्दैछु मन भित्र दन्किएको आगो निभाउन लेख्यो १ छाप्नका लागि प्रकाशकले खोजेको बिक्ने नाम पनि छैन !  उनीहरूबाट पहिलो अस्वीकार !  दोस्रो उनीहरूले सोचेजस्तो पाठकलाई मनोरञ्जन दिने  प्लट पनि नभेट्न सक्छ ! आदर्शले व्यवसाय कहाँ चल्छ र ? रहरहरू मर्दै र वैरिँदै गर्छन् !  छटपटी अट्टायस बन्छ ! रहरहरू मारेर जोगाड गरेको पैसोले पुस्तक निकाल्न खोज्यो कहाँ कहाँ बाँड्दै हिड्नु के ? सत विउ त होईन होला पैसो ! एकैठाँउमा मिसाएर छर्दै हिड्ने !

संसारमा दुःख छ ! दुःखका कारण पनि छन् ! हामी कारण खोजेर समाधान गर्न तर्फ भन्दा समस्यालाई नछाल्ने, तन्काउने र जेल्ने तर्फ उद्धत किन हुँदै छौ ? केही दिन अगाडि  भुमिकाको बिषयलाई लिएर कृष्ण धरावासी दाजुले आफ्नो समस्याको पोको फुकाउनु भयो ! मत विभक्त भएर तल्लो स्तरमै पनि झरे !  मैले पनि देखेँ दाजु डा. गोविन्द भट्टराईको मा  असी भन्दा बढी पुस्तक समिक्षा लेखनको पर्खाईमा बसेको ! स्रष्टाका कुरा सुन्दै पनि थिए 'उहाँले त वर्षौ लगाउनु हुन्छ भुमिका लेख्न के गर्नु र ? त्यतिबेला लागेको थियो यो त भुमिका लेखनको नाममा शोषण भयो ! उहाँहरूको सृजना ओझेल पर्‍यो भनौं आउनु पर्ने जति अझै आउन पाएन !

फेरि सोच्दैछु दाजुहरूले वा वरिष्ठ भनिनेहरूले भनि  दिउन  'भुमिका नलेखाइ आफ्नै खुट्टामा ठमठम हिड्नु भनेर !' तपाईंलाई नि सञ्चै हुन्छ नि हैन र रु यो  अर्ती मलाई कृष्ण धरावासी दाजुले  दिए देखि मैले पुस्तकमा भुमिका लेखाएको छैन ! हेरौं मेरो यात्रा कहाँ सम्म पुग्छ ? 

हो, हामी धेरै फुर्सदिला भयौ कि के भयौँ कुन्नि ? हरेक कुरामा हामी बहसमा उत्रन्छौ र छिट्टै निष्क्रिय हुन्छौं ! छिट्टै तात्छौ र चिसिन्छौ छिटै नै ! हामी आफ्नै अस्थित्व नभेटेर हैरान छौ ! मन भित्रको बेचैनी, निराशा र कुण्ठा पो पोखिरहेका हौ कि ?  नत्र देश नै रहन्छ कि रहँदैन ? वैदेशिक ऋणमा चलिरहेको देशका जनता हौ ! टाउकोमा त्रिसट्ठी हजार भन्दा माथिको ऋण बोकेर कसरी सकिरहेका छौँ सत्ता र नेताको वाहवाह गर्न ? खै के हो के हो ? जति घोत्लिँदा पनि मैले खै कहाँ सके र  यसको समाधान खोज्न ? र त यो दोधारे प्रवृत्तिको जिम्मेवार त्यहीँ  वादविवाद प्रतियोगितालाई दिएर म चित्त बुझाउँछु ! चित्त बुझाएर नै बाँच्न बाध्य छु म ।